संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असोज ४ गते बिहिबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहिबार तयार पारिएको मुख्य १० समाचारमा गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको अनुरोधदेखी दोस्रो दिनको आन्दोलनमा शिक्षक ः माइतीघरदेखि बानेश्वर क्षेत्र अस्तव्यस्त सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डले अनुरोध गरेका छन् । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन अमेरिका पुगेका नेपाली प्रतिनिधी मण्डलको स्वागत एवं सम्मानमा बिहिबार नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अहिले नेपालमा लगानी गर्नका लागि सबैका लागि उचित वातावरण सिर्जना भएको भन्दै गैरआवसीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । नेपालको सम्रग विकासका लागि बाह्य देशको लगानी आवश्यक रहेको बताउँदै उनले अमेरिकामा रहेका गैरआवसीय नेपालीहरुलाई नेपालमा निर्धक्कका साथ लगानी गर्न उनले आग्रह गरे ।

नेपालीहरुको शीप, क्षमता र लगानी बिना देश अगाडी बढ्न नसक्ने बताउँदै उनले वर्तमान सरकार मुलुकको आर्थिक विकास, सम्वृद्धि र सुशासनका क्षेत्रमा गम्भीर भएर अघि बढेको दावी गरे । उनले भने, नेपालीहरुको सोचमा परिवर्तन आएकाले अहिले नेपालको विकासमा सबैको आवश्यकता उतिकै महत्वपूर्ण रहेको बताए ।

गैरआवासीय नेपाली समुदाय तथा व्यवसायी एवं विज्ञहरुबीच गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरुले प्रस्तुत गरेको कार्यपत्रले आफू उत्साहित भएको भन्दै प्रधानमन्त्री दाहालले त्यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने भोली प्रधानमन्त्तीको कार्यतालिका रहेको छ ।

शिक्षकहरूको समस्या चाँडै समाधान हुन्छ ः कार्यवाहक प्रधानमन्त्री खड्का

 

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरूको समस्या चाँडै समाधान हुने बताएका छन् ।बिहीबार सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले शिक्षकका समस्याबारे सरकार गम्भीर भएको र वार्ता थालेको जानकारी दिए । बैठकमा उनले शिक्षकहरूले मुलुकको अवस्था र संविधानले गरेको प्रबन्धलाई बुझेको र वार्ताबाट चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

‘उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आजदेखि शिक्षकहरूसँग वार्ता सुरु भएको छ । शिक्षकहरूको समस्या समाधान हुन्छ । हामीले समस्या समाधान गर्छौँ,’ खड्काले भने ।उनले वार्तामा सरकारले गरेको सहमति कार्यान्वयन गरेरै छाड्ने बताए । शिक्षा नियमावलीमा राख्नुपर्ने बाँकी विषय छलफल र वार्ता गरेर टुंग्याउने उनको भनाइ छ ।

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् ।
नेपाल शिक्षक महासंघ र उपप्रधानमन्त्री श्रेष्ठले बिहान गृह मन्त्रालयमा वार्ता गरे पनि छलफल निष्कर्षमा पुगेको थिएन ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सकियो, भोलि ११ बजे फेरि बस्ने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि जारी रहने भएको छ ।

बिहीबारदेखि पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठक शुक्रबार बिहान पुनः ११ बजे बस्नेगरी स्थगित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बिहीबारको बैठकमा महामन्त्री गगन थापाले प्रस्तावहरू प्रस्तुत गरेका थिए ।

यस्तै बैठकमा उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासङ्घसँग भएका संवाद बारे जानकारी गराएका थिए । उनले संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सीमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पुरा गर्न सरकार तयार रहेको बैठकमा बताएको पौडेलले जानकारी दिए ।

आज बैठकमा केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर र प्रतिमा गौतमले आआफ्नो धारणा राखे । यस्तै आमन्त्रित प्रदेश सभापति उद्धव थापा, कृष्णप्रसाद यादव, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजंग शाही र वीरबहादुर बलायरले पनि आआफ्नो धारणा राखेको पौडेलले बताए ।

चन्द्र भण्डारीसहित ८ जना काँग्रेस केन्द्रीय सदस्यमा मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेका छन् ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको कांग्रेस पार्टी कार्यालयले जानकारी दिएको छ ।

