असोज १७ गते बुधबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमा धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न सभापति देउवाको अपिलदेखीविमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउसम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न सभापति देउवाको अपिल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिन देखी बाँकेमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पु¥याउन सक्ने भन्दै चिन्ता प्रकट गरेका छन् । सभापति देउवाले मंगलबार एक विज्ञप्ती जारी गर्दै सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सद्भावका लागि अपिल गरेका हुन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक हो । परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावका साथ एकतावद्ध भई मिलेर बसेका छौं र राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौं । धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गतिविधि नगर्न÷नगराउन हार्दिक आह्वान गर्दछौं, जारी विज्ञप्तीमा उल्लेख छ ।
यसको संवेदनशीलतालाई मध्यनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज ब्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न नेपाली कांग्रेसले अपिल गरेको छ ।
प्रचण्डको निमन्त्रणामा राष्ट्रसङ्घका महासचिव नेपाल आउँदै
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियोगुटेरेस नेपाल भ्रमणमा आउने भएका छन् । असोज २६ गते उनी नेपाल आउन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।
उनका अनुसार महासचिव एन्टोनियो ३ दिन नेपालमा बस्नेछन् । नेपाल भ्रमणका क्रममा उनले शान्ति प्रक्रियाका विषयमा नेताहरूसँग छलफल गर्नेछन् । त्यस्तै जलवायु परिवर्तन र अति कम विकसित मुलुकका विषयमा पनि छलफल गर्ने नेता गजुरेलले जानकारी दिए । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका गएका बेला महासचिव एन्टोनियोलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रचण्डको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा एन्टोनियोको नेपाल भ्रमणबारे जानकारी गराएका थिए ।
ओलीलाई सरकारको जवाफ– जनयुद्ध दिवस एमाले सरकारमा हुँदाकै डिसिजन हो
सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने बताइन् ।
“आज हामी जुन व्यवस्थामा छौँ, त्यो व्यवस्थाको जग जनयुद्ध नै हो”, उनले भनिन्, “यदि जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न हुँदैनथ्यो भने हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुदैनथ्यौँ ।” प्रवक्ता शर्माले जनयुद्धका विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेका विचारसँग सरकारको सहमति नरहेको बताइन् ।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा अध्यक्ष ओलीले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिइएको विषयलाई लिएर सरकारको आलोचना गरेका थिए । जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको प्रवक्ता शर्माको भनाइ छ ।
बझाङ भूकम्प पीडितको बसोबास, राहत र उद्धारमा लाग्न कांग्रेसको आग्रह
सत्ता साझेदार दल नेपाली कांग्रेसले बझाङ भूकम्प प्रभावितलाई सुरक्षित स्थानान्तरण, बसोबास, राहत र युद्धस्तरमा उद्धारका कार्यमा सक्रियताका साथ लाग्न सरकालाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतका लागि युद्धस्तरमा लाग्न आग्रह गरेका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ युद्धस्तरमा उद्धारको कार्य गर्न, हराएकाको तत्काल खोजी, भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न सरकारसँग सभापतिले आग्रह गर्नुभएको छ ।’ देउवाले कांग्रेस स्थानीय पार्टी पंक्तिलाई समेत सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न आग्रह गरेका छन् । मंगलबार दिउँसो २ः४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने
कोशी प्रदेशमा फेरि सत्ता संकट देखिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । असोज २० भित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार उनले १९ गते नै प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ । त्यस दिन शनिबार परेकोले शुक्रबार नै प्रदेश सभाबाट विश्वासको मत लिने उनले तयारी गरेका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने सूचना सभामा दर्ता गराउन भने बाँकी छ ।
यसअघि मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा विश्वासको मत लिँदा सभाध्यक्षसमेतको मत जोडेको विषयलाई गैरसंवैधानिक रहेको भन्दै सवोच्च अदालतले भदौ २१ गते बदर गरिदिएको थियो । त्यसपछि एमालेका कार्की मुख्यमन्त्री बनेका हुन् । प्रदेश सभामा एमालेको ४० मत छ । उपसभामुखलाई आफ्नो कर्तव्य निभाउन सर्वोच्चले आदेश नै दिइसकेकाले अबको बैठकको सभाध्यक्ष सिर्जना दनुवारले नै गर्नुपर्ने हुन्छ । उनी एमालेकी सांसद हुन् ।
यदि दनुवारले सभाध्यक्षको भूमिका निभाएमा एमालेको मत ३९ मा झर्नेछ । सोही कारण मुख्यमन्त्री कार्की काठमाडौं आइपुगेका छन् । उनले पार्टी अध्यक्ष केपी ओलीसँग विश्वासको मत लिने बेला के गर्ने भन्ने छलफल गर्ने भएका छन् ।
एमालेका मुख्यमन्त्री कार्कीलाई राप्रपाले समेत मत दिने नदिने निश्चित छैन ।
सुनकाण्डमा महरालाई उन्मुक्ति दिन गराइयो बयान कागज
माओवादी नेतृत्वको सरकारले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा चोख्याउने निश्चित भएको छ ।जसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सोमबार महरालाई बोलाएर सोधपुछ गरेको हो । विद्युतीय चुरोट (भेप) मा भएको नौ किलो सुन तस्करी प्रकरणमा प्रहरीले पूर्वसभामुखसमेत रहेका महरासँग सोधपुछ गर्दै बयान कागज गरेको छ । त्यो भनेको प्रतिवादी नबनाई अदालतमा मुद्दा दायर गर्न खोज्नु हो ।
प्रमुख प्रतिपक्षी दल एमालेको मागबमोजिम सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गरिसकेको छ । सो आयोगलाई नौ किलो र ६० किलो सुन तस्करीको जाँचबुझ गर्नसमेत अधिकारी दिइएको छ । आयोगले आफ्नो काम सुरु नगर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबाबमा सीआइबीले हतार हतार महरासँग बयान कागज गराएको हो ।
विद्युतीय चुरोटमा सुन ल्याउने चिनियाँ नागरिक लीसँग महराको निरन्तर फोन सम्पर्क देखिएको थियो । सुन तस्करीमा संलग्न चिनियाँसँग सम्बन्ध देखिएका महराकै छोरा राहुललाई सीआईबीले पक्राउ गरिसकेको छ । राहुलविरुद्ध मुद्दा दायर गर्नुअघि महराको सम्बन्धबारे सीआईबीले सोधपुछका लागि बोलाएको जनाएको छ । महराले भने दुवैबाट आएको विद्युतीय चुरोट विमानस्थलमा बरामद भएको र त्यसको लिलामी प्रक्रियाबारे जानकारी मात्रै लिएको दाबी गरेका छन् । गत पुसमा विद्युतीय चुरोटमा आएको नौ किलो सुन विमानस्थलबाट चोरिएको थियो । जसमा चिनियाँ नागरिक जोडिएका थिए ।
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने पुर्पक्षका लागि थुनामा
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि थुनामा गएका छन् ।सोमबार काठमाडौं जिल्ला अदालतको आदेशले खुकुरी प्रहार आरोपमा पक्राउ परेका श्यामबहादुर सापकोटालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । सापकोटालाई केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान गरिएको छ।उनले भदौ २० गते दिउँसो कुटीमण्डपमा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेका थिए ।
नेपालगञ्जमा कर्फ्यु जारी, सामाजिक सद्भाव कायम राख्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा लगाइएको कर्फ्यु जारी राख्ने निर्णय गरेको छ । बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सो निर्णय गरेको हो । प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट सामाजिक सद्भावमा खलल पुग्ने सामग्री प्रसारण तथा प्रकाशन नगर्न नगराउन पनि अनुरोध छ ।
‘नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता सञ्चार सामग्रीहरु प्रचार–प्रचार नगर्न नगराउन पुनः अनुरोध गर्दै त्यस्ता गतिविधि गरे गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।
भूकम्प अपडेट ः बाजुरामा दुई घाइते, नौ घर पूर्ण क्षति
बझाङको तलकोटमा मंगलबार ५.३ म्याग्नेच्युड र चैनपुर केन्द्रबिन्दु बनाएर आएको ६.३ म्याग्नेच्युडको भूकम्पमा परी बाजुरामा दुईजना घाइते हुनाका साथै नौ घर पूर्ण रुपमा क्षति भएका छन् । घाइते हुनेमा बडीमालिका नगरपालिका–९ का प्रलोप डिजी र खप्तड छेडेदह गाउँपालिका–४ घर भई हाल बडीमालिका नगरपालिका–८ मा बस्दै आएका १३ वर्षीय सुन्दर सार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाइते भएका डिजी घर अगाडिको आँगनमा खेल्दै गरेको बेला घरको छतबाट ढुंगा खसेर टाउकोमा चोट लागेको छ भने सार्की विद्यालय सञ्चालन भइरहेका बेला भूकम्प आएपछि आत्तिएर दौडिने क्रममा विद्यालयको सिँढीमा लडेर बायाँ हातको हड्डी चर्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।
उनका अनुसार घाइते भएका दुवै बालकको जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । भूकम्पका कारण जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा छ घर र बूढीगंगा नगरपालिकामा तीन घर पूर्ण रुपमा क्षति भएको प्रहरी निरीक्षक भण्डारीले बताए । जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकीलाई भूकम्पबाट क्षतिको विवरण संकलनका लागि खटाएअनुसार प्रहरी टोलीले दिएको जानकारीअनुसार खप्तड छेडेदहमा ६ र बूढीगंगा नगरपालिकामा तीन घर पूर्ण रुपमा क्षति भएको बताए ।
विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय १५ अमेरीकी डलर, ४४ सिंगापुर डलर, २० हजार ९ सय ९० थाई भाट, २८ हजार १० भारतीय रूपैयाँ, ६ लाख ७ हजार ४ सय ९६ नेपाली रूपैयाँ र नेपाली लगायत विभिन्न भाषामा उल्लेखित रकम खुल्न नसकेका प्राचिन मुद्राहरु ६४ थानसहित अमेरीकी नागरिक ७० वर्षीय डेभिड अलान हार्वुडलाई प्रहरीले पक्राउ गरेको छ ।
थाई उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा जाँच तथा तलासी गर्ने क्रममा अबैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा विभिन्न दर र सिक्कामा रहेका उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि भन्सार कार्यालयमा बुझाइनेछ ।
उनका अनुसार भूकम्पका कारण १३ निजी घर र पाँच सरकारी भवन आंशिक रुपमा क्षति भएका छन् । भूकम्पबाट भएको थप क्षतिको विवरण संकलन र स्थलगत अनुगमनका लागि जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल भूकम्पबाट प्रभावित क्षेत्रको अनुगमनमा जानसभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भूकम्पबाट जिल्लाका बूढीगंगा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका र बडीमालिका नगरपालिका प्रभावित बनेका छन् ।भूकम्पले दर्जनौँ घर चर्किएर जोखिम हुनुका साथै फेरी भूकम्प आउने डरले खप्तड छेडेदह र बूढीगंगा नगरपलिकाका स्थानीय रातभर जाग्राम बसेका हुन् ।




