संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार
भदौ २२ गत शुक्रबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । शुक्रबार तयार पारिएको मुख्य १० समाचारमा कोशीमा मन्त्रिपरिषद् विस्तार, ३ मन्त्री र एक राज्यमन्त्री नियुक्तदेखी विकास ऋण पत्रमार्फत् १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकारसम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

कोशीमा मन्त्रिपरिषद् विस्तार, ३ मन्त्री र एक राज्यमन्त्री नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री कार्की आजै पद तथा गोपनियताको शपथ लिने तयारी गरेका छ्न भने सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले आज तिलकुमार मेन्याङ्वो, एकराज कार्की, पाँचकर्ण राईलाई मन्त्री नियुक्ति गरेका छन् भने सिर्जना राईलाई राज्यमन्त्री बनाएका छन् । मेन्याङ्वो ताप्लेजुङ, कार्की झापा र राई खोटाङ्बाट विजयी भएका हुन । भने सिर्जना भोजपुरबाट समानुपातिक सांसद भएकी हुन् ।

कार्कीले मुख्यमन्त्रीमा शपथ लिएसँगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री हुने भएका छन् । मेन्याङ्बोले यसअघि कार्की नेतृत्वमै यही मन्त्रालय सम्हालेका थिए । त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ लिने भएका छन् । त्यस्तै, भोजपुरबाट समानुपातिक सांसद सृजना राई सामाजिक विकाश राज्यमन्त्री नियुक्त भएकी छन् ।

नेपालको वर्तमान संविधान बीपी विचारकै सार : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताएका छन् । जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति भवन शीतलनीवासमा आयोजना गरेको बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्य मान्यता बीपीले चाहेको समावेशी समाजको अवधारणाको सार भएको धारणा व्यक्त गरे । उनले बीपीको विचारलाई अन्यथा व्याख्या नगर्न पनि आग्रह गरे ।

“ राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई समय र परिस्थितिसापेक्ष बनाउँंदै त्यसैलाई अनुकरण गरेर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौं”, उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखा पर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माण गर्न बीपीले अघि सार्नुभएको कल्याणकारी राज्य प्रणालीको अवधारणा सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक छन् ।”

डिएसपीको सनकले ताप्लेजुङमा तनाव, प्रहरी कार्यालय घेराउ

ताप्लेजुङमा शुक्रबार बिहानैदेखि तनाव उत्पन्न भएको छ । नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडपको स्थिति बनेको हो । जिल्ला प्रहरी प्रमुख डिएसपी राजन लिम्बूको निलम्बन माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले प्रदर्शन गरेको छ । उनीहरूले जिल्ला प्रहरी कार्यालयमा ढुंगासमेत प्रहार गरेका छन् । प्रहरीले भने हवाई फायर गरेको छ ।

तरुण दलका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । कांग्रेस प्रदेश सांसद खगेनसिंह हाङ्गाममाथि प्रहरीले कुटपिट गरेको भन्दै तरुण दल ुशुक्रबार बिहानैदेखि आन्दोलित भएको हो । बिहीबार बेलुका प्रहरीले सांसद हाङ्गामको निवासको ढोकामा लात्ती हान्नुका साथै आक्रमण गरेको भन्दै कांग्रेस र भ्रातृसंगठन आन्दोलित भएको हो ।

तरुण दलका ताप्लेजुङ जिल्लाको कार्यवाहक सभापति पृथ्वीमान पालुङ्वाले सांसदको निवासमा प्रहरीले नियोजित आक्रमणको गरेकाले विरोध प्रदर्शन गरेको बताएका छन् । बिहीबार दिउँसो जात्रामा एक युवतीलाई मदिरा सेवन गरेका सुरक्षाकर्मीले छेडछाड गरेपछि कांग्रेस नेता कार्यकर्ताले सम्झाएका थिए । सोही विषयमा डिएसपी लिम्बूको नेतृत्वमा हतियारसहित गएको प्रहरीको टोलीले सांसद हाङ्गामको निवासमा हूलहुज्जत गरेको थियो ।

तरुण दलले प्रदर्शन गर्दै माग्यो गृहमन्त्रीको राजीनामा

तरुण दलले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेको छ ।तरुण दलले खुकुरी प्रहार गर्नेलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै प्रर्दशन गरेको हो । तरुण दलका पूर्व अध्यक्ष समेत रहेका यादवलाई रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार खुकुरी प्रहार भएको थियो ।

उक्त घटनाको विरोधमा कांग्रेस भ्रातृ संस्था तरुण दलले काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको हो । तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेको छ । तरुण दलको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले देशभर विरोध गर्ने निर्णय गरेको थियो । आक्रमणबाट घाइते यादवको टाउको पछाडि भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । गृहमन्त्री नहटाउने भए आफैं हट्नुपर्ने प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डलाई गुरुङले दिए चेतावनी । कांग्रेसको काँधमा बन्दुक राखेर माओवादीले अर्कै व्यवस्था ल्याउन खोजेको आशंका प्रकट गर्दै उनले यो सरकारलाई अब बोकेर हिँड्न नसक्ने बताए ।

ओलीलाई भेट्न बालकोट पुगिन् भट्टराई पुत्री मानुषी

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालकोट पुगेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफल भएको बताएकी छन्। उनी आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित बालकोट पुगेकी हुन्।

विचारकै आधारमा सांघातिक आक्रमण गर्न पाइँदैन : प्रवक्ता शर्मा

सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले कसैको विचारका आधारमा सांघातिक आक्रमण गर्ने छुट कसैलाई नभएको बताएकी छिन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै पूर्वमन्त्री समेत रहेका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमणको घटनाको प्रसंगमा उनले यस्तो बताएकी हुन् ।

सरकारले सांघातिक आक्रमण गर्नेलाई पक्राउ गरिसकेको बताउँदै उनले भनिन,‘लोकतन्त्र, गणतन्त्रमा सबै कुरा गर्न पाइन्छ, आफ्ना विचार व्यक्त गर्न पाइन्छ । तर, विचारका आधारमा कसैमाथि पनि सांघातिक आक्रमण गर्न पाइँदैन । यो संविधान, कानून र नियमविपरितकै कामहरु हुन् । त्यसबारे थप अनुसन्धान जारी छ ।’ अनुसन्धान टुंग्याएपछि सरकारले आफ्नो धारण सार्वजनिक गर्ने शर्माले बताइन् ।

प्रदेश निजामती विधेयक पारित

लुम्बिनी प्रदेश सभाले निजामती कर्मचारी विधेयक पारित गरेको छ । प्रदेश सभाको २५ औँ बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा आज पारित गरेको हो । बैठकमा आज शून्य समयमा सांसदहरु बोलेपछि दोस्रो कार्य सूचीमा सरकारको तर्फबाट मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । त्यसपछि सभामुख तुलाराम घर्ती मगरले विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।

यसअघि २४ औँ बैठकमा प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधारक पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस गरेका थिए। सरकारले पेस गरेको विधेयकमा १२ औँ तह सम्मको कर्मचारी प्रदेशबाट नियुक्त गर्ने प्रावधान छ। उपसमितिले भने १३ औँ तह सम्मको कर्मचारी प्रदेशले आफै नियुक्त गर्न सक्नेगरी थप गर्न सुझाव दिएको थियो । तर, उपसमितिको ठोस सुझाव भन्दा केही फरक विषय थपेर प्रतिवेदन पेस गरिएको पाइएको छ ।

नेपालमा लगानी गर्न लगानीकर्ताहरूलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको अनुकूल वातावरण बनेको भन्दै लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह गरेका छन् । लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले लगानीको अनुकूल वातावरण बन्दै गएको अवस्थामा लगानीको प्रभावकारी सदुपयोग र जोखिममुक्त गर्न सरकार प्रतिबद्ध रहेको भन्दै लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह गरेका हुन् ।

संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले व्यवसाय र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको भन्दै कोभिड महामारी, विश्वव्यापी द्वन्द्व र जलवायु परिवर्तनका कारणले तोकिएको समयसीमाभित्र लक्ष पुरा गर्नु प्रमुख चुनौतीको रूपमा रहेको जिकिर गरे ।

जानकी मन्दिरका पुजारीमाथि खुकुरी प्रहार

रौतहटमा एक मन्दिरका पुजारी (साधु)माथि सांघातिक आक्रमण भएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

स्थानीय व्यक्तीका अनुसार बिहिवार राति करिब ११ बजे खाना पकाउने समयमा अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए । अहिले उनको पिपरा बजारस्थित बागमती अस्पतालमा भइरहेको छ । साधु साहमाथि आक्रमण भएको थाहा पाएपछि स्थानीयले उपचारका लागि अस्पताल पु¥याएको बताए । अहिले उनको उपचार पिपरा बजारस्थित बागमती अस्पतालमा भइरहेको छ । रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले साधुमाथि आक्रमणबारे भर्खर जानकारी पाएको र अनुसन्धानका लागि प्रहरीलाई तत्काल त्यहाँ पठाइएको बताए । उक्त घटनाबारे थप जानकारी आउन बाँकी छ ।

विकास ऋणपत्रमार्फत् १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको हो । केन्द्रीय बैंकले १० अर्ब रुपैयाँको ६ वर्ष अवधि भएको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्न लागेको हो । यस ऋणपत्रका लागि आइतबार भदौ २४ गते दिउँसो ३ बजे बोलकबोल हुने भएको छ । यसको निष्कासन मिति भने भदौ २५ गते तोकिएको छ । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *