मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असोज ३० गते सोमबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा चालु खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने देखी पहिलो दुई महिनामा ४.७ प्रतिशतले व्यापार घाटासम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार
चालु खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । त्यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चितिले एक वर्षको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रू २३ अर्ब ५० करोडले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू ३६ अर्ब ८४ करोडले घाटामा थियो । त्यस्तै, गत भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति रू ५३ अर्ब ६१ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू २० अर्ब ८१ करोडले घाटामा थियो ।

गत असार मसान्तसम्ममा रू १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति तीन दशमलव नौ प्रतिशतले बढेर भदौ मसान्तसम्ममा रू १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रू १४ खर्ब ६ अर्ब ५२ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रू एक खर्ब ९३ अर्ब ५९ करोड रहेको छ । कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव ७ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले १२ दशमलव छ महिनाको वस्तु आयात र १० दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

गत भदौ मसान्तसम्ममा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः २९ दशमलव सात, ८६ र २६ दशमलव दुई प्रतिशत रहेको छ । पछिल्लो दुई महिनामा आयात पाँच दशमलव एक प्रतिशतले, निर्यात सात दशमलव आठ प्रतिशतले र कूल वस्तु व्यापार घाटा चार दशमलव सात प्रतिशतले घटेको छ ।

भदौ मसान्तसम्ममा सरकारको कूल बजेच खर्च रू एक खर्ब ३१ अर्ब १४ करोड र राजस्व परिचालन रू एक खर्ब ४१ अर्ब आठ करोड रहेको छ । यही अवधिमा विस्तृत मुद्राप्रदाय शून्य दशमलव पाँच प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा भने यस्तो मुद्राप्रदाय १२ प्रतिशतले बढेको छ । त्यस्तै, यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन शून्य दशमव एक प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव सात प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव दुई प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार प्रतिशत छ ।

रास्वपालाई झिल्के पार्टी भनेपछि रवि लामिछाने खनिए ओलीमाथि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एमाले अध्यक्ष केपी ओलीमाथि खनिएका छन् । आफ्नो पार्टीलाई झिल्के भनेर सम्बोधन गरेपछि रविले ओलीलाई जनताको चेतनालाई चुनौती नदिन चेतावनी दिए । मंगलवार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रममा लामिछानेले प्रश्न गरे, ‘आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा, हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पु¥याउँदा अझै पनि तपाईकै दललाई भोट हालिरहने ? तपाईकै नेतालाई भोट हालिरहने ? ती भोटर चाहिँ कस्ता ?’

ओलीले सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा नयाँ दलप्रति लक्षित गर्दै नीति, सिद्धान्त, इतिहास योगदान, अनुभव केही पनि नभएका झिल्केहरूबाट जनतालाई भ्रममुक्त बनाउनुपर्ने बताएका थिए । ‘आज अनेक प्रकारका तत्वहरू सल्बलाइरहेका छन् । बलिदान एकाथरीले दिन्छन्, तर त्यो त्याग र बलिदानको उपहास गरेर एकाथरी तत्व बडा गज्जबको झिल्के कुरा गर्दै निस्किन्छन् । झिल्के कुराका भरमा जनता अलमल्याउन खोज्छन्,’ ओलीले भने, ‘बजारमा गएर उम्मेदवार खोजेर, हात उठाएका भरमा छानिएकालाई जनताले भोट हालिदिन्छन् । हाम्रो कमजोरी हो त्यो । यस्तो झिल्के कुरा गर्नेहरूले जनतालाई अलमल्याइरहेका छन् । अरू केही पार्टी त विषै छर्ने पार्टीहरू छन् । उनीहरूको भ्रमबाट जनतालाई मुक्त गर्नुपर्छ ।’

पार्टीहरू नयाँ र पुरानो भन्ने विषय उसको नीति र भूमिकामा भर पर्ने भन्दै ओलीले समयानुकूल अद्यावधिक गर्दै मुलुक र जनताको मुद्दा बोक्ने पार्टीले नै देशको नेतृत्व गर्ने बताए का थिए। कांग्रेसले भने आफूलाई नीति र विधिअनुसार नचलाएर पुरानो पार्टीमा रूपान्तरित गरिसकेको ओलीको आरोप थियो ।

एमाले त्यागेकी प्रभु साहकी पत्नी रिनाको गुम्यो मेयर पद

रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारीको पद गुमेको छ । एमाले त्यागेर अन्य दलमा गएको भन्दै निर्वाचन आयोगले रिनाको मौलापुर नगर प्रमुखको पद गुमेको सूचना जारी गरेर जानकारी दिएको हो ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी उनको नगरप्रमुखको पद गुमेको हो । एमालेबाट मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी उनी सो पार्टी त्यागेपछि पद पनि गुमेको हो । एमालेको केन्द्रीय समितिको निर्णयसहित रिनाले एमाले त्यागेको जानकारी गराएकाले राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

अर्को भ्रष्टाचार काण्डको श्रीगणेश गर्दै मन्त्री किराँती

माओवादीका चटपटे पर्यटनमन्त्री अहिले नेपाल वायुसेवा निगमलाई नै धराशयी बनाउने अभियानमा लागेका छन् । भएकै जहाज पनि सञ्चालन गर्न नसकेर कवाडीमा बेच्न लागेको र ४८ अर्ब ऋणमा डुबेको नेपाल वायुसेवा निगम डुबाउने खेलमा उनी लागेका छन् । उनकै उक्साहटमा निगम नेपाल एयरलाइन्सका लागि थप १० वटा जहाज खरिदको तयारीमा लागेको छ ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि भन्दै कसैगरी जहाज खरिद गरेरै छाड्ने अभियानमा किराँती लागेका छन् ।
निगमले यतिखेर दुर्गमका लागि तीनवटा र सुगम क्षेत्रका लागि दुईवटा गरी पाँचवटा जहाज खरिदको तयारी गरिरहेको छ । तर, निगमलाई त्यतिले नपुग्ने भन्दै किरातीले अन्तर्राष्ट्रिय उडानका लागि थप पाँचवटा न्यारोबडी खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । दुर्गम क्षेत्रमा उडान भर्न तीनवटा जहाजको सम्पूर्ण अध्ययन प्रक्रिया पूरा भएर दसैंअगाडि नै टेन्डरमा जाने उनको भनाइ छ ।

निगमले भने भएकै जहाज पनि पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको छैन । निगमसँग अहिले दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी, दुईवटा ट्विनअटर गरी ६ वटा जहाज छन् । लहडकै भरमा यसअघि किनिएका ६ वटा चिनियाँ जहाज १० वर्षदेखि ग्राउन्डेड छन् । त्यति महँगा ती जहाज पनि किन्ने बेलामा ठोस योजना नभएको बताइन्छ ।

निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले सोल्टी होटलको सेयर बेचेर जहाज किन्न सुझाएको थियो । तर, भएकै एयरबस र वाइडबडीको ऋणको किस्ता र ब्याज भुक्तानी गर्न नसकिरहेका बेला १० विमान थप्दा झन् व्ययभार मात्र थपिने निश्चित छ ।अहिले नेपाल एयरलाइन्स ४८ अर्ब ऋणमा छ ।


गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धि हो– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै ठूलो सङ्घर्ष र मेहनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्दै उनले यो निकै ठूलो उपलब्धि भएको बताएका हुन् ।

“नेपालको संविधानमा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो सङ्घर्ष र पहल गरेको छु, त्यसकै बलमा तपाईँहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ”, उनले भने । आफ्नो नेतृत्वको नयाँ सरकारको आग्रहअनुसार राष्ट्रपतिबाट नागरिकता विधेयक सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको र नियमावली बनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, “मलाई विश्वास छ, विदेशमा रहनुभएका लाखौँ गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको सङ्घर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथी र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ ।”

गैरआवासीय नेपालीसँग सम्बन्धित थुप्रै सवाललाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरिएको उल्लेख गर्दै उनले विदेशी लगानीको न्यूनतम सीमा रु पाँच करोडबाट घटाएर रु दुई करोड कायम गरिएको बताए । “धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ, यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको छ”, उनले भने, “यो एउटा ऐतिहासिक काम भएको छ । अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू यो अभियानमा आबद्ध भइसक्नुभएको छ । आगामी दिनमा यो सङ्ख्या अरु बढ्ने हाम्रो विश्वास छ ।”

डोटी जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलालीबाट डोटीको बड्डीकेदार जाँदै गरेको बस दुर्घटना भएको छ। जोशीपुरदेखि डोटीको बडिकेदार जाँदै गरेको सु.प.प्र.०१००१ख २३४५ नम्बरको बस सहजपुर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।

सुपर गुरास यातायातको बस चुरे गाउँपालीका ३ सहजपुरमा दुर्घटना प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। प्रहरीका अनुसार बस अनियन्त्रीत भएर सडकको नालामा खसेको हो । बसमा सामान्य क्षती भए पनि सवार यात्रु सकुशल रहेको बताइएको छ।

वाणिज्य बैंकहरुले घटाए ब्याजदर

हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि ब्याजदर घटाएका छन्। बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार अधिकांश बैंकहरुको ब्याजदर घटाएका छन्। वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सूचना अनुसार १४ बैंकहरुले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन्। त्यसैगरी, ४ बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् भने २ बैंकहरुले ब्याजदर बढाएका छन्।

२० बैंकहरुमध्ये असोज महिनाको तुलनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेष्ट बैंक रहेको छ। बैंकले कात्तिकका लागि ब्याजदर १.८३ प्रतिशतविन्दुले घटाएको छ। असोज महिनामा ११.०५४ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर, कात्तिक महिनामा ९.२२४ प्रतिशतमा झरेको छ। त्यसैगरी, प्राइम कमर्सियल बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि १ प्रतिशतविन्दुभन्दा बढी ब्याजदर घटाएका छन्।

सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने असोज मसान्तकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यता नेपाल एसबिआई बैंक र एनएमबि बैंकले भने ब्याजदर बढाएका छन्। एनएमबि बैंकको ब्याजदर १.०१३ प्रतिशतविन्दुले बढेको हो।

कात्तिक महिनाका लागि अधिकांश विकास बैंकहरुले भने मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। उनीहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा १०.२५ प्रतिशत र संस्थागतमा ८.२५ प्रतिशत ब्याजदर कायम गरेका छन्। असोजमा विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ११ प्रतिशत र संस्थागतमा ९ प्रतिशत ब्याज दिँदै आएका छन्।

सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य बढाउन गृहमन्त्री श्रेष्ठको जोड

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका सार्वजनिक सुरक्षामन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वाङ सियाओहङबीच मंगलबार द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा उनीहरूबीच नेपाल र चीन सम्बन्ध, द्विपक्षीय सहकार्यका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्ध रहेको दोहो¥याए ।

उपप्रधानमन्त्री श्रेष्ठले कानुन कार्यान्वयन, सीमा व्यवस्थापन तथा सुरक्षा अधिकारीको क्षमता अभिवृद्धिलगायत विषयमा द्विपक्षीय सहकार्यलाई अगाडि बढाउने बारेमा छलफल गरेका थिए । उनले शान्ति सुरक्षा कायम गर्न तथा सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सीमापार सुरक्षा सहकार्य बढाउनुपर्नेमा जोड दिए । भेटमा चिनियाँ सार्वजनिक सुरक्षामन्त्री सियाओहङले विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक सहायता सामग्री निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

एनआरएनएको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ ः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा बोल्दै मन्त्री डा. महतले भने, ‘नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन्।’

युवाहरूलाई यहाँ केही छैन, अरु गइसके, म पनि विदेश जानैपर्छ भन्ने लागेको भए त्यो भ्रममा नपर्न आग्रह गरेका छन्। मन्त्री डा. महतले भने, ‘यहाँ अवसर छ, अरु देश भौतिक रुपमा पूर्ण विकसित भइसकेका छन्। त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पूर्जाका रुपमा फिट हुने हो। तर यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने दृष्टिकोण सुष्म चाहिन्छ।’

पहिलो दुई महिनामा ४.७ प्रतिशतले व्यापार घाटा

नेपाल राष्ट्र बैङकले आर्थिक वर्ष २०८०–८१ को पहिलो दुई महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०–८१ को पहिलो दुई महिनाको तथ्याङ्क अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्गमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ । आयात ५.१ प्रतिशतले घटेको छ । यस्तै निर्यात ७.८ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ ।

यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.१ प्रतिशतले र अमेरिकी डलरमा १.७७ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.५३ अर्ब ६१ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१,५९८ अर्ब ९० करोड र अमेरिकी डलरमा १२ अर्ब १ करोड रहेको छ ।

नेपाल सरकारको खर्च रु.१३१ अर्ब १४ करोड र राजस्व परिचालन रु.१४१ अर्ब ८ करोड रहेको तथ्याङमा उल्लेख छ । विस्तृत मुद्राप्रदाय ०.५ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.० प्रतिशतले बढेको
छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.१ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.७ प्रतिशतले
बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.० प्रतिशत रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *