मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असोज ११ गते बिहिबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहिबार तयार पारिएको मुख्य १० समाचारमा कांग्रेस सिध्याउन खोज्नेहरू आफैँ सकिन्छन् ः मन्त्री बस्नेतदेखी दुई महिनापछि खुल्यो सुदूरपश्चिम विश्वविद्यालयको तालासम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

कांग्रेस सिध्याउन खोज्नेहरू आफैँ सकिन्छन् ः मन्त्री बस्नेत

काठमाडौं।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पछिल्लो समय प्रजातन्त्रमाथि निरन्तर आक्रमण भइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेस बिना प्रजातन्त्र नरहने जिकिर गरे । भने, ‘कांग्रेस बिना प्रजातन्त्र रहँदैन्, भन्ने कुरा सबैलाई थाहा छ । र नेपालमा अहिले विभिन्न तरिकाबाट प्रजातन्त्रमाथि आक्रामक शैलीमा गतिविधिहरू प्रस्तुत भइरहेको बेला सबै व्यक्तिहरू एक ढिका भएर कांग्रेस पार्टी र प्रजातन्त्रलाई बलियो बनाउनु पर्छ ।’

बस्नेतले कांग्रेसलाई कमजोर बनाउन खोज्नेहरू आफै समाप्त भएर जाने तर्क गरे । भने, ‘कांग्रेस भित्र भएकाले पनि कसैले कमजोर बनाउन सक्दैन । र कांग्रेस बाहिर रहेकाले पनि सिध्याउन सक्दैनन् जो जो कांग्रेस विरोधी बनेर आउँछन् । हिजो पनि सिद्धिएका छन् । आज पनि सकिन्छन् ।’

जथाभावि भएको मूल्यवृद्धि नियन्त्रणमा सरकारले ध्यान पुर्याउनुपर्छ ःमाधव नेपाल

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको बताएका छन् । बिहिबार पार्टीको मेची–महाकाली समाजवादी जागरण यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले मूल्यवृद्धिका विषयमा आँफूले पहिलादेखि नै संसददेखी सडकसम्म आवाज उठाउँदै आएको बताउँदै सरकारले जथाभावी भएको मुल्यवृद्धि नियन्त्रणमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

पछिल्लो समय जभाभावी मूल्यवृद्धि भएको विषयमा सरकारले समयमा नै ध्यान दिनुपर्ने उनको भनाइ छ । चाडपर्व नजिकिँदै गर्दा व्यापारीहरुले हरेक सामानको मूल्य मनपरी राख्ने गरेपछि उपभोक्ताहरु मारमा पर्ने गरेको उनले बताए ।

एमाले बागमती अधिवेशनमा विवादपछि वर्तमान अध्यक्ष पाण्डेद्धारा उम्मेदवारी फिर्ता

वर्तमान अध्यक्ष केशव पाण्डेले नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी घोषणा र दर्तादेखि नै सुरू भएको विवाद बढेपछि बागमती प्रदेशको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका बहालवाला अध्यक्ष पाण्डेले उम्मेदवारी फिर्ता लिएका हुन्। बुधबार पार्टी कार्यालयमै उपस्थित भए पनि युवा नेता गणेश श्रेष्ठले वारेशमार्फत पाण्डेले अध्यक्षमा मनोनयन दर्ता गराएका थिए।

श्रेष्ठले बुधबार साँझ ६ बजेर ५० मिनेटमा च्यासलस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका थिए।उनले अध्यक्षको दौडानमा नरहेको भन्दै हिँजै उमेदवारी फिर्ता गरेको बताए । अधिवेशनका प्रचार विभाग प्रमुख महेश कुमार बर्तौलाले पनि पाण्डेले दर्ता गरेको उमेदवारी फिर्ता गराएको जानकारी दिए । बुधबार एमाले केन्द्रीय कार्यालयस्थित बागमती प्रदेश कमिटीको कार्यालयमा रहेका पाण्डेले आफैं उम्मेदवारी दर्ता गर्न गराउन नपाएपछि उनका सहयोगीले पाण्डेको उमेदवारी दर्ता गरिदिएका थिए ।

राष्ट्रपति पौडेलदेखि मेयर बालेनसम्म हिँडेर इन्द्रजात्रामा

राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर गएका छन् । वसन्तपुरमा इन्द्रजात्रा पर्व हेर्न राष्ट्रपति पौडेललगायतका उच्चपदस्थ व्यक्तिहरू जुद्ध सालिकबाट हिँडेर गएका हुन् । राष्ट्रपतिसँगै उपराष्ट्रपति राम सहाय यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलगायत हिँडेर वसन्तपुर गएका हुन् ।

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु

करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ ।आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ ।

बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सुरु गरिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए । हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणले दिँदै आएको विद्युत आपूर्ति करिब आधाघण्टा अवरुद्ध हुँदा उत्पादन कार्यलाई नियमित राख्न कठिनाइ भएको उनले जानकारी दिए ।

उक्त उद्योगमा विद्युत् आपूर्तिको लागि छुट्टै फिडर जडान गरिए पनि आपूर्ति पटक–पटक अवरुद्ध हुँदा उत्पादन कार्यमा निकै समस्या भोग्नु परेकाले प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गर्न पत्राचार भइरहेको पनि महाप्रबन्धक कर्णले बताए । नेपाल सरकारको स्वामित्वमा रहेको सो उद्योग करिब चार दशक पुरानो हुँदै जाँदा सबै उपकरण पनि जीर्ण हुँदै गएकाले उत्पादन क्षमतामा कमी आएको उल्लेख गरिएकोे छ ।

साविक क्षमताअनुसार दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि अहिले दैनिक दस हजार बोरा मात्रै सिमेन्ट उत्पादन भएको उद्योग व्यवस्थापनले जनाएको छ ।

तत्कालीन श्री ५ को सरकारले विसं २०३३ मा हेटौँडामा स्थापना गरेको उक्त उद्योगले २०४३ साल मङ्सिर २६ गतेदेखि व्यावसायिक उत्पादन गर्दै आएको थियो ।

एक अर्ब ५० करोडको लगानीमा स्थापना गरिएको सो उद्योगले अहिले विभिन्न सहरमा दैनिक चार हजारदेखि पाँच हजार बोरासम्म मात्र सिमेन्ट बिक्रीवितरण भइरहेकाले पर्याप्त सिमेन्ट बिक्रीवितरण हुन नसक्दा निकै आर्थिक भार व्यहोर्न परेको उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले बताए ।

धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन नदिन समयमा नै समाधानको बाटोमा लाग्नुपर्छ ः प्रवक्ता सापकोटा

पछिल्लो समय देशमा घटिरहेका घटनाहरुको विश्लेषण गदैं नेकपा माओवादी केन्द्रले धार्मिक तथा साम्प्रदायिक द्धोन्द्धले समाजमा नकरात्मक असर पार्ने भन्दै यस्तो घटनाहरुबाट सचेत हुन आग्रह गरेको छ । माओवादी केन्द्रको बिहिबार पेरिस डाँडामा बसेको पाटीको पदाधिकारी बैठक सकिएपछि संचारकर्मीहरुसंगको कुराकानीमा प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो आग्रह गरेका हुन् ।

समाजमा विभिन्न किसिमका हत्या हिंसाका घटनाहरु दिनप्रति दिन बढिरहेकाले यस्ता घटनाहरु नगर्न र नगराउन सबैमा आग्रह गर्दै यस्ता घटनाहरुबाट बच्न उनले सबैलाई आग्रह गरेका हुन् । देशमा अराजकताको संकेत देखापरेको भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको उनको भनाइ थियो । सामाजिक सद्भाव कायम गर्न सबैले गम्भिरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको उनले बताए ।

‘देशका विभिन्न भागमा देखापरिरहेका धार्मिक सद्भाव खल्बलिने कुरा, साम्प्रदायिक सद्भाव खल्बलिने कुरा नगरी सद्भाव कायम गर्नुपर्ने सबैको दायित्व भएको साप्कोटाले बताए । देशमा देखा परेका यस्ता समस्याको समाधानमा सबैले खुलेर लाग्नुपर्ने उनले बताए । समाजमा घटीरहेका यस्ता समस्याहरुको समाधान समयमा नै नभए यसले भविष्यमा विकराल अवस्था सिर्जना गर्ने भएकाले समयमा नै समाधानको बाटो खोज्नुपर्ने उनको भनाइ छ ।

यस्तै उनले आन्दोलनरत राहत शिक्षकसँग सम्वाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको समेत जानकारी दिए । सापकोटाले सरकारले सुशासनको क्षेत्रमा र भ्रष्टाचार नियन्त्रणमा पहलकदमी लिइरहेको भन्दै सरकारलाई साथ दिन सबैमा अपील गरे ।

पूर्व सहमति अनुसार सुन तस्करी जाँचबुझ आयोग गठन गर्न रास्वपाको सरकारलाई आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करीको अनुसन्धान जाँचबुझ आयोग गठन पूर्व सहमतिअनुसार गर्न सरकारलाई आग्रह गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले दलहरुका बीचमा भएको सहमति अनुसार आयोग गठन नभएकोमा असन्तुष्टि व्यक्त गरेको छ । पूर्व सहमति अनुसार गत ६ भदौँमा राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच सुन तस्करी छानबिनका लागि असोज ५ गतेसम्ममा उच्चस्तरीय आयोग बनाउने सहमति भएको थियो । तर तर कार्यादेशका सम्बन्धमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका बीचमा विवाद बढेपछि आयोग गठनमा सकस परेको छ ।

जसको कारण उक्त विषय चौतर्फि विवादको विषय बनिरहेको बेला आयोगले निर्धारित समयमा उच्चस्तरिय आयोग गठन गर्न नसक्नु सरकारको कम्जोरी रहेको उ जनाएको छ । सात राजनैतिक दलहरुबीच भएको सहमतिलाई कार्यान्वयनमा ल्याउन नसक्नुले हरेक विषयमा बाधा पर्ने गरेको छ ।

सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेका बीचमा विबादको अवस्था सिर्जना भएपछि आयोगले पनि पूर्व सहमति अनुसार नै आयोग गठन गर्न सरकारलाई निर्देशन समेत दिएको छ । तर उक्त विषयमा सत्तारुढ दलले पनि आयोगको निर्देशनलाई पालना गर्ने कुनै संकेत गरेको छैन भने नेकपा एमालेले पनि विमति जनाउँदै आएको छ ।

नियम उल्लंघन गर्ने दुई कम्पनीका हेलिकप्टर उडाउन रोक

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई कम्पनीका हेलिकप्टरको उडानमा रोक लगाएको छ।लुक्ला क्षेत्रमा प्रतिकुल मौसममा उडान गर्न नहुने नियम उल्लंघन गर्दै पटक–पटक हेलिकप्टर उडान भरेको पाइएपछि आजबाट उडानमा रोक लगाइएको प्रधिकरणले जनाएको छ। एक सय मिटरभन्दा कम भिजिविलिटी भएको अवस्थामा समेत ‘भीएफआर’ नियम अवज्ञा गर्दै हेलिकप्टर उडाएपछि श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकप्टरलाई ग्राउन्डेड गरिएको हो।

महानगरसँग सहमतिपछि ईः को आन्दोलन स्थगित

अघिल्लो मंगलबारदेखि आन्दोलनमा रहेका सामाजिक अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच सहमति भएको छ ।पछिल्लो नौ दिनदेखि काठमाडौँको राष्ट्रिय सभागृह अगाडी उभिएर नगर प्रमुख बालेन्द्र शाहले चुनाव अघि गरेका बाचा सम्झाउन भन्दै आन्दोलन गरेका ईः ले सहमति पछि आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

महानगर र ईः बीच कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गरेर फुटपाथ र सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न महानगरले एक हप्ताभित्र पहल गर्ने सहमति भएको छ ।

दुई महिनापछि खुल्यो सुदूरपश्चिम विश्वविद्यालयको ताला

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो ।

विश्वविद्यालय प्रशासन र नेकपा(एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन, नियमबमोजिम गर्ने, विश्वविद्यालयको ऐनबमोजिम समायोजन गर्ने र गत भदौमा परीक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियुका नेतालाई लगाएको मुद्दा फिर्ता लिने सहमतिपछि केन्द्रीय कार्यालयको ताला खुलेको अनेरास्ववियुका जिल्ला संयोजक रमेश पन्तले जानकारी दिए ।

केन्द्रीय कार्यालयमा साउन १ गते नेकपा (एमाले) निकट अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको थियो । यी दुई सङ्गठनसँग सहमति भएर यसअघि नै ताला खुले पनि समाजवादी निकट विद्यार्थी सङ्गठनको कारण ताला खुल्न सकेको थिएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *