कार्तिक १२ गते आइतबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । आइतबार तयार पारिएको मुख्य १० समाचारमागुटेरेसको भ्रमणपछि अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध थप मजबुद हुनेछ ः प्रधानमन्त्रीदेखी सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमासमाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
गुटेरेसको भ्रमणपछि अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध थप मजबुद हुनेछ ः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक नेपाल भ्रमणबाट राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्धलाई थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । महासचिव गुटेरेससँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको औपचारिक भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार तथा सहजीकरण गर्न यो भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उक्त छलफल नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट स्तरोन्नति र दिगो विकासलगायतका विषयमा केन्द्रित भएको प्रधानमन्त्री दाहालले बताए । “निकै सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय हितका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा विश्वासका साथ हामीले छलफल ग¥यौँ । मुख्यरुपमा जलवायु परिवर्तनको विषयमा गम्भीररुपमा चर्चा भयो”, प्रधानमन्त्री दाहालले भने, “नेपालमा जलवायु परिवर्तनका नकारात्मक असरको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले उहाँले खल्नुभएको भूमिकाको उच्च प्रशंसा ग¥यौँ ।” जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आगामी दिनमा राष्ट्रसङ्घलगायत द्विपक्षीय तथा बहुपक्षीप अन्तर्राष्ट्रिय निकायबाट सहयोगको अपेक्षा गरेको प्रधानमन्त्री दाहालले बताए ।
त्यस्तै, नेपालको शान्ति प्रक्रिया चाँडै टुङ्गिने विश्वास पनि प्रधानमन्त्री दाहालले व्यक्त गरे । “अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउनका लागि अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले उहाँको महत्त्वपूर्ण भूमिका रहने विश्वास हामीले लिएका छौँ”, उनले भने ।
नेपालको आर्थिक विकास र समृद्धिका बारेमा पनि छलफल भएको प्रधानमन्त्री दाहालले बताए । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा रहेकाले यो प्रक्रिया सहज बनाउन तथा तोकिएको समयमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न पनि प्रधानमन्त्री दाहालले राष्ट्रसङ्घ महासचिव गुटेरेससँग आग्रह गरे ।
नबिना लामा चढेको गाडी पल्टियो ः सात जना घाइते
नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद नविना लामासहितका नेताहरु चढेको गाडी ब्रेक फेल भएर काभ्रेको बेथानचोक–१ मा पल्टिएर दुर्घटनामा परेको छ । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समापन गरी खानिखोला गाउँपालिकाबाट बनेपा तर्फ आउँदै गरेको वा १४ च ७०७७ नम्बरको बोलेर पल्टिँदा एमाले नेताहरु घाइते भएका छन् ।
बेथान्चोक गाउँपालिका–१ गुवाभन्ज्याङ्गको उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाडी भित्तामा ठोक्काएर पल्टिएको घाइते संविधान सभा सदस्य रामहरी सुवेदीले जानकारी दिए । गाडीमा एमाले नेताहरु पूर्व सांसद नविना लामा, एमाले बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामा लगायतका नेताहरु थिए । घाइते संविधान सभा सदस्य रामहरी सुवेदीका अनुसार बोलेरोमा १७ जना थिए । सात जना घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ ।
ढुंगाले हानेर छोराले गरे बुबाको हत्या
कैलालीको जानकी गाउँपालिकामा एक युवकले गएराति ढुंगाले हानेर आफ्नै बाबुको हत्या गरेका छन्। जानकी गाउँपालिका वडा नम्बर ३ लायकपुरका २४ वर्षका गणेश चौधरीले आफ्नै बुवा ४५ वर्षका हिरासिंह चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। डिएसपी विश्वराज अधिकारीका अनुसार मदिरा सेवन गरेका बुवासँग छोराको विवाद हुँदा घटना भएको हो। आपसी विवाद भएका बेला ढुंगाले प्रहार गरेपछि बुवाको मृत्यु भएको देखिन्छ’ उनले भने, ‘घटनामा संलग्न छोरालाई राति नै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।’उनले घटनामा संलग्न चौधरीलाई म्याद थपका लागि कैलाली जिल्ला अदालतमा पठाइएको बताए।
नेपालको व्यापार घाटा ३ खर्ब ६६ अर्ब
चालू आर्थिक वर्षको असोज महिनासम्म नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब पुगेको छ ।आइतबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङकअनुसार चालू आवको असोज महिनासम्म देशको व्यापार घाटा तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार रुपैयाँ रहेको छ । जहाँ देशको आयात चार खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने देशको व्यापारघाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, नेपालले आवको असोज महिनासम्म ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँको निर्यात गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको थियो । त्यसैगरी, गत आर्थिक वर्षको तुलनामा देशको आयात १.६९ प्रतिशतले बढेको छ भने व्यपार घाटा पनि २.१५ प्रतिशतले बढेको छ । जहाँ निर्यात मात्रै २.२६ प्रतिशतले घटेको छ ।
तीन महिनामा साढे ११ अर्बको खाना पकाउने ग्यास नेपाल भित्रियो
चालू आर्थिक वर्षको असोज महिनासम्म साढे ११ अर्ब रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात गरिएको छ । आइतबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङकअनुसार चालु आवको साउन, भदौ र असोजमा ११ अर्ब ६२ करोड ७१ लाख ६३ हजार रुपैयाँ बराबरको ग्यास आयात गरिएको हो । यो अवधिमा १३ करोड २५ लाख ७७ हजार ६८६ किलोग्राम एलपीजी ग्यास आयात गरिएको छ । त्यसबापत सरकारले दुई अर्ब १६ करोड ९० लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
प्रतिनिधि सभा बैठकमा दुई वटा विधेयक प्रस्तुत
प्रतिनिधि सभाको बैठकमा आज (आइतबार) दुई वटा विधेयक पेस भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा “बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत भएको छ भने “भन्सार विधेयक, २०८० प्रस्तुत भएको छ ।
दुवै विधेयक अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका हुन् । त्यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदनलाई कार्तिक १४ गते मंगलवार अपरान्ह ४ बजे सम्बोधन सम्बन्धी जानकारी सांसदलाई गराए । उनले महासचिव गुटेरेसले सम्बोधन गर्ने दिन संसदमा औपाचारिक पोसाकमा उपस्थित हुन सांसदहरुलाई निर्देशन समेत दिए ।
इजरायल–हमास युद्धमा मारिए २७ पत्रकार
इजरायल–हमास युद्धका कारण हालसम्म सत्ताइस पत्रकारहरू मारिएका छन् । मारिने पत्रकारहरूमा २२ जना प्यालेस्टाइनी, चारजना इजरायली र एकजना लेबनानी पत्रकार रहेका छन् । युद्ध क्षेत्रको समाचार संकलनका क्रममा घाइते हुने सञ्चारकर्मीको संख्या आठ पुगेको छ । नौजना पत्रकारहरू हराइएका र बन्दी बनाइएको सूचीमा छन् । दर्जनौं पत्रकारहरू दुर्व्यवहार, गिरफ्तारी, धम्कीको मारमा परेका छन् ।
यसैबीच, गाजा क्षेत्रमा ‘टेलिफोन र इन्टरनेट सेवा’ पूरै अवरुद्ध भएको र यसबाट मानवीय संकट झन् भयावह बन्न पुगेकोले अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा कार्यरत विश्वका विभिन्न क्षेत्र र देशका नागरिक संस्थाहरूले साझा वक्तव्य जारी गर्दै टेलिकम र र इन्टरनेट सेवालाई पुनः सञ्चालनमा ल्याउन इजरायल सरकारसँग माग गरेका छन् ।
स्वास्थ्यमन्त्री बस्नेत दिल्लीतर्फ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिणपूर्वी एशिया क्षेत्र (सेरो) को पूर्ण बैठकमा भाग लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत सहितको टोली भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेको छ। बैठकमा भाग लिन स्वास्थ्यमन्त्री बस्नेत, मन्त्रालयका सचिव डा रोशन पोखरेल, मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा, डा दिपेन्द्ररमण सिंहलगायत रहेको नेपाली टोली भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्। बैठकले यस क्षेत्रका लागि नेतृत्व गर्न नयाँ क्षेत्रीय निर्देशक चयन गर्दैछ।
भारतको नयाँ दिल्लीमा हुने उक्त बैठकले दक्षिणपूर्वी एशिया क्षेत्रको नेतृत्वमा उम्मेदवारी दिएका दुई उम्मेदवार नेपालका डा शम्भु आचार्य र बंगलादेशकी साइमा वाजेदमध्ये एक जनालाई छनोट गर्नेछ।
सोमवारदेखि ४ दिनसम्म चल्ने बैठकले क्षेत्रीय निर्देशकको चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ।डब्लूएचओ सेरोमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, मालदिभ्स, उत्तर कोरिया, इन्डोनेशिया, थाइल्याण्ड र म्यान्मा गरी ११ सदस्यीय राष्ट्र छन् तर म्यान्मालाई अहिले मतदानको अधिकार दिइएको छैन। यसपटक १० देशले मात्र मतदान गर्नेछन्।
सामूहिक हत्या गरिएका चारै जनाको शव धनगढी ल्याइयो
जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम धनगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका थिए ।
मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज , ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनले चारैजनाको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको र आज शव परीक्षण हुने बताए।
अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट उनी चारैजनाको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले अनुमान लगाएको छ । छायाँनाथ रारा–६ का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान् दीपक घर आइसकेपछि शव उठाइएको हो । शनिबार बिहान कोहलपुरबाट कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ भने प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली पनि अनुसन्धानमा सक्रिय छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ
प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसँैको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइती गाउँ गएकी थिइन । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिइएको छ ।
छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए । १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले गत शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका जनाइएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार पुगेको छ । यसअघि शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख १६ हजार रहेको थियो ।
त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रहेको छ । यसअघि शुक्रबार तेजाबी सुनको मुल्य एक लाख १५ हजार ४५० रहेको थियो ।
त्यसैगरी आज चाँदीको मुल्यमा प्रतितोला १५ रुपियाँ बढेको छ । आज चाँदी तोलामा १४ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला १४ सयमा कारोबार भएको थियो ।




