संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

भदौ २५ गते सोमबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा सरकार आफैं तस्करीमा संलग्न रहेको ओलीको आरोपदेखीनेप्से परिसूचक ४४ दशमलव ३० अङ्कले बढ्यो सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

सरकार आफैं तस्करीमा संलग्न रहेको ओलीको आरोप

काठमाडौं । एमाले अध्यक्ष केपी ओली वर्तमान सरकारविरुद्ध आक्रोशित देखिएका छन् । उनले सरकार आफैँ तस्करीमा संलग्न रहेको आरोप लगाएका छन् । तेजाब आक्रमणविरुद्धको जागरण दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले सरकार आफैँ तस्करीमा संलग्न रहेको र कमिशनमा डुबेको आरोप लगाएका हुन् । ‘सरकार तस्करीमा संलग्न हुन्छ । तस्करहरुलाई समर्थन गर्छ । सरकार कमिशनखोरीमा डुब्छ । जनताका समस्या हेर्दैन,’ उनले भने– ‘जनता पीडामा छन् । म सरकारलाई सुझाव दिन चाहन्छु, अनेक किसिमका स्टन्टबाजी होइन, भ्रष्टाचार नगर्नुस्, भ्रष्टाचार रोक्नुस्, कमिशनखोरी बन्द गर्नुस्, जनताका समस्या समाधान गर्ने, सुशासन दिने, विकासका बाटोतर्फ लाग्ने काम गर्नुस् ।’

ओलीले सरकार आफैँले आतंककारीलाई प्रोत्साहन गरिरहेको आरोप पनि लगाए । उनले मानिसको नामै लिएर सार्वजनिक रुपमै ज्यान मार्ने धम्की दिँदासमेत सरकारले केही गर्न नसकेको आरोप लगाए । ‘आतंककारीहरुलाई सरकार आफैंले प्रोत्साहित गरिरहेको छ । बढाइरहेको छ । स–परिवार मार्छु भनेर धम्की दिन्छ ।

त्यस्तालाई नियन्त्रणमा लिँदैन । अस्ति खुकुरी हान्छु भन्ने मान्छेले चार दिन अगाडि नै खुकुरी हान्छु भनेर माइतीघरमा खुट्टा उचालेको थियो । मानिसको नाम लिएको थियो, सरकार कानमा तेल हालेर बसेको थियो,’ उनले भने । एमाले अध्यक्ष ओलीले तेजाब आक्रमणमा परेका पीडितहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने भन्दै यस्तो अपराध गर्नेलाई कडा सजाय दिनु आवश्यक भएको बताए ।

राष्ट्रसंघमार्फत शान्ति प्रक्रिया टुंगो लगाउन अपिल गर्छु ः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया टुंगोमा पु¥याउन अन्तर्राष्ट्रिय समुदायको सहयोगका लागि अपिल गर्ने भएका छन्। सोमबार समाजवादी मोर्चाले विराटनगरमा गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्ने बताए।

‘नेपालको शान्ति प्रक्रिया विशिष्ट प्रकारको छ। राष्ट्रसंघमार्फत यसमा अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्छ भन्नेछु,’ उनले भने।प्रधानमन्त्री प्रचण्डले आफूले तेस्रो कार्यकाल एक्सनबाट जनतालाई डेलिभरी दिने काम गर्ने बताए। उनले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि ललितानिवास, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका दोषीमाथि कारबाही गर्ने बताए। उनले सरकारलाई सफल बनाउन समाजवादी मोर्चाका नेताहरूको समेत साथ पाएको बताए।

‘कति दिन टिक्छ मलाई चिन्ता छैन। सरकारले बेथितिविरुद्ध संघर्ष सुरु गरेको छ। यसलाई अन्त्यसम्म पु¥याउनुपर्छ,’ उनले भने, ‘विप्लवले पनि सरकारमा अगाडि बढ्नुस। हिजोको कमाण्डर राष्ट्रियताका पक्षमा अगाडि बढ्नुस् हामी सडकबाट साथ दिन्छौँ भन्नुभएको छ। हामी सातवटा प्रदेशमा गएका छौँ मलाई ऊर्जा प्राप्त भएको छ।’

बाँकी रहेका ठाउँमा असोजभित्र अधिवेशन गर्न कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले बाँकी रहेका ठाउँमा असोजभित्र अधिवेशन गर्न निर्देशन दिएको छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जिल्ला कार्यसमितिहरूलाई पत्र पठाउँदै असोज २९ गते भित्र बाँकी रहेका ठाउँमा अधिवेशन गर्न भनेका हुन् ।कांग्रेसले ०७८ मंसिरमा १४औं महाधिवेशन गरेको थियो । यसअघि हुनुपर्ने विभिन्न तहका अधिवेशन गर्न बाँकी रहेका ठाउँमा असोजभित्रै अधिवेशन गरी केन्द्रमा जानकारी गराउन निर्वाचन समितिले आग्रह गरेको हो ।

२६ लाख नगदसहित नेपालगञ्ज विमानस्थलबाट सरकारी कर्मचारी पक्राउ

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउबाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन्नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडेल भने फरार भएको उनले बताए ।

उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगन्जदेखि काठमाडौँ जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

सुन तस्करी प्रकरणः अनुसन्धान प्रतिवेदन मंगलबार बुझाउने सिआइबीको तयारी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । पक्राउ परेकाहरुलाई थुनामा राख्ने हदम्यादसम्बन्धी प्रावधानका कारण सिआइबीले मंगलबारसम्म अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको हो । आरोपीहरु पक्राउ गरी अनुसन्धान सुरु भएको मंगलबार ५६ दिन पुग्नेछ । ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्नेछ । सरकारी वकिलले पनि अध्ययनका लागि केही दिन मागेकाले मंगलबारसम्म सिआइबीले पहिलो चरणको अनुसन्धान टुंग्याउन लागेको हो ।

३० भदौभित्र मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरी अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएको अवस्थामा गत साउन २ गते सिनामंगलबाट ठूलो मात्रामा अवैध सुन बरामद भएको थियो । यस प्रकरणमा हालसम्म ३० जना पक्राउ परेका छन् । तर, प्रहरीले अनुसन्धान थालेको ५५ दिन हुँदासम्म सुन ल्याउने मुख्य गिरोहसम्म भने प्रहरी पुग्न सकेको छैन । सुन प्रकरणमा पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक, भन्सार कर्मचारी, भन्सार एजेन्ट, सुन व्यापारी तथा बिचौलियाहरू छन् ।

तस्करीको केन्द्रमा चिनियाँहरू नै भए पनि उनीहरूलाई नेपालमा क–कसले सघाएका थिए भन्नेमा प्रहरी अनुसन्धान अघि बढ्न सकेको छैन । पक्राउ परेकाहरूले केही नबताउँदा अनुसन्धानमा ढिलाइ भएको सिआइबी अधिकारीहरूको भनाइ छ ।

चीन भ्रमण जान लागेका प्रधानमन्त्री प्रचण्डलाई बाबुरामले दिए ३ सुझाव

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ३ बुँदे सुझाव दिएका छन् । आइतबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, कुटनीतिज्ञसँग प्रधानमन्त्रीले चीन भ्रमणका सन्दर्भमा सिंहदरबारमा सुझाव माग गरेका थिए । सुझाव छलफल कार्यक्रममा उपस्थित हुन नसकेकोमा क्षमा माग्दै डा.भट्टराईले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सुझाव दिएका छन् ।

बहुदलीय लोकतन्त्रमा दलहरूबीच अरू विषयमा मतभिन्नता भएपनि परराष्ट्र सम्बन्धको विषयमा राष्ट्रिय सहमति कायम गर्ने र त्यसलाई सबैले सधैं पालना गर्ने परम्परा बसाल्न आग्रह गर्दै बाबुरामले दलीय,गुटीय र निजी स्वार्थनिम्ति राष्ट्रिय हित विपरित कसैले पनि कुनै पनि विदेशी शक्तिसँग खुला वा अपारदर्शी सहमति तथा सम्झौता गर्न नहुने सुझाव दिएका छन् ।

त्यसैगरी दोस्रो सुझावको रुपमा बाबुरामले एसिया नै मुख्य केन्द्र हुनेगरी मडारिन लागेको नयाँ शितयुद्ध (वा उष्णयुद्ध ?) को सन्दर्भमा नेपालले आफ्नो विशिष्ठ भू–सामरिक अवस्थितिलाई ध्यान दिँदै नेपालमा भारतको सुगौली–सन्धीदेखिको प्रभुत्वलाई कायम गर्ने चाहना, चीनको नयाँ विश्वशक्तिको रूपमा यस क्षेत्रमा पनि प्रभाव विस्तार गर्ने चाहना र अमेरिका–यूरोप–जापानको चिनियाँ प्रभावलाई यस क्षेत्रमा विस्तारित हुनबाट रोक्ने चाहनालाई गहिरोसँग पर्गेलेर आफ्नो राष्ट्रिय हित अनुकूलको रणनीति तय गर्नुपर्ने बताएका छन् ।

प्रचण्डको अमेरिका भ्रमण टोलीबाट मुख्यसचिवदेखि हरिबोल गजुरेलसम्मको नाम काटियो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका र चीन भ्रमणको भ्रमण टोली सानो आकारको बनाइने भएको छ । प्रधानमन्त्री प्रचण्डले झण्डै दुई दर्जनभन्दा बढीलाई भ्रमण टोलीमा सुरुमा समावेश गर्ने तयारी गरे पनि अहिले भने आधा दर्जनलाई मात्र समेटेर सानो आकारको भ्रमण टोली बनाउन लागेका हुन् ।

सुरुमा २७ जनासम्म भ्रमण टोलीमा समावेश गर्ने गरी प्रधानमन्त्रीको निजी सचिवालयले तयारी गरेको थियो । परराष्ट्रले भने २४ सदस्यीय टोली अमेरिका जाने गरी तय गरेको थियो । त्यो समूहमा प्रधानमन्त्रीको निजी सचिवालयबाट मात्रै १० जना भनिएको थियो ।प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिवहरू गंगा दाहाल, रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य, निजी फोटोग्राफर प्रदीपराज वन्त, निजी भिडिओग्राफर नवराज दाहाल, निजी डाक्टर युवराज शर्मा र तीनजना सुरक्षाकर्मी, मुख्यसचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी पनि भ्रमण टोलीमा जाने भनिएको थियो ।

यसअघि अमेरिका जाने भनेर निर्णय भएका मुख्यसचिव अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीको नामसहित प्रधानमन्त्री कार्यालयका केही सहसचिव र उपसचिवको नाम पनि भ्रमण टोलीको सदस्यबाट कटौतीमा परेको छ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल पनि हटाइएको छ।
परराष्ट्रमन्त्री एनपी साउद, उनका स्वकीय सचिव दीपक जोशी, परराष्ट्र सचिव भरतराज पौड्याल, सहसचिव सेवा लम्साललगायत प्रतिनिधि भ्रमण दलमा रहने बताइएको थियो । अब प्रधानमन्त्रीले सानो टिम बनाउन गरेको आग्रहका आधारमा यी मध्ये कति पर्छन् भन्ने टुंगो लागेको छैन ।

नेपालको नयाँ नक्शाप्रति समर्थन जनाउन एमाले महासचिव पोखरेलको चीनलाई आग्रह

एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो ।

भेटमा महासचिव पोखरेलले नेपालले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको भूभाग समेटी चुच्चे नक्शा जारी गरेको जानकारी गराउँदै त्यसमा चीनको साथ समर्थनका लागि आग्रह गरेका छन् । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र एमालेका अध्यक्ष केपी ओलीको चीन भ्रमणका समयमा भएका सहमति, सम्झौता छोटो कार्यान्वयन होउन् भन्ने एमालेको चाहना रहेको स्पष्ट गरे ।

‘१८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरे अनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रूपमा जारी गरेका छौं । त्यसले गर्दा हामीले दबाब र अप्ठ्याराहरूको पनि सामना गर्नुपरेको छ । हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं । चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौं । हामी एक चीनको पक्षमा दृढ छौं । नेपालको भूमिबाट चीन विरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्छौं,’ उनले भने ।

सीपीसीको विदेश विभाग प्रमुख लिउले दुई देशका उच्चस्तरीय भ्रमणको समयमा भएका सहमति, सम्झौता छिटो कार्यान्वयनका लागि अधिकतम प्रयास रहने बताए । उनले नेपालको विकास र समृद्धि यात्रामा चीनको साथ सहयोग रहने भनाइ राखे ।

‘एक चीन नीतिमा दृढ रहेकोमा एमालेलाई धन्यवाद । एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर छ । यसलाई हामी नयाँ उचाइमा लैजान चाहन्छौं ।–चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरू पनि छन् । हाम्रो राष्ट्रपति महामहिम सीको नेपाल भ्रमण क्रममा भएका सहमतिहरू र तपाईहरूका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला चीन भ्रमणको क्रममा भएका सहमति कार्यान्वयन होस् भन्नेमा हामी दृढ छौं । ती सहमति, सम्झौताहरू कार्यान्वयन छिटो गराउन हाम्रोतर्फबाट अधिकतम् प्रयास हुनेछ,’ लिउले भने ।

ग्यालेक्सी फोरके टीभीका सञ्चालक जीबी राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष गितेन्द्रबाबु(जीबी) राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालन पनि हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट पूर्वअध्यक्ष राईसहित सात जनाविरूद्ध पक्राउ अनुमति लिएको प्रहरी स्रोतले जानकारी दियो । बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारीका सञ्चालक समितिका पदाधिकारीविरूद्ध ९७१ जनाले जाहेरी दिएको डीएसपी श्रवणकुमार बिकले जानकारी दिए । साउन ३२ गते कार्यालयले उक्त सहकारीका पदाधिकारीविरुद्ध भदौ १५ गतेभित्र जाहेरी दिन सार्वजनिक सूचना नै जारी गरेको थियो ।

निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेको भन्दै पीडितहरू प्रहरीकहाँ पुगेका हुन् ।

नेप्से परिसूचक ४४ दशमलव ३० अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा कायम भएको हो ।

आजको कारोबारमा विभिन्न कम्पनीका कुल ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता शेयर ३७ हजार सात सय ९९ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा वित्त समूहको उपसूचक तीन दशमलव ६५ प्रतिशत र व्यापार समूहको उपसूचक तीन दशमलव ६३ प्रतिशतले बढेको छ ।

आज थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने मेन्छियाम हाइड्रोपावर लिमिटेडको नौ दशमलव ९७, मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको नौ दशमलव ८७, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड नौ दशमलव ८५ र प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयर मूल्य आठ दशमलव ६५ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को शेयर मूल्य सात दशमलव ४३ले घटेको छ । कारोबार रकमका आधारमा आज साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको रु छ करोड २५ लाख ५२ हजार चार सय ४८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड र बढी सङ्ख्यामा शेयर कारोबार हुनेमा आइएमई लाइफ इन्स्योरेन्स छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *