मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असोज ९ गते मंगलबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमा सर्वोच्चको प्रश्न ः ललिता निवासमा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण देखी काठमाडौँ महानगरले निर्धारण ग¥यो अनुगमन गर्न १६ सूचक सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

सर्वोच्चको प्रश्न : ललिता निवासमा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण के हो ?

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारणबारे स्पष्टिकरण माग गरेको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको ठगी प्रकरणमा मुद्दा नचलाउनुको कारण माग गरेको हो । शक्ति र पहुँचका आधारमा उनीहरुलाई सरकारले छुट दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई लगायतसँग १५ दिनभित्र लिखित जवाफ पठाउन आदेश दिएको छ ।

शिक्षा मन्त्रालयले ग¥यो शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन अर्थलाई पत्राचार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन पत्राचार गरेको छ । अर्थ मन्त्रालयलाई पत्र लेख्दै शिक्षकलाई समान तहको निजामती कर्मचारी सरह अधिकतम संख्यामा ग्रेड उपलब्ध गराउन पत्राचार गरेको हो ।

शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच यही असोज ५ गते भएको सहमति अनुसार बुँदा नं ३ (घ) मा विद्यालयका शिक्षकले पाउने ग्रेड समायोजन सम्बन्धी विषय उल्लेख भएको हुँदा उक्त बुँदा कार्यान्वयनका लागि विद्यालय तहमा अध्यापन गर्ने शिक्षकलाई समान तहको निजामती कर्मचारी सरह अधिकतम संख्यामा ग्रेड उपलब्ध गराउन पत्रमा उल्लेख गरेको छ ।

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति

मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका चिकित्सकबीच सहमति भएको छ । उनीहरूबीच चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि कारबाही गर्ने सहमति भएको छ । सहमति अनुसार स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ बमोजिम कारबाही हुनेछ ।

पछिल्लो समय बिरामीका आफ्न्तबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भइरहेको छ । त्यसको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए । मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य संस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्ने निर्णय भएको छ ।

साथै अहिले जहाँजहाँ घटना भएको छ, त्यसमा संलग्नहरूलाई ऐन अनुसार नै कारबाही गर्ने सहमति भएको गृह मन्त्रालय स्रोतले बताएको छ । बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, नेपाल मेडिकल काउन्सिल, चिकित्सक संघ, नर्सिङ संघ लगायतका प्रतिनिधिको उपस्थिति थियो ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण– अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ ।चीनको भ्रमणमा रहेका प्रधानमन्त्री बदाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी लि छ्याङबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि जारी संयुक्त वक्तव्यमा व्यापार प्रवर्द्धन तथा सहजीकरण, कूटनीतिक सम्बन्ध विस्तार तथा क्षेत्रीय सहयोगका लागि सहकार्य गर्ने विषयमा सहमति भएको हो ।

वक्तव्यमा दुई देशबीचको सम्बन्ध, आपसी हितका लागि सहकार्य तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमाथि सहकार्य गर्ने विषयमा छलफल भएको र केही महत्वपूर्ण सहमति जुटेको उल्लेख छ । प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा नेपालले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को २०औँ राष्ट्रिय कंग्रेसको सफलताका लागि नेपालले बधाइ ज्ञापन गरेको छ ।

चीनले पछिल्ला वर्षहरुमा गरेको आर्थिक तथा सामाजिक विकासको प्रशंसा गर्दै नेपालले थप समृद्धिका लागि कामना गरेको छ ।चिनियाँ पक्षले नेपालले गतवर्ष सम्पन्न गरेको तीन तहको निर्वाचन र त्यसपछिको नयाँ सरकार गठनका लागि बधाई ज्ञापन गर्दै चाँडै विकास र समृद्धिको लक्ष्य हासिल गर्नेमा विश्वास व्यक्त गरेको छ ।

चीनका राष्ट्रपति सी चिनफिङको सन् २०१९ को नेपाल भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति तथा सम्बन्ध विकास र समृद्धिका लागि लामो समयको मित्रतासहितको रणनीतिक साझेदारीबारे दुवै पक्षले स्मरण गरेको छन् । द्विपक्षीय सम्बन्धलाई कायम राख्ने, पारस्पारिक विश्वास अभिवृद्धि, दुई देशबीच सबै तहमा सहयोग आदान–प्रदान तथा विस्तार गर्ने प्रतिबद्धता दुवै देशले दोहोर्याएका छन् ।

सन् १९५५ मा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएयता विभिन्न अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै आपसी सम्मान, समानता, ऐक्यवद्धता र पारस्पारिक सहयोगको भावनालाई दुवै देशले निरन्तरता दिँदै आएका छन् । नेपाल–चीन सम्बन्ध फरक भौगोलिक आकार र सामाजिक प्रणाली भए पनि आपसी मैत्री उत्कृष्ट उदाहरणका रुपमा रहेको संयुक्त वक्तव्यमा उल्लेख छ ।

शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल

नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी छलफलमा सो पार्टीका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायतका सांसद उपस्थित छन् ।

छलफलमा नेपाल शिक्षक महासङ्घ र घटक संस्था, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन), सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपाललायतका संस्थाका प्रमुख र प्रतिनिधि पनि सहभागी छन् ।

प्रमुख सचेतक लेखकले सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन आफ्नो दलले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो ।

म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई एक लाख जरिवाना

पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई रु एक लाख जरिवाना गराइएको छ ।

जिल्लास्तरीय बजार अनुगमन समिति कास्कीले बजार अनुगमनलाई निरन्तरता दिने क्रममा सोमबार पोखराका विभिन्न पसलको अनुगमन गरेको थियो । म्याद गुज्रेका सामान बिक्री गरी उपभोक्तामाथि ठगी गरेको पाइएपछि अनुगमन समितिले मीनबहादुर शेरचन स्टोर्सलाई सो रकम जरिवाना गराएको सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक गुरुदत्त ढकालले बताए ।

उनका अनुसार सो स्टोर्सबाट पाँच लिटर १२ ग्यालिन तोरीको तेल लेबलिङ नभएको, मिट मसला दुई प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजवल १५ प्याकेटलगायतका करिब रु २८ हजार नौ सय ६० बराबरको म्याद गुज्रेको सामान नष्ट गरिएको छ । यसैगरी दालको लेवल नलगाएको, नुनको गोदाममा सरसफाइ नगरेको भन्दै चेतावनीसमेत दिएको छ । स्टोर्सका सञ्चालक दीपक शेरचनलाई कागजपत्र लिएर तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको सहायक प्रजिअ ढकालले जानकारी दिए ।

त्यसैगरी पोखरा–३ पालिखेचोकमा रहेको गौरव ट्रेडर्सले म्याज गुर्जेको १८ किलो रङ्गीन डुम्री, नरिवल, ललिपापडलगायतका सामग्री नष्ट गरी सो स्टोर्सका सञ्चालकलाई रु १० हजार जरिवाना गरिएको छ । त्यसैगरी सोही स्थानमा रहेको रेशमलाल श्रेष्ठको पसलमा अनुगमन गरी म्याद गुज्रेको ११ किलो सुजीसहित नष्ट गरी सो पसलको बोर्ड राख्न र दर्ता नवीकरण गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । सो पसललाई रु पाँच हजार जरिवानासमेत तोकेको छ । यी पसललाई पनि उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्रसहित तीन दिनभित्र जिल्ला प्रसाशन कार्यालय कास्कीमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको संयुक्त अगुवाइमा गरिएको अनुगमनमा उपभोक्ता मञ्च कास्की, खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । समितिले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको भागिरथ स्टोर्समा अनुगमन गर्दा म्याद गुर्जिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि सो पसललाई रु ५० हजार जरिवाना गरेको थियो ।

गभर्नर अधिकारी र सिबिफिनका प्रतिनिधिबीच भेटवार्ता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० का प्रतिनिधिहरुबीच भेटवार्ता भएको छ । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा सोमबार राष्ट्र बैंकका गभर्नर अधिकारीसँग भेटवार्ता गरी छलफल गरेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भएतापनि आर्थिक क्रियाकलापहरु अपेक्षित रुपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका सम्भावित उपायबारे छलफल केन्द्रित रहेको सिबिफिनले जनाएको छ ।

उक्त छलफलका क्रममा सिबिफिनका अध्यक्ष गोल्यानले नेपाल राष्ट्र बैंकबाट हालै जारी चालु आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले बाह्य स्थितिमा उल्लेखनीय सुधार भएको देखिएतापनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पूँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फीतिजस्ता क्षेत्रहरुमा अपेक्षित सुधार नदेखिएको भन्दै अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोप्रति गभर्नरको ध्यानाकर्षण गराएका थिए ।

विषमपूर्ण वर्तमान अवस्थामा विश्वासिलो वातावरण र समय सान्दर्भिक नीतिगत व्यवस्थाले मात्र आशा, उत्साह र उत्प्रेरणा जगाउने र समग्र आर्थिक क्रियाकलापहरुले गतिशीलता प्राप्त गर्ने विषयमा जोड दिँदै अध्यक्ष गोल्यानले बाफियाको व्यवस्थाबमोजिम संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्न पाउने व्यवस्था, चालू पूँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो संचालन खर्च र साँघुरिदो लाभांशलगायतका विषयमा गभर्नरसमक्ष लिखित सुझाव पत्र पेश गरेका थिए ।

वाणिज्य बैंकले कमाए साढे ८ अर्ब नाफाः पहिलोमा ग्लोबल आइएमई

चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मै वाणिज्य बैंकहरुले साढे ८ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो महिना (साउनमा) सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले८ अर्ब ५२ करोड ४९ लाख रुपैयाँ बढी नाफा कमाएका हुन् ।

राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैङ्कले कमाएको छ । ग्लोबल आइएमईले एक महिनामै ९९ करोड २३ लाख रुपैयाँ नाफा कमाएको हो । त्यस्तै, दोस्रोमा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले एक महिनामा ७५ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले ७४ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै, धेरै नाफा कमाउनेको चौथो स्थानमा भने हिमालयन बैंक रहेको छ । बैंकले यो अवधिमा ६३ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ । साथै, कुमारी बैंकले ५७ करोड ७१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७० लाख रुपैयाँ, प्राइम कमर्सियलले ४२ करोड ४८ लाख, लक्ष्मी सनराइज बैंकले ४१ करोड ५४ लाख, एनएमबि बैंकले ३८ करोड ३१ लाख, एभरेष्ट बैंकले ३६ करोड ७६ लाख, नेपाल बैंकले ३६ करोड ४ लाख र कृषि विकास बैंकले ३३ करोड १६ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, एक महिनाको अवधिमा प्रभु बैंकले २९ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । भने यो अवधिमा सिद्धार्थ बैंकले २९ करोड ९६ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २६ करोड ७८ लाख, सानिमा बैंकले २५ करोड १९ लाख रुपैयाँ, सिटिजन बैंकले २४ करोड ७६ लाख नाफा कमाएका छन् । यो अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा भने नेपाल एसबीआई बैंक रहेको छ । यो बैंकले एक महिनामा १६ करोड ५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।

नयाँपुस्तालाई देशमा अतुलनीय योगदान दिएका व्यक्तिहरु चिनाउनु पर्छ ः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ पुस्तालाई देशमा अतुलनीय योगदान दिएका व्यक्तिहरु चिनाउनु पर्ने बताएका छन् । आज (मंगलबार) दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले यस्तो बताएका हुन् । वर्षभरका कार्यक्रम बनाउँदा देशका लागि अतुलनीय योगदान दिएका डा.गौरीशंकरलाल दासको कार्यक्रम राख्नुपर्ने उनको भनाइ छ ।

उनले डा. दासले गरेका जीवनका कामहरुको बारेमा नयाँ पुस्तालाई चिनाउन र बुझाउन आवश्यक देखिएको पनि बताए । नेपाली समाजमा गौरीशंकर दास जस्तो प्रवृत्ति र पात्र पनि छन् भनेर देखाउन सक्नुपर्ने उनले बताएका छन् । ‘हामीले वर्षभरका कार्यक्रम बनाउँदै गर्दा खास गरी हामीले नौ जवानहरुलाई डा.गौरीशंकरलाल दास चिनाउने केही कार्यक्रम राख्नुपर्छ । त्यसमा यहाँहरूको साथ हामी चाहन्छौँ । उहाँसँग जसले सहयात्रा गरेको छ, जसले उहाँका योगदानको बारेमा चिन्यो त्यो त थाहा छँदैछ, नौ जवानलाई किन बताउनुपर्ने छ भने हामी कहिले काहीँ यति धेरै राजनीतिका बारेमा कुरा गर्छौं, कहिले काहीँ के लाग्छ भने हामी रित्तो थियौँ भन्ने लाग्छ, तर हामी आधा भरिएका र आधा खाली थियौँ ।’

उनले भने, ‘नेपाली राजनीति आफ्नो बाटो हिँड्यो होला तर नेपाली समाजमा गौरीशंकर दासजस्तो प्रवृत्ति र पात्र थियो जसले समाजमा यो त्यो नभनिकन काम गर्नुभयो। आफ्नो कर्म र धर्म छोड्नु भएन । समाजसेवी र चिकित्सकको रुपमा । कहिले नथाकी र नअल्मलिकन उहाँले काम गर्नुभएको छ । राजनीतिबाट अलग रहेर समाजका लागि काम गरिरहनु भएको छ ।’ महामन्त्री थापाले समाजमा आफ्नो र अर्काको नभनि नथाकी कन जनसेवामा खटिने व्यक्तिहरूलाई सरकारले सम्मान गर्न सक्नुपर्ने बताए ।

काठमाडौँ महानगरले निर्धारण ग¥यो अनुगमन गर्न १६ सूचक

काठमाडौँ महानगरपालिकाले स्वास्थ्य क्षेत्रको अनुगमन गर्न १६ वटा सूचक निर्धारण गरेको छ । अनुगमनमा जाँदा सेवामा असर नपुगोस्, अनुगमन टोलीले प्राप्त गर्नुपर्ने सूचना तथा विवरण सरल, सहज र विनाअवरोध प्राप्त गर्न सकियोस् तथा मापदण्ड र सेवाको गुणस्तर मापन गर्न सकियोस् भन्ने उद्देश्यले सूचक निर्धारण गरिएको कामपा उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

त्यसैगरी तत्काल सुधार गर्दा हुने त्रुटिलाई सुधारको मौका दिने, सुधारको अवसर दिन नमिल्ने कामलाई तत्काल कानूनी कारबाही गर्ने, स्वास्थ्य क्षेत्रका सेवाग्राहीले सुधारको महसुस तत्काल गर्ने, राम्रो गर्नेलाई प्रोत्साहित गर्ने, गलत गर्नेलाई कानूनी कारबाहीमा ल्याउने जस्ता सूचक तयार गरिएको उपप्रमुख डङ्गोलले बताइन् ।

अनुगमन समितिको संयोजक रहनुभएका उपप्रमुख डङ्गोलका अनुसार स्वास्थ्य क्षेत्र नागरिकको धेरै गुनासा रहेकाले सूचक नै तयार गरी अनुगमन गर्न लागिएको हो । कामपा स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रका सम्भावित समस्या व्यवस्थापन गर्न यसअघि जारी गरिएका ऐन, नियमावली, विनियमावली, कार्यविधि र मापदण्डका आधारमा अनुगमन गर्ने बताए ।

विभागले आधुनिक, प्राकृतिक, आयुर्वेद, होमियोप्याथिक चिकित्सासम्बन्धी स्वास्थ्य क्लिनिक, पोलिक्लिनिक र अस्पतालहरूबाट प्रदान गरिने सेवा, सेवाको गुणस्तर, सेवा सञ्चालन गर्ने पूर्वाधार जस्ता क्षेत्रको अनुगमन गर्नेछ । पाँचदेखि २५ शय्यासम्मका स्वास्थ्य सेवा प्रदायक अस्पताल कामपाको अनुगमन क्षेत्रभित्र पर्छन् ।

हाल कामपाको क्षेत्राधिकारभित्र दुई हजार छ सय औषधि पसल सञ्चालन छन् । सञ्चालित धेरै औषधि पसल कानूनविपरीत रहेको भन्दै प्रमुख पौडेलले सबै पसलको अनुगमन गरी गैरकानूनीरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याइने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *