मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असोज २८ गते आइतबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । आइतबार तयार पारिएको मुख्य १० समाचारमा काठमाडौँ । मुख्यमन्त्री कार्कीको शपथमा गएनन् गठबन्धन दल, कांग्रेस र एमालेका एक–एक मन्त्री नियुक्तदेखी पूर्वराजा ज्ञानेन्द्रले दशैंको टीका शुभेच्छुकलाई लगाइदिने सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

काठमाडौँ । मुख्यमन्त्री कार्कीको शपथमा गएनन् गठबन्धन दल, कांग्रेस र एमालेका एक–एक मन्त्री नियुक्त

कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले आइतबार उनलाई प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् । कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एमालेका ३९ सांसदले समर्थन गरेका थिए । मुख्यमन्त्री कार्कीको शपथमा नेपाली कांग्रेसको संस्थापन, माओवादी, एकीकृत समाजवादी र जसपा सहभागी भएनन् । कार्कीले कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई मन्त्रीमा नियुक्त गरेका छन् । सत्ता गठबन्धनले माओवादीका ईन्द्र आङ्बोलाई अगाडि बढाए पनि कांग्रेसभित्र विद्रोह गरी एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् ।

बेपत्ता विपीन जोशीको स्थिति पत्ता लगाइदिन परराष्ट्रमन्त्री साउदको अन्तर्राष्ट्रिय निकायलाई आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा वेपत्ता रहेका नेपाली विद्यार्थी विपीन जोशीको स्थिती पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन् । आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तराष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले वेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेका हुन् । कुराकानीका क्रममा साउदले प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपीन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने बताए ।

‘विपीनसहितका नेपाली विद्यार्थीहरू बंकरमा लुकेर बसेको बेलामा आक्रमणकारीले छोटो समयमा पटकपटक आक्रमण गरेको देखिन्छ । पहिले गोली चलाएको र त्यसपछि ग्रिनेट फालेको देखिन्छ,’ उनले भने, ‘ प्रत्यक्षदर्शी विद्यार्थीले भनेअनुसार दुईवटा ग्रिनेट फाल्दा एउटा नपड्किँदै विपीनजीले एउटा ग्रिनेट बाहिर फ्याँकेको देखिन्छ । प्रत्यक्षदर्शी विद्यार्थीले देखेअनुसार त्यसपछि केही थाइल्यान्डका विद्यार्थीसँग विपीनलाई पनि अपहरण गरेको लगेको उनले बताए । ‘त्यसदेखि नै उनी अज्ञात अवस्थामा छन्, उनको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन,’ साउदले भने ।
इजरायल सरकारले जोशीको स्थिति के हो भन्ने विषयमा पत्ता लगाउन प्रतिबद्धता जनाएको साउदले बताए ।

‘उहाँको स्थिति पत्ता लगाइदिनका लागि हामीले इजरायल सरकारसँग आग्रह गरेका छौं । इजरायल सरकारले पनि उहाँको स्थिति के हो भन्ने विषयमा पत्ता लगाउन प्रतिबद्धता जनाएको छ,’ उनले भने, ‘तपाई (अन्तर्राष्ट्रिय सञ्चारमाध्यम) हरूमार्फत अन्तर्राष्ट्रिय संघसंस्था, विभिन्न कूटनीतिक मिसनहरूसँग पनि उहाँको स्थिति पत्ता लगाइदिनका लागि अनुरोध गर्न चाहन्छु ।’

शुभसाइतमा राखियो दसैँ घरमा जमरा

काठमाडौंको हनुमान ढोकास्थित दसैँ घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबारदेखि विधिवत सुरु भएको नवरात्रको पहिलो दिन दसैँ घरमा ११:२९ बजेको शुभसाइतमा जमरा राखिएको हो ।सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दसैँ घरमा दसैँको पहिलो दिन अर्थात् घटस्थापनमा जमरा राख्ने परम्परा छ ।

आइतबार बिहान नित्यकर्म गरी नदी वा पवित्र स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैँ घरमा जमरा राखिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आहृवान गरी पूजाअर्चना गरिन्छ ।

नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ । जमरामा मकै र जौको मिश्रण राखिन्छ । मकै या जौ अलगै पनि राख्ने चलन छ ।

मुख्यमन्त्री कार्कीलाई ओलीलाई भेटेर दिए धन्यवाद, सच्चा काम गर्न ओलीको सुझाव

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले आइतबार बिहान ओलीसँग ओली निवास बालकोट पुगेर भेटवार्ता गरेका हुन् । केदार कार्कीसँगै ओली निवास बालकोट पुगेका पुरञ्जन आचार्यका अनुसार समय छोटो भएका कारण बढी कुरा हुन पाएन् । ओली बाहिर निस्कन लागेको समयमा पुग्दा हतारमा उभिएर मात्रै कुरा भएको आर्चाको भनाइ छ ।

उक्त भेटमा कार्कीले ओलीलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए भने ओलीले आफ्नो कार्यलमा सच्चा काम गर्न सुझाव दिएका थिए । शनिबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण भएका कार्की कांग्रेस नेता शेखर कोइरालालाई यसअघि नै भेटिसकेका थिए । कार्कीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार उनी मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले आजै आफूलाई सहयोग गर्ने एमाले र कांग्रेसका विद्रोही समूहलाई समेटेर मन्त्रिपरिषद् सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् ।

मुख्यमन्त्री कार्कीलाई ओलीलाई भेटेर दिए धन्यवाद, सच्चा काम गर्न ओलीको सुझाव

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले आइतबार बिहान ओलीसँग ओली निवास बालकोट पुगेर भेटवार्ता गरेका हुन् । केदार कार्कीसँगै ओली निवास बालकोट पुगेका पुरञ्जन आचार्यका अनुसार समय छोटो भएका कारण बढी कुरा हुन पाएन् । ओली बाहिर निस्कन लागेको समयमा पुग्दा हतारमा उभिएर मात्रै कुरा भएको आर्चाको भनाइ छ ।

उक्त भेटमा कार्कीले ओलीलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए भने ओलीले आफ्नो कार्यलमा सच्चा काम गर्न सुझाव दिएका थिए । शनिबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण भएका कार्की कांग्रेस नेता शेखर कोइरालालाई यसअघि नै भेटिसकेका थिए । कार्कीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार उनी मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले आजै आफूलाई सहयोग गर्ने एमाले र कांग्रेसका विद्रोही समूहलाई समेटेर मन्त्रिपरिषद् सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् ।

गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनायौँ – प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज बनाएको र गठबन्धधन पाँच वर्ष टिक्ने दाबी गरेका हुन् ।

वर्तमान सरकारको कार्यले केही आत्तिएको र उनीहरुले गठबन्धन भत्काउने प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । गठबन्धन भत्काउने प्रयास कोशी प्रदेशबाट सुरु गर्न खोजिए पनि असफल भएको बताउँदै उनले भने, ‘कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य देखियो, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एकथरी मान्छे विछिप्त भएर यहाँ खेलर विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअनुसार अघि बढेका थिए ।’

सेनामा चलखेल स्वीकार्य छैन ः शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली सेनामा माओवादीको पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नभएको बताएका छन् । आइतबार विहान सामाजिक सञ्जालमार्फत नेता कोइरालाले नेपाली सेना सधैं राजनीतिबाटट अलग रहेको बताए । नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन, उनले लेखेका छन् ।

सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने कोइरालाको भनाइ छ । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस, उनले भने ।

हमाससँग १२६ जना बन्धक रहेको इजरायलको दाबी

प्यालेस्टाइनी लडाकु समूह हमासले ८ दिनअघि घातक आक्रमण गरेयता १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ । अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा कम्तीमा एक हजार ३०० जनाको मृत्यु भएको र करिब १५० इजरायली र विदेशी बन्धक बनाएको हुनसक्ने अनुमान इजरायली अधिकारीहरूले गरेका थिए ।

त्यसयता इजरायली बमबारीमा प्यालेस्टाइनी इलाकामा दुई हजार ३०० भन्दा बढीको मृत्यु भइसकेको छ भने दशौं हजार सैनिकहरू आक्रमणको तयारीका लागि गाजाको सीमामा जम्मा भएका छन् । सेनाका प्रवक्ता रिचार्ड हेक्टले पनि हमासले एक्कासी गरेको आक्रमणको जवाफमा सुरु गरिएको सैन्य कारबाहीका क्रममा २८६ इजरायली सैनिकको मृत्यु भएको बताएका छन् ।इजरायली अधिकारीहरूले दक्षिणी इजरायलमा हमास आक्रमण स्थलबाट शवहरू फेला परेका र पहिचान गरिएकाले ज्ञात बन्धकहरूको सङ्ख्यामा परिमार्जन गरिएको बताएका छन् ।

हेक्टले एक ब्रिफिङमा १२६ जनालाई हमासले बन्धकको रूपमा लगेको ‘पुष्टि’ भएको बताएका छन् । यो सङ्ख्या शनिबार १२० बाट बढेको थियो र अधिकारीहरूले आगामी दिनहरूमा यो सङ्ख्या परिवर्तन भइरहने चेतावनी दिएका छन् ।

सेनाले गाजामा छापा मार्दा बन्धक बनाइएका केही व्यक्तिको शव फेला पारेको पनि बताएको छ । हमासले इजरायली आक्रमणमा २२ जना बन्धक मारिएको दाबी गर्दै आएको छ । उसले अघोषित इजरायली आक्रमणको जवाफमा बन्धकहरूलाई मार्ने चेतावनी दिएको छ ।

सहमतिपछि पालिकाका कर्मचारीको आन्दोलन स्थगित

नेपाल सरकार र आन्दोलनरत पालिकाका कर्मचारीबीच १९ बुँदे सहमति भएपछि पालिकाका कर्मचारीको आन्दोलन स्थगित भएको छ । विभिन्न माग राखेर विगत १४ दिनदेखि काठमाडौँमा आन्दोलनरत कर्मचारी र सरकारबीच गए राति सहमति भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार सङ्घीय निजामती सेवा ऐनमा सङ्घ, प्रदेश र स्थानीय सेवाको कर्मचारीको सेवा सर्तका विषयमा न्यूनतम मापदण्ड समावेश गर्ने, स्थानीयका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समावेश गर्नुपर्ने मागमा प्रदेश कानुन निर्माण गर्दा मन्त्रालयले पहल गर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको पद रहने व्यवस्था गर्नुपर्ने र यस्तो पदमा ऐन प्रारम्भ भएको मितिले पाँच वर्षसम्म सङ्घीय निजामती सेवाका कर्मचारी खटाउने व्यवस्था समावेश गर्न उपयुक्त हुने गरी सहमति जुटेको छ ।

यसैगरी सङ्घ, प्रदेश र पालिका तीनै तहमा तहगत प्रणाली लागू गर्ने विषयमा पनि सहमति भएको छ । सरकार र आन्दोलनरत पालिकाका कर्मचारीको सहमति भएसँगै गए रातिदेखि आन्दोलन फिर्ता भएको वार्ता टोलीका संयोजकसमेत रहेका प्रवक्ता भट्टराईले बताए । सङ्घीय निजामती विधेयकमा आफूहरूलाई विभेद गरेको भन्दै कर्मचारी विगत १४ दिनदेखि काठमाडौँमा आन्दोलन गर्दै आएका थिए । वार्ता टोलीमा आन्दोलनरत कर्मचारीका तर्फबाट दीपक गौतमको नेतृत्वमा टोली बनेको थियो ।

एन आई सी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा सम्पन्न,चुक्तापूँजी १४ अर्ब ९१ करोड पुग्यो

काठमाडौं। लाखौं ग्राहकहरूमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर ( ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश (१७ करोड ६५ लाख ३ हजार २ सय ४०) समेत गरी कुल ३०.५२६३ प्रतिशत लाभांश ( ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । बैंकको २६ औं वार्षिक साधारण सभाले २९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको कुल चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ पुगेको छ । साथै, सभाले आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६३१ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्रले दशैंको टीका शुभेच्छुकलाई लगाइदिने

पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छ । यस वर्षको विजया दशमीको टीका ७ कात्तिक मंगलबार परेको छ । उक्त दिन अपरान्ह ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने आइतबार संवाद सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *