संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

भदौ २७ गते बुधबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमा रास्वपामा फेरि अर्को लफडा, तीन करोड घुसमा थापामाथि अनुसन्धानदेखी नेप्से सूचक बढ्योसम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

रास्वपामा फेरि अर्को लफडा, तीन करोड घुसमा थापामाथि अनुसन्धान

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा फेरि तीन करोड घुस काण्ड बल्झिएको छ । रास्वपाले पार्टीबाट निष्कासित डा.ढाकाकुमार श्रेष्ठले केन्द्रीय सदस्य मोहनजंग थापाको नाम जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले बुधबार विज्ञप्ति निकाल्दै ढाकाकुमारले आफूलाई मन्त्री बनाउन थापाले तीन करोड रुपैयाँ माग गरेका थिए भनी विभिन्न सञ्चारमाध्यममा सार्वजनिक अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अनुशरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा.श्रेष्ठ वा जोकोही आएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारबाही गरिनेसमेत ढकालले उल्लेख गरेका छन् ।

उनले श्रेष्ठमाथि यसअघि नै अनुशासनसम्बन्धी कारबाही गरी पार्टीबाट निष्कासन गरिसकेको भन्दै उनले नाम मुछेका केन्द्रीय सदस्य मोहनजंग थापासँग सोधपुछ र अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।

साल्ट ट्रेडिङले नुन, चिनीजस्ता अत्यावश्यक वस्तु अभाव हुन दिँदैन ः आपूर्तिमन्त्री

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बुधबार ६१औँ वार्षिकोत्सव मनाएको छ । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा आयोजित वार्षिकोत्सवको अवसरमा बालबालिकाको संरक्षणमा सक्रिय संस्थाहरुलाई बालहितकारी पुरस्कार र उत्कृष्ट सेवा दिने कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

साथै, कर्पोरेशनले एसईई परीक्षामा उत्ृकष्ट अंक ल्याएर उत्तिर्ण भएका कर्मचारीका छोराछारीहरुलाई छात्रबृत्ति दिने घोषणासमेत गरेको छ । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आपूर्तिमन्त्री रिजालले नेपाली जनतालाई सपथ मूल्यमा गुणास्तरिय उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेशनले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

मन्त्री रिजालले भने, ‘साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्नो मूल्य र मान्यताअनुरुप उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउनमा उल्लेखनीय भूमिका रहेको छ ।’ उनले सरकार आम जनताले स्वाभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गर्न सकुन् भन्ने ध्येयअनुसार कर्पोरेशनले कार्य नीति अवलम्वन गर्दै कृत्रिम मूल्य वृद्धिले उपभोक्तामा नकारात्मक असर नपरोस् भनी बजार अनुगमनमा सक्रियता अपनाउँदै आएको बताए ।

मन्त्री रिजालले भने, ‘नुन, चिनी जस्तो अत्यावश्यक दैनिक उपभोग्य वस्तुलाई सुपथ मूल्यमा सर्वसाधारणसम्म सहजरुपमा पुर्याउन र वित्तीय लगानीको भार खेपेर पनि ६–६ महिनाको सिंचिति कायम राख्दै आएको छ ।’ मन्त्री रिजालले सेवामूलक व्यावसायिक संस्थाको रुपमा कर्पोरेशनले संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्न विभिन्न सामाजिक संस्थाले पुर्याएको योगदानप्रति प्रसन्नताको अनूभुति प्रदान गर्दै आएको बताए । सामाजिक सेवामा अझ बढी योगदान गर्दै दैनिक उपभोग्य वस्तुको कारोबारका साथै कृषि क्षेत्रमा समेत प्रत्यक्ष योगदान पुर्याउन सरकार प्रयत्नशील रहेको उनको भनाइ छ ।

कार्यक्रममा कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले कर्पोरेशनले नेपाल सरकारको नीति निर्देशनलाई पूर्णरुपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन हर प्रयासले गर्दै आएको बताए ।

अवैध सुन व्यापारका लागि स्थापना गरिएका ७ कम्पनी

हङकङबाट नेपालमा अवैध रुपमा सुन कारोबार गर्न ७ वटा कम्पनी स्थापना गरिएको खुलेको छ ।बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका एसपी सञ्जयसिंह थापाले सुन तस्करीमा ७ वडा कम्पनी स्थापना गरिएकको बताएका हुन् ।

छुङ्गाक इलेक्ट्रिक सप्लायर्स, भुजेल इलेक्ट्रिक सप्लायर्स, ह्वाडा इलेक्ट्रिक सप्लायर्स, पवाटी इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स, रेडी ट्रेड र सरिता सप्लायर्स कम्पनी स्थापना भएको सिआइबीले जनाएको छ । नेपालले विगतदेखी नै छिमेकी देशबाट अवैध सुन तस्करी गरेको विभिन्न अध्ययनबाट खुलेको छ ।

यी कम्पनीका मालिकमा क्रमशः लेखनाथ कार्की डोली, रामकुमार भुजेल, कुमार बहादुर भुजेल, रामबहादुर भुजेल, विकुन्द्र भुजेल, दिलीप भुजेल र सरिता तामाङ रहेका छन् । आईबीले तस्करीका सुनहरु टोखा र लाजिम्पाटमा गाल्ने गरेको खुलेको पनि जनाएको छ । नेपालमा स्थापना गरिएका ७ वटा कम्पिनीले अहिलेसम्म ३२० किलो सुन ओसारपसार र विक्रिवितरण गरेको खुलेको निष्कर्ष सीआइबीले निकालेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको अनुशन्धान फाईल आज सरकारी वकिलको कार्यालयमा वुझाउँदैछ। प्रहरीले आफनो प्रतिवेदनमा अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ । जसमध्ये ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।

सीआईबीका एसपी कृष्ण पंगेनीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाइएको जानकारी दिएका छन् ।अमला रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष हुन् । रोल्पाको थबाङकी रोकाको ‘कनेक्सन’ जोडिएको छ। जसका कारण रोल्पाबाट राष्ट्रिय राजनीतिमा उदाएका माओवादी नेताहरू समेत शंकाको घेरामा तानिएका छन् । यस प्रकरणमा थबाङ, माओवादीको सशस्त्र संघर्ष, शहीद परिवार सबैको नाम अघि आएको छ ।

सदरमुकाम उपयुक्त स्थानमा तोक्न सर्वोच्चको परमादेश

रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङा को (गोलखाडा) बनाउने तत्कालीन सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । बुधबार सो रिटमाथि सुनु्वाइ गर्दै सर्वोच्चले मन्त्रिपरिषदको उक्त निर्णय बदर गरि मापदण्डका आधारमा उपयुक्त स्थानमा सदरमुकाम तोक्नु भनी सरकारको नाममा परमादेश समेत जारी गरेको छ । २०७४ साल माघ १५ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङा को (गोलखाडा) तोक्ने निर्णय गरेको थियो । गोलखाडालाई सदरमुकाम तोक्ने सरकारको निर्णय वैज्ञानिक नभएको भन्दै विरोध भएको थियो । स्थानीय गणेश हमालले सरकारको निर्णय खारेजीको माग गर्दै २०७५ साल फागुन ५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए ।

अर्थ मन्त्रालयका ५५ उपसचिवको सरुवा

अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको एकै पटक सरुवा गरेको छ । मंगलबार मन्त्रालयले आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत ५५ जना उपसचिवको सरुवा गरेको हो ।


जनतालाई परिणाम दिन जोखिम मोल्न तयार हुनुपर्छ ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै आफ्नो कार्यादेशअनुसार जोखिम उठाउन कर्मचारीहरूलाई निर्देशन दिए ।

रिपोर्ट कार्डको प्रस्तुतिपछि बोल्दै प्रधानमन्त्री “प्रचण्ड”ले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताए । उनले भने , “हामी सबैले जिम्मेवारी बहन गर्ने तिरबाट सोच्नुपर्छ। जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन। जिम्मेवारीमा जोखिम हुन्छ, जोखिम मोल्न तयार हुने हुनुपर्दछ।” प्रधानमन्त्रीले भने , “नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको सुरुवात भएको छ। यो आफैमा राम्रो सुरुवात हो। तर, राम्रो परिणाम ल्याउन आउने दिनहरूमा धेरै मेहेनत गर्नुपर्दछ। त्यसरी मात्र परिणाम दिन सकिन्छ।”

यस्तो छ विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसदमा दर्ता भएको छ। विधेयक बुधबार प्रतिनिधिसभामा दर्ता भएको हो।

प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीका अनुसार विधेयक मंगलबार नै संसदमा आइपुगेको थियो। तर, सबै प्रक्रिया नपुगेको दर्ता भने हुन सकेन। उक्त विधेयक साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले संसदमा पेस गर्न स्वीकृति दिएको थियो। तर सदन नपुग्दै विधेयकका दफा–उपदफामा समेटिएका विभिन्न प्रावधान सामाजिक सञ्जालबाट छरपस्ट भएसँगै विधेयकको विरोध तथा विभिन्न आन्दोलन सुरू भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन गरेपछि मात्रै संसदमा दर्ता गर्ने प्रतिबद्धता जनाएका थिए।

विधेयकमा कक्षा १० को एसईई खारेज गरिएको छ । जिल्ला शिक्षा कार्यालयलाई फेरि ब्यूँताइएको छ । विधेयकमा विद्यालय तहको कक्षा ८ को स्थानीय तहले र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने भनेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कक्षा १० को परीक्षा विद्यालयले नै लिने भएको छ । ‘एसईई नरहने भन्ने छ । १० को परीक्षा विद्यालयले लिने, ८ को स्थानीय तहले र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने भनिएको छ,’ उनले भने । यो विधेयक संसदबाट पारित भएमा ११९० सालदेखि हुँदै आएको एसएलसीरएसईई हुने छैन ।

सुन तस्करी प्रकरण ः पक्राउ परेका ३२ जनालाई हिरासतमा राख्न चार दिन म्याद थप

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न चार दिन थप भएको छ । यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले म्याद थपका लागि अदालत पु¥याएकोमा बुधबार चार दिन थप भएको हो ।

ब्युरोले बुधबार सीआईबीले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी पनि छ । सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी जम्मा ५० जनालाई मुद्दा चलाउन काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । अबको तीन दिनभित्र सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गरिसक्नु पर्नेछ ।
६ जनालाई मुद्दा नचलाउन सीआईबीको राय

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले झण्डै ६१ किलो सुन प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध भने मुद्दा नचलाउन राय दिएको छ । भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध भने मुद्दा नचलाउन राय दिएको छ ।

रुक्मिनालाई बिरामी भएका कारण यसअघि नै छाडिएको थियो । अरु भने अहिले पनि हिरासतमै छन् । तर उनीहरुविरुद्ध भने मुद्दा नचलाउन राय दिएको हो । हङकङबाट साउन २ गते भित्रिएको उक्त सुन प्रकरणमा ३२ जना पक्राउ गरिएको सीआईबीले जनाएको छ। अरु १८ जना फरार छन् । पक्राउ पर्नेमा ९ जना विदेशी छन् । फरार रहनेमा भने १४ जना विदेशी रहेको सीआईबीले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवेदन अध्ययन गरेर आगामी आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

सीआईबीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिभुवन विमानस्थलबाट बरामद भएको ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। अनुसन्धान सकेर सीआईबीले रायसहितको अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। सुन प्रकरणमा ५० जना प्रतिवादी बनाइएको छ।

सुन प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सीआईबीले जनाएको छ। सीआईबीका अनुसार पक्राउ परेकामध्ये २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेशी र ४ नेपाली छन्। आरोपीविरुद्ध सङ्गठित अपराध,सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय सीआईबीले दिएको छ। रेडिट्रेडमार्फत् भित्रिएका सबै ब्रेकप्याडको तौल यकिन गर्दा थप ३०२ किलो ६२० ग्राम गरी कूल ३६२ किलो सुन पुगेको सीआईबीले जनाएको छ।

कूल ३६२ किलो सुन बरामद भएको पुष्टि भएकाले आरोपितविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बराबरको बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिएको सीआईबी प्रमुख किरण बज्रचार्यले जनाएकी दिइन्।

आरोपीविरुद्ध सङ्गठित अपराध,सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिएको सीआईबीले जनाएको छ। सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ। यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पु¥याइसक्नुपर्ने हुन्छ। त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी बुधबार प्रतिवेदन बुझाएको हो।

नेप्से सूचक बढ्यो

एक दिनको करेक्सनपछि नेप्सेले पुनः लय समातेको छ । सूचक फेरि २ हजारको मनोवैज्ञानिक विन्दुमाथि उक्लिएको छ ।

यस दिन नेप्से सूचक ३९.४८ विन्दुले बढेर २००७.०६ अंकमा आएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

मौद्रिक नीतिपछि निरन्तर घटेको बजार आइबारदेखि सकारात्मक लयमा फर्किन थालेको थियो । तर, २ दिनको वृद्धिपछि मंगलबार फेरि घटेको थियो । बुधबार पुनः बजारले सुधारकै संकेत देखाएको छ । बुधबार बजार बढेपछि लगानीकर्तामा केही आशा पलाएको देखिन्छ ।

मौद्रिक नीतिपछि करिब डेढ महिना लगातारजसो घटेको बजारको आरालो यात्रामा ब्रेक लाग्ने अपेक्षामा लगानीकर्ता बसेका छन् । नीतिगत अवरोध, चर्को ब्याजदर लगायतका कारणले बजार घटेको थियो । यसबीचमा पनि नीतिगत सुधार भने हुन सकेको छैन ।

यस दिन २७५ कम्पनीको ५१ लाख ४४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ९३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र एभरेष्ट बैंक परेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *