मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

कार्तिक ६ गते सोमबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउन सक्नुपर्छ ः अध्यक्ष नेपालदेखीझलनाथ खनालद्धारा दसैँमा नेता कार्यकर्ताहरूलाई टीका गर्ने सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउन सक्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको मुलुकमा सबै समुदायका धर्म संस्कृति, भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताएका छन् । विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले विभिन्न समुदायबीच एकता, सद्भाव, भाइचारा र सहिष्णुता अभिवृद्घि गर्न पर्वको संरक्षण गर्नुपर्ने बताए । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्न समाजवादी अर्थव्यवस्था कार्यान्वयन तथा जनताको चाहनाअनुसार उनीहरूको व्यापक सहभागितामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिनुपर्नेमा जोड दिए । सुशासन, समृद्धि र सामाजिक न्यायको आधारमा जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन सक्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकता र समन्वयको खाँचो औँल्याए ।

इजरायलमा मृत्यु भएका दार्चुलाका दीपेशराज विष्टको महाकाली नदीमा अन्त्येष्टि, परिवारमा आँसु

इजरायलमा हमास समूहको आक्रमणमा परी मारिएका दार्चुलाका दीपेशराज विष्टको महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । मृतक विष्टको सोमबार बिहान धार्मिक परम्पराअनुसार कञ्चनपुरस्थित महाकाली नदीमा अन्त्येष्टि गरिएको हो । इजरायबाट आइतबार मात्रै काठमाडौं ल्याएको शव सेती अस्पतालमै शव राखिएको र सोमबार बिहानै भीमदत्त नगरपालिका– १५ निम्बुखेडास्थित कान्छा बाबु पुष्पराज विष्टको निवासबाट शव यात्रा निकालिएको थियो । बिएस्सी एजी अध्ययन गरेर स्वदेशमै रोजगारी गर्ने सपना बोकेका दीपेशको इजरायलमा मारिएको १६औँ दिनमा महाकालीमा अन्त्येष्टि गरिएको छ । दीपेशको सपना महाकाली नदीमै अन्त्य भएको छ ।

गत २० असोजमा हमास समूहले इजरायलमा हमला परेको थियो । सोही हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालय टीकापुर कृषि क्याम्पसमा अध्ययनरत विष्टसहितका १० विद्यार्थीको मृत्यु भएको थियो । मृतक दीपेशका आफन्त एवं कञ्चनपुरका विद्यार्थी नेता वीरेन्द्रराज विष्टले धार्मिक परम्पराअनुरूप अन्त्येष्टि गरिएको बताए ।

हमास समूहको हमलामा परेर मृत्युवरण गरेका सुदूरपश्चिम विश्वविद्यालय बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टन गर्न गएका सुदूरपश्चिमका सात विद्यार्थीले ज्यान गुमाएका छन् भने एकजना अझै बेपत्ता भएका छन् । २७ भदौँमा ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय टीकापुर क्याम्पसका ४९ जना विद्यार्थी त्यहाँ गएका थिए । मातृभूमि छाडेको महिना दिन नपुग्दै विद्यार्थीका लागि अकल्पनीय घटना भएको थियो ।

लेकम गाउँपालिका– ५ दार्चुलाका २४ वर्षीय दीपेशराज विष्ट बाल्यकालदेखि नै कञ्चनपुर महेन्द्रनगर बस्दै आएका थिए । बाल्यकालमै बाबु गुमाएका दीपेशराज सानैदेखि नै महेन्द्रनगर बस्दै अध्ययन गर्दै आएका आएका थिए । आमा पार्वती विष्ट पहाडकै घरमा बस्दै आएकी छिन् । दीपेशकी आमा लटिनाथ मावि रिठाचौपाताकी शिक्षिका हुन् । दीपेशराजका बाबु पनि मालिकार्जुन मावि धाप दार्चुलामा पूर्वशिक्षक थिए । दीपेशराजले झन्डै १८ वर्षअघि नै बाबु गुमाएका थिए । बाबु गुमाएकाले उनको काँधमा अभिभावकत्वको पनि जिम्मेवारी थियो । भाइ वसन्तराज विष्टले छात्रवृत्तिमा धरान मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्दै आएका छन् । उनी नर्सरीदेखि १० सम्म ग्लोबल एकेडेमीमा अध्ययन गरेर रेडियन्ट माविबाट आइएस्सी अध्ययन गरेर बिएस्सी एजी विषय अध्ययनका लागि टीकापुर गएका थिए ।

आरके शर्मा नेतृत्वको कार्यसमितिद्वारा पदभार ग्रहण, प्रधानमन्त्रीको बधाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके्र्र्र्र) शर्माको नेतृत्वमा गठन चयन भएपछि एनआरएन पराजित समुह र अपराजित समुह दुई भागमा विभाजन भएको छ । एनआरएनको ११ महाधिवेशनमा मत परिणामको विषयलाई लिएर विवादको अवस्था सिर्जना भएपछि आइताबार राजेन्द्र कुमार (आरके्र्र्र्र) शर्माको नयाँ कमिटी चएन भएको थियो । आइतबार चयन भएको एनआरएनको नयाँ कमिटीले सोमबार संघको कार्यालय पुगेर पदभार ग्रहण गरेको छ । दसैँको समयमा कार्यालय बन्द भए पनि हल बाहिरै बसेर उनीहरुले पदभार ग्रहण गरेका हुन् ।

बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा नयाँ कमिटी घोषणा गरिएको हो । यो समिति नै आधिकारिक भएको उनीहरूले दाबी समेत गरेका छन् । नयाँ कार्यसमितिमा डा.केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष रहेका छन् । त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन् ।

महासचिवमा बुद्धी सागर सुवेदी छन् भने उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन् । त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन् । कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सह कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन् ।

यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन् । शनिबार साँझ ललितपुरमा पत्रकार सम्मेलन गर्दै ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका थिए । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई समेत दिएका छन् ।

प्रधानमन्त्रीलाई भेट्न शर्माको टिम खादा–माला नलगाइकन गएको थियो । प्रधानमन्त्रीले आफूहरुलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको उल्लेख छ विज्ञप्तीमा उल्लेख छ ।

उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज,दुई दिनपछि स्वदेश फर्कने

जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । मन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपश्चात डिस्चार्ज भएका हुन् ।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक १ गते हृदयाघात भएको थियो । उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ । अस्पतालबाट डिस्चार्ज हुने क्रममाउपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार प्रकट गरेका छन् । उनले आफ्नो स्वास्थ्यवस्थाप्रति चासो, चिन्ता र शुभेच्छा राख्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ यही कात्तिक ८ गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

नेपाली समाजले दशैँलाई सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडादसैँ २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । विजया दशमीका अवसरमा आज शुभकामना दिँदै उनले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको उल्लेख गरे ।

पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ ः परराष्ट्र मन्त्री साउद

पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ स् परराष्ट्र मन्त्री साउदकाठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन् । पोखराको तोरीपानीबाट फेवाताल किनारमा आज प्याराग्लाइडिङ गरेपछि उनले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिने विश्वास व्यक्त गरे ।

प्याराग्लाइडिङ पोखराको महत्त्वपूर्ण पर्यटकीय गतिविधि भएको उल्लेख गर्दै मन्त्री साउदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई असर नपर्ने गरी पूर्ववत् सराङकोटबाटै उडान गर्न सम्बन्धित निकायमा आफ्नोतर्फबाट पहल गर्ने उनले बताए । सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क गरी मन्त्री साउद सवार प्याराग्लाइडरलाई फेवाताल किनारामा अवतरण गराइएको हवाई खेलकुद संस्था९ना० का महासचिव खेम आचार्यले जानकारी दिए । मन्त्री साउद सवार प्याराग्लाइडरको उडान पाइलट महेन्द्रबहादुर भट्टराईले गराएका थिए ।

काठमाडौँका सडक प्रायः सुनसान

बडादसैँअन्तर्गत नवमीका दिन आज काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् । सडकमा सवारी साधान पातलिएका छन् । स्थानीयहरु घरघर दसैँ मनाउन व्यस्त रहेका र काठमाडौँ बाहिरबाट यहाँ पेसा–व्यवसाय गर्न आएकाहरु आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो

घटस्थापनादेखि नै मानिसहरु काठमाडौँबाट जान थालेका थिए । अघिल्लो शनिबारदेखि दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिएका थिए । नवमीमा दिन अत्यावश्यकबाहेक सवारी साधन नचलाइने परम्पराका कारण पनि सडक खाली भएको हो । सडकमा निजी क्षेत्रका एकाध सवारी साधन मात्रै गुडेका देखिन्छन् भने पैदलयात्री पनि न्यून देखिन्छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले उपत्यकामा सवारी चाप अति कम रहेको र ट्राफिक व्यवस्थापनको स्थिति सामान्यतः रहेको जनाएको छ । नवमीका दिन आफ्ना सवारी साधानलाई धोइपखाली गरी पूजाआजा गरिन्छ ।

महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो

वर्षमा एक दिनमात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात महानवमीका दिनमा मात्र सर्वसाधारणका लागि खुल्ने गर्छ । मन्दिरमा आज बिहानदेखि नै दर्शन, पूजा पाठ गर्न भक्तजनको घुँइचो लागेको हो । भक्तजन लामो लाममा दर्शन गर्ने प्रतीक्षामा बसेका छन् ।

तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ । तलेजु भवानी मन्दिर वसन्तपुर दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको एकपटक दसैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । यसैले गर्दा पनि यहाँ भक्तजनको भीड लागेको हो ।

हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा तलेजुका साथै जगन्नाथ, शिवपार्वती, ठूलो घण्टा, कालभैरव, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डपलगायत सम्पदा छन् ।

सर्वसाधारणका लागि प्रत्येक वर्ष बडादसैंको महानवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरको इतिहास पनि रोचक छ । कोतपर्वपछि तलेजु मन्दिरमा ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिने चलन चलाइएको हो । पाप मोचनका लागि बलि दिने राणाकालीन त्यो परम्परा अझै पनि कायमै छ । हरेक वर्षको दसैंमा नेपाल सरकारले ५४ वटा राँगा तथा ५४ वटा बोका बलि चढाउँछ । महाअष्टमीको रात्रिमा कालरात्रि नामले गरिने पूजामा यो बलि चढाउने गरिन्छ । नेपाली सेनाको मुख्यालयबाट मार हान्न सैनिक खटाउने गरिएको छ ।

पहिले तलेजु मन्दिर प्रवेश गर्ने चारवटा ढोका थिए । तलेजु भवानी मन्दिरमा चारै दिशाबाट ओहदाअनुसारका व्यक्तिले प्रवेश पाउने व्यवस्था थियो । जसअनुसार दक्षिणतिरको ढोकाबाट राजा, उत्तरतिरबाट भारदार, पूर्वतिरबाट भक्तपुर, ललितपुर तथा कीर्तिपुरका राजा अनि पश्चिमतिरबाट सर्वसाधारणले प्रवेश पाउँथे । देवी, देउता तथा कुमारीलाई पनि पश्चिमकै ढोकाबाट प्रवेश गराइन्थ्यो । सन् १९९० को भुइँचालोपछि भने अरू सबै ढोका बन्द गरेर एउटैबाट मात्र प्रवेश गर्ने व्यवस्था मिलाइएको हो ।

तुलजा भवानीलाई तुलजा, तलेजु, तुर्जा, तलेजी आदि नामले पूजा–अर्चना गरिन्छ । तुलजा भवानीलाई दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिन्छ । तुलजा भवानीलाई नेवार समुदायमा इष्टदेवीका रूपमा पूजिन्छ । तुलजा भवानीको पूजा–अर्चना नेपाल, भारतलगायत तिब्बतमा पनि हुने गरेको छ । नेपालमा तुलजा भवानीलाई प्रवेश गराउने व्यक्ति कर्नाटवंशी राजा हरिहरसिंह देव हुन् । उनी सिम्रौनगढका राजा थिए ।

मल्ल राजाहरूले यो मन्दिरलाई निजी प्रार्थना स्थलका रूपमा विकास गरेका थिए । तीनतलाको हनुमानढोकास्थित तलेजु मन्दिर एक सय २ फिट अग्लो छ । सप्तमीका दिन मन्दिरबाट भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याएर राखिन्छ ।

तलेजु मन्दिर वर्षमा एकपटक महानवमी दिनमात्र सर्वसाधारणका लागि खुला गरिए पनि यहाँ दिनहुँ पूजाआराधना हुन्छ । कर्माचार्यका थरका पुजारी यहाँ पूजा गर्ने परम्परा छ । तलेजुको पूजा गर्न आठ जना मानिस संलग्न हुन्छन् । त्यहाँ हरेक बेलुका आरती हुन्छ । मुख्य मन्दिर (देवीको मूर्ति राखिएको ठार्उँ) मा कर्माचार्य, जोशी र राजवंशी गरी तीनवटा थरका मानिसले मात्र प्रवेश पाउने नियम छ ।

राजभण्डारी, प्रधान, सुवाल, सिं, बज्राचार्य, राजोपाध्याय, खड्गी, महर्जन तथा परियारले मन्दिर परिसरमा प्रवेश गर्न पाउँछन् । थरअनुसार नै उनीहरूको कामको प्रकृति तोकिएको हुन्छ । नगरा बजाउने, घण्टा बजाउने, भुजा पकाउने, लिपपोत गर्ने, पानी ल्याउने, कुमारीलाई भोग चढाउने आदि । यो मन्दिरमा मल्ल तथा शाह राजाहरूले विभिन्न पर्वको परम्परा बसाएका थिए ।

तलेजु मन्दिरमा प्रत्येक वर्ष ७५ वटा ठूला तथा २४ वटा साना पर्व मनाउने गरिएको छ । एउटा पर्वमा १६ जातका ४२ जना मानिस अनिवार्य चाहिने व्यवस्था छ । तलेजु मन्दिरमा सबैले पूजा गर्न पाउँदैनन् । राणाकाल र त्यसअघि राजपरिवारका सदस्यले मात्र पूजा गर्ने अवसर पाएका थिए । तलेजु मन्दिरमा पूजा गर्न विधि–विधान पु¥याउनुपर्छ । त्यसका लागि ज्योतिष कहाँ गएर तिथिमिति हेराएर, शुभ साइत र शुभ मिति जुराउनुपर्छ । त्यसपछि पुजारीले मन्त्र दान गर्छन् अनि मात्र पूजा गर्न पाइन्छ । हनुमानढोका क्षेत्रमा तलेजु मदिर सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको अग्लो मन्दिर हो । मन्दिर अग्लो भएकाले परदेखि नै यसको आकर्षण देखिने गरेको छ ।

त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपालले ५ विकेटले यूएईलाई हरायाे

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपालले ५ विकेटले यूएईलाई पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरेका छन् भने कप्तान रोहित पौडेल ४७ रनमा आउट भएका थिए । यस्तै दीपेन्द्रसिंह ऐरी १५ बलमै एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे ।

आजको खेलमा आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन् । कुशल भुर्तेल एक, सोमपाल कामी दुई र कुशल मल्ल शून्य रनमै आउट भए । यूएईका मोहम्मद जवादुल्लाहले २, अकिफ राजा र जहूर खानले एकरएक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ र४५ रन बनाए । यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९, अल नासिर ९ र मोहम्मद वासिम ८ रन बनाएर आउट भए । निलान्स केश्वानी ८ र अकिफ राजा ५ रनमा अविजित रहे । नेपालका सोमपाल कामी र अविनाश बोहोराले २÷२ विकेट लिए भने करण केसी र गुल्शन झाले एकरएक विकेट लिए।
झलनाथ खनालद्धारा दसैँमा नेता कार्यकर्ताहरूलाई टीका गर्ने

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले यो वर्षको दशैँ काठमाडौँमा मनाउने भएका छन् । खनालले डल्लुस्थित आफ्नो निवासमा दसैँको टीका लगाउने भएका हुन् ।

बिहान परिवारसँग दसैँ मनाएपछि दिउँसो २ बजेपछि पार्टीका नेता कार्यकर्ताहरूलाई टीका लगाइदिने कार्यक्रम तय भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । खनालले दसैँ मनाउन, कार्यकर्ता तथा शुभचिन्तकसँग भेटघाट गर्न गृह जिल्ला इलामका सबै कार्यक्रम रद्द गरिसकेको भट्टराईको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *