भदौ २१ गत बिहिबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
बिहिबार तयार पारिएको मुख्य १० समाचारमा संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णयदेखीकाठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको आर्यकाटमा दाहसंस्कारसम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले संघीय निजामती सेवा ऐन संसदमा पेश गर्ने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो । बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष झालाई रिक्त आयोगको उपाध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
बैठकले निजामती सेवा दिवसका अवसरमा निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय पनि गरेको छ । बैठकले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने निर्णय पनि गरेको छ । मन्त्री शर्माका अनुसार तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने, स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश
सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो ।
सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ । तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन । पछिल्लो पटक गत साउन ३२ गते उक्त मुद्दामा सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरीकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएर टुंगिएको थियो ।
पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न पुनः आदेश दिएको हो । न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा नराखी गौशाला–२६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएको हो । हेर्दाहेर्दैमा नपरेपछि मुद्दा फेरि अर्को न्यायाधीशको इजलासमा पेशी चढ्ने भएको छ ।लामिछानेविरुद्ध गत वर्षको भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्त काठमाडौंमा जाहेरी दिएकी थिइन् ।
कोशीमा सरकार ढल्यो, एमालेको सरकार बन्ने
सर्वोच्च अदालतले पूर्व आदेस बमोजिम १६८ (३) अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई ४८ घण्टा भित्र सरकार गठनको परमादेश दिएको छ । सर्वोच्च अदालतले न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि यस्तो आदेश दिएको हो।
अदालतले निर्णायक मत संविधानसम्मत मान्न नमिल्ने र इसराइल मन्सुरीको मतसमेतको मतलाई बहुमत मान्न नमिल्ने भएकोले वहुमत पाएको निर्णय उत्प्रेषणको आदेसले बदर भएको जनाएको छ । कार्कीले ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री बनाउन माग गर्दै कोशी प्रदेशका मुख्यमन्त्री विरुद्ध सर्वोच्चमा रिट दिएका थिए । निवेदक कार्कीको माग बमोजिम रिट जारी गर्दै सर्वोच्चले उनलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश जारी गरेको हो ।
थापाले विश्वासको मत लिँदा प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएका थिए । सर्वोच्चले बराबर मत भएमात्रै बैठकको सभाध्यक्षले मत दिन सक्न ठहर गरेको छ । मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा पक्षमा ४६ र विपक्षमा परेको ३० लाई ४५ मानी बैठकको अध्यक्ष गरेका अन्सारीले दिएको मत संविधान सम्मत नरहेको जनाएको छ ।
अब संसद्को सबैभन्दा ठूलो पार्टी नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।
सरकारलाई सभामुखको रुलिङ
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री एवं संविधान सभा सदस्य महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरुले सो घटनाबारे गम्भीर ध्यानाकर्षण गराएपछि उनले सो घटना र कान्ति बाल अस्पतालमा उपचारको अभाव ज्यान गुमाएकी ५ वर्षीया बालिकाबारे सम्पूर्ण जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।
सभामुख घिमिरेले भने, ‘आजको आकस्मिक, शुन्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य एवं नेपाली काँग्रेसका सहमहामन्त्री श्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुराहरु छन । यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु ।’ बैठकमा सांसदहरुले ती दुवै अपराधिक घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए ।
नर्सिङ शिक्षाको विवाद संसदीय समितिमा
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बीच कार्यक्षेत्रबारे विवाद हुँदा नर्सिङ शिक्षा प्रभावित भएको विषयमा सरोकारवाला पक्षसँग छलफल सुरु गरेको छ । सो विषयमा समितिमा प्राप्त उजुरी र उत्पन्न समस्याका विषयमा समितिले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, मन्त्रालयका सचिव सुरेश अधिकारी, आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी, परिषद्का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र उजुरीकर्ता सरोकारवाला संस्थाका प्रतिनिधिसँग छलफल गरेको हो ।
समितिका सभापति भानुभक्त जोशीले समस्या समाधान खोज्न शुक्रबारको बैठकमा यस विषयमा निरन्तर छलफल हुने बताए । समितिको आगामी बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पनि आमन्त्रण गरिने उनले जानकारी दिए ।राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी भएपछि पिसिएल नर्सिङलगायत चिकित्सा शिक्षा सबै सो कानुनको परिधिबाट सञ्चालन हुनुपर्ने आयोगको तर्क र आफ्नो बेग्लै कानुनका आधारमा विगतदेखि सञ्चालित नर्सिङ शिक्षालाई आयोगले हस्तक्षेप गर्न नहुने अडानका कारण विद्यार्थी प्रभावित हुँदै आएका छन् ।
तरुण दलले माग्यो गृहमन्त्रीको राजीनामा, शुक्रबार काठमाडौँमा विरोध सभा गर्ने
नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।
तरुण दलका पुर्वअध्यक्ष एवं नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार काठमाडौँमा भएको सांघातिक आक्रमणको विरोध गर्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो । बुधबार खुकुरी आक्रमण गरिएका यादवको अहिले ट्रामा सेन्टरमा उपचार भइरहेको छ र उनको स्वास्थ्य स्थीर रहेको अस्पतालले बताएको छ ।
विहिबार काङ्ग्रेस पार्टी कार्यालय सानेपामा भएको भेलामा तरुण दलका अध्यक्ष विद्धान गुरुङले गृहमन्त्रीको राजीनामा माग गर्दै शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने बताएका हुन् । तरुण दलले शुक्रबार दिउँसो १ बजे शान्ति बाटिका रत्नपार्कमा उपस्थित भएर विरोधसभा एवं र्यालीको कार्यक्रम आयोजना गर्ने भएको छ । तरुण दलले विरोध सभा अघि शुक्रबार विरोध र्याली बागबजार ,पुतलीसडक हुँदै फेरि रत्नपार्कमा आएर कोण सभामा परिणत हुने जानकारी दिएको छ ।
चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउन जनमतको माग
जनमत पार्टीले चिनियाँ राजदूत छेन सोङलाई तत्काल फिर्ता पठाउन माग गरेको छ। पार्टीका तर्फबाट उपाध्यक्ष अब्दुल खानले बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको बताए । उपाध्यक्ष खानले चिनियाँ राजदूतसँग स्पष्टीकरण लिन समेत माग गरेका छन् ।
‘नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनश्यता लगाउने काम गर्न खोजिएको छ । यो घोर निन्दनीय छ। यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदार रूपमा गर्दछु’, उपाध्यक्ष खानले भने।
अमेरिकी सेनाको टोली काठमाडौंमा
नेपाली सेनासँगको सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको छ। अमेरिकी सैनिक अधिकारी लिम कमेन्टरको नेतृत्वमा १२ जना अमेरिकी सैनिक काठमाडौं आइपुगेका हुन्। अमेरिकी वायु सेनाको विशेष जहाजबाट अमेरिकी सेनाको टोली काठमाडौं आएको हो। नेपाली सेना र अमेरिकी सेनाबीच भदौ २४ देखि असोज १२ गतेसम्म काठमाडौंमा संयुक्त सैन्य अभ्यास हुँदैछ।
नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ । नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बङ्गलादेश, इजरायललगायत देशहरुका सैन्य सङ्गठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतङ्कवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकालगायत विषयमा संयुक्त तालिम तथा अभ्यासमा सहभागी हुँदै आएको छ ।
राप्रपाको स्पष्टोक्ति– कांग्रेस सहमहामन्त्रीमाथि आक्रमण गर्ने व्यक्ति राप्रपाका होइनन्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गर्ने व्यक्त आफ्नो पार्टीको कार्यकर्ता नभएको स्पष्टीकरण दिएको छ । राप्रपाका महामन्त्री डा. धवलशमशेर जबराले राप्रपाले हिंसाको राजनीति नगर्ने स्पष्ट गर्दै यादवलाई आक्रमण गर्ने व्यक्ति राप्रपाको कार्यकर्ता नभएको बताए ।
उनले यादवमाथि आक्रमण गर्ने व्यक्तिलाई कानुन अनुसार कारवाही हुनुपर्ने बताउदै यस घटनामा राप्रपा संलग्न नरहेको स्पष्ट गरेका छन् । घटनाको क्रममा आफु पनि सो ठाउमा रहेको बताउदै जबराले ति व्यक्तिले राजसंस्थाको नारा लगाएको र एमसीसीको विरोध गरेको साथै रिपोर्टर्स क्लबमा यादवले बोल्दा समेत विरोध गरेको आफुले देखेको बताए ।
काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको आर्यकाटमा दाहसंस्कार
काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उपचारका क्रममा उनको आज बिहान ०७ः३० बजे निधन भएको थियो । उच्च ज्वरो र निमोनियाँ देखिए पछि उनलाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीका अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखियो । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगियो । पशुपतिस्थित आर्यघाटमा दाहसंस्कारअघि काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) ले रिजाललाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए । उनको जन्म २०२७ साल कार्तिक १९ गते भएको हो ।रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् ।




