मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असोज २६ गते शुक्रबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । शुक्रबार तयार पारिएको मुख्य १० समाचारमा कोशीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको सनाखत भोलिदेखी गैह्रीगाउँ हत्याकाण्डका प्रमुख अभियुक्त सञ्जय भण्डारीलाई आजीवन कारागारमा राख्न माग सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

कोशीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको सनाखत भोलि

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरु शनिबार सनाखत गरिने भएको छ । मुख्यमन्त्रीका लागि दाबि पेश गरेका दुवै जनाले ४७–४७ सांसदको समर्थन रहेको दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखत गर्ने भएका हुन् । दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा तोकिएको समयमा उपस्थित हुन प्रदेश प्रमुखले सूचना जारी गरेका छन् ।

मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेबमोजिम माओवादी नेता इन्द्र आङ्बो र कांग्रेसका शेखर कोइराला पक्षका नेता केदार कार्कीको दाबी पेस भएको थियो ।

देउवाले बोलाएको बैठकमा गएनन् कोइराला

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय कार्यसम्पादन बैठकमा नेता शेखर कोइराला अनुपस्थित भएका छन् । देउवा निवासमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकमा कोइरालाको अनुपस्थित भएपछि उनलाई शनिबार बिहानसम्म छलफलका लागि पर्खिने भएको छ । यस अघि सत्ता गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार नै बसेको बैठकमा कोइरालाले केदार कार्कीलाई पछि हटाउने अस्वीकार गरेपछि बसेको कार्यसम्पादन समितिको बैठकमा उनी अनुपस्थित भएका हुन् । कांग्रेसका प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले बैठक भोलि बिहान बस्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठक कार्तिक १२ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ । यस्तै विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना पनि स्वीकृत भएको छ ।

थेरापीका लागि सांसद मनोरमा शेरचनको १६ बैठक अनुपस्थितिको सूचना र गृहजिल्ला भ्रमणका कारण सांसद दयालबहादुर शाहीको ११ बैठक अनुपस्थितिको सूचनालाई पनि सदनले स्वीकृत गरेको छ । उनले भने– ‘गठबन्धन पनि जोगाउनुपर्ने भएकाले गठबन्धनले अघि सारेका व्यक्तिलाई नै समर्थन गर्न भनियो उहाँ मान्नु भएन । गठबन्धन जोगाउनका लागि कांग्रेसकै व्यक्तिमा सर्वसम्मत हुन्छ भने त्यसका लागि तयार रहेको प्रधानमन्त्रीले पनि बताउनु भएको थियो । तर शेखर कोइरालाले त्यो पनि मान्नु भएन ।’

राहुल महरालाई थुनामा पठाउन आदेश

भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश दण्डपाणि शर्माको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।


राष्ट्रसंघका महासचिव गुटेरेस कार्तिक १२ गते नेपाल आउने

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस कार्तिक १२ गते नेपाल आइपुग्ने भएका छन्। इजरायलमाथि हमासको आक्रमणका कारण स्थगित भएको उनको भ्रमणको नयाँ समय तय भएको हो।

गुटेरेस आउँदो कात्तिक १२ गते नेपाल आइपुग्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका निजी सचिव रमेश मल्लले जानकारी दिए। यसअघि उनी आज नेपाल आउने र संघीय संसदमा संबोधन गर्ने कार्यसूचि थियो। तर, इजरायलमा बढेको तनावका कारण राष्ट्रसंघका महासचिव गुटेरेसले आफ्नो भ्रमण स्थगित गरेका थिए ।

राष्ट्रसंघका महासचिव आउने भएपछि सरकारले आजैदेखि अन्त्य गर्ने भनेको संघीय संसदको चालु अधिवेशन तत्काल अन्त्य नहुने भएको छ। राष्ट्रसंघको ७८औं महासभामा भाग लिग अमेरिका गएका बेला प्रधानमन्त्री प्रचण्डले गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

इजरायलको चेतावनी – ११ लाख गाजाबासी बाहिर निस्क

तेल अभिभ। इजरायल र हमासबीच जारी युद्धको शुक्रबार सातौँ दिन भए पनि अहिले शान्तिको सम्भावना कतै देखिँदैन ।

यसको विपरित लगातार बढ्दो इजरायली सेनाले प्यालेस्टिनी समूहलाई ‘मेटाउने’ कुरामा अडिग रहेको इजरायली सरकारले जुनसुकै बेला जमिन आक्रमण गर्न सक्ने जनाएको छ । इजरायलले ११ लाख गाजाबासीलाइ २४ घन्टा भित्र बाहिर निस्कन भन्दै नभए मृत्युका लागि पर्खिन चेतावनी दिएको छ भने इजरायलको सो चेतावनी पछि संयुक्त राष्ट्र संघले भनेको छ, ‘परिणाम भयावह हुने देखियो, यसलाइ इजरायलले रोक्नु पर्छ ।’

यसैबिच शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले बिहीबार तेल अभिभको भ्रमण गरेका थिए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई अमेरिकी समर्थनको आश्वासन दिएका छन । उनका अनुसार सो क्रममा गोलीले हानिएका बालबालिका र सिपाहीहरूको टाउको काटिएको डरलाग्दो तस्बिरहरू उनलाइ देखाइएको थियो। अमेरिकाले अहिलेसम्म इजरायलमा युद्धका क्रममा कम्तीमा २२ अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

गत शनिबार युद्ध सुरु भएदेखि इजरायलमा कम्तिमा १,२०० र गाजा पट्टीमा १,४०० मानिस मारिएका छन्। इजरायली सरकारको दावीका अनुसार यी बाहेक इजरायली क्षेत्रमा कम्तीमा १,५०० हमास लडाकुको शव पनि फेला परेको छ। इजरायली क्षेत्रबाट अपहरण गरिएका करिब १५० जनालाई हमासले बन्धक बनाएको छ ।

इजरायलले गाजालाई पूर्ण रूपमा घेरेको छ र पानी, इन्धन र बिजुलीको आपूर्ति बन्द गरेको छ। प्यालेस्टिनी क्षेत्रको एक मात्र विद्युत केन्द्र पनि इन्धन सकिए पछि बुधबारबाट बन्द गरिएको थियो । इजरायलले हमासले सबै बन्धकहरूलाई रिहा नगरेसम्म गाजा पुग्न कुनै पनि प्रकारको सहयोग नदिने दाबी गरेको छ।

उता, संयुक्त राष्ट्र (यूएन) ले शुक्रबार भनेको छ कि इजरायली सेनाले उनीहरूलाई दिएको जानकारी अनुसार गाजामा बसोबास गर्ने करिब ११ लाख प्यालेस्टाइनीहरूलाई २४ घण्टा भित्र पट्टीको दक्षिणी भागमा जान भनिएको छ। संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिक भन्छन्, ‘संयुक्त राष्ट्रले यस्तो स्थानान्तरणलाई विनाशकारी र विनाशकारी नतिजा बिना हुन असम्भव ठान्छ ।’

अमेरिकी सञ्चारमाध्यममा प्रकाशित समाचारमा इजरायलले संयुक्त राष्ट्रसंघलाई उत्तरी गाजा पट्टी छाड्न पनि आग्रह गरेको खबर आएको छ ।

एमसीसीको प्रसारणलाइनको ठेक्का रद्द

मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार एक सूचना गरी गर्दै यस्तो जानकारी दिएको हो । एमसीए नेपालका अनुसार बोलपत्रपहिले ठेक्काहरुमा गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको हो । उक्त ठेक्का रद्ध भएपछि अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने भएको छ ।

टेन्डरमा सबैभन्दा कम प्रस्ताव नै लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो प्रक्रिया रद्द गर्ने प्रस्ताव एमसीए नेपालले गरेको थियो । यो प्रस्तावलाई एमसीसीको मुख्यालयले अनुमति दिएपछि ठेक्का रद्द गरिएको जानकारी एमसीए नेपालले जनाएको छ । एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई तीन भागमा बाँडेर निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । गत ८ जेठमा खोलिएको बोलपत्रअनुसार ६ वटा कम्पनीले प्रसारणलाइन बनाउन प्रस्ताव पेश गरेका थिए । त्यसमध्ये पाँचवटा कम्पनीमात्रै प्राविधिक रुपमा सफल भएका थिए । भारतका कल्पतरू पावर ट्रान्समिसन लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड, केईसी इन्टरनेसनल लिमिटेड, लार्सेन एन्ड टर्बो लिमिटेड प्राविधिक रुपमा सफल भएकोमा तिनै कम्पनीले तीनवटै प्याकेजमा आवेदन हालेका थिए ।

प्रसारणलाइनको पहिलो लटमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्ड पर्छ । एमसीए– नेपालले यो लटको प्रसारणलाइन बनाउन ७ करोड ६४ लाख ६४ हजार अमेरिकी डलर लागत अनुमान गरेको थियो । सो लटमा प्रतिस्पर्धा गरेका कम्पनीमध्ये सबैभन्दा कममा ठेक्का हाल्ने कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेड नै १३ करोड १५ लाख अमेरिकी डलर प्रस्ताव गरेको थियो । त्यो नै लागत अनुमानभन्दा ५ करोड ५० लाख ६७ हजार अमेरिकी डलर अर्थात् ७२ प्रतिशतले बढी हो ।

दोस्रो लटमा रातमाटे–न्यू दमौली खण्डका लागि एमसीए नेपालले ६ करोड ४८ लाख ५३ हजार अमेरिकी डलर लागत अनुमान गरेको थियो । त्यसमा सबैभन्दा कम प्रस्ताव टाटा प्रोजेक्ट्स लिमिटेडले गरेको थियो, जसले सो खण्ड १० करोड ५४ लाख २५ हजारमा बनाउनसक्ने बताएको थियो । सबैभन्दा कम प्रस्ताव नै एमसीएको अनुमानभन्दा ४ करोड ५ लाख ७१ हजार बढी थियो । यो लागत अनुमानको ६२ दशमलव ५ प्रतिशतले धेरै हो ।

तेस्रो लटअन्तर्गत न्यू दमौली–न्यू बुटवल–भारतको सीमासम्म तोकिएको छ । एमसीए नेपालले यो खण्डको प्रसारणलाइन निर्माण गर्न ७ करोड ९२ लाख ८२ हजार लागत अनुमान गरेको छ । तर, यसमा सबैभन्दा कम रकममा बनाउने प्रस्ताव गर्ने टाटा प्रोजेक्ट्स लिमिटेडले १२ करोड ९० लाख २१ हजार डलर प्रस्ताव गरेको थियो । त्यो रकम नै लागत अनुमानको तुलनामा ६२ दशमलव ७३ प्रतिशत अर्थात् ४ करोड ९७ लाख अमेरिकी डलर धेरै हो ।

समग्रमा एमसीसीको सहयोगमा निर्माण हुने प्रसारणलाइन बनाउन २२ करोड ६ लाख अमेरिकी डलर लागत अनुमान एमसीए– नेपालले गरेको थियो । तर, सबैभन्दा कममा मूल्य प्रस्ताव गर्ने कम्पनीहरुले गरेको प्रस्ताव नै ३६ अर्ब ५९ करोड अमेरिकी डलर लागत अनुमानको तुलनामा ६६ प्रतिशतले बढी भएपछि फेरी प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने एमसिए नेपालले जनाएको छ ।

सर्वोच्च अदालत असोज २८ गते देखि कार्तिक ११ गतेसम्म बन्द रहने

सर्वोच्च अदालत असोज २८ गते देखि कार्तिक ११ गतेसम्म बन्द रहने भएको छ । सर्वोच्च अदालतले वडा दशैं, २०८० को उपलक्ष्यमा २०८० असोज २८ गते घटस्थापनाका दिनदेखि ऐ कार्तिक ११ गते कोजाग्रत पुर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने जानकारी दिएको हो । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिवार र विजया दशमीका दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाई गर्न विहान ११ः ०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म अदालत खुला रहने रहेने समेत सर्वोच्च अदालतले शुक्रबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कंगोमा कार्यरत नेपाली सैनिकको मृत्यु

कंगोमा कार्यरत नेपाली सैनिकको मृत्यु भएको छ । नेपाली सेनाले दिएको जानकारी अनुसार संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि कंगोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) उनान्तीसौँ डफ्फामा कार्यरत प्युठ भुपजित राईको शुक्रबार निधन भएको हो । खोटाङको फाक्टाङ्ग गाउँपालिका– ८ निवासी राई ट्याक्टिकल अपरेटिंग बेस जिनामा कार्यरत रहँदा विरामी भई थप उपचारका लागि कंगोको बुनियास्थित अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय राईको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाले जनाएको छ ।

गैह्रीगाउँ हत्याकाण्डका प्रमुख अभियुक्त सञ्जय भण्डारीलाई आजीवन कारागारमा राख्न माग

तीनकुनेको गैह्रीगाउँमा भएको हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारीलाई आजीवन कारागारमा राख्न मागदाबी गर्दै मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भण्डारीविरुद्ध दायर गरेको मुद्दामा क्रुर तथा निमर्मतापूर्वक हत्या गरेको कसुरमा उनलाई आजीवन कारागारमा राख्न माग गरिएको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । भण्डारी जन्मजात बोल्न सक्दैनन् ।

गत भदौ २० गते गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा चार जनाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा भण्डारी पक्राउ परेका हुन् । भण्डारीले धारिलो हतियार प्रहार गरी दोलखा घर भई सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उनी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *