असोज १२ गते शुक्रबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । शुक्रबार तयार पारिएको मुख्य १० समाचारमा कांग्रेसको निर्णय ः मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिनेदेखी रविको चुनौती– ८४ मा राजनीतिको एउटा सटर त बन्द हुनैपर्छ, कि तपाइको की हाम्रो !सम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
कांग्रेसको निर्णय : मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने
काठमाडौ । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
शुक्रबार बसेको दलको बैठकले कार्कीलाई मत नदिने निर्णय गरेको हो । कांग्रेसका उद्धव थापा नेतृत्वको सरकारलाई बदर गरी कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दिएको थियो । मुख्यमन्त्री कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिनुपर्ने सिमा रहेको छ ।
अनुसार दोस्रो पटक अध्यादेशमार्फत आएको बजेट मन्त्रालयगत रुपमा कार्यान्वयन नगर्न मन्त्रालयहरूलाई आग्रह गर्ने समेत निर्णय भएको कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले जानकारी दिए । एमालेबाहेकका दलसँग छलफल नै नगरी ल्याएको बजेट सदनबाट पारित नभएको अवस्थामा कार्यान्वयन गर्न प्रदेश मन्त्रालयहरूलाई आग्रह गर्ने निर्णय भएको कार्कीले बताए ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार निर्माण हुँदा कांग्रेसले खे्रल्ने भूमिकाका बारेमा समेत सांसदहरुले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए । गत भदौ ४ गते उपसभामुख सिर्जना दनुवारले बैठक बोलाएर संसदीय मर्यादा विपरीत अनुपस्थित भएको सन्दर्भमा कांग्रेसले खेद प्रस्ताव पारित भएको कार्कीले बताए ।
अभिनेता अनमोल केसी पक्राउ,विश्वासघातको आरोप
आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ। उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
फिल्म ‘रामायण’मा काम गर्ने एडभान्स रकम १० लाख लिएर अन्तिम समयमा धोका दिएको भन्दै फिल्मको निरमाय पक्षले प्रहरीमा उजुरी गरेको थियो । निर्देशक सुदर्शन थापाले अभिनेता केसीविरुद्ध उजुरी दिएका थिए ।
सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्तासहित २ जना भ्रष्टाचारी ठहर
विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्ता सहित २ जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।विशेष अदालतका सदस्य यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारूको इजलासले गुप्तासहितइन्जिनियर रामचन्द्र साहलाई पनि भ्रष्टाचारी ठहर गरेको हो । उनीहरूमाथि एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप थियो ।
दुवैजनाबाट एक लाख ४० हजार रुपैयाँ बिगो र त्यति नै जरिवाना हुने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । दुवैलाई ६÷६ महिना कैद गर्ने फैसला भएको छ । इन्जिनियर साहलाई अख्तियारको टोलीले गत फागुनमा रंगेहात पक्राउ गरेको थियो । पछि मेयरले पनि घुस मागेको भेटिएपछि अख्तियारले गुप्तालाई पनि मुद्दा चलाएको हो ।
एमाले बागमती प्रदेश कमिटीमा १६२ जना निर्विरोध निर्वाचित
नेकपा एमालेका बागमती प्रदेश कमिटीको १६२ जना निर्विरोध निर्वाचित भएका छन् । स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल अघोषित प्यानल बनाएरै चुनावी मैदानमा उत्रिएका छन् । दाहाल पक्षबाट उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा, सचिवमा ललितपुरका पूर्वसांसद नवराज सिलवाल उम्मेदवार बनेका छन् भने ढुंगेल पक्षबाट उपाध्यक्षमा चितवनका दावा दोर्जे लामा र सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित उम्मेदवार बनेका छन् ।
दाहाल पक्षबाट उपसचिवमा खुलातर्फ सिन्धुलीका खड्गबहादुर खत्री र महिलामा काभ्रेकी भक्तकुमारी लामा उम्मेदवार छन् । त्यस्तै, ढुंगेल पक्षबाट उपसचिवमा ललितपुरका प्रेम महर्जन र काभ्रेकी रिता गौतम ढकालले उमेदवारी दिएका छन् ।
अहिले पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन जारी छ ।
एमाले कर्णाली अधिवेशन : मतदान भोलि १२ः३० देखि
नेकपा (एमाले) कर्णाली प्रदेशको नेतृत्व छनोटका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । नयाँ नेतृत्व छनोटका लागि नेताहरुबीच सहमती नजुटेपछि मतदान प्रक्रिया सुरु गरिएको हो । निर्वाचन तालिकालाई बन्दसत्रले पारित गरेको छ । तालिकाअनुसार आज ३ बजे मतदाताको नामवली प्रकाशन, ३ः३० सम्म मतदाता नामवलीमाथि दावि बिरोध, ४ बजे मतदाताको अन्तिम नामवली प्रकाशन, ४ः३० देखि ६ः३० दरखास्त फाराम भर्ने समय तोकिएको हो ।
यसैगरी ६ः३० बजे दर्ता भएका उम्मेरदवारको नामवली प्रकाशन, ७ः३० देखि ८ः४५ सम्म उम्मेरदवारमाथि उजुरी गर्ने समय तोकिएको छ । यस्तै, ९ः०० बजे उम्मेदवारको अन्तिम नामवली प्रकाशन तालिकामा उल्लेख छ । त्यस्तै, आज राति ९ः३० देखि बिहान भोलि विहान ८ः०० बजेसम्म उम्मेरदारी फिर्ता, ९ः३० बजे उम्मेरदवारको अन्तिम नामवली प्रकाशन र १२ः३० बजेदेखि बेलुका ६ बजेसम्म मतदान गर्ने तालिका रहेको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।
गठबन्धन सरकार अपराधीको संरक्षक भयो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अपराधीको संरक्षक भएको टिप्पणी गरेका छन् ।शुक्रबार बिराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन सरकार अपराधीको संरक्षकको रुपमा देखिएको बताएका हुन् । साथै उनले प्रचण्ड नेतृत्वको सरकार रहनु देशका लागि दुर्भाग्य भएको समेत बताएका छन् ।
‘सरकार अपराधीको संरक्षकका रुपमा देखिएको छ । यो सरकार रहनु देशका लागि दुर्भाग्य हो,’ उनले भने । सरकार हटाउन पहल गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हामी आफैं जान चाहिरहेका छैनौं । यो सरकार हटाउने हो भने अर्को उपयुक्त विकल्प हुने स्थिति देखिनँ ।’ प्रमुख पार्टीहरु जिम्मेवार हुँदा अर्को विकल्प हुने भएपनि कांग्रेसले यसबारे नसोचेको उनको भनाई थियो ।
सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
सरकार र आन्दोलनरत राहत शिक्षकहरुबीच सहमति भएको छ । शिक्षा मन्त्रालयमा शुक्रबार भएको वार्तामा आन्दोलनरत शिक्षकसँग पाँच बुँदे सहमति भएको हो ।
बशिक्षा विधेयकलाई संशोधन गर्ने गरी सहमति गरिएको र शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने तथा अस्थायी सेवा अवधि पनि शतप्रतिशत नै गणना गर्ने सहमति भएको छ ।
शिक्षामन्त्री अशोक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारी तथा आन्दोलनरत राहत शिक्षकका प्रतिनिधिहरुमा नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थिए ।
सरकारसँग सहमति भएसँगै आन्दोलनको कार्यक्रम स्थगित भएको छ । संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरको शिक्षकहरु आन्दोलित भएका थिए । सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंमा केन्द्रीत भएर गत बुधबारदेखि आन्दोलनमा उत्रेका थिए । गत शुक्रबार सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित भएपनि सो सहमतिमा असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरुले आन्दोलन जारी राखेका थिए ।
जडिबुटीमा निर्माण भएको बसपार्क नभत्काउन उच्च अदालतको अन्तरिम आदेश
पूर्वअरनिको यातायातको अगुवाइमा काठमाडौंको जडिबुटीमा निर्माण भएको बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको हो ।
आठौं महादेश पत्ता लाग्यो, जारी गरियो नक्सा र राखियो नाम ‘जिल्यान्डिया’
लगभग ३७५ वर्ष पछि भू वैज्ञानिकहरूले एक महाद्वीप पत्ता लगाएका छन्, जुन अहिलेसम्म संसारबाट लुकेको थियो।यस पछि भन्न थालिएको छ कि संसारमा सात होइन, आठ महादेश छन्। वास्तवमा, वैज्ञानिकहरूले अब आठौं महाद्वीपको बारेमा पत्ता लगाएका छन्। यस महादेशको नाम जिल्यान्डिया हो, जुन करिब ९४ प्रतिशत समुन्द्र मुनि रहेको छ । जसको भु–भागको ६ प्रतिशत मात्रै पानी बाहिर छ, जसमा न्युजिल्याण्ड र साना टापुहरू रहेका छन्।
बीबीसीका अनुसार वैज्ञानिकहरूले जिल्यान्डिया महादेशको नयाँ नक्सा जारी गरेका छन्। यो नयाँ महाद्वीप पत्ता लगाउने वैज्ञानिकहरूले भनेका छन् कि यो महाद्वीप गोन्डवाना नामक महाद्वीपको हिस्सा थियो। जील्याण्डिया लगभग १०.५ करोड वर्ष पहिले गोन्डवानाबाट अलग भएको थियो। एसिया, अफ्रिका, युरोप, उत्तर र दक्षिण अमेरिका, अष्ट्रेलिया र अन्टार्कटिका पछि यो नयाँ खोजले मानिसहरूलाई रोमाञ्चित बनाएको छ।
समाचार अनुसार जिल्यान्डिया १.८९ मिलियन वर्ग माइल (४.९ मिलियन वर्ग किलोमिटर) को विशाल महादेश हो, जुन माडागास्कर भन्दा झण्डै ६ गुणा ठूलो छ। सन् २०१७ मा मात्रै यो पत्ता लागेको थियो तर यसपटक भने वैज्ञानिकहरूले यसको नयाँ नक्सा सार्वजनिक गरेका हुन । वास्तवमा २०१७ मा भूवैज्ञानिकहरूको समूहले यो आठौं महाद्वीपको घोषणा गर्दा चर्चामा आएको थियो ।
दोलखामा थप ३ किलो सुन बरामद
दोलखामा थप ३ किलो सुन बरामद गरेको छ । जिल्लाको विगु गाउँपालिका ३ जामुनेबाट ३ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ । चीनबाट अवैध रुपमा तस्करी गरी लुकाएर राखेको अवस्थामा केशर तामाङको कोठाबाट उक्त परिमाणको सुन बरामद गरिएको हो । सुन तस्करीको अनुसन्धानका क्रममा तामाङ गत बुधबार पक्राउ परेका थिए ।
रविको चुनौती– ८४ मा राजनीतिको एउटा सटर त बन्द हुनैपर्छ, कि तपाइको की हाम्रो !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलहरुलाई चेतावनी पूर्ण अपिल गरेका छन् ।सामाजिक सञ्जाल मार्फत सभापति लामिछानेले अहिले मिशन ८४ भन्नु भन्दा बाँकी रहेको चार बर्ष काम गरेर देखाउन चुनौती दिएका हुन् । उनले बाँकी रहेको चार बर्ष काम गरेर ९४ को चुनावमा नयाँ दलको जमानत जफत गरिदिन आग्रह समेत गरेका छन् ।
सम्पुर्ण पुराना दलहरुलाई अपिलः
देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस् । देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं । यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा ।
तर ‘मिशन ८४’ भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन । तपाईको लागि त मिशन ८० नै छ त ! मिशन ०७ सालदेखि निरन्तर मिशन नै मिशन थियो त !! केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला । अझ मिशन ८०, मिशन ८१, मिशन ८२, मिशन ८३ छदै छ त ! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस् । ४÷४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् । ४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४/४ वर्ष छ । गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई ।




