भदौ २४ गत आइतबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । आइतबार तयार पारिएको मुख्य १० समाचारमा भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङलाई धरौटीमा छाड्न आदेशदेखी भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण अवरुद्धसम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश
जिल्ला अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा छाड्न आदेश दिएको हो। जिल्ला सरकारी वकिलको कार्यालयले उनीमाथि चार अर्बभन्दा बढी बिगोदाबी गरेको थियो ।
त्यस्तै काठमाडौं महानगरपालिका–४ का तत्कालीन वडा सचिव शिवजी भट्टराईसँग ३ लाख ३० हजार, भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रकुमार श्रेष्ठसँग ७ लाख ५० हजार, शहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन सिनियर डिभिजनका इन्जिनियर बालकृष्ण श्रेष्ठसँग ७ लाख ५० हजार, तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजासँग १५ लाख र नापी कार्यालय डिल्लीबजार काठमाडौंका तत्कालीन सर्भेक्षक घमनकुमार कार्कीसँग ७ लाख ५० हजार माग गरेको छ ।
यस्तै समरजंग कम्पनीका तत्कालीन प्रमुखसँग ७ लाख ५० र सहायक लेखापाल विनोदप्रासद पौडेलसँग १५ लाख धरौटी माग गरिएको छ । त्यसैगरी मालपोत डिल्लीबजारका तत्कालीन नासु योगराज पौडेलसँग ७ लाख ५०, तत्कालीन खरिदार गोपाल कार्की र नारायणराज मिश्रसँग जनही ७ लाख ५० हजार धरौटी मागिएको छ । नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठसँग ७ लाख ५० माग गरेको छ ।
त्यसैगरी नापी अधिकृत ध्रुवप्रसाद अर्यालसँग ३ लाख ३० हजार, बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र संजयकुमार महर्जनसँग एक लाख १० हजार धरौटी माग गरेको हो । यस्तै अदालतले केशव तुलाधरलाई साधारण तारेखमा छाडिएको हो। यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २८९ जनालाई प्रतिवादी बनाएको थियो । जसमा २१ जना प्रतिवादीको भने मृत्यु भइसकेको छ । विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो ।
मुलुक बीपी कोइरालाले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको छ ः देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक बीपी कोइरालाले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको बताएका छन् । बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बीपी साहित्य महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले विपीले देखाएको राजाितीक चिन्तनले नै मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको बताए ।
सभापति देउवाले आफुहरु बीपीको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेको पनि बताए । तर अझै बीपीको विचारलाई प्रयाप्त छलफल तथा बहस गराउन नसक्नु कमजोरी भएको उनको भनाइ छ ।आर्थिक समानताका सम्बन्धमा मार्क्सवादी चिन्तनलाई पनि बीपीले आवश्यक ठान्ने गरेको उनले बताए । निरपेक्ष साम्यवाद र निरपेक्ष पुँजीवाद दुवै अपूर्ण देखेर बीपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्त अघि सारेको बताउँदै देउवाले भने, ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्रलाई झिकिदियो भने साम्यवाद हुन्छ ।’
महासचिव पोखरेलद्वारा माओत्सेतुको समाधिस्थल अवलोकन
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता तथा नयाँ जनवादी क्रान्तिका नेता अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहेका उनले उच्चस्तरीय प्रतिनिधि मण्डलसहित आज बिहान बेइजिङस्थित समाधिस्थल पुगेर माओत्सेतुको समाधिस्थल अवलोकन गरेको एमाले प्रचार विभाग सदस्य राजेश राईले जानकारी दिए ।
महासचिव पोखरेलले शनिबार चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालयको अवलोकन गरेका थिए । महासचिव पोखरेलसहित पार्टीका उच्चस्तरीय टोली यही भदौ १६ गते पार्टीको चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन गएको हो ।
कोशीमा बजेटसम्बन्धी नयाँ अध्यादेश जारी
कोशी प्रदेश सरकारले बजेटसम्बन्धी दुइवटा अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले ‘कोशी प्रदेश आर्थिक अध्यायदेश’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश’ जारी गरेका हुन् । सर्वोच्चको परमादेशबाट एमाले कोशी संसदीय दलका नेतासमेत रहेका हिक्मत कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए । यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।
चीन भ्रमणबारे प्रचण्डले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरूसँग गरे छलफल
आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, नेपल सरकारका परराष्ट्रमन्त्री, पूर्वपराराष्ट्र मन्त्रीहरुलगायतसँग छलफल गरेका छन् ।
सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बिहान ९ बजेदेखि प्रचण्डले छलफल गरिरहेका हुन् । प्रचण्ड भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाँदैछन् । उनी न्युयोर्कबाटै असोज ५ गते बेइजिङ जाने तयारी छ । सोही कारण चीन भ्रमणमा सरकारले उठाउनुपर्ने एजेन्डाका विषयमा प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन् ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी छन् ।
प्रचण्डले आइतबार साँझ परराष्ट्रविद्हरूसँग चीन भ्रमणको तयारीबारे छलफल गर्ने कार्यक्रम छ ।
हङकङको भन्सारमा लागुऔषध फेला परेपछि प्रहरीले माग्यो पूर्ण विवरण
आधिकारिक जानकारीको माग गर्दै नेपाल प्रहरीले काठमाडौंबाट हङकङ पठाएको सामानमा लागुऔषध भेटिएको घटनाबारे पत्र पठाएको छ । आइतबार हङकङको अध्यागमन विभागलाई पत्र पठाउँदै नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले विवरण माग गरेको हो। लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी गोबिन्द थपलियाका अनुसार नेपालकै कार्गो कम्पनीले दिएको जानकारीका आधारमा अनुसन्धान जारी रहेको छ । आधाकारी जानकारीका लागि पत्र पठाएको उनले बताए ।
नेपालबाट कार्गो कम्पनीमार्फत बुक कभर भनेर पठाएको सामानमा हङकङ विमानस्थलमा लागुऔषध गाँजा फेला परेको थियो। उक्त विषयको अनुसन्धान पुरा गर्न पूर्ण विवरण माग गरिएको थपलियाले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूओषध छिरेपछि अहिले प्रहरीमाथि पनि अनुसन्धान जारी छ । विमानस्थल सुरक्षा प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोले छुट्टा छुट्टै छानबिन समिति बनाएर यो घटनाबारे छानबिन गरिरहेका छन्।
विमानस्थल सुरक्षा प्रहरीले एसपी पदम बिष्टको संयोजकत्वमा र लागुऔषध नियन्त्रण ब्यूरोले डीएसपी अनन्तराम शर्माको नेतृत्वमा समिति बनाएर छानबिन गरिरहेको छ। ब्यूरोबाट विमानस्थलमा डीयूटीमा खटिएका प्रहरीहरुलाई जिम्मेवारीबाट तानेर अनुसन्धान भइरहेको छ।
सेयर बजार बढ्यो
निरन्तर घटेको सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ । यस दिन नेप्से सूचक १०.२३ विन्दुले बढेर १९४२.६८ अंकमा आएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।मौद्रिक नीतिपछि बजार लगभग एकोहोरो ढंगले घट्यो । नीतिगत अवरोध र चर्को ब्याजदरका कारण बजार प्रभावित भएको अनुमान गरिएको छ ।
भदौंका लागि बैंकहरुले ब्याजदर बढाएकाले पनि बजार थप प्रभावित भएको हो ।
यद्यापि, अब असोजमा भने ब्याजदर केही घट्न सक्ने अनुमान गरिएको छ । किनभने अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित कोषमा रहेको रकममध्येबाट ६० प्रतिशत रकम निक्षेपका रुपमा गणना गर्न पाउने सुविधा दिएको छ ।
यस प्रावधानबाट झन्डै ६० अर्ब रुपैयाँ निक्षेप थपिने देखिएको छ । यसले ब्याजदर घटाउने सहयोग पुग्ने भएको हो ।८ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा हिमाल दोलखा हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः माछापुच्छे बैंक र शिवम् सिमेन्ट्स परेका छन् ।
२७६ कम्पनीको ४३ लाख १४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
१८ औँ जी २० शिखर सम्मेलन सम्पन्न
सदस्य सङ्ख्याका हिसाबले संभवतः संयुक्त राष्ट्रसङ्घ (युएन) र असंलग्न आन्दोलन ९नाम०पछि करिब एक सय राष्ट्र सदस्य रहेको अन्तरसरकारी मञ्च समूह २० अर्थात् जी २० को शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न भएको छ । जी २० का को अध्यक्ष देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत मण्डपमा आयोजित समापन समारोहमा समूहको १८ औँ शिखर सम्मेलन समाप्त भएको घोषणा गर्दै नयाँदिल्ली बैठकको समीक्षा आगामी नोभेम्बरको अन्त्यतिर श्रव्यदृश्य (भर्चुवल) समीक्षा बैठक गर्ने प्रस्ताव गरेका छन् । आगामी नोभेम्बरसम्म भारत समूहको अध्यक्ष रहनेछ ।
गत वर्ष डिसेम्बर १ मा बालीमा भएको १७ औँ शिखर सम्मेलनमा भारतले समूहको अध्यक्षता ग्रहण गरेको थियो । “तपाई सबैलाई ज्ञात छ नोभेम्बर २०२३ सम्म जी २० अध्यक्षको जिम्मेवारीमा भारत छ । यी दुई दिनमा तपाईं सबैले धेरै सुझाव दिए र प्रस्ताव राखे । ती विषयमा कसरी प्रगति गर्न सकिन्छ भनेर समीक्षा गर्नु हाम्रो कर्तव्य हो । आगामी नोभेम्बरको अन्त्यमा भर्चुवल बैठकका निम्ति म यहाँ प्रस्ताव गर्न चाहन्छु, आशा छ तपाईहरू त्यसमा सहभागी हुनेछन् । यससँगै जी २० शिखर सम्मेलन समापन भएको घोषणा गर्दछु,” अन्तरराष्ट्रिय आर्थिक सहयोगका लागि प्रस्ताव गरिएका प्रस्तावको समीक्षा आवश्यक भएको बताउँदै प्रधानमन्त्री मोदीले भने ।
दिल्ली शिखर सम्मेलन समाप्त भएको घोषणा गर्नुअघि प्रधानमन्त्री मोदीले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई जी २० को प्रतीकात्मक हथौडीसँगै अध्यक्षता हस्तान्तरण गरे ।
चक्रीय प्रणालीअनुसार जी २० को अध्यक्षता ब्राजिललाई हस्तान्तण गरिएको हो । आगामी डिसेम्बर १ देखि एक वर्षसम्म ब्राजिल समूहको अध्यक्ष हुनेछ । जी २० को १९ औँ शिखर सम्मेलन पनि अब ब्राजिलमा हुनेछ ।
समस्या बेवास्ता गरे पार्टी र नेताको नाममा संयुक्त आत्मदाह गर्ने जनयुद्धका घाइते तथा अपाङ्गहरुको चेतावनी
जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग संघर्ष समितिका पीडितहरुले घाईते तथा अपाङ्ग भएका व्यक्तिहरुको उचित व्यवस्थापन गर्न सरकार समक्ष माग गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले जनयुद्धका घाइते, अपाङ्गहरु तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारलाई अपील गरेका हुन् ।
नेताहरुलाई जंगलदेखि महलसम्म पुर्याउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाईते, अपाङ्गले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर पनि नपुग्ने अवस्था रहेको उनीहरुले बताए ।
जनयुद्धका घाईते, अपाङ्गहरु हातमुख जोर्न र औषधोपचार गर्न नसक्दा आत्महत्या गर्ने परिस्थितिमा रहेको उनीहरुको भनाई छ । राज्यले काम गरिखान नसक्ने अवस्थामा रहेका जनयुद्धका अपाङ्ग र घाईतेलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ । जनयुद्धको घाईते चेतन सिग्देलले सरकारले आफूहरुलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने बताए । आफूहरुको व्यवस्थापनमा राज्यले नजर अन्दाज गरेको खण्डमा संघर्षमा उत्रिने उनले बताए । अहिले माओवादी नेताहरुको राजर्शी जीवनशैली रहेको उनले टिप्पणी गरे ।
‘हामी काम गरिखान नसक्ने घाईते कयौं साथीहरुका लागि राज्यले तुरुन्तै गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गरोस् । यदि हाम्रो समस्याको बेवास्ता गरियो भने हामीहरु संघर्षमा जानेछौं । पार्टी र नेताको नाममा संयुक्त आत्मदाह पनि गर्नेछौं ।’ उनले भने, हाम्रो समस्याको बेवास्ता गरियो भने क्यान्टोनमेन्टभित्रको वास्तविकता पनि बाहिर ल्याउनेछौं ।’
पूर्वजनमुक्ति सेनाका कमाण्डर लाहानु चौधरीले आफूहरुले कसैको पनि दासत्व स्वीकार र चाकडी नगर्दा आज फेरि आवाज उठाउन पर्ने अवस्था आएको बताए । उनले पूर्वजनमुक्ति सेना कुनै पनि नेताको दास बन्न नहुने बताए ।
भारत र पाकिस्तानबीचको खेल वर्षाले रोकियो
एशिया कप अन्तर्गत सुपर फोर अन्तर्गतको भारत र पाकिस्तानबीचको खेल बर्षाले रोकिएको छ । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा जारी खेल अहिले बर्षाले रोकिएको हो । टस हारेर पहिला ब्याटिंग गरिरहेको भारतले २४.१ ओभरमा २ विकेट गुमाउदै १४७ रन बनाएपछि खेल रोकिएको छ ।
भारतका लागि अहिले केएल राहुल १७ र विराट कोहली ८ रन बनाएर खेलिरहेका छन् । यस अघि भारतका कप्तान रोहित शर्माले ५६ र शुभमन गीलले ५८ रन बनाएर आउट भएका थिए । त्यस्तै पाकिस्तानका बलर शाहिन शाह अफ्रिदी र शडाब खानले एक एक विकेट लिएका थिए ।
आज अब कम्तिमा २० ओभरको खेल हुन नसक्ने अवस्थाका लागि यस खेलमा भोलिका लागि रिजर्भ डे को व्यवस्था गरिएको छ । भारतए २० ओभरको ब्याटिंग गरिसकेकाले आज कम्तिमा २० ओभरको खेल हुने अवस्थामा पाकिस्तानको ब्याटिंग हुने छ । अन्यथा भोली आज रोकिएकै समयबाट खेल शुरु हुने छ ।




