कार्तिक ८ गते बुधबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमा प्रधानमन्त्रीले लिए गृहमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी देखी हङकङसँग यूएई पराजित, नेपालसँग फाइनल खेल्ने सम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् । पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रधानमन्त्री दाहालले आज उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेका हु्न् । सो अवसरमा उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । जनवादी गणतन्त्र चीनका भ्रमणमा रहेका बेला यही कात्तिक १ गते उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । मन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिन उपचार गरेर आज बिहान स्वदेश फर्किएका हुन् ।
धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते
धादिङमा आज मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालका अनुसार धादिङबाट काठमाडाँैतर्फ जाँदै गरेको बा३ख ८३९५ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको बा६०प ४८६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल काठमाडौँतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ९३३६ नंको कारमा समेत ठोकिन पुगेको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक धादिङ गल्छी गाउँपालिका–६ का २६ वर्षीय जितेन्द्र पाठक र उनकी श्रीमती २४ वर्षीय ज्योति पाठकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ ‘रिफर’ गरिएको प्रनाउ जैसवारले जानकारी दिए
बसमा सवार काठमाडौं चन्द्रागिरि नगरपालिका–१४ का ३० वर्षीय सुनिता कार्की, उहाँकी छोरी ३ वर्षकी कृतिका कार्की, धादिङ नीलकण्ठ नगरपालिका–११ का ७३ वर्षीय जीवप्रसाद धमला, ७० वर्षीय धनिमाया धमला घाइते भएकी छिन् । त्यस्तै, धादिङ सिद्धलेक गाउँपालिका–१ का ५५ वर्षीय खुसकुमारी तिमिल्सेना, ९ वर्षीय सन्ध्या तिमिल्सेना, नीलकण्ठ–११ का ४४ वर्षीय राजकुमारी श्रेष्ठ, ४३ वर्षीय सोमबहादुर गुरुङ घाइते भएका छन् ।
थाक्रे गाउँपालिका–२ का ४५ वर्षीय नवराज रिजाल र उहाँकी छोरी २१ वर्षीय सम्झना रिजाल पनि घाइते भएका हुन् । तीव्र गतिमा रहेको बस एक्कासि दुर्घटनामा पर्दा बसमा सवार अघिकांशको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । सामान्य घाइतेहरुको गल्छीस्थित अम्वी भरोसा अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमा सवार दुई र बसमा सवार तीन जनालाई काठमाडौँ पठाइएको छ । तीनवटै सवारीसहित बस चालक र कारका चालक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।धादिङमा सवारी दुर्घटनाको घटना आज मात्रै यो चौथोे हो ।
उद्धार टोली परिचालन
यसैगरी सम्भावित दुर्घटनाबाट बचाउन बाँकेको अगैया र राप्ती नदी सिधनिया घाटमा पूर्व तयारीका लागि उद्धार टोली खटिएका छन् । दुर्गा मूर्ति विसर्जनलाई सुरक्षित बनाउन र हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन दुवै घाटमा उद्धार टोली खटाइएको बाँकेका प्रजिअ पोखरेलले जानकारी दिए
। । उनका अनुसार कतिपय ठाउँहरुमा दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता हुने तथा ज्यानसमेत जाने घटनाहरु घटिरहेको हुँदा सर्वसाधारणलाई नदीबाट हुने सम्भावित दुर्घटनाबाट बचाउन गोताखोरसहितको टोली परिचालन गरिएको हो ।
सुरक्षालाई ध्यान दिदैँ जमुनाहा नाका बन्द
दुर्गा मुर्ति विसर्जनलाई ध्यानमा राख्दै आज नेपाल भारत सीमा नाका बन्द गरिएको छ । हिन्दूहरुको महान् चाड दसैँ अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरु धार्मिक ¥याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि आज एक दिन जमुनाहा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
उनले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमापारिका सुरक्षा अधिकारीसँगको समन्वयमा आज राति ८ बजेसम्मका (मूर्ति विसर्जनको कार्य नसकिएसम्म) लागि उक्त नाका बन्द गरिएको बताए । प्रजिअ पोखरेलका अनुसार एम्बुलेन्स, दमकल तथा औषधि, खाद्यान्नलगायत ढुवानी गर्ने अत्यावश्यक सवारी साधनहरुबाहेक अन्य सबैलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।
नेपालगञ्जका सडकहरुमा अहिले दुर्गा मूर्ति सेलाउन तालतलैया, जलकुण्ड तथा नदीतर्फ लैजाने कार्य धुमधामसंग भइरहेको छ । नेपालगञ्जका सडकहरुमा दुर्गा मूर्ति राखिएका ट्रक तथा ट्र्याक्टरहरुसहितको धार्मिक ¥याली भइरहेको निस्किएको छ । मूर्ति विसर्जनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लाभरि नै सुरक्षा व्यवस्था मिलाइएको बाँकेका प्रहरी उपरिक्षक सुभाषचन्द्र बोहराले बताए ।
प्रहरी जवानले गरे गोली हानी आत्महत्या
सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ
रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो । घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।
घट्यो खसी च्याङ्ग्राको मूल्य
भक्तपुरको सल्लाघारीमा दसैँका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यपारीले मूल्य घटाएका छन् । दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौँं, काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रुपमा बिक्री कम भएपछि व्यापारीले आजबाट मूल्य घटाएका हुन्
दसैँको विजयादशमी सकिएपछि व्यापारीले मूल्य घटाएका हुन् । दसैँको लागि मुस्ताङ हुदैँ ल्याइएको च्याङ्ग्रा आजबाट किलोमा रु दुई सय ५० घटाएको उनले बताए । यहाँका सबै व्यापारीको सल्लाहअनुसार नै च्याङ्ग्राको मूल्य घटाएर प्रतिकिलो एक हजार १०० मा बिक्री गरेको व्यापारी खड्काले बताए ।
बझाङबाट ल्याइएको नेपाली च्याङ्ग्रा प्रतिकिलो रु ९०० मा बिक्री भइरहेको र चिनियाँ च्याङ्ग्रा प्रतिकिलो रु एक हजार १०० मा बिक्री भइरहेको जानकारी उनले दिए । अर्का च्याङ्ग्रा व्यापारी उत्तम खड्गीले मुस्ताङमै च्याङ्ग्रा महँगो तिर्नु परेकाले यसवर्ष मूल्य बढेको भए पनि आजबाट मूल्य घटाएको बताए । उनले भने , “चीनबाट ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा किलोमा नभइ प्रति गोटा रु ३५ हजारदेखि ४० हजारसम्म तिुर्न परेकाले यसवर्ष च्याङ्ग्रा महँगो भएको हो ।” अर्का व्यापारी रमेश खड्काले च्याङ्ग्राको मूल्य घटेको र भेडा पनि मूल्य घटाएर प्रतिकिलो रु ६५० मा बिक्री गरेको बताए । अर्का च्याङ्ग्रा व्यापारी कुलबहादुर श्रेष्ठले पशु स्वास्थ्य चिकित्सकबाट भेडा च्याङ्ग्राको परीक्षण गरेर ल्याएको बताए ।
च्याङ्ग्रा तयारी मासुको मूल्य पनि घटेको छ । सल्लाघारीको चौरमा तयारी च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार ८०० मा व्यापारीले बिक्री गर्दै आए पनि आजबाट दुई हजार ५०० मा बिक्री गर्न थालेको व्यापारीले बताएका छन् । उता सल्लाघारीमा खसीको मूल्य पनि घटेको छ । व्यापारीहरुले खसी आजबाट प्रतिकिलो रु ६०० मा बिक्री गर्न थालेका छन् । यसवर्ष यहाँ करिब दुई हजार खसी, दुई हजार भेडा, च्याङ्ग्रा ल्याइएको व्यापारीले बताएका छन ।
रुसी सेनामा कार्यरत एक नेपालीलाई लियो युक्रेनी सेनाले कब्जामा
रुसी सेनामा कार्यरत रहेका एक नेपाली युवालाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । युक्रेनको गृहमन्त्रीका सल्लाहकार एन्टोन गरास्चेन्कोले सार्वजनिक गरेको एक भिडियोले उक्त कुरा पुष्टि गरेको हो युक्रेनी सेनाले नियन्त्रणमा लिएका व्यक्ती बर्दियाका विवेक खत्री रहेका छन् । गरास्चेन्कोले ट्वीटरमा शेयर गरेको भिडिओमा विवेकलाई केही प्रश्न सोधिएको र विवेकले आफू पैसा कमाउनका लागि रसियन सेनामा भर्ती भएको उल्लेख गरेका छन् ।
रसियन सेनामा भर्ना हुनुको कारणबारे सोधिएको प्रश्नमा उनले परिवारमा आर्थिक समस्या परेको बताएका छन् । परिवारमा आर्थिक अवस्था कम्जोर भएको बताउँदा एक जना साथिले रसियन सेनामा भर्ती हुन सल्लाह दिएकाले आँफू सेनामा भर्ति भएको बताए ।
नेपालगञ्जमा मुस्लिम समुदायका अगुवाले मनाए दशैँ
नेपालगञ्जमा बडादसैँको दिन मुस्लिम समुदायका अगुवाहरूले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैँ मनाएका छन्। मङ्गलबार हिन्दूहरूको महानपर्व बडादसैँंका अवसरमा मुस्लिम अगुवाहरुले दसैँको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा ग्रहण गरेका हुन् । नेपालगञ्जलाई सद्धभावको शहरको रुपमा चिनिएको छ ।
बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दसैँको टीका र जमरा लगाएका छन्। दसैँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैंँ यसरी नै मिलेर मनाउने गरेको उनको भनाइ छ । धर्म सबैका लागि सम्मान हो उनले भने, धार्मिक सहिष्णुताले सामाजिक एकताका रुपमा जोड्न ठूलो भूमिका खेलेको हुन्छ ।’‘ मन्सुरीले नेपालगञ्ज सद्भावको सहर भएकाले यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर बताए । उनले भने‘, यहाँ मुस्लिमले हिन्दूहरुको मात्र नभइ हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्छन् । ’’
मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उनीहरुसँग रमाउने गरेको बताए। बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षौंदेखि एकआपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएको उनको भनाइ छ।
सोही प्रकारले बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले पनि दसैँमा हिन्दू समुदायका आफन्त र मान्यजनबाट टीका ग्रहण गरेका छन्। उनले आफूले टीका र जमरा ग्रहण गरेपश्चात आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिएका छन्। सिद्धिकी वर्षौंदेखि हिन्दू समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मान्दै र रमाउँदै आइरहेका छन्। पर्वका बेला एकअर्कासँग मिलेर खुसी साट्ने गरेको उनको भनाइ छ। हिन्दूले मुस्लिमको चाडमा सहभागी हुने र मुस्लिमले हिन्दूको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा बनिसकेको अगुवा सिद्धिकीले बताए।
अर्का मुस्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दसैंँमा टीका र जमरा लगाएर आशीर्वाद लिएका छन्। रहमान मियाँले दुवै समुदायबीच अभूतपूर्व एकता र सद्भाव रहेको भन्दै उक्त सद्भावलाई बिथोल्ने प्रयासमा लागे कहिल्यै पनि सफल नहुने बताए।
मूर्ति विसर्जनका क्रममा बेपत्ता भएकाको खोजी जारी
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति बिवर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनामा परेर दुइ जनाको मृत्यु भएको थियो भने एकजना हराएका थिए । कोटहीमाई गाउँपालिका–१ अमरगञ्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा गएका तीनै जना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन् ।
सो दुर्घटनामा परेर हराइरहेका २० वर्षिय सन्तकुमार राजभरको खोजी कार्य भइरहेको र घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीका लागि खटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
कोटहीमाई गाउपालिका–१ दुइमोहानघाट स्थित दानव खोलामा डुबेर मृत्यु भएका दुइजनाको शब खोजतलासका क्रममा हिजो नै स्थानीयले फेला पारेका थिए । उनीहरुको शव पोष्टमर्टमका लागि भैरहवा लगिएको छ ।
खोलामा डुबेर मृत्यु हुनेमा अमरगञ्जका २४ वर्षिय अजयकुमार नाउँ र १८ वर्षिय अजय राजभर रहेका छन् । मृतक नाउँ जिल्ला प्रहरी कार्यालय पाल्पामा कर्यरत प्रहरी जवान हुन् । दसैँ मान्न घरमा गएका उनी मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए ।
‘पशुपति प्रसाद २ ः भष्मे डन’ को सुखद सुरुवात
दसैँलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ ः भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ । यसका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पहिलो दिन नै दुई करोड चालिस लाखको हाराहारीमा व्यापार गरेको जानकारी दिए ।
“दसैँको कारणले हामीले हरेक दिन हिसाब सार्वजनिक गरेका छैनौँ । यद्यपि चलचित्र भवनमा पुगेर दर्शकको प्रतिक्रिया लिँदा उत्साहित छौँ । त्यहाँको भीडभाडले व्यापार राम्रो गरेको सङ्केत गरेको छ”, निर्माता लामिछानेले भन्नुभयो । सातवर्ष अगाडी प्रदर्शन भएको ‘पशुपति प्रसाद’ को दोस्रो श्रृङ्खलाको रुपमा निर्माण भएको नेपाली चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ मा शीर्ष भूमिका अभिनेता विपिन कार्कीले निर्वाह गरेका छन् ।
उनले भष्मे डनलाई यसपटक परिपक्व र भिन्न रुपमा दर्शकले रुचाएको बताए । “समयसँगै आएको बदलावले भष्मे डनलाई आज अभिभावक बनाएको छ । उसमा पशुपति प्रसादको प्रभाव त छ नै, उसको जीवन र भोगाई पनि छ”, अभिनेता कार्कीले भने ,“यही चरित्रमार्फत म दर्शक माझ परिचित बनेँ । यसको चरित्र निर्माणमा स्वर बनाउनेदेखि चस्माको प्रयोगसम्म जोखिम नै थियो । अहिले दर्शकको प्रिय बनेको छ ।”
चलचित्र भवन पुगेर दर्शकबाट प्राप्त गरिरहेको प्रतिक्रियाले मेहनतको फल पाएको आभास भएको कार्कीले जानकारी दिए । यसलाई ‘पशुपति प्रसाद’ को दोस्रो भाग वा पात्र विशेषलाई लिएर तयार गरिने ‘स्पिन अफ’ भन्न नमिल्ने निर्देशक दीपेन्द्रकुमार खनालले बताए । उनले भने ,“यसमा कथालाई निरन्तरता दिएका छौँ । सबै पात्र हुनुहुन्छ । त्यसैले यो पहिलो भागकै निरन्तरता हो ।” चलचित्रमा रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रका वितरक करण श्रेष्ठले चार दिनमा रु छ करोड बढीको कुल व्यापार (ग्रस कलेक्सन) गरेको जानकारी दिए । उनले भने , “चलचित्र भवनमा पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेका छौँ । नेपालभर नै चलचित्र भवनमा दर्शकको उपस्थिति राम्रो छ । पहिलो दिनकै हाराहारीमा यसले प्रत्येक दिन व्यापार गरिरहेको छ । यद्यपि तथ्याङ्क दसैँ सकिए लगत्तै सार्वजनिक गर्नेछौँ ।”
हङकङसँग यूएई पराजित, नेपालसँग फाइनल खेल्ने
त्रिकोणात्मक टी–२० श्रृंखलामा यूएईलाई हङकङले ६९ रनले पराजित गरेको छ । रन रेटका आधारमा हङकङलाई पछि पार्दै यूएईले नेपालसँग फाइनल खेल खेल्न पाउने भएको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको सहयोगमा निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।
हङकङले पहिलो विकेटमा चाँडै बाहिरिएर ३३ स्कोर भएको बेलामा ओपनर निजाकत खान मात्र ९ रनमा आउट भएका थिए ।
कोट्जीले दोस्रो विकेटका लागि अंशुमान रथसँग १०६ रनको साझेदारी गरे भने रथ व्यक्तिगत ४१ रनमा आउट भए ।
कोट्जीले बाबर हायातसँग ४१ रनको अर्को महत्वपूर्ण साझेददारीमा अन्तिम १० बल खेल्न बाँकी छँदा ८६ रनमा आउट भएर ५५ बलको सामना गरेका उनले १० चौका र ४ छक्का हानेका थिए ।
हायत ६० रनमा अविजित रहेर २० बलको सामना गरेका उनले ५ चौका र ५ छक्का हानेका थिए । यसस्ँगै उनी टी–२० आईमा सर्वाधिक रन बनाउने हङकङका ब्याटर बने । उनले १२१८ रन बनाएका छन् । यसअघि निजाकत खानले १२०६ रन बनाएका गिए । जवाफमा यूएईले २० ओभरमा पाँच विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । उसको सुरुवात निकै खराब थियो । ८१ रन जोड्दा ५ विकेट गुमाइसकेको बाजिल हमेद र निलांश केसवानीले छैटौं विकेटका लागि अविजित ६२ रनको साझेदारी गरे । निलांश ३१ र बाजिल ३० रनमा अविजित रहे ।
खालिद शाहले ३५ र अलिशान आशरफूले ३० रन जोडेका थिए । श्रृंखलामा पहिलो जितसँगै हङकङले पनि २ रन जोडेको थियो । तर रन रेटका आधारमा समान २ अंक जोडेको यूएई फाइनलमा पुगेको छ । बुधबार यूएईलाई १३४ भन्दा कम रनमा रोक्न सकेको भए हङकङ रनरेटमा बाजी मार्दै फाइनल पुग्ने थियो । तर, पछिल्लो तीन ओभरमा हानेको चार बाउन्ड्री मद्दतमा यूएईले १३४ रन कटाउन सफल बनेको छ ।