विद्यालय बन्द नगर्न गगन थापाको आग्रह, शिक्षा विधेयकमा सुधार गर्ने प्रतिबद्धता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामुदायिक विद्यालयका शिक्षकहरूलाई विद्यालय बन्द नगर्न अनुरोध गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जालमार्फत शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको र त्यसका लागि आफूहरूले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

शिक्षा विधेयक संसदमा दर्ता भइसकेकाले त्यसमाथि छलफल गर्ने र संशोधन गर्ने जिम्मा आफूहरूको भएको पनि उनको भनाइ छ । शिक्षकहरूले राखेका मागलाई सम्बोधन गर्ने विषयमा पनि आफूहरू प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन् ।

‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौं,’ उनले भनेका छन्, ‘विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौं। आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौं।’

थापाले आन्दोलनको स्वरूप परिवर्तन गर्न पनि आग्रह गरेका छन् । ‘सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु,’ उनले भने।

प्रधानमन्त्रीको सात दिने चीन भ्रमणको औपचारिक घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सात दिने चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको भ्रमणको औपचारिक घोषणा गरेको हो । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री दाहालको चीन भ्रमण हुन लागेको हो ।

२३ देखि ३० सेप्टेम्बरसम्म चल्ने भ्रमणमा प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री माननीय नारायण प्रकाश साउद (एनपी), खानेपानी मन्त्री महिद्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहने परराष्ट्रले जनाएको छ ।

त्यस्तै राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरुको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीन भ्रमणका क्रममः प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जीनपीङ, प्रधानमन्त्री ली छ्याङ, नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीलगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ– मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाब र निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र भएका योजनाको पहिचान गर्न लागिएको बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सङ्घ सरकारमार्फत सञ्चालित योजना र बजेट हस्तान्तरण नहुँदा अस्पताल भवन, सडक पूर्वाधारलगायतका ठूला योजना अलपत्र परेको बताए ।

निर्माण व्यवसायिको लापर्वाहीले अलपत्र बनेको बेनी अस्पतालको भवनसँगै सडकलगायतका धेरै योजना अलपत्र बनेको उल्लेख गर्दै उनले असफल भएका योजनाको पहिचान गरी पूर्णताः दिन प्रदेश सरकार लागिपरेको बताए । बेनी अस्पतालको भवन निर्माण गर्ने ठेक्का लिएको निर्माण कम्पनीलाई निरन्तर ताकेता गरेर काममा फर्काउने र कामलाई तीव्रता नदिए ठेक्का तोड्नुपर्ने दुई वटा मात्रै विकल्प रहेको उनको भनाइ थियो ।

“निर्माण व्यवसायी र सरकारबीचको असहज समझदारीले असफल भएका योजना धेरै छन्, मुख्यगरी निर्माण कम्पनीको ढिलासुस्ती नै योजना अलपत्र पर्नुको मुख्य कारण हुन, हामीले असफल योजनाको पहिचान गर्न प्रदेश नीति तथा योजना आयोगमार्फत आवश्यक प्रक्रियाअघि बढाएका छौं, प्रदेशसभा सदस्य र मन्त्रीमार्फत समेत निरन्तर अनुगमन भइरहेको छ, असफल योजनालाई छिट्टै निष्कर्षमा पुर्याउने गरी हामी अघि बढेका छौँ”, मुख्यमन्त्री पाण्डेले भने ।

इन्डो प्यासिफिक क्षेत्रका चिफहरूको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा दिल्ली जाँदै

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा इन्डो प्यासिफिक क्षेत्रका चिफहरूको सम्मेलनमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् ।

उक्त सम्मेलनमा सहभागी हुन शर्मा आगामी आइतबार नयाँ दिल्ली जाने भएका हुन् । शर्मा असोज ११ गते स्वदेश फर्किने छन् ।
अमेरिकी सेनाको इन्डो प्यासिफिक कमान्ड र भारतीय सेनाको आयोजनामा हुन लागेको सो सम्मेलनमा शर्मा सहभागि हुन त्यसतर्फ प्रस्थान गर्ने सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले बिहीबार जानकारी दिए ।

दिल्लीमा हुने उक्त सम्मेलनमा सैनिक अधिकारीहरूले आ–आफ्नो क्षेत्रमा भोगेका समस्या, चुनौतीहरूको समाधान गर्न र बहुराष्ट्रका सैनिकहरूबीच समानता खोज्न सहयोग पुग्ने विश्वास गरिएको छ । क्वाडजस्ता महत्वपूर्ण संस्थाहरूको प्रतिनिधित्व गरिएको इन्डो प्यासिफिकमा संयुक्त राज्य अमेरिकाको बहुपक्षीय सुरक्षा साझेदारीलाई अघि बढाउनको लागि एक महत्वपूर्ण कोसेढुंगा मानिँदै आएको छ ।

शर्माको सहभागिताले क्षेत्रीय सहयोगलाई बढावा दिन र छिमेकी देशहरूसँग कूटनीतिक सम्बन्ध अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास गरिएको सैनिक प्रवक्ता भण्डारीले बताए । इन्डो प्यासिफिक आर्मी चिफ सम्मेलन एक प्रमुख फोरम हो । जहाँ सैन्य प्रमुख र पदाधिकारीबीच अन्तर्दृष्टि, दृष्टिकोण र रणनीतिक विचारहरूको आदानप्रदान गर्न मद्दत गर्दछ । सेनापति शर्माले अमेरिकी सेना र भारतीय सेनाका समकक्षीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले आयरल्याण्डका समकक्षीसँग भेट गरेका छन् ।

सभामुख घिमिरेले बुधबार राति आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलसँग भेट गरेका हुन् । भेटमा दुई देशका संसदबीच संसदीय आदानप्रदान, द्विपक्षीय सहयोग लगायतका विषयमा कुरा भएको भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए । नेपाल र आयरल्याण्डबीच सन् १९९९ अगष्ट १९मा कुटनीतिक सम्बन्ध स्थापनाभएको थियो ।

दुई देशबीच विगतमा पनि उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । सन् २०१९ मा आयरल्याण्डको प्रतिनिधिसभाका सभामुख सानओ फारगेलले नेपाल भ्रमण गरेका थिए । सभामुख घिमिरेले उच्चस्तरीय भ्रमणले दुई देशको आपसी बुझाइ, सदभाव तथा सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

“दुई देशको सम्बन्ध प्रगाढ र बलियो बनाउन हाम्रा संसद र सांसदहरुको भूमिका छ,” सभामुखले भेटमा भने, “संसदीय अभ्यासको आपसी अनुभव आदानप्रदानमार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफ्ना नागरिकहरु हक अधिकार सुनिश्चित गर्न सकिन्छ ।” सभामुख घिमिरेले नेपालमा नयाँ संविधान जारी भएपछि दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भइसकेको जानकारी दिँदै संविधानले प्रदान गरेका मौलिकलाई कार्यान्वयन गर्न धेरै कानूनहरु निर्माण भइसकेको र केही कानूनहरु निर्माणका लागि संसदले काम गरिरहेको जानकारी दिए ।

दोस्रो दिनको आन्दोलनमा शिक्षक ः माइतीघरदेखि बानेश्वर क्षेत्र अस्तव्यस्त

शिक्षकहरूको दोस्रो दिनको आन्दोलन सुरू भएको थियाे । नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबारदेखि आन्दोलिन सुरू भएको हो । आज पनि शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्म विरोध ¥याली गरेका  थिए  । माइतीघर मण्डलामा भेला भएका शिक्षक र कर्मचारीको आन्दोलनका कारण काठमाडौंको मुख्य क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ । सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षक आन्दोलित बनेका हुन् ।

आन्दोलनमा उत्रिएका नेपाल शिक्षक महासंघ र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता भए पनि निष्कर्षविहीन बनेको छ । वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ,शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी छन् । यस्तै आन्दोलनरत शिक्षकहरुका तर्फबाट शिक्षक महासंघ,नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिहरू सहभागी थिए ।

शिक्षक नेताहरूले देशभरका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीका माग पूरा नभएपछि काममा नफर्किने अडान लिएका छन् । हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी राहत गरी एक लाख ५७ हजार तीन सय ४३ शिक्षक कार्यरत छन् । यस्तै सामुदायिक विद्यालयमा कक्षा १२ सम्म ५३ लाख ८२ हजार छ विद्यार्थी छन् ।

महासंघले अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।

योसँगै सम्पत्ति विवरण पेस गर्नुपर्ने, जिम्मेवारीपूर्वक अध्यापन कार्य नगरेमा वा कुनै पनि खालका नियम तथा आचारसंहिता भंग गरेमा शिक्षकलाई बढीमा पाँच वर्ष तलब वृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का हुने प्रावधान संशोधन गर्नुपर्ने महासंघले अडान राखेको छ ।

सरकार र महासघंबीच २०७५ फागुन ९ गते र २०७८ फागुन ९ गते भएका सम्झौताहरुलाई विधेयकले यथोचित सम्बोधन नगरेको महासंघको गुनासो छ । नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो । विद्यालय बन्द गरेर सडकमा आएका शिक्षकहरूसँग सरकारले वार्ता शुरु गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा बिहीबार बिहान भएको वार्ता निष्कर्षविहीन भएको छ । गृह मन्त्रालयमा भएको वार्तामा शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारी समेत सहभागी थिए ।

आन्दोलनकारी शिक्षकहरूको नेतृत्व गरिरहेको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहित शिक्षक संघ, संगठनका प्रतिनिधिहरू सहभागी वार्ता सकारात्मक रहेको गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले बताए ।

वार्ताबाट समस्या समाधान गरिने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले शिक्षकको समस्या सबैको साझा भएकाले यसलाई शिक्षकको मात्र भनेर नबुझेको बताए । उनले शिक्षा क्षेत्रका समग्र समस्या समाधान गर्ने बताए । उनले आन्दोलन फिर्ता लिन आग्रह गर्दै संघीय शिक्षा विधेयकलाई सबैको सहमतिमा संशोधन गर्न सकिने बताएका छन् ।शिक्षक प्रतिनिधिहरूले भने विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् ।

यस्तै काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका ८९ वटै स्कुलमा नगर प्रहरी पुगेको छ । नगर प्रहरी प्रमुख राजुराज पाण्डेका अनुसार नगर प्रहरी स्कुलमा शिक्षकको हाजिरी हेर्न नभई खुला वा बन्द के रहेछन् भनेर बुझ्न गएका हुन् । बिहीबार बन्द रहेका स्कुलका विषयमा शिक्षा विभागले नै कारबाही गर्ने उनको भनाइ छ ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले शिक्षा विधेयकप्रति असहमति जनाउँदै विद्यालय बन्द नगर्न बुधबार शिक्षकहरूलाई आग्रह गरेका थिए । उनले बिहीबारदेखि सडक आन्दोलनमा शिक्षक सहभागी भए कारबाही गर्ने चेतावनीसमेत दिएका थिए । तर बालेनको चेतावनीलाई चुनौती दिँदै काठमाडौं महानगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षक पठनपाठन बन्द गरी आन्दोलनमा सहभागी भएका छन् ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर दोस्रो दिन पनि सडक आन्दोलन गरेको छ। बिहीबार देशभरिका सामुदायिक विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो। जसकारण काठमाडौं महानगरभित्रका ८९ सामुदायिक विद्यालय बन्द भएका छन् । बिहीबार बिहान स्कुल पुगेका विद्यार्थी त्यसै घर फर्केका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई चुनौती दिँदै काठमाडौंका शिक्षकले बिहीबार सडकमै हाजिर गरेका छन् ।विद्यालय नै बन्द गरेर शिक्षा विधेयकविरुद्ध आन्दोलनमा होमिएका शिक्षकले सडकमा हाजिरी गरेका हुन् ।

मेयर साहले महानगरभित्रका विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पु¥याइ आन्दोलनमा जाने शिक्षक कर्मचारीलाई कारबाही गर्ने बताएका थिए । बालेनको सोही अभिव्यक्तिलाई चुनौती दिँदै शिक्षकहरूले सडकमा हाजिरी गरेका थिए । मेयर साहले विद्यालयमा पठनपाठन भए नभएको अनुगमनका लागि महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीलाई खटाएका थिए  ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *