संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

भदौ २८ गते बिहिबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहिबार तयार पारिएको मुख्य १० समाचारमा नेपाल–भारतबीच भएका खुल्ला सिमानामा कडाई गर्न सर्वोच्च अदालतको परमादेश जारीदेखी कैदी मृत्यु प्रकरणमा सात प्रहरी र आठ कैदी कारागार चलानसम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

नेपाल–भारतबीच भएका खुल्ला सिमानामा कडाई गर्न सर्वोच्च अदालतको परमादेश जारी

काठामडौं । सर्वोच्च अदालतले नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सरकारका नाममा विभिन्न चार बुँदामा परमादेश जारी गरेको छ ।
, ‘खुला सीमाको प्रभावकारी व्यवस्थापनका लागि प्रयोग गर्न सकिने आवश्यक ड्रोन, सीसीटीभी जस्ता प्रविधिको प्रयोग गरी सुरक्षा निकायले गर्ने निगरानीका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइ नेपाल भारत सीमा वारपार गर्नका लागि निश्चित स्थलमार्गहरुको निर्क्यौल गरी उक्त स्थलमार्गहरुबाट आवतजावत गर्ने यात्रुहरुमा भाषाको समस्या नहोस् भन्नका लागि सीमा नाकामा रहेका अध्यागमन कार्यालय तथा सुरक्षा निकायमा कार्यरत जनशक्तिहरुलाई भरसक भाषागत तालिम प्रदान गरी नेपाल प्रवेश गर्ने यात्रुहरुले अध्यागमन कार्यालय वा सुरक्षा निकायमा आधिकारिक परिचयपत्र देखाइ त्यसको अभिलेखसमेत राखी सीमा क्षेत्रमा हुने आवतजावतलाई नियमन र व्यवस्थित गर्न गराउन सर्वोच्चले गरेको फैसलामा उल्लेख गरिएको छ ।

नेपालको संविधान तथा कानुनको अधिनमा रही नेपाल–भारतबिच विगतमा भएका सन्धि सम्झौता एवं ऐतिहासिक दस्तावेजहरु समेतका आधारमा नेपालका मिचिएका सीमा क्षेत्रको स्पष्टता र सीमा अंकनको लागि भारतसँग कुटनीतिक रुपमा पहल गरी समझदारी कायम गरी उचित प्रक्रियाबाट पुनः विवाद उत्पन्न नहुने गरी विवादित सीमाको उचित किसिमले विवादित क्षेत्रको सीमा अंकन गरी विवाद समाधान गर्नू भनेर पनि सर्वोच्चले परमादेश जारी गरेको छ ।

हराएका सीमा स्तम्भको निर्माण, पुनर्स्थापना गर्ने र दशगजा क्षेत्र खाली गराउने कार्य विज्ञ समूहले गरिरहेको भन्ने लिखित जवाफमा उल्लेख गरेको देखिँदा उक्त कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाइ सम्पन्न गराई सीमा विवाद समाधान गर्न गराउन समेत सर्वोच्चले परमादेश जारी गरेको छ ।

‘देशको सीमाको अवस्था र स्थिति सीमानामा एक देशबाट अर्को देशमा आवतजावत गर्ने कार्यलाई नियमन र व्यवस्थापन गर्ने विषय तथा सीमा नाकामा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने लगायतका विषय सबै नागरिकको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चासो र सरोकारको विषय हो,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘त्यस्तो राष्ट्रिय महत्त्व र सरोकारमा कुनै नागरिकको सम्बन्ध वा सरोकार हुँदैन भनी व्याख्या गर्नु न्यायोचित हुँदैन ।’

तीन दिनभित्र डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चिकित्सक संघको निर्देशन

नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । संघले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाउँदै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो।संघले बिहीबार पत्रकार सम्मेलन गरेर यस्तो निष्कर्ष निकालेको हो ।

तीन दिनभित्र डाक्टर कुट्नेमाथि कारबाही प्रक्रिया अघि नबढे देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने संघका महासचिव डा. सजिव तिवारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । बुधबार राति सन्चो अस्पतालमा कार्यरत डा।विकास थापा र डा.प्रशान्त विडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो ।

गत साउन २२ गते डेंगुको लक्षण लिएर अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई अस्पतालका चिकित्सकले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपुर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका हुन् । कुटपिटमा संलग्नको आरोपमा प्रहरीले हेटौंडामा बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।

संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि संशोधन ऐन, २०७९ बमोजिम चिकित्सकमाथि कुटपिट गर्नेहरुलाई कानुनी कारवाही गर्न माग गरेको छ ।

राष्ट्रियसभाः शोक प्रस्ताव पारित, अर्को बैठक १२ असोजमा

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै बिहीबारको राष्ट्रियसभा बैठक सम्पन्न भएको छ ।नेम्वाङ संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य थिए । उनी ०४८ र ०५२ सालमा राष्ट्रियसभा सदस्य रहेका थिए । नेम्वाङको निधनको शोकमा राष्ट्रियसभामा एक मिनेट मौनधारण गरिएको थियो । गएको मंगलबार बिहान नेम्वाङको निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक आउँदो असोज १२ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने तय गरिएको छ ।

रास्वपाका पूर्वसांसद ढाकाकुमारलाई धारिलो हतियार प्रहार भनेर लेख्ने एक युवक पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाकाकुमार श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको भनेर सामाजिक सञ्जालमा लेख्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

डा. श्रेष्ठले कारबाहीको माग गर्दै कास्की प्रहरीमा उजुरी दिएपछि स्याङजा आँधीखोला गाउँपालिका वडा नम्बर ५ ठुलीबराहाका ३५ वर्षीय सूर्य बहादुर रेग्मीलाई पक्राउ गरिएको कास्की प्रहले जनाएको छ।

केही दिनअघि रेग्मीले ‘श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएकोर उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी भन्ने स्टाटस राखेका थिए। उनलाई नियन्त्रणमा लिई विद्युतिय कारोबार ऐन, २०६३ विपरितको कसूर (साईबर अपराध) अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले ग¥यो उपत्यकाका ७ अस्पतालको अनुगमन, सबैमा लथालिङ्ग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न ७ वटा अस्पतालमा अनुगमन गरेको छ ।सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले बुधबार अनुगमन गरेको हो । अनुगमन टोलीले अस्पतालको जिन्सी अभिलेख व्यवस्थापन, औषधी उपकरणको अभिलेख, खरिद योजना तथा एक वर्षभित्रको खरिदको अभिलेख, औषधी मौज्दात विवरण, आपूर्ति व्यवस्थापन, औषधी तथा उपकरणको अद्यावधिक विवरणको अनुगमन गरेको थियो ।

उपत्यकामा रहेका वीर अस्पताल, कान्ति बाल अस्पताल, शहीद गंगालाल हृदय केन्द्र, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भक्तपुर क्यान्सर अस्पताल र मानसिक अस्पताल पाटनमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश अस्पतालमा जनशक्तिको अभावको साथै सबै अस्पतालमा मौज्दात स्वास्थ्य सामाग्रीको लिपीबद्ध नगरेको, खरिद योजना नगरेको, औषधी भण्डारणको व्यवस्थापन नभएको पाइएको थियो ।

गंगालाल अस्पतालमा तथ्यांक राम्रो नभएको, चालु आर्थिक वर्षको योजना नभएको,कति औषधी तथा उपकरण खरिद गरेको र कति बाँकी छ भन्ने एकिन नभएको पाइएको थियो । यस्तै टेकु अस्पतालमा भने निर्देशकको अनुपस्थिति रहेको थियो । फोहोरमैला व्यवस्थापन राम्रो नभएको, खरिदको योजना नभएको, महामारी संक्रामक रोग सम्बन्धी अस्पताल भए पनि आकस्मिक रुपमा महामारी फैंलदा त्यसको व्यवस्थापन गर्ने तयारी नभएको पाइएको थियो ।

माघ १४–१८ गतेसम्म दशौं महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

सत्तारुढ नेकपा एकीकृत समाजवादीले आउँदो माघ १४ देखि १८ गतेसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ । गत भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले माघ १४–१८ मशाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीले बिहीबार एक अपानि जारी गर्दै जानकारी गराएको छ । केन्द्रीय कमिटीको छैटौं बैठकबाट आगामी माघ १४–१८ मा पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय भएको छ । अब हाम्रो केन्द्रीय काम महाधिवेशनको तयारीमा हुनेछ,’ पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानिमा भनिएको छ ।

जसको तयारी अुनसार आगामी मंसिर २५ गतेभित्र सदस्यता वितरण र नविकरणको विवरण प्रमाणीकरणका लागि केन्द्रीय संगठन विभागमा पठाउने निर्णय भएको अपानिमा उल्लेख छ । माणिकरणका लागि केन्द्रीय सङ्गठन विभागमा पठाइएको र केन्द्रीय सङ्गठन विभागबाट प्रमाणिकरण भएका सदस्यले मात्र पाइने बताइएको छ ।

त्यस्तै, कात्तिक १५ गतेसम्ममा महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू तयार गरिसक्ने अपानिमा उल्लेख छ । कात्तिक १५ देखि पुस १५ सम्म दस्तावेजहरूमा छलफल बहस चलाउने, पुस २१ मा एकैदिन प्रतिनिधि छनोट गर्ने, पुस २५ गतेभित्र प्रतिनिधि छनोटको प्रतिवेदन केन्द्रमा पठाइसक्ने र २०८० माघ ५ भित्र प्रतिनिधिहरू यकिन गरिसक्ने कार्यक्रम तय भएको छ ।

सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरुले दागबत्ती दिए लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएर सलामी अर्पण गरेका थिए। नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा पशुपतिको बागमती किनार क्षेत्रमा ठूलो भिड लागेको । नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेहरुको भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई समेत निकै गाह्रो परेको थियो ।

गत मंगलबार नेम्वाङको हृदयघातका कारण निधन भएको थियो । काठमाडौंको बालुवाटारस्थित निवासमै बेहोस भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

एक दिन एमाले केन्द्रीय कार्यालय च्यासलमा र अर्को एक दिन बालुवाटारस्थित निवासमा श्रद्धाञ्जलीका लागि राखेपछि बिहीबार नेम्वाङको पार्थिव शरीर पशुपति आर्यघाट पुर्याइएको थियो । बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसार प्रक्रिया पूरा गरेपछि नेम्वाङको शवयात्रा सुरु भएको थियो । नेम्वाङको पार्थिव शरीरलाई आर्यघाट पुर्याएर फूलले सजाइएको चितामा राखिएको थियो । चितामा नेम्वाङको पार्थिव शरीर राखेपछि सुरुमा परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए । देशको एक असल नेता गुमाउँदा देश नै रोएको छ । अहिले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्ञली दिन पुगेका सबैका आँखा रसाएका थिए ।

चिकित्सक संघको टोलीलाई प्रधानमन्त्री दाहालले भने, ‘डाक्टर कुट्नेलाई तुरुन्त कारबाही हुन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाक्टरमाथि आक्रमण गर्नेलाई तुरुन्त कारबाही गर्ने बताएका छन् ।
हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै भेट्न आएका नेपाल चिकित्सक संघका प्रतिनिधिलाई प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेले उन्मुक्ति नपाउने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले त्यसका लागि प्रहरीलाई निर्देशन समेत दिइसकेको बताए । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथिको आक्रमण कुनै पनि हालतमा सह्य नहुने भन्दै दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको संघका महासचिव डा. सन्जिव तिवारीले जानकारी दिए ।

चिकित्सकलाई आक्रमण गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सक सघका अध्यक्ष डा. अनिलबिक्रम कार्की, महासचिव डा. सन्जिव तिवारीलगायतको टोली प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएको थियो ।बिरामीको मृत्यु भएको विषयलाई बुधबार हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट भएको हो। अस्पतालका चिकित्सक डा. प्रशान्त बिडारी र डा. विकास थापामाथि कुटपिट भएको हो ।

गत २२ साउनमा मकवानपुर सिक्रेनीका राजेश प्रधान उपचारका लागि सो अस्पतालमा भर्ना भएका थिए । डेंगु रिपोर्ट नेगेटिभ देखिएपछि आफन्तकै आग्रहमा अस्पतालले भोलीपल्टै डिस्चार्ज दिएको थियो । बिरामी पक्षले त्यहाँबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगेर उनको उपचार गराएको थियो । तर २५ भदौमा प्रधानको उपचारका क्रममा मृत्यु भयो । उनको मृत्यु भएपछि सन्चो अस्पतालमा राम्रोसँग उपचार नगरेकै कारण बिरामी मृत्यु हुने अवस्थामा पुगेको भन्दै आफन्तहरुले डाक्टरमाथि आक्रमण गरेका छन् ।


सुन तस्करी प्रकरणको अनुसन्धान रोकिँदैन ः सीआईबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ । सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रा.लि.) बाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सीआईबी प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अनुसन्धान जारी राख्ने जानकारी दिइन् ।

बुधबार सीआईबीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार एक दुई दिनमै मुद्दा अदालत जाँदै छ तर सात कम्पनीबाट ३६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म जम्मा ६० किलो ७१६ ग्राम मात्रै सुन बरामद भएको छ ।

बाँकी सुन तस्करले गन्तव्यमा पु¥याइएसकेकाले त्यसमा थप संलग्नको खोजीका लागि सीआईबीले जारी राखेको जानकारी दिएको छ । नयाँ तथ्य फेला पारेपछि पुरक प्रतिवेदनका रुपमा बुझाउने सुन प्रकरणको अनुसन्धानको नेतृत्व गरेका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । उनका अनुसार तस्करले सञ्चाल तयार पारेर सुन तस्करी भएको फेला परेको छ । काठमाडौंको टोखा र लाजिम्पाटमा सुन गाल्ने काम भएको पनि प्रहरीले फेला पारेको छ ।

उक्त प्रकरणमा आरोपीमाथि भन्सार ऐन, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गरिएको छ । अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहले विभन्नि सात कम्पनीबाट ३६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको छ ।

अहिलेको मूल्यमा तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ को सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ । अहिलेसम्म ३२ जना पक्राउ परेका छन् पक्राउ पर्नेमा २३ नेपाली र नौ विदेशी नागरिक छन् । १८ जना फरार रहेका छन् ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शूमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

कैदी मृत्यु प्रकरण ः सात प्रहरी र आठ कैदी कारागार चलान

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधवार कारागार चलान गरिएको हो ।

जिल्ला अदालत सङ्खुुवासभाका श्रेस्तेदार रामचन्द्र केसीका अनुसार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश दिएका हुन् । कारागार विभाग र जिल्ला सुरक्षा समितिको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइएको हो । बुधवार सरकार र प्रतिवादीतर्फका आठ कानुन व्यवसायीले बहस गरेका थिए ।

कैदी हत्या घटनामा मोरङको कटहरी गाउँपालिका–१ महेशपुर स्थायी घर भई जिल्ला कारागार खाँदबारीमा कार्यरत प्रहरी सहायक निरक्षिक लक्ष्मी चौधरी, इलामको इलाम नगरपालिका–११ स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत सुमन गुरुङ, उदयपुरको त्रियुगा नगरपालिका–१४ बाङ्गे स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत दमनसिंह राई, खोटाङको खोटेहाङ गाउँपालिका–८ कात्तिके स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, खोटाङको जन्तेढुङ्गा गाउँपालिका–३ स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान मनिष राईलाई कारागार पठाइएको छ ।

यस्तै, सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुर स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान पवनकुमार महतो र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलाम्ता स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत वर्षीय नुशन राईलाई पुर्पक्षका लागि धनकुटा कारागार पठाइएको छ ।

यस्तै खाँदबारी नगरपालिका–२ चेवा स्थायी घर भई जिल्ला कारागारका बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका रामबहादुर कार्की, खाँदबारी नगरपालिका–९ गैरीगाउँ स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका अनिश शर्मा कट्टेल, भोजपुरको भोजपुर नगरपालिका–१० भैँसीपङ्खा स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका सचिन राई, मकालु गाउँपालिका–५ सोलाखानी स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका सुमन सारू मगरलाई पनि कारागार पठाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *