भदौ २६ गते मंगलबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमा शीर्ष नेताद्धारा च्यासल पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण देखी सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो सम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
शीर्ष नेताद्धारा च्यासल पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौं । शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेर दिवंगत भएका संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने राष्ट्रिय झण्डा ओढाएकी थिइन् । उनी भावविह्वल देखिएकी थिइन् । अहिले अन्य पार्टीका पनि नेताहरु, पार्टी कार्यकर्ताहरु, शुभेच्छुक र व्यवसायीहरु पनि नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले केन्द्रीय कार्यालय पुगिसकेका छन् ।
गएराति बालुवाटारस्थित निवासमा बेहोस भएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णयपछि नेम्वाङको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको थियो र श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालयमा ल्याएको थियो ।
एमालेले पनि पार्टी उपाध्यक्ष नेम्वाङको निधनको शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने र पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । एमालेले असोज २ गते शोक सभा गर्ने निर्णय पनि गरेको छ । सबैका मनमुटुमा बसेका नेम्वाङको एक्कासी भएको निधनको खबरले सबैको मन मस्तिष्कमा नै दाग लागेको छ । उनको चरित्रको कुरा गर्दा कुनै समय पनि विवादमा आएनन् उनको जिवनकालमा । अन्य नेपालको राजनीतिमा थुप्रै शिर्ष नेताहरु विवादमा मुछिएपनि उनको छवि भने एकदमै असल थियो ।
प्रतिनिधि सभाको बैठक भदौ २८ गतेका लागि तय
भदौ २७ गतेका लागि तय भएको प्रतिनिधि सभाको बैठकको मिति एक दिन पछि सरेको छ ।संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवास चन्द्र नेम्वाङ्गको असामयिक निधन भएको कारण भदौ २७ गते बुधबार दिनको १ः ०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक मिति परिवर्तन भएको हो ।
उक्त मिति र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३)बमोजिम सभामुखले शोक प्रस्तावको प्रयोजनको लागि सभाको बैठक भदौ २८ गते बिहीबार दिनको ३ः ०० बजे बस्ने गरी निर्धारण गरेको संसदका महासचिव डा.भरतराज गौतमले जारीे गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपाली राजदूतलाई प्रधानमन्त्रीको निर्देशन– नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस्
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिए ।
सरकारले पहिलोपटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नुपरेका समस्या र कठिनाइहरूबारे छलफल गरेको हो। कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्ट राख्नुका साथै आगामी कार्ययोजनासमेत निर्माण गरिएको छ। प्रधानमन्त्री प्रचण्डले अन्तरक्रियामा राजदूतहरूले उठाएका विषयहरू सम्बोधन गर्दै अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवद्र्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिएका हुन् ।
एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार विश्वकर्माको मृत्यु
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको मृत्यु भएको छ ।५९ वर्षीय विश्वकर्माको गएराति हृदयघातका कारण मृत्यु भएको नेकपा एसकी नेतृ दिलु पन्तले जानकारी दिइन् ।शौचालय गएर आएपछि सुतेका उनी नचलमलाएपछि अल्का अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । रौतहटको गौर स्थायी घर भएका उनी परिवारसहित ललितपुर बस्दै आएका थिए । विहान ११ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यायल आलोकनगर राखिएको थियो । उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।
एमालेले ३ दिन पार्टीको झण्डा आधा झुकाउने
नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले बताए । पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने ज्ञवालीले जानकारी दिए । नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने पनि सचिवालयले निर्णय गरेको छ ।
नवलपरासी काङ्ग्रेसका संस्थापक सभापति नेपालको निधन
नेपाली काङ्ग्रेसका संस्थापक जिल्ला सभापति प्रजातन्त्र सेनानी पुर्ण चन्द्र नेपालको निधन भएको छ ।मध्यबिन्दु नगरपालिका–३ लेडाहा निवासी नेपालको ८७ वर्षको उमेरमा सोमबार निधन भएको हो । नेपाल करिब २०३० सालदेखि ३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति भएर काम गर्नु भएको थियो । प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक–पटक जेल जीवन बिताउनु भएका नेपाल निष्ठावान् राजनीतिज्ञको छवि बनाएको नेतृत्व भएको जिल्लाका काङ्ग्रेस नेताहरूले बताएका छन् ।
सुवास दाइको अभाव सधैँ खड्किनेछ ः गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन्। नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महामन्त्री थापाले भने – ‘नेकपा एमालेका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य आदरणीय सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनाएको छ।’
संविधान सभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि उनले गरेको समन्वयकारी भूमिका सदा स्मरणीय रहने थापाले बताए । आफूलाई संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयौँ विषय सिकाउने र बुझाउने व्यक्तिको अभाव सधैँ खड्किने थापाको भनाइ छ । ‘म संविधानसभा सदस्य हुँदा र अहिले पनि अभिभावक जस्तै भएर संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा मलाई सिकाउने, बुझाउने सुवास दाइको अभाव सधैँ खड्किनेछ,’ थापाले भने ।
मधेश प्रदेशकी सांसद बिन्दु यादवको निधन
मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान निधन भएको हो । महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो । सांसद यादवको निधनमा जसपाका नेताहरूले दुःख व्यक्त गरेका छन् ।
भन्सारबाट रोकिएन अवैध सुन ओसार पसार, मंगलबार पनि एक किलो सुन बरामद
गत साउन ३ गते हङकङबाट नेपाल अवैध भित्रिएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला पनि नेपालमा थप अवैध सुन क्रमश आउने गरेको भटिएको छ । मंगलबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो सुन बरामद गरेको छ । विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ परेका व्यक्तीको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । भन्सार जाँचपास गरेर भन्सार बाहिर ट्याक्सी मार्फत सुन कारोबार हुन लागेको संकेत पाएपछि प्रहरीले उक्त सुन बरामद गरेको काठमाडौं प्रहरीले जनाएको हो । स्रोतका अनुसार अवैध सुन कारोबारीमा संलग्न रहेका सुन लिने तयारीका साथ सो क्षेत्रमा पुगेका व्यक्ती भने फरार रहेकाले खोजीकार्य जारी छ ।
पछिल्लो समय पनि सुन तस्करी न्युनीकरण गर्ने उदेश्यले अनुसन्धान कडा गरिएपनि कसरी सुन बाहिरिरहेको छ ? यसको अहिले पनि भन्सारका क्रमचारीहरुले सेटिङमा नै काम गर्न थालेका हुन कि भन्ने संका उत्पन्न भएको छ । भन्सार जाँचपास राम्रो हुँदा कसरी सुन बाहिरिनछ ?
सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो
सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।
गत वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्र सुधार कार्यदल, २०८० को अवधारणा पत्र स्वीकृत गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतको संयोजकत्वमा ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेको थियो । उक्त कार्यदलले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो ।
सहकारीका बचतकर्ता पीडितलाई तत्काल राहत दिने गरी सरकारले केही योजना ल्याउन अध्ययन कार्यदलले सुझाव दिएको दुवाडीले बताए । कानुनी सुधार गरेर यो क्षेत्रका समस्या समाधान गर्न पहल गर्नुपर्ने सुझाव दिएको पनि उहाँको भनाइ छ ।
‘प्रतिवेदनमा तत्कालीन, मध्यमकालीन र दीर्घकालीन सुझाव दिइएको छ । तत्काल गर्नुपर्ने भनेको सहकारी क्षेत्रमा देखिएको तरलता अभाव समस्यालाई सम्बोधन गर्ने सरकारले केही पहल गर्नुपर्ने, पीडित बचतकर्ताको बचत फिर्ताका लागि सहजीकरण गर्ने, सहकारीको वित्तीय स्वास्थ्य राम्रो बनाउनका लागि विज्ञ टोली परिचालन गर्ने र नियमन बलियो बनाउने लगायतका सुझाव छन्’, सचिव दुवाडीले भने । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सहकारी क्षेत्रका समस्या समाधानका लागि पहल गर्न र दीर्घकालीनरुपमा समाधानका लागि आवश्यक नीति तर्जुमा गर्न निर्देशन दिनुभएको सचिव दुवाडीको भनाइ छ ।




