मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असोज १४ गते आइतबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । आइतबार तयार पारिएको मुख्य १० समाचारमा कांग्रेसका सबै मन्त्रीहरुलाई फिर्ता बोलाऔंः महामन्त्री थापा देखी ‘ऐँठन’ उपन्यासलाई मदन पुरस्कार सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

कांग्रेसका सबै मन्त्रीहरुलाई फिर्ता बोलाऔंः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा भएका कांग्रेसका सबै मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गरेका छन् । कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै अहिलेको दुई वर्ष सरकार बाहिरै बसेर समर्थन गर्न प्रस्ताव गरेका हुन् ।

उनले भने, ‘नेपालमा एउटामात्रै केन्द्र राखेर हुँदैन, प्रदेश बनाउनुपर्छ भनेर २०६१ सालमै कांग्रेसले लेखेको हो । अहिले हामीले त्यहीअनुसार प्रदेश बनाएका हौं । तर, अहिले प्रदेशहरु कामकाजी हुन सकिरहेका छैनन् । प्रदेशहरु महँगो भइरहेका छन् । जे सोचर बनाएका थियौं, त्यो हुन सकिरहेको छैन ।’

जलहरी प्रकरणमा मुछिएका ढकालविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा मुद्धा दायर गरेको छ । अख्तियारले पशुपति मन्दिरमा जलहरी राख्नेक्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

दोलखामा फेरी झारले छोपेर राखेको चार किलो सुन बरामद

दोलखामा प्रहरीले थप ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट उक्त सुन बरामद भएको प्रहरीले जनाएको छ । लामाबगर नाका हुँदै भित्रिएको सात किलो सुन र त्यसमा संलग्न व्यक्तिहरू पक्राउ गरी सार्वजनिक गरेको प्रहरीले आज (आइतबार) पुनः प्रहरीले चार किलो सुन बरामद गरेको हो ।

फरार रहेका अन्दाजी २७ वर्षीय अशोक मगरको घर नजिकै रहेको ठुलो ढुङ्गामाथि झारले छोपेर राखेको अवस्थामा थप चार केजी सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका सात जना पक्राउ परेका छन् भने अहिलेसम्म ११ केजी सुन बरामद भएको छ ।

१९औँ एसियाली खेलकुद ः नेपाल क्वार्टरफाइनलमा

चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाल समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो। नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै क्वार्टारफाइनल प्रवेश गरेको छ। अब नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंकामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

आइतबार नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २ बल खेल्न बाँकी छदा ७४ रनमा अलआउट भयो। माल्दिभ्सका इस्माइली ३ रन र अजिन शून्यमा आउट भए। फरिदले १० रन जोडे भने घानी अब्दुलले सबैभन्दा बढी ३६ रन जोडे। घानीले ३४ बलमा दुई चौका र दुई छक्का हिर्काए। माल्दिभ्सका ६ ब्याटर शून्यमा आउट भए।

नेपालका अभिनास बोहराले ६ विकेट लिन सफल भए। उनले ३.४ ओभरमा ११ रन खर्चिए। सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलले समान एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा २१२ रन जोड्यो। नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। उनले २७ बलमा ५२ रन जोडे।

गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे। कुशल मल्लले नटआउट ४७ रन जोडे। मल्लले २० बलमा ३ चौका र ३ छक्का हिर्काए। नेपालका ओपनर कुशल भुर्तेलले एलबिडब्लूको धरापमा पर्नुअघि १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे। त्यसअघि अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए। विनोद भण्डारी १५ बलमा १३ रन, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए ।

शिक्षा विधेयक संघीय संसदमा टेबुल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय संसदमा विद्यालय शिक्षा विधेयक २०८० टेबुल गरेका छन् । आइतबार दिउँसो बसेको संसद बैठकमा शिक्षामन्त्री राईले उक्त विधेयक टेबुल गरेका हुन् ।

उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निणयार्थ प्रस्तुत गरिएको थियो ।

सुन तस्करी प्रकरण– सरकारद्वारा उच्चस्तरीय आयोग गठन

सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको छ । आयोगको सदस्यमा किशोरजङ्ग कार्की, प्रेमराज जोशी र सहकुल थापा छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले तीन महिनाको समय दिएर आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए । “सुनको अवैध पैठारी तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गरिएको छ”, उनले भने ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि आयोग गठनको निर्णय गरिएको थियो ।

सुन तस्करी प्रकरणका सम्बन्धमा एमालेलगायतका दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो ।

निगमले फिर्ता लियो इन्धनमा बढाइएको मूल्य

नेपाल आयल नियमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइएको जानकारी दिएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने जनाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन भएपछि राति १२ बजेदेखि लागु हुने गरी वृद्धि गरिएको मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

‘प्रधानमन्त्री प्रचण्डबाट निर्देशन भए बमोजिम स्वचालित मूल्य प्रणाली यथावत हुन गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्य वृद्धि आइतबार राति १२ बजेदेखि लागु हुने गरी फिर्ता गरिएको छ’ निगमले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । शनिबार राति १२ बाट लागु हुने गरी आयल निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

नेपाल आयाल निगमले शनिबार पेट्रोल र डिजलमा प्रतिलिटर रु छ, मट्टितेलमा प्रतिलिटर रु दुई, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाएको थियो । साथै एलपी ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको थियो ।

सहमतिको मसी सुक्न नपाउँदै काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि कुटपिट

सरकारसँग सहमतिको मसी सुक्न नपाउँदै काठमाडौंमा पुनः एकजना चिकित्सकमाथि कुटपिट भएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि विरामीका आफन्तले कुटपिट गरेका हुन् । सरकारले सुरक्षित कार्यस्थलको ग्यारेन्टी गर्ने भनेपछि शनिबार ६ बुँदे सहमति गरेर चिकित्सकहरु काममा फर्किएका थिए। आइतबार बिहान मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्कर्मीमाथि कुटपिट कुटपिट गरेका हुन् । मेडिकल कलेजको नेफ्रो विभागको ओपीडीमा कार्यरत डा. मनीषसहित इन्टर्नमा रहेका स्वास्थ्यकर्मी कुटिएका हुन् ।

डायलाइसिस गर्न आएका बिरामी कुरुवाले डायलाइसिस गर्ने पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेका बताइएको छ । मध्यराति चिकित्सक कुटिएपछि आइतबार बिहानैदेखि अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।अहिले उनीहरु अस्पताल परिसर र सिनामंगलस्थित सडकमा उत्रिएर धर्ना बसेका छन् । आन्दोलनका कारण अस्पताल पनि ठप्प छ । प्रहरीले घटनामा संलग्न भएको भन्दै दुई जनालाई पक्राउ गरेको छ ।

पछिल्लो समयमा विभिन्न अस्पतालमा चिकित्सक कुटिने घटना बढिरहेका छन् । यसअघि हेटौंडाको सञ्चो अस्पताल, पोखराको मणिपाल अस्पताल, लमजुङ जिल्ला अस्पतालमा चिकित्सक कुटिएपछि देशभरका स्वास्थ्यकर्मी आन्दोलित भएका थिए ।

‘ऐँठन’ उपन्यासलाई मदन पुरस्कार

‘ऐँठन’ उपन्यासलाई २०७९ सालको मदन पुरस्कार प्रदान गरिने भएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठन उपन्यासका लेखक विवेक ओझालाई दिने निर्णय गरेको हो ।

२०७९ सालको मदन पुरस्कारका लागि उत्कृष्ट पाँचमा ‘ऐँठन’सँगै ‘इजोरिया’, ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, ‘थाङ्ग्रा’ र ‘माटाको घर’ मनोनयनमा परेका थिए । मदन पुरस्कार नेपाली साहित्य क्षेत्रमा प्रतिष्ठित मानिन्छ । यो विस २०१२ मा स्थापित भएर २०१३ मा पहिलो पटक गद्य विधामा सत्यमोहन जोशीलाई, सामाजिक शास्त्रमा चित्तरत्न नेपालीलाई र विज्ञान विधामा बलराम जोशीलाई दिइएको थियो ।

त्यसैगरी त्यस्तै, जगदम्बा–श्री पुरस्कार टेकवीर मुखियालाई प्रदान गरिने गुठीले जानकारी दिएको छ । दुवै पुरस्कारको राशी चार लाख रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *