मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असोज १८ गते बिहिबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहिबार तयार पारिएको मुख्य १० समाचारमा रिगलको कैद मिनाहा गर्ने सरकारी निर्णयमा कारण देखाउ आदेशदेखी वीरमा माननीय र सम्माननीयको ताँती छ : स्वास्थ्य मन्त्री बस्नेत सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

रिगलको कैद मिनाहा गर्ने सरकारी निर्णयमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको इजलासले बिह्रीबार सात दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ। सर्वोच्चका अनुसार यो रिटलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न आदेश दिएको छ। बाँकेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले दिएको रिटमा अर्को सुनुवाइको पेसी असोज २५ गतेलाई तोक्न आदेश गरेको छ।

रिगल संविधान दिवसको दिन तुलसीपुर कारागारबाट छुटेका थिए। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि उनी कैदमुक्त भएका थिए। उनी सजाय माफी पाएर छुटेको थाहा पाएपछि चेतनकी श्रीमती भारतीले सर्वोच्चमा रिट हालेकी थिइन्। ०७५ भदौअघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। जुन निर्णय अहिले विवादमा परेको छ ।

स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौँथो दीक्षान्त समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले बिरामीको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणलाई आफूले गम्भीर रूपमा लिएको बताए । ‘यसबारे सरकारले स्वास्थ्यकर्मीसँग संवाद गरी आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति र सोअनुरूपको गृहकार्य गरिसकेको छ’, उनले भने,‘स्वास्थ्यजस्तो अतिसंवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ ।’

देउराली सहकारीका अध्यक्ष पक्राउ

ललितपुरको देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाईं पक्राउ परेका छन् ।
काभ्रेपलान्चोकको साविक कात्तिके देउराली गाविस– ८ हाल परिवर्तित चौरी देउराली गाउँपालिका ६ का स्थायी वासिन्दा ३९ वर्षे चौलागाईंलाई सहकारीको झण्डै साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सो सहकारी सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्ताहरूलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई रकम जम्मा गर्न लगाएका थिए । निक्षेप कर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक –त्रैमासिक–वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएको भन्दै उजुरी परेको थियो ।

आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरेको बचतकर्ताको आरोप छ । हालसम्म प्राप्त जाहेरी अनुसार चार करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गर्ने कार्यमा संलग्न उल्लेखित सहकारी संस्थाका अध्यक्षलाई यही असोज १६ गते पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भैरहेको सीआईबीले जनाएको छ ।

धर्मगुरु श्रीनिवासविरुद्ध धनुषा प्रशासनमा मुद्दा दर्ता

धार्मिक सद्भाव खलबलिने अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा मंगलबार पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा उनीविरुद्ध बुधबार मुद्दा दर्ता भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता तथा डीएसपी रञ्जन अवालेका अनुसार हिंसात्मक अभिव्यक्ति दिएको अभियोगमा उनीविरुद्ध मुद्दा चलाइएको हो । जनकपुरधाममै हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको भन्दै कारबाहीको लागि ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभामा प्रभावकारी बजार अनुगमन गर्न सांसदको माग

प्रतिनिधिसभाका सांसदले दसैँ, तिहार र छठपर्वका मुखमा बजारमा अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी भइरहेको जनाउँदै प्रभावकारी बजार अनुगमनको माग गरेका छन् । बैठकको शून्य समयमा बोल्दै उनिहरुले चाडपर्वमा सर्वसाधारणलाई घरसम्म पुग्न यातायातको सहजताका लागि समेत सरकारको ध्यानार्षण गराए । बैठकमा सांसद ठाकुरप्रसाद गैरेले सदनले पर्याप्त ‘विजनेस’ नपाएको अवस्थामा सञ्चालन भइरहको जनाउँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङको अवलोकन गर्न शुक्रबार जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको जिल्ला बझाङ जाने भएका हुन् ।

बझाङ जाने कार्यक्रम शुक्रबारका लागि तय गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बिहिबार बिहान सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको बैठकमा प्रधानमन्त्ती प्रचण्डले बझाङमै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्ने बताएका थिए । मंगलबार दिउँसो ३ ः०६ बजे को समयमा बझाङ केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी एक जना महिलाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लामा व्यक्तिगत घरका साथै केही सार्वजनिक भवनमा पनि क्षति पुगेको छ ।

सांसद तेजुलाल चौधरीले धार्मिक र सामाजिक सद्भावलाई अझ बलियो बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद दीपक गिरीले दाङको घोराहीमा बाटो निर्माणका लागि परेको बजेट अन्यत्र सार्ने षड्यन्त्र भएकामा आपत्ति प्रकट गरे । सांसद दुर्गा राईले गरिमामय सदनमा सांसदले बोल्दा संयमता अपनाउनुपर्ने र सबैको समय निर्धारण गर्नुपर्ने माग गरे ।

देशभित्रै सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्री महतको सुझाव

बदलिदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले सुझाव दिएका छन् । स्थापनाको नवौं वर्ष पूरा भएको अवसरमा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको सिपमूलक तालिमका सम्भावना र योजना विषयक नीतिगत छलफल कार्यक्रम मन्त्री डा. महतले यस्तो सुझाव दिएका हुन् । उनले भने, ‘नयाँ प्रविधि भित्रिरहेको छ, त्यसलाई पनि मध्यनजर राखेर सरकार, गैरसरकारी र निजी क्षेत्रलाई एकमुष्ठ बनाएर सम्भावना खोज्दा राम्रो हुनेछ ।’

नेपालमै रोजगारी सिर्जना गर्नु राष्ट्रिय महत्वको विषय भए पनि यसको आलोचना र समालोचना दुवै हुने गरेको मन्त्री महतले बताए । उनले भने, ‘ठूलो संख्यामा युवाहरु विदेशिएका छन् । विदेशिएका युवाहरु पनि दक्ष्य छैनन् । दक्ष्य हुँदा जति आम्दानी हुन्थ्यो, त्यो अवस्था रहँदैन ।’ देशमा शिक्षाको विस्तार भएको छ । तालिम प्राप्त मानव संसाधनको पनि विकास नभएको होइन, सरकारकै लगानीमा पनि सिटिभिटीमार्फत धेरै संस्था बनायो । त्यसपछि यसकै सम्बन्धन लिएर धेरै संघसंस्था खडा भएको मन्त्री डा. महतले बताए ।

‘वैदेशिक रोजगारसँग जोडिएका तालिमहरु हुन्छन् । गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले आफ्नै किसिमले तालिमका कुरा गरिरहेका हुन्छन् । सरकारी निकायले पनि आ–आफ्नो किसिमको तालिम दिइरहेका हुन्छन्’ मन्त्री डा. महतले भन्नुभयो, ‘यसमा धेरै किसिमका डुब्लिकेशन, आवश्यकतालाई मध्यनजर गरिएको हुँदैन, कतिपय कुरा औपचारिकता पूरा किसिमको हुन्छ । विनियोजित बजेटलाई खर्च गर्न सन्दर्भमा कतिपय त्यस्ता तालिम हुने गर्छन् । जसबाट ठोस परिणाम आउँदैन ।’

सजाय माफी दिने सरकारको निर्णय बदनियतपूर्ण छ– गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गम्भीर अपराधका दोषीलाई सजाय माफी दिएर सरकारले बदनियतपूर्ण काम गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले कानुनको दुरुपयोग गरेर सजाय माफी मिनाहा दिनु संबिधानको मर्मविपरित भएको बताएका हुन् ।

थापाले कानुनको छिद्रबाट बदनियतका साथ माफी दिइएको भन्दै संसदले यस्लाई तुरुन्त सच्च्याउनुपर्ने बताएका छन् ।

महामन्त्री थापाले भने– ‘संविधान दिवसका दिन ६७० जनालाई माफी मिनाहा गरिएको छ । त्यसमध्ये कति त संविधान र कानुनसम्मत पनि छ होला । तर फेरि एकपटक संविधानको मर्मविपरीत र कानुनको छिद्रबाट बदनियतका साथमा छिरेर गम्भीर अपराधमा दोषी ठहर भएका दोषीहरूलाई कैद माफी मिनाहा गरिएको छ । बदनियतका साथ भएको यो निर्णय गलत छ । यसको विरोध स्वभाविक छ, बाञ्छनिय छ, यसको विरोध हुन्छ, र हामी विरोध गर्दछौँ । यो विषय अदालतको ढोकासम्म पुगेको छ, जसले हामीलाई नै गिज्याइरहेको छ । यसबाट अदालतमाथि पनि प्रश्न उठेको छ ।’

विगतमा पनि ६ जनाको हत्या गर्नेलाई, बलात्कार गर्नेलाई माफी दिइएको स्मरण गर्दै महामन्त्री थापाले सरकारमा जो भएपनि सबैले कानुनको दुरुपयोग गर्दै–गर्दै अघि बढेको र कोही पनि अछुतो नरहेको बताए ।

अवैध सुनको तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले यही असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो । आयोगको सदस्यमा पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा छन् ।

सरकारले आयोगलाई तीन महिनाभित्र अनुसन्धान सम्पन्न गरेर सुनको अवैध पैठारी तस्करीको नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरएको ठूलो परिमाणको सुन बरामद गरेको थियो ।

‘ब्रेक सु’भित्र लुकाएर ल्याइएको उक्त सुन गालेर जोख्दा ६० किलो सात सय १६ ग्राम पाइएको थियो । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको उक्त सुन प्रकरणको प्रारम्भमा विभाग र पछि सरकारको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरेको थियो ।

वीरमा माननीय र सम्माननीयको ताँती छ ः स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुुर बस्नेतले वीर अस्पतालमा विशिष्ट र अतिविशिष्ट व्यक्ति उपचारका लागि आउने क्रम बढेको बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को चौथो दीक्षान्त समारोहमा आज स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताँती लागेको बताए।

उनले वीरमा भिआइपी र भिभिआइपीको उपचारका लागि १७ जना स्वास्थ्यकर्मी छुट्याइएको बताए। उनले आधारभुत स्वास्थ्य सेवा गरिब, विपन्नका लागि निःशुल्क बनाउन आफू लागि परेको जानकारी दिए।

स्वास्थ्य मन्त्री बस्नेतले डाक्टर, पारामेडिक्स र नर्सिङको क्षेत्रमा ठूलो जनशक्ती अभाव भइरहेको भन्दै दरबन्दी सिर्जना गरेर जाने सहमति भइसकेको उल्लेख गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *