मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असोज २४ गते बुधबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमाअख्तियारको कार्यक्षमतामाथि गगन र रवि लामिछानेले उठाए प्रश्न देखी कोशी सरकारबारे निर्णय गर्न राप्रपाद्धारा बैठक आह्वानसम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

अख्तियारको कार्यक्षमतामाथि गगन र रवि लामिछानेले उठाए प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थापा र लामिछानेले अख्तियारको काम गराई ठीक नभएको भन्दै ठूलाकाण्डलाई उन्मुक्ति दिने, ढाकछोप गर्ने गरेको बताए ।

कांग्रेस महामन्त्री थापाले अख्तियारले भ्रष्टाचारका ठूला काण्डलाई मिलाइदिने र ढाकछोप गर्ने गरेको गुनासो आउने गरेको उल्लेख गर्दै आयोगकै विश्वसनीयतामाथि प्रश्न उब्जेको बताए । ‘अख्तियारले भ्रष्टाचारका ठूला काण्डलाई मिलाइदिन्छ र ढाकछोप गर्छ भन्ने धारणा बनेको छ,’ महामन्त्री थापाले भने, ‘यसले अख्तियारको कार्यक्षमतामाथि प्रश्न उठेको छ ।’
अख्तियारले लाख र करोडका भ्रष्टाचार मात्रै देख्ने तर अर्बौं भ्रष्टाचार नदेख्ने भन्दै नेपाली जनता नै आक्रोशित छन् । पछिल्लो समय अख्तियारले सय र हजार घुस, भ्रष्टाचारमा मात्र केन्द्रित भएको छ ।

महामन्त्री थापाले अख्तियारका प्रमुख आयुक्त र आयुक्त नियुक्तिको मापदण्ड नबदलेसम्म परिणाम नआउने स्पष्ट पारे । ‘जरामै समस्या छ । नियुक्तिको भागबन्डा छ । नियुक्तिको मापदण्ड नबदली परिणाम दिँदैन,’ उनले भने, ‘नियुक्तिमा सार्वजनिक सुनुवाइ हुनुपर्छ ।’ रास्वपा सभापति लामिछानेले अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्छ भन्ने विश्वास आममानिसलाई नरहेको बताए । अख्तियारले दायर गरेको मुद्दाको संख्या निरन्तर घटेको र त्यसमा पनि दोषी ठहर हुने प्रतिशत निकै कम रहेको तथ्यांक प्रस्तुत गर्दै लामिछानेले भने, ‘अख्तियारको न डर रहृयो न भर ।

सोझासाझा निमुखालाई राम्रै काम गर्दा पनि अख्तियार लाग्ला कि प्रहरीले समाउला कि, सरकार लाग्ला कि भन्ने डर छ । अरुलाई चाहिँ डर र भर गयो । अख्तियारको दाह्रा पनि रहेन, नङ्ग्रा पनि भएन ।’ नेतृत्व परिर्वतन भएपछि अख्तियारभित्रै हराएको भन्ने सुनेको भन्दै उनले छानबिन जारी छ भन्ने रेडिमेड जवाफ कहिलेसम्म सुन्नुपर्ने हो भनेर प्रश्न गरे । ‘वाइडबडी खरिद प्रकरणमा सार्वजनिक लेखा समितिले २०७५ मै ४ अर्ब बढी अनियमितता भएको ठहर गर्दै कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको भन्दै उनले सोधे, ‘यसमा के भयो ?

’ २०७७ मा लेखा समितिले नै स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको भनेर थप छानबिन गर्न अख्तियारलाई लेखेर पठाएको हो । यस (ओम्नी प्रकरण) बारे छानबिन भइरहेको छ कि फाइल क्लोज भइसक्यो कि केही थाहा भएको छैन ।’लामिछानेले नेपाल ट्रष्टको ऐन नै संशोधन गरेर गोकर्ण रिर्सोटको जग्गा यति समूहलाई दिएको विषयमा पनि छानबिन भए नभएको प्रष्ट पार्न आग्रह गरे ।

इन्द्र आङबोलाई कोशीको मुख्यमन्त्री बनाउन सहमत

कोशी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू सहमत भएका छन् । नेपाली कांग्रेसले दाबी छोडेपछि आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका हुन् । प्रदेशसभाको पहिलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले बहुमत जुटाउन नसकेपछि गत २० गते पदबाट राजीनामा दिएका थिए । त्यसको केही घण्टामै प्रदेश प्रमुख परशुराम खापुङले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेका थिए ।

हालसम्म ३८ हजार ५९ जना डेङ्गुबाट सङ्क्रमित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ५९ जना पुगेको जनाएको छ । मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट सङ्क्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन् ।

महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गुको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ । हालसम्म कूल सङ्क्रमित सङ्ख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँच जना ९६२ दशमलव आठ प्रतिशत० सङ्क्रमित भएका छन् भने सबैभन्दा कम सङ्क्रमित प्रदेश कर्णाली एक सय २८ जना (शुन्य दशमलव ३ प्रतिशत)छन् ।

त्यस्तै मधेश प्रदेशमा पाँच सय ९० जना (एक दशमलव छ), बागमती प्रदेशमा चार हजार आठ सय ८३ जना (१२ दशमलव आठ प्रतिशत), गण्डकी प्रदेशमा छ हजार आठ सय १८ जना (१७ दशमलव नौ प्रतिशत), लुम्बिनी प्रदेशमा छ सय ५५ जना (१ दशमलव सात प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा एक हजार ८० जना (दुई दशमलव आठ प्रतिशत) सङ्क्रमण देखिएको छ ।

जिल्लागत हिसाबले सबैभन्दा धेरै क्रमशः सुनसरी जिल्लामा १६ हजार ९६ जना (४२ दशमलव तीन प्रतिशत) सङ्क्रमित भएका छन् । तनहुँमा चार हजार छ सय ५१ जना (१२ दशमलव दुई प्रतिशत), झापामा तीन हजार पाँच सय ८१ जना (नौ दशमलव ४ प्रतिशत), धादिङमा तीन हजार एक सय ३० जना (आठ दशमलव दुई प्रतिशत), मोरङमा दुई हजार दुई सय ७४ जना (छ प्रतिशत), कास्की जिल्लामा एक हजार चार सय ८१ जना (तीन दशमलव नौ प्रतिशत), र काठमाडौँमा आठ सय दुई जना (दुई दशमलव एक प्रतिशत) सङ्क्रमित भएका छन् भने अन्य जिल्लामा छ हजार ४४ जना (१५ दशमलव नौ प्रतिशत) डेङ्गुबाट सङ्क्रमित भएका छन् ।

कुल डेङ्गु सङ्क्रमित सङ्ख्यामा अगष्टमा मात्र सङ्क्रमित सङ्ख्या १३ हजार आठ सय ४६ जना पुगेको थियो । सेप्टेम्बरमा ११ हजार पाँच सय ८० जना र अक्टोबर ११ सम्म चार हजार सात सय ९० जना सङ्क्रमित भएका छन् ।

हमासको आक्रमणमा परी घाइते भएका २ नेपाली विद्यार्थी डिस्चार्ज

हमासको आक्रमणमा परी घाइते भएका २ जना नेपाली विद्यार्थी डिस्चार्ज भएका छन् । परराष्ट्र मन्त्रालयमा प्रवक्ता सेवा लम्सालले गरेको पत्रकार सम्मेलनमा उनले दुई नेपाली डिस्चार्ज भएको जानकारी गराइन् । हालसम्म ३५० भन्दा बढीले इजरालयस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । त्यसमध्ये २८८ जना नेपाल फर्किन चाहेको बताइन्। लम्सालले घाइतेको उपचार जारी रहेको, घर फर्किन चाहनेको लागि उद्धारको कार्यमा गम्भीर रूपमा लागेको बताइन् ।

पहिलो चरणमा इजरायलबाट २२८ जनालाई नेपाल ल्याइने

सरकारले चार्टर विमानबाहेक नियमित उडानको टिकट काटेर पनि इजरायलबाट उद्धार गर्ने भएको छ । इजरायलमा जारी युद्धको विषयमा नेपालीलाई उद्धार गर्ने विषयमा परराष्ट्र पन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै आज नेपला एयरलाइन्सको विमान इजरायल जाने र अहिलेसम्म स्वदेश फर्किन इच्छुक २२८ जनालाई फिर्ता ल्याउने जानकारी दिदै अन्य नेपालीफर्किन चाहेमा नियमित उडानमा टिकट काटेर समेत ल्याउने बताएको हो ।

सो अवसरमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायलमा रहेका नेपालीमध्ये २८८ जना स्वेश फर्किन इच्छुक रहेको बताएकी छन् । उनले भनिन्– ‘२८८ जना नेपाली इजरायलबाट फर्किन इच्छुक हुनुहुन्छ । २५० जना बोक्ने जहाज आज जाँदैछ ।’ यसैबीच सरकारले इजरायलमा सम्पर्कविहीन भएका विपीन जोशीको खोजी कार्यमा इजरायल सरकारले प्राथमिकताका साथ गरिरहेको जानकारी गराएको छ । त्यसैगरी घटनामा मृत्यु भएका १० जना विद्यार्थीको शव नेपाल छिटो ल्याउन पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै इजरायलमा उपचाररत दुई नेपाली अस्पतालबाट डिस्चार्ज भएको समेत मन्त्रालयले जानकरी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवनमा राखियो फ्ल्याप गेट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनधिकृत व्यक्त्तिको प्रवेश र गलत क्रियाकलाप रोक्न बुधबारदेखि कार्गो भवनमा फ्ल्याप गेट सञ्चालनमा ल्याएको छ ।प्रहरी रिपोर्ट र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणकबाट वितरण हुने ‘वाई’ पास बाहकले मात्र यो गेट पार गर्न सक्नेछन् ।

गत साउन २ मा कार्गो भवनबाट गाडीको ब्रेकशु भित्र लुकाई तस्करीको सुन बाहिरिएपछि विमानस्थल भन्सार कार्यालयले प्रवेशमा कडाई गरेको हो । सो घटनामा अनाधिकृत व्यक्त्तीको प्रवेश देखिएपछि विभिन्न निकायको सिफारिसका आधारमा भन्सार कार्यालयले कार्गो भवन प्रवेशका लागि फ्ल्याप गेट सञ्चालनमा ल्याएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशका लागि अंग्रेजी अल्फावेट ‘ए’ देखि ‘एल’ सम्मको पास उपलब्ध गरानेछ । सर्वसाधारणहरुले आफ्नो लगेज छुटाउन भन्सार एरियामा प्रवेश गर्नुपरेमा भिजिटर पास लिई प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ । हाल भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सामान लोड अनलोड गर्ने श्रमिकलाई मात्र फोटोसहितको पास उपलब्ध गराइएको भन्सार प्रमुख टोकराज पाण्डेले बताए ।

विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद इजरायल जाने,टिकटको खर्च नेपाल सरकारले बेहोर्ने

नेपाली विद्यार्थी लिन परराष्ट्र मन्त्री एनपी साउद इजरायल जाने भएका छन् । आज राति नेपाली विद्यार्थी लिन इजरायल जान लागेको जहाजमा मन्त्री साउद आफैं जाने भएका हुन् । त्यस्तै इजरायलमा रहेका कोही नेपाली व्यवसायिक उडानमार्फत आउन खोजेमा उनीहरूको टिकटको खर्च समेत नेपाल सरकारले बेहोर्ने निर्णय गरिएको मन्त्री गुरूङले बताए । त्यसका लागि आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पठाउने निर्णय गरेको कानुनमन्त्री धनराज गुरूङले जानकारी दिए ।

रिगललाई पुन जेल फर्काउन माग गर्दै काठमाडौंँमा प्रदर्शन

चेतन मानन्धरको हत्या गरेका योगराज ढकाल ‘रिगल’ को कैद सजाय कट्टा गरेको विरोधमा बुधबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन भएको छ । रिगललाई चेतन मानन्धरको हत्या गरेको आरोप लागेको छ । उनललाई संविधान दिवसको दिन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधान दिवसको अवसरमा रियलको बाँकी कैद सजाय कट्टा गरेका थिए ।

केही दिन अघिदेखी मानन्धरकी पत्नी भारती शेर्पा पक्षधरहरुले रिगललाई पुनः जेल फर्काउन सरकारलाई चेतावनी मुलक प्रर्दशन जारी राखेकै बेला बुधबार पनि युवा अभियन्ताहरूले दबाब पूर्ण प्रदर्शन गरेका छन् । राष्ट्रपतिको राजीनामा माग्दै नारा लगाएर उनीहरू माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण खबरदारी तथा विरोध ¥यालीको आयोजना गरेका छन् ।

सर्वोच्च अदालतले राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिट निवेदनका सम्बन्धमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । साथै उक्त रिट निवेदनलाई पूर्ण इजलासमा सुनुवाइ हुने गरी पेसी तोक्नसमेत आदेश भएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिट निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो भन्नेबारे मनासिब कारण भए यही असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्न पनि राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको थियो ।

कोशी सरकारबारे निर्णय गर्न राप्रपाद्धारा बैठक आह्वान

कोशी प्रदेशको सरकार गठनवारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा्र)ले शुक्रबारका लागि पदाधिकारी बैठक बोलाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ८ बजे बैठक बस्ने तय भएको प्रचार विभाग प्रमुख एवं प्रवक्त मोहनकुमार श्रेष्ठले जानकारी दिए । कोशीमा नयाँ सरकार गठनको दाबीका लागि शुक्रबार नै साँझ ५ बजेसम्मका लागि प्रदेश प्रमुखले समय दिएकाले राप्रपाले शुक्रबार नै ठोस निर्णय दिने जनाएको छ । कोशीमा राप्रपाका ६ सांसद छन्। नेपाली कांग्रेससहित गठबन्धनका ४ दल –नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ सांसद छन्।

भीम रावललाई एक्ल्याउन ओलीको दबाब

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशज सर्वसम्मत बनाउने नाममा निर्वाचन तालिका सर्दै गएको छ। मंगलबार अबेर राति प्रकाशन गरिएको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ताको समय बुधबार बिहान ९ः३० बजेसम्मलाई तय गरिएको छ। बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।

एमाले सुदूरपश्चिम प्रदेशमा नेता भीम रावलका उम्मेदवारलाई हराउने प्रयासमा केपी ओलीसहितका शीर्ष नेताहरू लागेका छन्। प्रदेशमा रावल पक्षबाट अछामका भरत साउदले अध्यक्षमा उम्मेदवारी दिएका छन्। ओली समूहबाट दुई र लेखराज भट्ट समूहबाट एक गरी तीनजनाको उम्मेदवारी परेको छ। भट्ट अहिले ओलीसँगै रहेकाले तीनैजना रावल समूह इतरका उम्मेदवार हुन् ।

सुदूरपश्चिममा ओली निकट कर्ण थापा, लेखराज भट्ट र दामोदर भण्डारीको छुट्टाछुट्टै गुट छ। ओलीकै निर्देशनमा अहिले भट्टको समर्थनमा रहेका बचनबहादुर सिंह र दामोदर भण्डारीको समर्थनमा उम्मेदवारी दर्ता गराएका कमलबहादुर तिमिल्सिनालाई उम्मेदवारी फिर्ता गराउन नेताहरू लागेका छन्। एमाले स्रोतका अनुसार कृष्णप्रसाद जैसीलाई सर्वसम्मत अध्यक्ष बनाउन लागेका छन्। तर रावल पक्ष नेताहरू यो निर्णय मान्न तयार छैनन्। सर्वसम्मत हुन नदिने भए साउदमै सर्वसम्मति हुनुपर्ने रावल पक्ष नेताहरूको माग छ। रावल समर्थित प्रतिनिधिहरू भने आफ्नो समूहलाई निषेध गर्ने गरी अभ्यास भइरहेको भन्दै अध्यक्षको प्यानलैसहित मतदानमा जाने तयारी भइरहेको बताइरहेका छन् ।

ओली पक्षले रावललाई कमजोर बनाउन उनकै गृहजिल्लाका जैसीलाई अगाडि सारेको छ। जैसी रावलको गृहजिल्ला अछामकै नेता हुन्। अछामको मत विभाजन गरेर सके सर्वसम्मत नसके बहुमतका आधारमा प्रदेश अध्यक्ष बनाउने ओली पक्षको चाहना छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *