भदौ २० गत बुधबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
बुधबार तयार पारिएको मुख्य १० समाचारमा खुकुरी प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका यादवको राष्ट्रिय ट्रमा सेन्टरमा आइसीयुमा उपचार हुँदै देखीएकै पटक देशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन, २३० ठाउँमा चार्जिङ स्टेशन स्थापनासम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
खुकुरी प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका यादवको राष्ट्रिय ट्रमा सेन्टरमा आइसीयुमा उपचार हुँदै
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले नेपाली काँग्रेसका सहमहामन्त्री तथा पुर्वमन्त्री महेन्द्र यादवको टाउकोमा गम्भीर चोट लागेका बताएको छ । टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएको र त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको पाईएकाले अहिले आइसीयुमा राखेर उनको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
यादवमाथि बुधबार दिउँसो रिपोर्टर्स क्लबमा नुवाकोटका श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेपछि गम्भिर घाइते भएका मन्त्री यादवलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि दिउँसो २ः बजेर २० मिनेटमा लगिएको थियो । उनकोको सिटी स्क्यान गर्दा आन्तरिक कुनै पनि चोट नदेखिएको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ ।
टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्युरो सर्जरी अर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरुद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाउँनुका साथै अवर्जरभेसनका लागि राष्ट्रिय ट्रमा सेन्टरको आइसीयुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ । अस्पतालका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा राखिएको राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले जानकारी दिए ।
एमालेभित्र बिस्फोट हुन्छ– झलनाथ खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र बिस्फोट हुने बताएका छन्।बुधवार नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा एमालेभित्र बिस्फोट र बिद्रोह हुने दाबी गरेका हुन्। एमालेको दक्षिणपन्थि कार्यदिशाका कारण पार्टी भित्रैबाट बिद्रोह हुने उनले बनताए। जनताको बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने उनको भनाइ छ। एमाले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुने पनि उनले बताए।
उनले भने, ‘आज यही मञ्चबाट तपाई हामीले एमाले छोडेर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)मा आज हामीले प्रवेश गराएका छौँ। यो के कुराको थालनी हो भन्दाखेरी अब एमालेभित्र पहिरो जाँदैछ। र हामीले सही बाटो लिएर अगाडी बढ्यौँ भने हाम्रो पार्टी केही वर्षभित्रमा एउटा राष्ट्रव्यापी पार्टी बन्न सक्छ। उपत्यकाभित्र त एउटा पहिरो जानुपर्छ, पर्छ। देशव्यापी रुपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको जो एमाले छ, त्यो एमालेको पंक्तिभित्र अब पहिरो जान्छ। अब जबजबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ। र एमालेले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुनुपर्छ। यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ। बिस्फोट हुनसक्छ।’
उनले एमालेको गलत कार्यदिशाका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरुले सही विचार र कार्यदिशा लिनुपर्ने बताए। उनले एमाले राप्रपा, लोसपा र काँग्रेस जो सँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊ सँग कुनै सिद्धान्द र दृष्टिकोण नभएको बताए। एमाले भयानक अलमलमा रहेको पनि उनको टिप्पणी थियो।
चिनियाँ राजदूतलाई परराष्ट्र मन्त्रालयले बोलाएर स्पष्टीकरण सोध्नुपर्छ ः सहमहामन्त्री महेन्द्र यादव
नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । उनले भने,‘नेपालका लागि चिनियाँ राजदुतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, बास्तवमा यो नेपालमा यसले एक किसिमले तरंग ल्याएको छ । यो कुटनीतिक मयार्दाको विपरित हो । नेपाल सार्वभौमसत्तासम्पन्न मुलुक हो । हामी कोसँग मित्रता राख्छौं ? कोसँग व्यापार गर्छौ, यो हाम्रो निजी मामिला हो ।’
रिपोर्टर्स क्लब नेपालले आज (बुधबार) आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले यस्तो बताएका हुन् । उनले भने,‘चीनसँग पनि हाम्रो मित्रवत् व्यवहार छ ।
चिनियाँ राजदूत भनेको यहाँ दुई देशबीचको सम्बन्ध बलियो बनाउन आउनुभएको हो । तर, नेपालको अरू देशसँग सम्बन्ध बिगार्न उहाँलाई कसैले पनि अधिकार दिएको छैन् । उहाँले जुन बोल्नुभएको छ, नेपालको सार्वभामिकतामाथि हनन हो । नेपालीहरुलाई उहाँले अपमानित गर्नुभएको छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालसँग भारतको विशेष किसिमको सम्बन्ध रहेको उल्लेख गर्दै चिनियाँ राजदुतले नेपाल र भारतबीचको सम्बन्धलाई अवरोध पुर्याउने काम गर्न नहुने बताए । उनले भने,‘विद्युतको कुरा गर्दा हामीले यसपालि १० अर्ब निर्यात गरेका छौं ।
भारतसँग भने १७ अर्ब विजुली किनेका छौं । नेपालमा लोडसेडिंग भएको बेला भारतले सहयोग गरेको हो । भारत हाम्रो विशेष छिमेकी मुलुक हो । हामीबीच खुला सिमा छ । संस्कृति, खानपान, देवीदेवता लिएर सबै मिल्छन् । यही भएर विशेषखालको समबन्ध छ । यो सम्बन्धमा चिनियाँ राजदूतले यो अवरोध पुर्याउने काम गर्नुहुँदैन् ।’
महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही नगरे आँधी बेहेरी को मुचुल्का उठाउने तरुण दलको चेतावनी
नेपाल तरुण दलले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कारबाही नगरे देशव्यापी रुपमा आँधी बेहेरीको मुचुल्का उठाउने सरकारलाई चेतावनी दिएको छ । सहमहामन्त्रीमाथि रिपोर्टर्स क्लबमा भएको घटनापछि नेपाल तरुण दलले एक विज्ञप्ती जारी गर्दै सरकारलाई यस्तो चेतावनी दिएको हो ।
नेपाल तरुण दलको पुर्व अध्यक्ष ,पुर्व खानेपानी मन्त्री एवं नेपाली काङ्ग्रेसको सह महामन्त्री महेन्द्र यादवमाथि दिउसैँ गुन्डागर्दी शैलिमा खुकुरी प्रहार गरि साङघातिक आक्रमण भएको घटनावारे नेपाल तरुण दलको घोर भर्त्सना र निन्दा भएको जनाएको छ । नेपाल तरुण दलले नेपालको प्रहरि प्रशासन मुकदर्शक बनी भएको घटना नेपाल तरुण दलले सामान्य नभएको जनाउँदै दोषी नै नभएको व्यक्तीलाई पक्राउ गर्न अघि सर्ने नेपाल प्रहरी दिउसैँ हात हतियार सहित हिडडुल गर्ने व्यक्ती चिन्न नसक्ने यस्ता कार्यप्रति चुप लागेर सहेर बस्न नसक्ने जनाएको छ ।
हरेक समय नेपाली काङ्ग्रेसको प्रभावशाली नेताहरु हरुलाइ छानी छानी आक्रमण गर्ने यो मनस्थितिको बिषयमा नेपाल तरुण दल नेपाल सरकारको प्रधानमन्त्री एवं नेपाल सरकार गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदछ, नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नेपाल तरुण दलको सम्यम्ता माथी यदि कोहि व्यक्ती वा संस्था लाग्छ भने यो राष्ट्रमा आधी बेहेरी को मुचुल्का उठ्नेछ र हुन सक्ने परिस्थितिको जिम्मेवार स्वयं नेपाल सरकार एवं गृहमन्त्री रहेको जारी विज्ञप्तीमा उल्लेख छ ।
एमालेलाई सरकारमा सहभागी हुन हतार छैन– ईश्वर पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सरकारमा जान हतार नभएको बताएका छन् ।प्रेस चौतारी नुवाकोटले आज बट्टारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार ढाल्ने र बनाउने कसरतमा भन्दा पनि एमाले आफ्नो पार्टी सुदृढीकरण अभियानमा लागेको छ भने ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले भने “वर्तमान सरकारमा सहभागी हुने मनसाय पार्टीको छैन । सरकारलाई ढाल्ने प्रयासमा लाग्नुभन्दा पनि आगामी निर्वाचनमा बहुमत ल्याउने गरेर सङ्गठन निर्माणमा केन्द्रित हुन व्यस्त छौँ ।”उनले ‘समृद्ध नेपाल– सुखी नेपाली’को आकांक्षा एमालेले मात्रै पूरा गर्नसक्ने जनाउँदै विचार र ‘एजेण्डा’ बिनाका दलहरुबीच निर्वाचनमा गठबन्धन नहुने टिप्पणी गरे । पार्टीलाई बलियो बनाउन जबजको विकास तथा दशौँ महाधिवेशनको कार्यदिशा र कार्यभार अनुसार पार्टीको नेतृत्वतहदेखि तल्लो तहसम्मनै विधिबाट निर्देशित हुने भएकाले पार्टीमा कुनै वैमनश्यता नरहेको उनले दाबी गरे ।
लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । मंगलबार नेतृत्वका लागि भएको निर्वाचनको बुधबार बिहान भएको मतगणनामा अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका हुन् ।मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् ।विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन्। पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ ।
यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो ।त्यस्तै गरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन् । उनीसँगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याएका थिए । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन् । उनीसँग दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याएका थिए ।
महिला उपसचिवमा लिला रानामगर ३५२ मत ल्याएर विजयी भएकी छन् । उनीसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याएका थिए ।यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । उनले प्रतिस्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गरेका हुन् । मंगलबार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो विजयी उम्मेदारहरुलाई बुधबार बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिएका छन् ।
समाजवादी मोर्चाले तीन प्रदेशमा सन्देश सभा गर्ने
समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने भएको छ । मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो । मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिए । मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ ।
बागमतीको हेटौँडामा र सुदूरपश्चिमको धनगढीमा हुने सभाको संयोजन नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले गर्ने छ । कोशीको विराटनगरमा गरिने कार्यक्रमको संयोजन जनता समाजवादी पार्टीले गर्ने तालिका छ । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् । प्रशासकीय र लेखा अधिकृतले गरे ।
कार्यकक्षमै अनैतिक क्रियाकलाप, भिडियो भयो सार्वजनिक
इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ । प्रशासकीय अधिकृत राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, चुम्वन गर्ने लगायतका काम गरेको भिडियोमा देखिन्छ । भिडियोमा रहेको मिति अनुसार उक्त भिडियो गत असार २३ गते खिचिएको हो ।
महिला कर्मचारी कार्यकक्षमा प्रवेश गर्नु अगाडि नै कुरेर बसेका प्रशासकीय अधिकृतले आउने वित्तिकै अँगालो हाल्छन् र चुम्वन गर्छन् । यस्तै, महिलाले पनि राईको गाला सुम्सुम्याउने गरेको देखिएको छ । त्यसपछि महिला कर्मचारीले खाममा रहेको पैसा गन्न दिन्छिन् । अधिकृत राईले पैसा गनेर पुनः महिला कर्मचारीलाई दिएको देखिन्छ ।
विद्युतीय चार्जिङ स्टेसनको निमार्णमा निजी क्षेत्रले पनि काम गर्न आवश्यक छ ः निर्देशक घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनको लागि निजी क्षेत्रले लगानी गर्नुपर्ने बताएका छन् । बुधवार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको बुधबार संयुक्त रुपमा उद्घाटन भएको छ । उक्त कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो बताएका हुन् ।
विद्युतीय सवारी साधनको बिस्तार र चार्जिङ स्टेशन विस्तारको लागि निजी क्षेत्रको अग्रसरता आवश्यक रहेको उनको भनाइ छ । निजी क्षेत्रलाई चार्जिङ स्टेशन बिस्तारको लागि ल्याउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको निर्देशक घिसिङले बताए ।‘ उनले आगामी दिनमा नेपालको ग्रीन इनर्जी कन्भर्सन हुने र यसले नेपालको अर्थतन्त्रलाई सकरात्मक योगदान पुग्ने बताए ।
देशभर ५१ वटा चार्जिङ स्टेशन शुरु गरेको दुई वर्ष भएको बताउँदै उनले प्राधिकरणले ११ वटा थप गर्ने योजना रहेको बताए । नेपालमा थप विद्युतीय चार्जिङ स्टेनको स्थापनाका लागि सरकारी निकायलाई सहयोग गर्न निजप् क्षेत्रको आवश्यकता रहेकाले नीजि क्षेत्रलाई विद्युतीय चार्जिङ स्टेसन स्थापना जोड्न सरकारले नीति बनाउन लागिएको बताए ।
उनले भने,‘ नीजि क्षेत्रलाई विद्युतीय चार्जिङ स्टेसनहरु यात्रा गर्दा सहज हुने गरी बनाउनको लागि निजी क्षेत्रलाई ल्याउनको लागि नीति बनाउन लागिएको छ’ प्राधिकरणले दिनुपर्ने सेवा ट्रान्सफरमर देखि विद्युत सप्लाईको साइटमा लगानी गरिरहेको र जग्गा र चार्जिङ स्टेशन निजी क्षेत्रलाई अरु सेवा सुविधाहरु प्राधिकरण लगानी गर्ने निर्देशक घिसिङले बताए ।
एकै पटक देशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन, २३० ठाउँमा चार्जिङ स्टेशन स्थापना
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका देशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन भएको छ । बुधबार नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेत पुलिस क्लबमा बनेको चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन् । नेपाल विद्युत प्राधिकरणले बुधबारबाट देशभरीका चार्जिङ स्टेसनको उद्घाटन भएको छ । नेपाल विद्युत प्राधिकरणले तीन वर्ष अगाडी उद्घोष गरेका कुराको बुधबार प्रमाणीकरण भएको छ ।
कोभिड महामारी र रुस–युक्रेन युद्धकाकारण विश्वभर कच्चा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालले मात्र होइन अन्य देशले पनि विद्युतीय सवारी संचालनमा जोड दिन थालेका छन् । अहिले निजी क्षेत्रले समेत विद्युतीय चार्जिङ स्टेसनहरु निमार्ण गर्ने कुरामा अगाडी बढी रहेका छन् ।
नेपालमा पेट्रोलियम पदार्थको मुल्यमा आएको आर्थिक भार घटाउनका लागि नै नेपाल विधुत प्राधिकरणले चाजिङ स्टेशन निमार्ण जोड दिएको हो । अहिलेसम्म देशभरमा २३० ठाउँमा चार्जिङ स्टेशन स्थापना भइसकेको प्राद्यिकरणले जनाएको छ । यस्तै नेपालमा विद्युतीय गाडी संचालनमा जोड दिँदै आएको छ । पछिल्लो समय नेपाल प्राधिकरणले चार्जिङ स्टेशन निमार्णमा नीजी क्षेत्रलाई पनि स्टेशन निर्माण प्रोत्साहन गर्दै आएको छ ।




