संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असोज १ गते सोमबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा बहुविवाहको आरोपमा माओवादी नेता शेरबहादुर चौधरी निलम्बितदेखी विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाइने छ ः प्रधानमन्त्रीसम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

बहुविवाहको आरोपमा माओवादी नेता शेरबहादुर चौधरी निलम्बित

नेकपा माओवादी केन्द्रले बहुविवाहको आरोपमा पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई माओवादीले ६ महिनाका लागि निलम्बन गरेको छ ।

‘साँस्कृतिकजन्य कमजोरी गरेको र उनीसँग छलफल गर्दा सहश्र स्वीकार गरेकोले निजलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निर्णय अनुमोदन गरेको स्रोतले जनाएको छ । अनुमोदन गरेर माओवादीले मातहतका कमिटीमा पठाएको जनाइएको छ ।

उनी कैलालीको भजनी नगरपालिकाका पूर्व प्रमुख समेत रहेका थिए । उनले केही समयअघि बहुविवाह गरेको बताइएपछि पाटीमा उजुरी परेको थियो । त्यसपछि पाटीले सोधेको स्पष्टिकरणमा सोही कुरा स्वीकारेपछि उनलाई ६ महिनाका लागि पाटीबाट निलम्बन गरिएको स्रोतले जनाएको छ ।

शेखर कोइरालाले बोलाए आफू पक्षको बैठक

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापनइतर समूहले छुट्टै बैठक बोलाएको छ।नेता शेखर कोइरालाले १४औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन्।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको कोइरालाको सचिवालयका एक सदस्यले जानकारी दिए । ०७८ मा भएको १४ औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेर महामन्त्री जितेका थिए भने पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए । तर गत पुस ६ मा भएको कांग्रेस संसदीय दल निर्वाचनमा शर्मा र पौडेल संसदीय दल नेताका उम्मेदवार महामन्त्री गगन थापा पक्षमा खुलेका थिए । थापाले कोइराला प्यानलबाट महामन्त्री जितेका थिए ।

कोइरालाले ०८२ मा हुने १५ औं महाधिवेशन लक्षित गरेर आफ्नो समूहलाई बलियो बनाउने प्रयास गरिरहेका छन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजे बैठक बस्नेछ । कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन्।

राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने

राप्रपा नेपालले आगामी असोज ३ गते देशब्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। आज पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको समिक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउन तथा राँके जुलुश प्रर्दशन गर्ने निर्णय गरेको छ। प्रदर्शनलाई ब्यापकता दिई अफल बनाउन पार्टीले पार्टीको जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

आज बसेको बैठकमा गत भाद्र २९ गते भएको बिरोध प्रदर्शनको समिक्षा र भाबी कार्यक्रमको बारेमा छलफल भएको थियो। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाले मुलुकलाई सड्ढटको दलदलमा फसाएकोले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट ब्यबस्था परिवर्तनमा जोड दिए।

‘यो व्यवस्था र प्रणालीले मुलुक बचाउन र बनाउन सकिन्न, अब आन्दोलनबाट नै सबै अटाउने ब्यबस्था ल्याउनुपर्दछ’ थापाले भने। बैठकमा पार्टीका पदाधिकारी सदस्य तथा जनवर्गीय संगठनका प्रमुखहरु र उपत्यकाका जिल्ला अध्यक्षहरुले आन्दोलनमा जान जोड दिएका थिए।

पार्टी एकताका लागि माओवादी केन्द्र नाम परिवर्तन गर्ने तयारीमा

नेकपा माओवादी केन्द्रले कम्युनिष्ट पार्टी एकताका लागि नाम परिवर्तन गर्ने भएको छ । पार्टीको २५ भदौमा बसेको केन्द्रीय कार्यालयको बैठकले छलफलमा रहेका अन्य पार्टीसँगको एकतालाई सफल पार्नका लागि नामको पछाडि कोष्टमा रहेको (माओवादी केन्द्र) को बारेमा आगामी आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निष्कर्षमा पुग्ने जनाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी तल्ला कमिटीमा पठाएको उक्त सर्कुलरको २ नम्बर बुँदामा माओवादी केन्द्रले यस विषयमा स्पष्ट उल्लेख गरेको छ ।

‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ’, जारी सर्कुलरमा माओवादी केन्द्रले उल्लेख गरेको छ ।

पार्टी रुपान्तरणको तीन महिने अभियानमा रहेको माओवादी केन्द्रले यसलाई तल्ला कमिटीमा पनि छलफल गर्ने उदेश्य राखेको छ । माओवादीले तीन महिने अभियान सकिएलगत्तै आगमी मंसिरमा विधान महाधिवेशन गर्ने र त्यसपछि विशेष महाधिवेशन गर्ने निर्णय गत १७ देखि २१ साउनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकबाट गरेको थियो ।

एमसीसीमा व्याख्यात्मक टिप्पणीले स्वाभिमानको रक्षा गरेका छौँ ः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध गर्दैमा ठूलो हुने भए राष्ट्रिय जनमोर्चाले सय सीट ल्याउने टिप्पणी गरेका छन् । सोमबार पाार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसीको विरोधमा उभ्याएर सरकारबाट फाल्ने षडयन्त्र १२ बुँदे व्याख्यात्मक घोषणामार्फत असफल पारेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीको पहलकदमीमा एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेका छौँ । केही केही मान्छेहरूको गीत नै एमसीसी हामीले अस्वीकार गर्नुपर्दथ्यो भन्ने छ ।’

अध्यक्ष नेपालले एमसीसीको विरोध गर्नु अरू केही नभए गठबन्धनलाई सरकारबाट फाल्ने षडयन्त्र भएको बताए । उनले भने, ‘एमसीसीको विरोध केही नभएर हामीलाई सरकारबाट फाल्दिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकनहरूको स्वार्थको रक्षा हुने विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा मात्रै हेरेर बस्ने अनि जनताले वाहवाह भनेर साथ दिनेथिए भन्नु हवाई कल्पनाबाहेक केही होइन ।’


देशको अवस्था परिवर्तन गर्न युवाहरुले नेताहरुलाई सचेत गराउनुपर्छ ःगृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको एकता र विकासको लागि युवाहरूको निर्णायक भूमिका रहने बताएका छन् । सोमबार गोरखा–काठमाडौँ युवा समाजद्वारा आयोजित युवाहरू भेटघाट तथा साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्खाहरुको उल्लेखनीय भूमिका रहेको स्वतन्त्र देश नेपालमा देशमा संभावना वढी भए पनि भ्रष्ट्रचारका कारण नै देश ओझेलमा परेको बताए । सुशासन र भ्रष्टाचार विरोधी अभियान सरकारले चालिरहेको बताउँदै गृहमन्त्री श्रेष्ठले ‘मिटर ब्याज सम्बन्धी कानुन ल्याएर मिटरब्याजी पीडितलाई न्याय दिन थालिएको बताए ।

पुलिस प्रशासनमा सरुवा बढुवामा लेनदेन हुने कुरालाई शुन्यमा झारेको उनले बताए । यस्तै भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी प्रकरण सबैलाई कारबाही अगाडि बढाएको उनले बताए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले माओवादी पार्टी भए पनि गलत गर्नेले नछोड्ने उनको भनाइ थियो । उनलाई देशमा भएको समृद्धि विस्तार देशको अवस्था परिवर्तन गर्नका लागि युवाहरुले नेताहरुलाई सचेत गराउनुपर्नेमा जोड दिनुपर्ने बताए ।

बिपी साहित्य महोत्सवको तेस्रो दिनको स्थगित कार्यक्रम असोज ३ गते हुने

बिपी साहित्य महोत्सवको तेस्रो दिनको स्थगित कार्यक्रम असोज ३ गते हुने भएको छ । बिपी साहित्य महोत्सव भाद्र २४ र २५ गते दुई दिन सम्पन्न भएपछि संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले)्र का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आकस्मिक निधनका कारण स्थगन भएको थियो । स्थगित भएको तेस्रो र अन्तिम दिन (भाद्र २६ गते) को कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते विहान १०ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।

नेपाली कांग्रेसले भाद्र २४ र २५ को कार्यक्रममा झै असोज ३ गते हुने ऐतिहासिक बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रममा सहभागी हुन राजनीतिक दलका साथीहरु, लेखक, साहित्यकार, बुद्धिजीवि, अध्येता, अनुसन्धाता एवम् राजनीतिका अतिरिक्त सामाजिक, सांस्कृतिक क्षेत्रमा रुची राख्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई अनुरोध गरेको छ ।
विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् ः मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले आयोजना गरेका स्वागत तथा सम्मान कार्यक्रममा उनले नेपालले हासिल गरेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएको अनुभवलाई विश्वमाझ लैजान प्रयास गरिरहेको बताए ।

जनसम्पर्क समिति अमेरिकाको आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउनका लागि वर्तमान सरकारले काम गरिरहेको बताए । मन्त्री साउदले भने, “केवल तपाईंहरूको ज्ञान, सीप र पुँजीमात्र नभई देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार छ ।”

गैरआवासीय नेपालीहरूले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने र त्यसरी चुनिएर आएको एकत्रित र बलियो संस्थाले मात्र विदेशमा बसेका नेपालीहरूको प्रतिनिधित्व गर्ने भएकाले यही भावनाअनुसार काम गर्न मन्त्री साउदले अनुरोध गरे ।

उनले विदेशमा बसेका नेपाली नागरिकलाई मताधिकार दिनका लागि गृह मन्त्रालयले प्रेषित गरेको पत्रलाई आफूले सैद्धान्तिक सहमति दिइसकेको उल्लेख गरे । मन्त्री साउदले विदेशमा बसेका नेपालीहरूको पासपोर्ट, भिसालगायतका समस्या सम्बोधन गर्न मन्त्रालयको सङ्गठानिक संरचनामा केही सुधारको पहल भइरहेको जानकारी दिए ।

संविधान संशोधनतिर भन्दा यसको प्रभावकारी कार्यान्वयनमा लाग्नु पर्छ ः सभामुख घिमिरे

ताप्लेजुङको सिँकैचामा जन्मिएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेपालको वाम–लोकतान्त्रिक आन्दोलामा लामो समयदेखि संलग्न व्यक्तित्व हुन् । विसं २०७९ को निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट झापा क्षेत्र नं २ बाट निर्वाचित घिमिरे नेपालको संविधान कार्यान्वयनका क्रममा अघि बढेकाले यसको प्रभावकारी कार्यान्वयनबाट नै आम जनताको जीवनमा परिवर्तन आउने धारणा राख्छन् । संविधान दिवस, २०८० को पूर्व सन्ध्यामा सभामुख घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश ः

नेपालको संविधान जारी भएको आठ वर्ष व्यतित भएको छ । संविधानको कार्यान्वयनको हालसम्मको अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? हामीले २०७२ सालमा नेपालको संविधान जुन जारी गरेको छौँ, यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान वस्तुगतरूपमा जनताका चाहना र भावना बोकेर आएको छ । हामीले संविधानलाई यस अवधिमा कार्यान्वयन गरिरहेका छौँ । कार्यान्वयनका सकारात्मक र नकारात्मक असर देखापरिरहेका छन् । संविधानले जनताको जीवनमा प्रभाव पारिरहेका छन् । संविधानका कारण जनताले अधिकार पाए भन्नेमा त विवाद भएन तर जनताको जीवनमा प्रभावको कुरा गर्दा, उसको व्यक्तिगत जीवनमा प्रत्यक्षतः यो लाभ पायो ठोसरूपमा भन्नुपर्दा के भन्न सकिन्छ ?

मेरो विचारमा जनताले तुलनात्मक ढङ्गबाट सबै कुराहरू पाएका छन् । सबै भन्नाले आधारभूत कुरामा राज्यले दायित्व निर्वाह गरेको हुनुपर्छ भन्ने कुरा संविधानमा स्पष्ट व्यवस्था गरिएको छ । नागरिकको घर नजिकै स्थानीय सरकार छ । त्यहाँबाट कति मात्रामा जनताले पायो ? कति पाइरहेको छ भन्ने बेग्लै कुरा हो तर उसले जनताले अधिकार पाएको छ । तीन तहका सरकारले दायित्व पाएको छ । जस्तो शिक्षाको कुरा गरौँ, स्थानीय तहले कहाँ–कस्तो विद्यालय बनाउने, जीवनोपयोगी शिक्षा नीति कस्तो बनाउने ? पाठ्यक्रम कस्तो बनाउने भन्ने सवालमा उसले आफ्ना नीति र योजना लागू गर्न सक्छ । अधिकार प्रत्यायोजन र व्यवस्थापनका कुराहरू भएको छ । आफ्नो गाउँ वा नगरलाई कसरी विकास गर्ने भन्ने सवालमा स्थानीय सरकार स्वायत्त र जिम्मेवार भएको छ । जनतालाई महसुस दिलाउने काम स्थानीय तहको हो । आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले जनताको जीवनमा परिवर्तन गराउने काम डेलिभरी गराउने निकायको काम हो । बजेट बनाउने, खर्चको बाँडफाँट र सेवा वितरणमा हरेक स्थानीय सरकारले आफ्नो मौलिकता प्रदर्शन गर्न सक्छ । यो संविधानको देन हो भन्ने मलाई लाग्छ ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा जति हुनुपर्ने हो, त्यति प्रभावकारिता नआएको पनि देखिन्छ नि ?

हामीले संविधान जारी गरेर कार्यान्वयनमा लगेको धेरै लामो भएको छैन । एक कार्य अवधिको निर्वाचन सकेर अर्काे कार्य अवधिको निर्वाचन भर्खरै भएको छ । ऐन, कानुन र नियमावाली बनाउने सवालमा सुरुमा काम हुँदै आयो । पहिलो कार्यकालका पाँच वर्ष कानुन निर्माण र प्रदेशका संरचना निर्माणमा बित्यो । अब विकास निर्माण र प्रभावकारिता वृद्धि गर्दै जनताको जीवन र व्यवहारमा परिवर्तन गराउने क्रममा काम गर्नुपर्नेछ । खासगरी समन्वय भएन भन्ने कुरा आधारभूत तहका जनताले भन्दा पनि बौद्धिक तहका मानिसबाट आएको छ । केही काम तदर्थका रूपमा सञ्चालन भएका पनि छन् । यसलाई केही हदसम्म स्वीकारेर प्रभावकारिता बढाउनु पर्छ ।

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाइने छ ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन आइतबार न्यूयोर्क आएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँगको भेटमा यस्तो बताएका हुन् । उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने बताए । उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अब त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए ।
उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरूलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाए । अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले पार्टी पङ्तिको उपल्लो तहमै केही समस्या देखिएको भन्दै अब त्यसलाई सच्याएर जानुको विकल्प नरहेको बताए ।

प्रधानमन्त्री दाहाललाई संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाले स्वागत गरेका थिए । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेससँग भेटवार्ता गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *