मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असोज १६ गते मंगलबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमा बझाङ भूकम्प– ६ जना घाइतेदेखी भौतिकशास्त्रको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

बझाङ भूकम्प– ६ जना घाइते

काठमाडौं । भूकम्पमा परी बझाङमा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सत्यबादि मावि भोपुरका चार जना विद्यार्थी, केदार स्युँ गाउँपालिकामा एक जना, खप्तडछान्ना गाउँपालिकामा एक जना गरेर ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी इन्सपेटर दिपेश चौधरीका अनुसार घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। भूकम्प गएपछि थलारा मावि खोलीमा अध्ययनरत विद्यार्थीहरू भागदौड गर्ने क्रममा बेहोस भएको स्थनीयले जानकारी दिएको छ। एउटा बाख्रो मरेको प्रहरीले जनाएको छ। भूकम्पका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको दिएको छ। अहिले साना तथा ठूला सवारिका साधन बन्द भएका छन्। जिल्ला भरिएको विवरण आउन अझै बाँकि छ।

गोरखा : पहिलो पटक आमाको नामबाट नागरिकता

जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकताको प्रमाणपत्र दिन सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार मंगलबार भीमसेन थापा गाउँपालिका–१ का मञ्जित वानियाँलाई आमाको नामबाट नागरिकता दिएर वितरण कार्यको थालनी गरिएको हो । ‘बुबाको पहिचान नखुल्दा १९ बर्षसम्म पनि नागरिकता नपाएपछि आज आमा मञ्जु वानियाँको नामबाट नागरिकता प्रदान गरेको उनको भनाइ छ ।

आवश्यक प्रक्रिया र कागजात पुगेकाहरुले अबका दिनबाट प्रशासनमा आएर आमाको नामबाट नागरिकता बनाउन सक्ने प्रजिअ भुसालले जानकारी दिए । बाबुको पहिचान नखुलेकाहरुले मात्र आमाको नामबाट नागरिकता पाउने उनले बताए । नागरिकता लिनका लागि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, आमाको नागरिकता, बुबा नभएको भनी सम्बन्धित स्थानीयबाट गरिएको मुचुल्का र अनुसूची फारम भर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै पतिको पहिचान नभएको भनी आमाले लिखित रुपमा स्वघोषणा समेत गरेको हुनुपर्ने बताइएको छ ।छोराले पनि बाबुको पहिचान नभएको भनी लिखित स्वघोषणा गरेको हुनुपर्ने प्रजिअ भुसालले जानकारी दिए ।

ॐ शब्द शब्दकोषवाट हटाउने निर्णय मैले गरेको छैन– पूर्व शिक्षामन्त्री शर्मा

नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व शिक्षा मन्त्री दिनानाथ शर्माले ॐ शब्द शब्दकोषवाट नहटाएको जनाएका छन् ।बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा शिक्षा मन्त्री रहेका शर्माको अध्यक्षतामा बसेको बैठकले ॐ शब्दलाई शब्दकोषवाट हटाउने निर्णय गरेको भन्ने प्रचारबाजीमा कुनै सत्यता नभएको शर्माले जनाएका छन् ।

‘केही दिनयता सामाजिक सञ्जालहरूमा १२ वर्ष पहिले म शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, मेरो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय भएको थिएन,’ शर्माले आज जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘वैदिक कालदेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने र शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।’

संघीयता विरोधी केही अराजक, अतिवादी समुहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृति जस्ता जनताका अत्यन्तै सम्वेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काउँदै व्यक्तिको मानमर्दन गर्ने एवं सामाजिक सद्भाव बिथोल्ने अराजक अतिवादी गतिविधि प्रदर्शन गर्दै आएको जनाउँदै शर्माले उक्त कुराप्रति सचेत रहँदै सामाजिक मर्यादा र सद्भाव कायम राख्न पनि अनुरोध गरेका छन ।

नेपालगन्ज तनावग्रस्त, प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यु

धार्मिक विवादले बाँकेको नेपालगन्ज तनावग्रस्त बनेको छ । हिन्दु र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको हो । ॐकार समाजले मंगलबार बिहान सद्भाव जुलुस निकालेको थियो । केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको छ। सो तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरे पनि कुनै समाधान निस्केको छैन । पछिल्लो समय तराई मधेसका सहरमा धार्मिक सद्भाव खलबलिन लागेको छ । सर्लाहीको मलंगवा, पर्साको वीरगन्जपछि बाँकेको नेपालगन्जमा धार्मिक तनाव बढेको छ ।

विशेष अदालत नियमावली, २०८० स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले विशेष अदालत नियमावली २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषदको बैठकले निर्माणजन्य सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० संघीय संसदमा पेश गर्न स्वीकृति दिने ,सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०८० संघीय संसदमा पेश गर्न स्वीकृत दिने भएको हो ।

नेपाल प्रहरीका जवानको एकैपल्ट सरुवा

नेपाल प्रहरीका झण्डै ६ हजार प्रहरी जवानको एकै पटक सरुवा भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले ५,९३८ प्रहरी जवानको सरुवा गरेको छ । आगामी कात्तिक महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी जवानहरूलाई सरुवा गरिएको छ ।

२० कम्पनी कालोसूचीमा

सरकारले २० वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सन्तोषजनक काम नगर्ने २० कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो । कार्यालयले आज सूचना जारी गर्दै कालो सूचीमा परेका २० कम्पनीको नाम सार्वजनिक गरेको छ । विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्न लेखी आएअनुसार ती कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउने गरी २० वटा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

सामाजिक सञ्जालको सहि तरिकाले प्रयोग गर्न प्रयोगकर्ताहरुलाई सरकारको आग्रह

सरकारले धार्मिक तथा सम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा नेपालगञ्जमा देखिएको घटनावारे छलफल गर्दै धार्मिक, सम्प्रदायिक वा अरु आधारमा घृणा वा द्वेष हुने कामकारबाही नगर्न उक्त बैठकमार्फत आग्रह गरिएको हो ।

विभिन्न जातजाति वा सम्प्रदायको बीचमा सुमम्बधमा खलल पुग्ने नगर्न नगराउन सञ्चारमन्त्री रेखा शर्माले आग्रह गरेकी छिन् । सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन वा व्यक्तिको प्रतिष्ठा वा गोपनीयतामा आघात पु¥याउने काम नगर्न समेत मन्त्री शमौले सबैमा आग्रह गरिन् ।

सरकारले राष्ट्रपतिलाइ खोपीको राजा बनाएको छ– ओली

पुष्पकमल दाहाल नेतृत्वको सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई खोपीको राजा बनाएको आरोप लागेको छ । प्रतिनिधिसभाका जारी बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो आरोप लगाएका हुन ।अघिल्लो संसदले पठाएको नागरिकता बिद्येयकमा उल्लेख भएका राष्ट्रपति बिद्यादेवी भण्डारीको नाम काटेर हालका राष्ट्रपतिलाई बिद्येयक प्रमाणित गर्न लगाएको उनको आरोप छ ।

‘पहिलाको संसदले, पहिलाको राष्ट्रपतिलाई पठाएको बिद्येयकमा नाम काटेर बिद्येयक प्रमाणीकरण गर्न लगाएका छन, ज्यानमाराहरुलाई जेलबाट निकालेको छ, ज्यानमाराहरु शानसहित लावालस्कर लगाएर हिडेको देखियो,’ ओलीले भने, ‘राष्ट्रपतिलाई यो सरकारले खोपीको राजा बनाएको छ, क्याबिनेटको आदेशमा राष्ट्रपतिलाई चलाएको छ ।’ सरकारको नेतृत्वको दल र सत्ता गठबन्धनमा आबद्ध दलले कोशी सरकार निमार्णमा तमासा देखाएको पनि उनको आरोप छ ।प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सुशासन अभियान चलाउने भन्दै झुटो बोलेको आरोप लगाएका हुन् ।

भौतिकशास्त्रको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

स्विडेनको नोबेल पुरस्कार कमिटीले यस वर्षका लागि भौतिक विज्ञानतर्फ तीन वैज्ञानिकलाई नोबेल पुरस्कारले सुशोभित गरेको छ । सन् २०२३ को नोबेल पुरस्कार यस वर्षका लागि पियर एगोस्टिनी, फेरेन क्राउस्ज र एन एलहुलियरलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा मंगलबार गरिएको हो । यी तीन वैज्ञानिकलाई इलेक्ट्रोनको अध्ययनमा प्रकाशको अट्टोसेकेन्ड चाल उत्पादन गर्ने प्रक्रियाको परीक्षणका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको हो । नोबेल पुरस्कारको राशि ११ मिलियन स्विडिस क्रोनर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *