असोज १० गते बुधबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमा बालेनको ईः लाई स्पष्टोक्ति– तपाइँको माग पुरा गर्ने अधिकार हामीसँग छैनदेखी ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने मदन श्रेष्ठ निलम्बित सम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
बालेनको ईः लाई स्पष्टोक्ति– तपाइँको माग पुरा गर्ने अधिकार हामीसँग छैन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले अभियन्ता ईः ले उठाएका माग पुरा गर्ने अधिकार महानगरलाई नभएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा ईः लाई सम्बोधन गर्दै बालेनले गरेको पोष्टमा महानगरको सार्बजनिक जग्गा नभएको र फुटपाथमा व्यवसाय गर्न दिन कानुन अनुसार नमिल्ने स्पष्ट गरेका हुन् । साथै बालेनले ईः को आन्दोलनमा एक्यबद्धता जनाएका नेताहरुले कानुन बनाउन ध्यान नदिएर जायज माग पुरा गर भन्दै राजनीतिक बेइमानी गरेको उल्लेख गरेका छन् ।
साथै बालेनले ईः लाई आन्दोलन बन्द गरेर कानुन पालना गर्न सहयोग गर्न आग्रह पनि गरेका छन् ।
बालेनले लेखेका छन् ः
प्रीय ई,
हामीलाई थाहा छ, तपाई कोहीबाट परिचालित अथवा कुनै पार्टीबाट प्रायोजित हुनुहुन्न । कसैले यस्तो भने पनि हामी पत्याउँदैनौँ । तपाईले उठाएका मागहरुलाई तपाई परिचालित हो भनेर पन्छाउन चाहन्नौँ । तर तपाई जे कुराका लागि उभिनु भएको छ, त्यसका लागि एउटा सूचनाको हक प्रयोग गरेर पत्र दिएको भए पनि प्राप्त हुन्थ्यो । तपाईले त्यो संस्थागत बाटो नसमात्नुमा भने दुख लागेको छ । दुवैजना वार्ता बसौँ न भन्दा पनि मान्नु भएन । ठिकै छ, तपाईको इच्छा भनेर त्यसका लागि पनि कुनै दुर्भावना वा अहम राख्ने कुरा हुन्न ।
अब फुटपाथ र त्यसमा हुने व्यापार व्यवसायका बारेमा हाम्रो धारणाहरुमा प्रवेश गरौँ –
१. फुटपाथ, बाटो तथा चष्नजत या धबथ मा व्यापार गर्नु गैरकानुनी हो । यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरुले भावुक हुन सकिएला तर कानुनले हेर्ने गैरकानुनी भन्दा अलग होइन ।
२. समय छुट्याउने बारेमा पनि अवस्था फरक हुने रहेछ । बिहान दुई घण्टा र बेलुका दुई घण्टा पनि बालबालिका हिड्छन्, दृष्टिबिहिन हिड्छन्, गर्भवतिहरु हिड्छन्, बिरामीहरु हिड्छन् । त्यस्तै सोही समयमा आगलागीको घटना हुँदै नहुने होइन । मानिसहरु बिरामी नपर्ने होइनन् । त्यस्तो आपतकालिन अवस्थामा फुटपाथका पसल र ठेलाहरुले अवरोध गर्छन् । यहि कारणले सडक वा पेटीमा राखिने निर्माणका सामग्रीहरु पनि हटाइन्छन् । यसैले कसैको निर्माणका लागि वा १००० व्यक्तिहरुको लागि ५० लाख जना हिड्ने अधिकार हनन् गर्न वा तिनलाई जोखिममा राख्न मिल्दैन । गत एकबर्षमा काठमाडौँ महानगरको कल सेन्टरमा आएका २० प्रतिशत भन्दा ज्यादा गुनासोहरु जुन करिब १००० जति छन्, ति सबै फुटपाथबाट व्यापार व्यवसाय हटाउने सम्बन्धितका छन् ।
एमाले बागमती प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि दुई जनाको उमेदवारी दर्ता
काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ ।
बुधबार अपरान्ह पार्टी कार्यालय च्यासलमा विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदका लागि दुृई जनाले उमेदवारी दर्ता गराएका छन् । रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गरेका हुन् ।
आनन्दकुमार श्रेष्ठ ढुंगेलको प्रस्तावकमा र समर्थकमा वचन देउजा रहेका छन् । ढुंगेलका प्रस्ताव श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष रहेका छन् भने देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन् । यस्तै हिदम लामा दाहालको प्रस्तावकमा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । दाहालका प्रस्तावक लामा भीमफेदी गाउँपालिका अध्यक्ष रहेका छन् ।
राष्ट्र बैंकद्वारा वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन सार्वजनिक
नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७८÷७९ को प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल २३१ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रतिवेदन तयार पारिएको राष्ट्र बैंकले जनाएको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८७९ को अन्त्यसम्म मुलुकको कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई २ खर्ब ६४ अर्ब ३३ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ ।
२०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसमध्ये, भारतबाट सबैभन्दा धेरै ८८ अर्ब ५९ करोड र त्यसपछि चीनबाट ३३ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक लगानी रहेको छ ।
आयरल्याण्ड २० अर्ब ९० करोड, सिङ्गापुर १६ अर्ब ७ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।
संखुवासभा कांग्रेस जिल्ला सभापति दिपक खड्काद्वारा राजीनामा
नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले आज राजीनामा दिएका हुन् ।
खड्काले पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत केन्द्रीय सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा संखुवासभाबाट निर्वाचित खड्काले प्रतिनिधिसभा सदस्य भएपछि काठमाडौँमा धेरै समय बिताउनु पर्ने र जिल्लाको पार्टी सङ्गठनलाई पर्याप्त समय दिन नसकेको भन्दै राजीनामा दिएका हुन् ।
‘संखुवासभामा विसं २०७० र २०७९ सालको निर्वाचनमा कांग्रेसलाई विजयी बनाएको र आगामी दिनमा पनि कांग्रेसको सङ्गठनलाई मजबुद बनाउन जिल्लामा रहेका साथीहरुलाई काम गर्ने वातावरण निर्माण गर्न सभापति पदबाट राजीनामा दिएको हुँ’, उनले भने । नेता खड्काले आफू जिल्ला सभापति पदमा नरहे पनि अब बन्ने सभापतिलाई सहयोग गर्दै पार्टी र जनाताको काममा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एमाले कर्णाली प्रदेश अधिवेशन सुरु
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम कर्णाली प्रदेश अधिवेशनको उदघाटन गरेका छन् । आज (बुधबार) वीरेन्द्रनगरमा सुरु भएको अधिवेशन उद्घाटनको समय दिउँसो १ बजेलाई तय गरिएको भए पनि अध्यक्ष ओली निर्धारित समयमा पुग्न नसकेपछि ३ बजेलाई सारिएको थियो ।
अधिवेशनलाई महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्टलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । अधिवेशनमा १० जिल्ला र मोर्चा संगठनबाट ६०४ जना प्रतिनिधिले भाग लिनेछन् । जसमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुष रहनेछन् ।
एमालेले छानेका प्रतिनिधिमा ७३ जना पुरुष र ३८ महिला गरी एक सय ११ जनाको दलित प्रतिनिधित्व रहने छ । दुई दिनसम्म चल्ने अधिवेशनले पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ भने पाँच जना पदाधिकारीसहित १३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।
अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन
गृह मन्त्रालयले आफ्ना कर्मचारीलाई बिहान कार्यालय सयम सुरु भएपछि १५ मिनेट योग अभ्यास गर्न परिपत्र गरेको छ।
मन्त्रालयले महाशाखाहरू अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको छ।
यस्तो योगाभ्यास र ध्यान गरेर मात्र आफ्नो कार्य जिम्मेवारीअनुसार काम सुरु गर्न मन्त्रालयले निर्देशन दिएको हो। कार्यालय समयभित्र नै कर्मचारीले १५ मिनेट योगाभ्यास गर्नुपर्ने भएको छ।
मन्त्रालयले मन्त्रायल विभाग र उपत्यकाभरिका कार्यालयहरूका लागि एक दिवसीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेको र अन्य कर्मचारीका लागि पनि यस्तो कार्यक्रम सञ्चालन हुन लागेको बताएको जनाएको छ।
मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
दशैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वभावविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरुले सरकारलाई सजग र सचेत रहन सुझाव दिएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिको आजको बैठकमा भाग लिने अधिकांश सदस्यहरुले चाडबाडका समयमा कृत्रिम अभाव सिर्जना गरी हुनसक्ने भन्दै त्यस्ता गतिविधमा समयमै ध्यान पुर्याउन समितिमार्फत सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा सदस्य गोकुलप्रसाद बाँस्कोटाले चिनी उत्पादन र आयातकर्ता तथा सरकारबाट सहयोग प्राप्त गर्ने एउटै व्यक्ति भएकाले हरेक वर्ष चाडबाडका समयमा अभाव सिर्जना हुँदै आएको जिकिर गर्दै दैनिक उपभोग्य वस्तु सहज र सुलभ मूल्यमा प्राप्त गर्ने जनताको अधिकारलाई सुनिश्चित गर्न जोड दिए ।
सदस्य राजेन्द्रप्रसाद लिङ्देनले दैनिक उपभोग्यवस्तुमा भइरहेको कालोबजारी र महँगीले उपभोक्ता मारमा परेको भन्दै त्यसतर्फ सरकारको बेलैमा ध्यान जाओस् भनी अपिल गरे । सांसदद्वय अचुत मैनाली र देवप्रसाद तिमिल्सिनाले आवश्यकता भन्दा लाभको दृष्टिकोणबाट मल आयात भएकाले वास्तविक किसानले नभइ अरुले नै फाइदा लिइरहेको बताए ।
समिति सदस्य अर्जुननरसिंह केसीले दशैँको मुखमा कालोबजार मौलाएका अत्यावश्यक खाद्य सामग्रीलगायतमा मूल्यवृद्धि भइ आम जनता त्यसको मारमा परेको भन्दै त्यसतर्फ आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।
नेकपा एस ः कोशी प्रदेश अध्यक्ष बलदेव चौधरीसहित चार जना विरुद्ध मुद्धा दर्ता
नेकपा एसका पोलिटब्यूरो सदस्य तथा कोशी प्रदेश इन्चार्ज बलदेव चौधरीवरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएको छ । उदयपुर, त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीसमेत ४ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्धा दायर भएको हो । त्रियुगा नगरपालिकाका कर्मचारीहरुसमेतले आ.व. २०७८÷०७९ मा ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा अनुचित कार्यगरी मिलेमतोमा बदनियतपूर्वक राजस्व हानिनोक्सानी गरेको भन्ने उजुरी निवेदन दर्ता भएको छ ।
उक्त विषयमा अनुसन्धान हुँदा त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीले आर्थिक वर्ष २०७८ र ०७९ मा त्रियुगा नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ माटो बाहेकको प्रारम्भिक वातबरणीय परीक्षण प्रतिबेदन स्वीकृत गरेको थियो ।
त्रियुगा नगरपालिकाको नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयअनुसार आ.व. २०७८र०७९ को लागि नदीजन्य पदार्थको प्रस्ताबित आय प्रक्षेपण गरेकोमा निज नगर प्रमुखकै अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार ढुङगा, ग्राभेल, बालुवा उत्खनन, संकलन, बिक्री कर उठाउने प्रयोजनको लागि न्यूनतम अंक कायम गर्ने निर्णय गरी निजले नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय तथा क्ष्भ्भ् प्रतिबेदन अनुसारको अनुमानित राजस्व रकमसमेतलाई बेवास्ता गरी मिलेमतोमा ठेक्काको न्यूनतम रकम कायम गरेको कारण बास्तबिक उठाउनु पर्ने राजस्व रकम नउठाई राजस्व चुहावट भएको रु६२ लाख ९१ हजार २०४ रुपैँया २२ पैसा र ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानूनी ढंगले उत्खनन र बिक्री गर्न दिएको जारी विज्ञप्तीमा उल्लेख छ ।,
रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल गर्छु– सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल थाल्ने बताएका छन् ।
उनले आज विर्तामोडमा रहेको सम्पर्क कार्यालयमा रेलमार्ग प्रभावित तथा मुआब्जा समन्वय समितिको ज्ञापनपत्र बुझ्दै सो कुरा बताएका हुन् । सभामुख घिमिरेले रेलमार्ग प्रभावितका माग जायज रहेको बताउँदै तत्काल पूरा गर्न पहल थाल्ने जनाए । उनले भने, “काठमाडौंँ फर्किएपछि प्रभावित क्षेत्रका सांसदहरुसँग छलफल गर्नुका साथै प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराउने छु ।” समितिका कोशी प्रदेश संयोजक डा लक्ष्मीप्रसाद मैनाली नेतृत्वको टोलीले सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै रेलमार्ग प्रभावितका समस्याबारे ध्यानाकर्षण गराएका थिए ।
समितिका महासचिव रञ्जित प्रसाईंले प्रभावितको यथोचित न्याय र मागको सन्दर्भमा सभामुखलाई अभिभावकीय भूमिका निर्वाह गरी सरकार समक्ष माग पूरा गराउन आवश्यक समन्वय र पहल गरिदिन आग्रह गरे । प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि रोक्का गरिएको घरजग्गामा अहिले रेलवे विभागले झापा र सुनसरीमा डिमार्केशनको काम सम्पन्न गरिसकेको छ भने मोरङमा डिमार्केशनको काम बाँकी रहेको उनले जानकारी दिए ।
‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने मदन श्रेष्ठ निलम्बित
मणिपाल शिक्षण अस्पतालक चिकित्सकमाथि कुटपिट गरेको बताएका प्रहरी निरीक्षक (इन्स्पेक्टर ) मदन श्रेष्ठलाई निलम्बन गरिएको छ । गृह मन्त्रालयले इन्स्पेक्टर श्रेष्ठलाई निलम्बन गरिएको र उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी वेद जोशीलाई पनि सरुवा गरिएको जानकारी दिएको छ ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए । उक्त प्रकरणमा थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समिति समेत गठन गरिएको छ ।
इन्सपेक्टर श्रेष्ठले मृतकका आफन्तहरु आक्रोशित भएका बेला ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो । मणिपालका चिकित्सकहरु दोषीलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मंगलबार धर्ना दिएका थिए । यस प्रकरणमा प्रहरीले चिकित्सक कुटेको आरोपमा विनय गुरुङलाई पक्राउ गरेको छ ।




