असोज २ गते मंगलबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमा केपी ओलीले सुवास नेम्वाङ सम्झिँदै भने– कहीँ खोट नभएको व्यक्ति हुनुहुन्थ्यो देखी ग्लोबल आइएमई बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्तसम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
केपी ओलीले सुवास नेम्वाङ सम्झिँदै भने– कहीँ खोट नभएको व्यक्ति हुनुहुन्थ्यो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष स्व.सुवास नेम्वाङ देश र जनताप्रति असाधारण निष्ठा बोकेको देशभक्त र मनैदेखि सम्मान भावना उर्लिएर आउने एक नेता भएको बताएका छन् ।
मंगलबार संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’ मा ओलीले सुवासलाई आत्मकेन्द्रीत नभएर देश र जनता र उनीहरुको भलाइलाई केन्द्रमा राखेर निष्ठाको राजनीति गर्ने देशभक्त नेताको रुपमा स्मरण गरे ।
ओलीले नेम्वाङको पाँच दशकभन्दा बढी सक्रिय राजनीतिबारे चर्चा गर्दै भने, ‘उहाँको निष्ठा र देश केन्द्रित, जनकेन्द्रित र न्यायकेन्द्रित राजनीतिबाट हामीले बढी सिक्नुपर्छ । उहाँ मिठो बोल्नुहुन्थ्यो त्यो राम्रो कुरा हो । मिठो बोल्ने मान्छे पनि बेइमान भइदियो भने ? तर, उहाँ बेइमान हुनुहुन्नथ्यो । मिठो बोल्ने भन्दा ठूलो कुरा चाहिँ उहाँको देशप्रति असाधारण निष्ठा थियो । देशभक्त हुनुहुन्थ्यो उहाँ । कहिल्यै पनि असान्दर्भिक र स्वार्थी कदमहरु चाल्दै चाल्नभएन । त्यस्ता कदमबाट जहिल्यै अलग रहनुभयो । देशको हितमा उहाँ अडिग रहनुभयो ।’ ओलीले स्व.सुवासप्रति आफ्नो मनैबाट सम्मान र आदरभाव उर्लिएर आउने एक नेताको रुपमा स्मरण गरे । ‘औपचारिक रुपमा मान्छेको सामान्यतया प्रशंसा गर्ने चलन हुन्छ । तर, सुवास नेम्वाङजी यस्तो व्यक्तित्व हो, जसलाई मनैदेखि प्रशंसा र आदरभाव पलाएर आउँछ, उर्लिएर आउँछ ।
लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो– मन्त्री शर्मा
लामो राजनीतिक सङ्घर्ष, त्याग र बलिदानको प्रतिफलका रुपमा नेपालको संविधान जारी भएको आठ वर्ष पूरा भएको छ ।नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत लेखेको र संविधानसभाबाट जारी भएको संविधानले विभिन्न मौलिक अधिकार स्थापित गरेको छ । संविधान जारी भएको लामो समयसम्म पनि केही महत्वपूर्ण कानुन निर्माण हुन सकेका छैनन् । यद्यपि, सरकारले केही महत्वपूर्ण कानुन निर्माणको कामलाई अगाडि बढाएको छ ।
संविधानसँग जोडिएको शान्ति प्रक्रियाको कामले पूर्णता पाउन सकेको छैन । त्यसलाई अन्तिम रुप दिने तयारी भइरहेको छ ।
नेपालको संविधानको कार्यान्वयनको अवस्था कस्तो पाउनु भएको छ ?
तत्कालीन राजनीतिक शक्ति सन्तुलनका आधारमा नेपालको संविधान निर्माण भएको हो । यसबीचमा केही महत्वपूर्ण काम भएका छन् । दलहरुको उपस्थिति र शक्ति सन्तुलनका आधारमा संविधान निर्माण भएको हो । मुलुक एकात्मक राज्यसत्ता र प्रणालीबाट सङ्घीयतामा प्रवेश भएको छ । एउटै जात, एउटै बोली र एउटै भाषाबाट बदलेर समावेशीताको आधार प्रदान गरेका छौँ । समावेशी, समानुपातिक, धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण विषयलाई संविधानमा स्थापित गरेका छौं । खासगरेर सङ्घीयतालाई बलियो बनाउन र तीन तहका सरकारलाई समन्वय गरेर अगाडि बढ्ने सवालमा हामीले जुन कानून निर्माण गर्नुपर्ने थियो, त्यसमा भने केही ढिलाइ भएको छ ।
संविधानको कार्यान्वयन प्रभावकारी रुपमा भइसकेको छैन । वर्तमान सरकार गठन भइसकेपछि शिक्षा, निजामती विधेयक जस्ता कानुन निर्माणको कामलाई अगाडि बढाएको छ ।सङ्घीयतासँग जोडिएका कतिपय कानून निर्माण नहुँदासम्म सङ्घीयता पूर्णरुपमा कार्यान्वयन भयो भन्ने अवस्था छैन ।
सङ्घीयतासँग जोडिएका महत्वपूर्ण कानुनहरुले कहिलेसम्म पूर्णता पाउला ?
सङ्घीय शिक्षा ऐन संसदमा पेश भइसकेको छ भने निजामती ऐन पनि अन्तिम चरणमा छ । त्यसमा केही विषय बाँकी रहेको छ । गृह मन्त्रालयले प्रहरी ऐनलाई पनि अन्तिम चरणमा पुर्याएको छ । स्थानीय सरकार र प्रदेश सरकारलाई बलियो बनाउने केही ऐन पनि निर्माणको चरणमा छन् । त्यसलाई हामी छिट्टै निष्कर्षमा पुर्याउँछौ ।
संविधानसँग जोडिएका कतिपय विषयलाई थप प्रष्ट पारेर कानुन निर्माणको काममा सरकार प्रतिवद्ध छ । योसँगै शान्ति प्रक्रियासँग जोडिएको महत्वपूर्ण विषय पनि हाम्रो सामु छ । सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित विधेयकले कानुनको रुप पाउन धेरै समय लिएको छ । सरकार गठन हुने बित्तिकै हामीले सो विधेयक अगाडि बढाएका थियौँ । तर समितिमा लामो समय लागिरहेको छ ।
सो विधेयक पूरा नहुँदा शान्ति प्रक्रिया पूर्णरुपमा टुङ्गोमा पुगेको सन्देश हामीले दिन सकेका छैनौँ । शक्ति सन्तुलनका आधारमा बनेको संविधान, त्यसको कार्यान्वयनलगायतका विषय ओझेलमा परेका छन् । सत्य निरुपणसम्बन्धी विधेयक उपसमितिले करिब टुङ्गोमा पु¥याएकाले यसलाई छिट्टै निष्कर्षमा लैजाने अवस्थामा छौँ । यसै अधिवेशनमा त्यसलाई निष्कर्षमा लैजान हामी प्रयासरत छौँ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजबिनसम्बन्धी ऐन निर्माणमा सत्तारुढ र प्रतिपक्षी दल नै जिम्मेवार भएनन् भन्ने गुनासो पनि सुनिन्छ नि ?
मूलभूत रुपमा सरकारको नै दायित्व र जिम्मेवारी हो । अघिल्लोपटक पनि मूलभूत रुपमा सहमति गरेर सो विधेयकलाई समितिमा पठाएका थियौँ ।
समितिमा चार–पाँच दिनमा ल्याउने भन्ने भयो । तर समितिबाट आउन सकेन । संसदको कार्यकाल सकियो र विधेयकको हैसियत शून्यमा पुग्यो । मलाई के लाग्छ भने शान्ति प्रक्रियाको विषयलाई कुनै दल, समूह वा कुनै नेता विशेषको जसरी बनाउन खोजिंदैछ, त्यो गलत त्यही नै छ । नेपालको शान्ति प्रक्रिया नेपालको हो ।
नेपालमा भएका सबै राजनीतिक दलको विषय हो भन्ने ढङ्गले अपनत्व महसुश हुन नसकेको विषय हो । त्यही शान्ति प्रक्रियाको उपलब्धिमा टेकेर सबै राजनीतिक दल यहाँ छौँ । तर त्यही शान्ति प्रक्रियालाई टुङ्गो लगाउने बेलामा दल विशेष, नेता विशेष जसरी उभिएका छौँ । मूल रुपमा सबैको साझा दायित्व हो भनेर हेर्न जरुरी छ । पछिल्लो अवधिमा आइपुग्दासम्म सबैको बुझाई एकै ठाँउमा आउन खोजेको जस्तो लाग्छ । आशा गरौं, छिटोभन्दा छिटो निष्कर्षमा पुग्छ भन्ने लाग्छ ।
एमाले पार्टी कार्यालयमा झलनाथ खनाल दुई वर्षपछि उपस्थित
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमाले विभाजित गरेर नयाँ पार्टी खोलेको दुई वर्षपछि च्यासलमा उपस्थित भएका छन् ।
सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधनका लागि खनाल च्यासल पुगेका हुन्। माधवकुमार नेपाल र झलनाथ खनाले एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा हुँदा नयाँ पार्टी खोलेका थिए। संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’विषयमा प्रवचन कार्यक्रममा सहभागी हुँदा खनाल र केपी शर्मा ओली एकै ठाउँमा उभिएका थिए ।
नेकपा एमालेले पहिले नेकपा एमालेबाट विभाजित भएका यी नेताहरुलाई एमालेले पहिलो पटक समाजवादीका नेतालाई आफ्नो कार्यक्रममा बोलाएको हो। समाजवादीलाई एमालेले औपचारिक रुपमा दलको मान्यता पनि दिन मानेको थिएन। एमालेले पछिल्लो समय सत्ता गठबन्धनबाट एकीकृत समाजवादी सहभागी हुने कार्यक्रममा पनि भाग लिने गरेको थिएन।
तर आफ्नै जिल्लाका सहकर्मीको निधन भएपछि खनाल एमाले कार्यालय पुगेका हुन्। उनी पछिल्लो समय एमाले र समाजवादी मिल्नुपर्ने व्याख्या गरिरहेका छन्। सम्बोधनका क्रममा खनालले नेम्वाङको सच्चा श्रद्धाञ्जलीका लागि पनि कम्युनिष्टहरु मिल्नुपर्ने बताएका छन् ।
काँग्रेसको कोइराला समुहको बैठकमा महामन्त्री शर्मा र पौडेल अनुपस्थित
काठमाडौं । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहको बैठकमा ।बैठकमा कोइराला निकट केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो । तर बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल भने अनुपस्थित रहेका छन् । कोइराला समुहले शर्मा र पौडेललाई बोलाए पनि उनीहरु बैठकमा अनुपस्थित रहेका छन् ।
पार्टीको असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकका लागि आफ्नो समुहको रणनीति बनाउने विषयमा छलफल भईरहेको बैठकमा सहभागी एक नेताले खरीबोटलाई जानकारी दिए । बैठकमा नेता कोइरलासहित, महामन्त्री गगन थापा, नेता डा. मिनेन्द्र रिजाललगायतका नेताहरु सहभागी रहेका थिए ।
नेम्वाङका कान्छा छोरा सुहाङ भन्छन— बुबाका सपना पूरा गर्न लाग्ने छु
दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङले बुबाका सपना पूरा गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।
गृहजिल्लामा नेकपा एमाले कोशी प्रदेश कमिटीको आयोजनामा मङ्गलबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले बुबाका अधुरा सपना पूरा गर्न सक्रिय हुने बताएका हुन् । बुबाको निधनले इलाम मात्र नभइ सिंगो देश नै शोकमा परेको बताउँदै उनले इलामेली जनताको मायाका कारण संसद्मा पुगेर जनताको आवाज बोलेका कारण सधैँ इलामेलीको मन मस्तिष्कमा रहिरहने बताए ।
पछिल्लो राजनैतिक घटनाक्रमसँगै बुबा चिन्तित हुने गरेको उल्लेख गर्दै उनले निष्ठावान् राजनीति गरेको स्मरण गरे । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका स्वर्गीय नेम्वाङले धेरै सपना बोकेको भए पनि कति सपना पूरा हुन नसकेको बताउँदै उनले बाँकी सपना पूरा गर्ने बताए । नेम्वाङको निधनपछि इलाम २ मा उपनिर्वाचन हुने छ । सुहाङलाई आगामी उपनिर्वाचनमा उक्त क्षेत्रमा उम्मेदवार बनाइने चर्चा चलेको छ ।
रास्वपाले जिल्लामा खटायो सांसद र केन्द्रीय नेता, को कहाँ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुझाव संकलनका लागि केन्द्रीय नेतालाई जिल्ला–जिल्लामा खटाएको छ। केन्द्रबाट खटाइएका १९ जना नेताले तीन दिन बसेर सुझाव, गुनासो संकलन गरेर ल्याउने पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए।
पार्टी सभापति रवि लामिछाने रोल्पा जाने भएका छन्। पार्टी उपसभापति डोलप्रसाद अर्याल मधेस प्रदेशअन्तर्गत पर्सा जाने छन्। महामन्त्री ढकाल कालिकोट जानेछन्। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ बैतडी, सुमना श्रेष्ठ कैलालीको टीकापुर, शिशिर खनाल रसुवा, मनिष झा पर्वत, गणेश पराजुली ओखलढुंगा जाने ढकालले जानकारी दिए।
केन्द्रीय सदस्य रमेश प्रसाईं सुर्खेत, सन्तोष परियार कपिलवस्तु, विपीन आचार्य संखुवासभा, डा तोसिमा कार्की डोटी, हरि ढकाल सोलुखुम्बु, कमल सुवेदी गौर, रौतहट खटाइएका छन्। सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कञ्चनपुर, डा. स्वर्णीम वाग्ले तनहुँ, गणेश कार्की सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल खोटाङ र शंकर श्रेष्ठ इलाम जाने छन्।
सांसद र केन्द्रीय नेताहरूले ल्याएका सुझाव, गुनासाहरूलाई पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमा समेटिने पार्टीले जनाएको छ। संविधान दिवसका सन्दर्भमा पनि रास्वपा पहिलो चरणमा जिल्ला जान लागेको हो। तीन चरणमा जिल्ला गएर, सुझाव संकलन गरेर दस्तावेजलाई पूर्णता दिने रास्वपाको तयारी छ।
खानेपानी मन्त्रालयका सात सहसचिवको सरुवा
खानेपानी मन्त्रालयले सात जना सहसचिवको सरुवा गरेको छ। मन्त्री महिन्द्रराय यादवले मन्त्रीस्तरीय निर्णय गर्दै खानेपानी विभागका महानिर्देशकसँगै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकसहित सात जना सहसचिवको सरुवा गरेका हुन्। खानेपानी विभागका महानिर्देशक रमाकान्त दुवाडीको विराटनगरस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा सरुवा भएको छ। विभागको महानिर्देशकको जिम्मेवारी मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलाई दिइएको छ।
मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशकको जिम्मेवारी संघीय मामिला खानेपानी आयोजना विराटनगरका प्रमुख सुरत बमलाई दिइएको छ। सहसचिव बालमुकुन्द श्रेष्ठको संघीय आयोजना सुर्खेत, रामचन्द्र काफ्लेको बुटवल तथा प्रज्जव प्रजापतिको हेटौंडा र जक्की अहमदको जनकपुर सरुवा भएको छ।
गत वैशाख २४ गते नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीबाट खानेपानी मन्त्रालयको जिम्मेवारी पाएपछि उनले पहिलो पटक उच्चस्तरीय कर्मचारीको सरुवा गरिएको छ।
अहिलेको मुलुकको वर्तमान अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ ः उपप्रधानमन्त्री खड्का
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको मुलुकको संविधानले परिकल्पना गरेको शिक्षा व्यवस्थाको प्रतिकुल नहुने गरी संसद्मा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न सरकार तयार रहेको बताएका छन् ।
मंगलबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका खड्काले मुलुकको अर्थतन्त्रले धान्न नसक्ने मागहरू र मुलुकको संविधानले परिकल्पना गरेको शिक्षाको व्यवस्थाको प्रतिकुल नहुने गरी यी दुई कुरा बाहेक सबै कुरामा सरकार संसद्मा दर्ता भएको विधेयकका बारेमा छलफल गर्न, समाधान निकाल्न तयार रहेको बताएका हुन् ।
उनले भने, ‘मन्त्रिपरिषद्ले शिक्षा विधेयक अघि बढाउने निर्णय गरेकै सन्दर्भमा शिक्षा विधेयक, ऐनसँग सम्बन्धित सम्पूर्ण शिक्षाविद्हरू योसँग जोडिएका महासंघहरु, विभिन्न संगठनहरु, सबैबाट केही महत्त्वपूर्ण सामुदायिक विद्यालय, निजी विद्यालय सबैका तर्फबाट केही महत्त्वपूर्ण कुरा आए । ती कुरालाई सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा रहेको वर्तमान सरकारले गम्भीरतापूर्वक लियो । हामीले यसलाई थप छलफल गर्नका लागि केही समय लियौँ । सम्बन्धित सबैसँग हामीले उहाँहरूले उठाएका जायज मागलाई एक महिना छलफल गरेका छौँ । पहिलाको भन्दा अहिले सबैका सुझाव छलफल गरेर अहिले प्रस्तुत विधेयकमा धेरै हदसम्म समावेश गर्ने प्रयास गरेका छौँ ।’
संविधानको सकारात्मक पक्षको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ ः पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई
नेपालको राजनीतिक फाँटमा बौद्धिक छविका रुपमा परिचित डा बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा भारी मतका साथ गृह जिल्ला गोरखाबाट निर्वाचित भएका थिए । प्रवेशिका (एसएससी) र प्रमाणपत्र तह (आइएससी) मा सर्वोत्कृष्ट अङ्कसहित उत्तीर्ण भट्टराईले छात्रवृत्ति कार्यक्रमअन्तर्गत भारतको चण्डीगढबाट आर्किटेक्चरल इन्जिनियरिङमा स्नातक, दिल्लीको स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरबाट स्नातकोत्तर र जवाहरलाल नेहरु विश्वविद्यालयबाट रिजनल डेभलपमेन्ट एन्ड प्लानिङ विषयमा विद्यावारिधि गरेका छन् । उच्च शिक्षा अध्ययनका क्रममा वामपन्थी झुकाव राखेका डा भट्टराईले अध्ययन समाप्त भएपछि तत्कालीन पञ्चायती व्यवस्था विरोधी गतिविधिमा सरिक हुँदै २०३७ सालमा मोहनविक्रम सिंहमार्फत नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।
पञ्चायतविरुद्धको आन्दोलनका क्रममा वामपन्थीहरूको मोर्चा, संयुक्त राष्ट्रिय जनआन्दोलनको उनी संयोजक बने । डा भट्टराईका नेतृत्वमा संयुक्त जनमोर्चा नेपाल गठन भई निर्वाचनमा भाग लिएर प्रतिनिधिसभाको तेस्रो ठूलो दल बन्न सफल भयो । विसं २०५२ देखि सुरु दसवर्षे जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका डा भट्टराई शान्ति प्रक्रियापछि पहिलो संविधानसभाको पछिल्लो कालखण्डमा मधेस केन्द्रित दलसमेतको समर्थनमा प्रधानमन्त्री हुनुभएको थियो भने दोस्रो संविधानसभा निर्वाचनमा पनि गृह जिल्लाबाट नै निर्वाचित भए।
संविधान जारी गर्न सफल दोसो संविधानसभाअन्तर्गत संवैधानिक समितिका सभापतिको भूमिका निर्वाह गरेका डा भट्टराई सफल अर्थमन्त्रीका रूपमा समेत चिनिनुहुन्छ । पछिल्लो समय तत्कालीन नेकपा (एकीकृत माओवादी) परित्याग गरेका डा भट्टराई नयाँ शक्ति पार्टी, सङ्घीय समाजवादी पार्टी हुँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष रहेका छन् । उनले संविधान परिवर्तन नगरी यसको कार्यान्वयनलाई निरन्तरताका साथ हेर्नुपर्ने बताएका छन् ।
ग्लोबल आइएमई बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।
ग्लोबल आइएमई बैंकको सञ्चालक समितिले रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।
करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।
ग्लोबल आइएमई बैंकमा विगत १५ वर्षदेखि कार्यरत रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिए । उनीसंग बैंकिङ्ग क्षेत्रको करिब ३५ वर्ष लामो अनुभव रहेको छ ।
रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।
ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, एसएमई र खुद्रा व्यापार, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।




