संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

भदौ ३१ गते आइतबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । आइतबार तयार पारिएको मुख्य १० समाचारमा सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्तादेखी उच्च र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवासम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ । स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि चलेको बैठक सहमति पत्रमा हस्ताक्षर गर्दै टुंगिएको हो ।

हेटौंडाको सन्चो अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्नेलाई स्वास्थ्यकर्मी सुरक्षा ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा सरकारी वार्ता टोली र आन्दोलनरत चिकित्सकबीच बुँदागत सहमति भएको हो।भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो ।

चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आइतबार आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि सरकारले सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा। विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो ।
६० किलो सुन तस्करी गरेको आरोपमा २९ जनामाथि मुद्दा दर्ता

काठमाडौं । ६० किलो सुन तस्करी गरेको आरोपमा २९ जनामाथि मुद्दा दर्ता भएको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन दिएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गरेको हो । प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार छन् । यो प्रकरणमा ३२ जना पक्राउ परेका थिए ।

पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो । सबै आरोपितमाथि सुन तस्करी गरेकोमा ३ अर्ब ५० करोड २ लाख रुपैयाँ, ब्रेक प्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ रहेको जिल्ला अदालतमा पेश भएको अभियोग पत्रमा उल्लेख छ ।

प्रहरीले आरोपितमाथि बरामद भएको बाहेक अरु सुन पनि तस्करी गरेको आरोप लगाएको छ । आरोप पत्र अनुसार उनीहरुले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेका छन् ।

राजस्व चुहावट नियन्त्रण गर्न गृह र अर्थ मन्त्रालयले बढायो थप सक्रियता

काठमाडौं । हिजो सम्पन्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रणकालागि विभिन्न निर्णयहरु गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाश शरण महतको उपस्थितिमा समितिको बैठक सम्पन्न भएको हो ।

बैठकले राजस्व चुहावटको पछिल्लो प्रवृत्ति विश्लेषण गरी नियन्त्रणको ठोस उपाय सहितको कार्ययोजना १ हप्ता भित्र तयार गरी समितिमा पेश गर्न राजस्व सचिव संयोजक र राजस्व चुहावट नियन्त्रणमा संलग्न सुरक्षा निकाय एवम् विभागीय प्रमुखहरु सदस्य रहको कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलको संयोजन अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले गर्ने भएको छ ।

त्यसैगरी नजिक आइरहेको दशैं, तिहार, छठ पर्वहरु मध्यनजर गरी चोरी पैठारी नियन्त्रणका लागि सम्बद्ध निकाय बीच उच्च स्तरको समन्वय कायम गर्ने र संवेदनशिल नाकाहरुमा आकस्मिक गस्ती बढाउने निर्णय भएको छ ।

त्यसैगरी राजस्व चुहावट नियन्त्रणमा प्रविधिको उपयोग बढाउन सम्बद्ध सबै निकायले योजना बनाउने, राजस्व चुहावट नियन्त्रणमा संलग्न जनशक्तिको कार्यसम्पादनको निरन्तर सुपरिवेक्षण गर्ने, पैठारीको परिमाणमा अस्वभाविक कमि आएका वस्तुहरुको बजार उपलब्धता अध्ययन गरी त्यस्ता वस्तुको चोरी पैठारी नियन्त्रण गर्ने गरी कार्ययोजना बनाउने र चोरी पैठारी हुनसक्ने संवेदनशील नाकामा विशेष निगरानी राख्ने निर्णय भएको छ ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य आधार बनाएर अगाडि बढिरहेको सन्दर्भमा राजस्व चुहावट निन्त्रणका लागि सबै निकाय बीच उच्चस्तरको समन्वय काम गर्न निर्देशन दिनुभयो । त्यस्तै अर्थमन्त्री डा. प्रकाश शरण महतले राजस्व चुहावट नियन्त्रणमा संलग्न निकायले आ–आफ्ना कमजोरीहरु समीक्षा गरी सुधारको मार्ग पहिल्याउन निर्देशन दिए ।

आरोपीले आँफैले मारेको स्वीकारे – ‘आइ किल्ड फोर पिपुल’

गैरीगाउँको सामूहिक हत्या प्रकरणमा पक्राउ परेका मुख्य आरोपीले घटनामा संलग्नता रहेको र आँफैले मारेको स्वीस्कारेका छन् । प्रहरीले लिइरहेको बयानमा उनले बोल्न नसकेर कागजमा मैँले नै चार जना मारेको लेखेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले आरोपीसँग सांकेतिक भाषामा र लेखेर संवाद गरिरहेको छ । उनले कागजमा ‘आइ किल्ड फोर पिपुल’ भनेर लेखेको स्रोतले जनाएको छ । मोरङ घर भएका आरोपी आफूले १२ कक्षा पास गरेको उल्लेख गरेका छन् ।

आफू दुईवटा खुकुरी बोकेर नविन राईको हत्या गर्ने उद्देश्यले गएको उनले प्रहरीलाई बयान दिएका छन् । प्रहरीले एउटा खुकुरी पखालेको अवस्थामा भेटाएको र खुकुरीमा रगत लागेको पाइएको जनाएको छ ।

आफूलाई नविन राईले हाँकेको मोटरसाइकलले ठक्कर दिएको आरोपीले बताए पनि प्रहरी अनुसन्धानअनुसार नविनले बाइक नचलाउने खुलेको छ । उनी घरबाटै प्राय बाहिर निस्किदैन थिए । मोटरसाइकल दिपेन्द्रले चलाउँथे ।

आरोपीले आँफैले मारेको स्वीकारे – ‘आइ किल्ड फोर पिपुल’

गैरीगाउँको सामूहिक हत्या प्रकरणमा पक्राउ परेका मुख्य आरोपीले घटनामा संलग्नता रहेको र आँफैले मारेको स्वीस्कारेका छन् । प्रहरीले लिइरहेको बयानमा उनले बोल्न नसकेर कागजमा मैँले नै चार जना मारेको लेखेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले आरोपीसँग सांकेतिक भाषामा र लेखेर संवाद गरिरहेको छ । उनले कागजमा ‘आइ किल्ड फोर पिपुल’ भनेर लेखेको स्रोतले जनाएको छ । मोरङ घर भएका आरोपी आफूले १२ कक्षा पास गरेको उल्लेख गरेका छन् ।

आफू दुईवटा खुकुरी बोकेर नविन राईको हत्या गर्ने उद्देश्यले गएको उनले प्रहरीलाई बयान दिएका छन् । प्रहरीले एउटा खुकुरी पखालेको अवस्थामा भेटाएको र खुकुरीमा रगत लागेको पाइएको जनाएको छ ।

आफूलाई नविन राईले हाँकेको मोटरसाइकलले ठक्कर दिएको आरोपीले बताए पनि प्रहरी अनुसन्धानअनुसार नविनले बाइक नचलाउने खुलेको छ । उनी घरबाटै प्राय बाहिर निस्किदैन थिए । मोटरसाइकल दिपेन्द्रले चलाउँथे ।


राष्ट्रपति कार्यालयको गृहमन्त्रालयलाई प्रश्न ः ३४ जनाले माफी मिनाह कसरी पाए ?

राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई माफी मिनाहा दिनुपर्ने आधार र प्रस्ताव गरिएका ३४ जनाकै व्यक्तिगत विवरण सहित स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पठाउन माग गरेको छ ।

गृह मन्त्रालयले संविधान दिवस (असोज ३ गते) को अवसरमा ३४ जनालाई माफी मिनाहा गर्न लागेपछि राष्ट्रपति कार्यालयले कानुन विपरीत अपराधीलाई छुट कसरी हुन्छ भन्दै गृहमन्त्रालयमाथि प्रश्न खडा गरेको हो ।

मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा १५९ बमोजिम उनीहरुको माफी मिनाहाको प्रस्ताव गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । संहिताको दफा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था रहेको छ । १५९(१) मा उल्लेख गरिएको अदालतको फैसला बमोजिम ठेकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मुल्तवीमा राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालयमार्फत् राष्ट्रपतिसमक्ष निवेदन दिन सक्नेछ ।’

सजाय पाएका व्यक्तिले माफी मिनाहाका लागि गृह मन्त्रालयमार्फत् राष्ट्रपतिसमक्ष निवेदन दिन सक्ने व्यवस्था छ । सोही दफाको उपदफा (२) मा भनिएको छ– (१) बमोजिम निवेदन दिँदा जुन अदालतको फैसलाबाट निवेदकले सजाय पाएको हो सो अदालतको फैसलाको प्रतिलिपि संलग्न गर्नु पर्नेछ । तर मन्त्रालयले सिफारिस गर्दा यस्तो फैसलाको प्रतिलिपि पनि संलग्न नरहेको स्रोतले जानकारी दिएको छ ।
गृह मन्त्रालयले दुई तरिकाले माफी मिनाहाका लागि नाम सिफारिस गर्छ । पहिलो, कारागारमा कैद भुक्तान गरिरहेकाहरुको चालचलन हेरेर माफी मिनाहाको सिफारिस गरिन्छ भने दोस्रो, भनेको सजाय तोकिएको तर कैद भुक्तानी नगरेकाहरुको हकमा गृहबाट सिधै प्रस्ताव जान्छ । अहिले पठाइएका ३४ जना दोस्रो प्रकृतिका हुन् । मन्त्रालयले पठाएको सिफारिसमा माफी दिनुपर्ने कुनै कारण पनि नखुलाइएको स्रोतले जनाएको छ ।

नेता कोइराला भन्छन –सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताए ।

उनले भने , “मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ ।” सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए । पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने उनको भनाइ थियो ।

विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले प्रचण्ड साधारण व्यक्ति नभएको उनको भनाइ छ । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उनले जिकिर गरे ।

सम्भावना नेपालमा धेरै कुराको हुने जनाउँदै उनले अब कांग्रेस एक्लै हिँड्नुपर्ने बताए । उनले भने , “कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलीराखेको छ भइहाल्यो”, उनले भने , “मेरो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो ।”

सच्चा कांग्रेस एक भएर लाग्नुपर्ने समय आएको उनको भनाइ थियो । “इतिहास बलियो, सिद्धान्त राम्रो र परिवर्तनको महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेस एक्लै अघि बढ्नुपर्छ”, उनले भने । पछिल्लो समय नयाँ शक्ति उदाउनुमा नेतृत्वको कमजोरी रहेको उनको आरोप छ । अब नेतृत्व सच्चिँदै युवा पुस्तालाई अघि बढाउनुपर्ने उनले बताए । विचार राम्रो भए पनि कार्यशैलीमा परिवर्तन भए पार्टी एक्लै अघि बढ्न सक्ने उनको तर्क थियो ।

देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्छौ ः अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन ।

आज ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित बज्रवाराही चापागाउँ अस्पतालको प्रस्तावित भवनको शिलान्यास कार्यक्रममा उनले विकास निर्माणका योजना सञ्चालन गर्दा सरकारले देशको हित अनुकुल जनताको आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने बताएका हुन।

“देशका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा सुनिश्चित गर्नु आवश्यक छ, क्षमताभन्दा हाम्रो आवश्यकता बढी छ, गत वर्ष राजश्व काम उठेको थियो, जसले मागअनुसार सम्बोधन गर्न केही कठिनाइ भइरहेको छ, अहिले अवस्था सुधार हुँदै छ, यति हुँदाहुँदै पनि भएको स्रोतलाई परिचालन गर्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर काम गर्ने कुरामा प्रतिबद्ध छौं”, अर्थमन्त्री डा महतले भने ।

उनले नेपालमा रहेका सम्भावना र रोजगारी सिर्जना गर्ने काममा सकारात्मक सन्देश र बहस हरेक तहबाट हुनु आवश्यक रहेको धारणा राख्दै यसले आत्मविश्वास बढ्नेमा जोड दिए । आर्थिक गतिविधिको चक्र चलायमान बनाउन देशभर सबैको आत्मविश्वास बढाउनु आवश्यक रहेको उल्लेख गर्दै महतले यसमा सबै नागरिकहरुको भूमिका रहेको धारणा राखे।

उनले २०५२ सालमा नेपालीको आयु सरदर ५४ वर्ष रहेकामा अहिले बढेर ७१ वर्ष पुगेको जनाउँदै आगामी दिनमा अझै यो सुचक राम्रो बनाउन हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा सुनिश्चित गर्नु आवश्यक रहेको धारणा राखे।

अखाद्य सामग्री बेच्ने भाटभटेनीलाई एक लाख जरिवाना

म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा बिक्री गरेको पाइएपछि न्यूनतम एक लाख जरिवाना गरिएको सहायक प्रजिअ सुनुवारले जानकारी दिए । उनका अनुसार विग मार्टले बिक्री गर्ने हरियो तरकारीमा कम तौल पाइएपछि १० हजार जरिवाना गरिएको छ । यस्तै, म्याद सकिएको बियर बिक्री गरेको भेटिएपछि दश हजार जरिवाना गरेको सुनारले जानकारी दिए ।

“संयुक्त बजार अनुगमन ललितपुरको टोलीले आइतबारदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको हो । हामीले शिक्षा दिने गरी बजार अनुगमन थालेका छौँ, मानिसको स्वास्थ्यसँग खेलवाड गर्नेगरी खाद्यवस्तु बिक्रीवितरण नगर्न सचेत गराउँदा पनि पालना नगरेपछि जरिवाना गरिएको हो,” सहायक प्रजिअ सुनुवारले भने । घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका निरीक्षक अधिकृत सञ्जय थापाले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर अखाद्य वस्तुको ‘डिस्पोज’ गरिएको बताए ।

उच्च र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवा, को कहाँ परे ?

न्यायपरिषद्ले उच्च अदालतका ७ जना र जिल्लाका ५ जना न्यायाधीशको सरुवा गरेको छ । आइतबार बसेको परिषद् बैठकले १२ जना न्यायाधीशको सरुवा गरेको हो ।
शुक्रबार पनि परिषद्ले न्यायाधीश नियुक्ति र सरुवा गरेको थियो ।

उच्च अदालत जनकपुरकी न्यायाधीश शारङ्गा सुवेदीलाई पाटन उच्च अदालतमा सरुवा गरिएको छ। तुल्सीपुर उच्च अदालत, नेपालगञ्ज इजलासका न्यायाधीश रत्नबहादुर बागचन्दलाई तुल्सीपुर सरुवा गरिएको छ।

त्यस्तै, उच्च अदालत विराटनगरका बलभद्र बास्तोलालाई जनकपुर सरुवा गरिएको छ। तुल्सीपुर उच्च अदालतका न्यायाधीश वामदेव ज्ञवालीलाई जनकपुर उच्च अदालतको वीरगन्ज इजलासमा सरुवा गरिएको छ।

उच्च अदालत पोखरा, बागलुङ इजलासका न्यायाधीश निलम पौडेललाई जनकपुर उच्च अदालतको वीरगन्ज इजलासमै सरुवा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *