भदौ १८ गते सोमबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा हत्या अभियोगमा सांसद अनिरुद्धसिंह पक्राउदेखी जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थानसम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
हत्या अभियोगमा सांसद अनिरुद्धसिंह पक्राउ
काठमाडौं । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरिएको जनाएको छ । जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेका सांसद यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्र कार्कीले जानकारी दिएका छन् । उनका अनुसार माओवादी नेता गोबिन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई पक्राउ गरिएको हो । सांसद यादवलाई पक्राउ गरी अदालतमा बुझाएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले बताए । उनलाई प्रहरीले अहिले राजविराजस्थित जिल्ला अदालतमा हाजिर गराएको छ ।
एमाले महासचिव सहितको टोली चीनमा
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ ।टोली आज बिहान जनवादी गणतन्त्र चीनको मुख्य सहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा आयोजित विचार आदनप्रदान कार्यक्रममा सहभागी हुनुका साथै स्कुलको अवलोकनसमेत गरेको छ ।
कार्यक्रममा सहभागी हुँदै महासचिव पोखरेलले नेकपा एमाले जनताको बहुदलीय जनवाद (जबज) को सम्मान गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहित नेपाली कम्युनिष्ट आन्दोलनको अगुवाइ गरिरहेको बताए । उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उक्त लक्ष्य पूरा गर्दै समाजवादको आधार तयार गरिने जनाए । कार्यक्रममा चिनियाँ आधुनिकरणमा छोङछिङको अभ्यासको बारेमा प्रो सुन लिङ उले र प्रोसेसर दा सिउ लाईओईले ‘नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवाद सि बिचारधारा’ विषयमा प्रस्तुति गरेका थिए ।
टोलीमा एमालेका स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू ज्वाला कुमारी शाह, राम राना, टुकादेवी हमाल, सहदेव देवकोटा, रचना खड्का, नीरज आचार्य, मन्जु गुरुङ, अजयकुमार गुप्ता, मानवीर राईलगायत छन् ।
३७ सदस्यीय बि.पी. साहित्य महोत्सव मूल तयारी समिति गठन
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८० श्रावण २ देखि १० गते सम्पन्न बैठकले केन्द्रीय कार्यालयको प्राङ्गणमा भाद्र २४, २५ र २६ गते बिपी साहित्य महोत्सवको आयोजना गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुसार कांग्रेसले महोत्सव सम्पन्न गर्न पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय बि,पी, साहित्य महोत्सव मुल तयारी समिति गठन गरेको छ ।
भदौ २४ गते बस्ने गरी राष्ट्रिय सभा बैठक स्थगित
एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।राष्ट्रिय सभाको अर्को बैठक भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८०’ प्रस्तुत भयो । प्रस्तुत प्रतिवेदनलाई सभाले सर्वसम्मत रुपमा स्वीकृत ग¥यो ।
साथै उक्त प्रतिवेदनमाथि राष्ट्रिय सभामा सोमबार नै छलफल भयो । छलफलमा १० जना सांसदले भाग लिए । सांसदहरुले संविधान अनुसार कानुन नबन्दा प्रदेश र स्थानीय तहले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गरे ।कानुन अभावमा संविधानः प्राप्त अधिकारको सदुपयोग हुन नसकेको बताए । कानुन अभावमा अराजकता समेत बढ्दै गएको भन्दै सांसदहरुले सरकार जवाफदेही बन्नुपर्नेमा जोड दिए ।
जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान अनुकुल बनाउनुपर्ने कानुन बनाउने कार्यमा अग्रसर रहेको बताए । विगतमा विविध कारणले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरू बन्नमा ढिलाइ भएको स्वीकार गर्दै उनले एक एक गरी विधेयकहरू संसद्मा ल्याउने प्रतिवद्धता जनाए । प्रधानमन्त्रीको जवाफ पछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक साता बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टको जग्गा अनियमितता प्रकरणको छानबिन गर्न सांसदको माग
सांसदहरुले गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा प्रकरणमा अनियमितता भएको चर्चा सञ्चारमाध्यम लगायतमा आइरहेकाले यसको छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद राजेन्द्रकुमार केसीले गिरीबन्धु टी स्टेटमा हदबन्दी छल्ने गरी कानुन बनाएर भ्रष्टाचार गरिएको दाबी गरे ।
नेपाल ट्रष्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा कौडीको भाउमा नेपाल सरकारले यति होल्डिङसलाई भाडामा दिएकाले छानबिनको माग गरेका हुन् । सांसद रामहरि खतिवडाले पनि गिरीबन्धु टी स्टेटका विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरे । भ्रष्टाचारका काण्डमा छानबिन भइरहेका बेला यी घटनामा तत्काल छानबिन गरी दोषी पत्ता लगाउन उनले माग गरेका हुन् । सांसद महेश बस्नेतले इलाम र झापामा रहेका चिया बगान निजीकरणका नाममा भ्रष्टाचार भएको भन्दै छानबिन गरिनुपर्ने बताए ।
सांसद भानुभक्त जोशीले शून्य समयका विषय सरकारले सम्बोधन नगरेको बताउदै संसद्मा उठेका विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए । सांसद मङ्गलप्रसाद थारुले सरकारी निकायमा बेरुजु बढ्दै गएकाले यसको नियन्त्रण गरी भ्रष्टाचार रोक्न माग गरे । सांसद योगेशकुमार भट्टराईले पहाडी जिल्लामा जग्गाको वर्गीकरण अव्यावहारिक भएकाले सच्याउन माग गरे ।
ताप्लेजुङ जिल्लामा कर कार्यालय नभएकाले कर तिर्न पनि समस्या रहेको उल्लेख गर्दै उनले कर कार्यालय जिल्लामै खोल्न पनि सरकारको ध्यानाकर्षण गराए । सांसद रघुजी पन्तले चुच्चे नक्साका विषयमा सरकारले अहिलेसम्म के के गरेको छ, त्यसको जानकारी संसद्मा गराउन माग गरे । सांसद रञ्जुकुमारी झाले २०७८ साल असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरीमा शिलान्यास गरेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पताल अलपत्र रहेकाले छिटो निर्माणको वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।
सांसद रमा कोइराला पौडेलले केही वर्षदेखि भक्तपुरका विभिन्न स्थानमा स्मार्ट सिटीका नाममा जग्गा रोक्का राखी स्थानीयलाई दुःख दिने काम भएकाले स्मार्ट सिटी नबनाउने भए जग्गा फुकुवा गर्नुपर्नेमा जोड दिईन् । सांसद रामनाथ अधिकारीले दैनिक उपभोग्य वस्तुको मूल्य कति भएपछि सरकारले नियन्त्रण गर्ने हो ? भनी प्रश्न गरीन् ।
एसिया कपमा भारत–नेपालको खेल वर्षाले रोकियो
एसिया कप क्रिकेटको पाँचौं खेलमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ । श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालले ६ विकेट गुमाएर १७८ बनाएको छ ।
जलस्रोत अनुसन्धान विकास केन्द्रका अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जलस्रोत अनुसन्धान विकास केन्द्र पुलचोकका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध मंगलबार गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। २०५३ जेठ १७ देखि २०७९ मंसिर २८ सम्म कार्कीले आर्जन गरेको सम्पत्ति अनुसन्धान गर्दा वैध आय १ करोड ८ लाख ४८ हजार ५ सय ९० मात्रै देखिएको अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ।
अख्तियारले स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी त्यति नै जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय माग दाबी गरेको छ। सम्पत्ति जफतका लागि अख्तियारले कार्कीकी पत्नी उर्मिला थापा कार्कीलाई समेत प्रतिवादी बनाइएको छ।
अनुसन्धानका क्रममा कार्की उनको परिवारका नाममा ५ करोड ७५ लाख ८७ हजार ३ सय ७० रुपैयाँ भेटिएको अख्तियारले जनाएको छ। कार्कीले घर निर्माण, जग्गा खरिद तथा विभिन्न कम्पनीमा सेयर लगायतमा स्रोत नखुलेको सम्पत्ति जोडेको पनि भेटिएको छ।
राष्ट्रपति पौडेलसमक्ष ३ देशका राजदूतले गरे ओहदाको प्रमाण पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि ३ देशका नवनियुक्त राजदूतले ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नवनियुक्त राजदूतले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् । ओहदाको प्रमाण पेस गर्नेहरूका नेपालका लागि कतारका आवासीय राजदूत मिसाल मोहम्मद अली अलन्सारी, गणतन्त्र पेरुका गैरआवासीय राजदूत जाभियर मान्युएल पौलिनिच भेलार्दे र कम्बोडियाका गैरआवासीय राजदूत क्यो कोन रहेका छन् ।
विश्वासको मतको विवादमा हेर्दाहेर्दै मङ्गलबार सुनुवाइ हुने
सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आजदेखि सुरू भएको छ । आज समय अभावका कारण हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको छ । न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको इजलास सुनुवाइ प्रारम्भ भए पनि आज नभ्याएका कारण भोलिका लागि राखिएको हो । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले परशुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाइ दायर गरेका थिए ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो ।
जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान
जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत सोमबार इजिप्ट प्रस्थान गरेका छन् । इजिप्टको राजधानी कायरोमा यही भदौ १९ देखि २२ गतेसम्म जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको छ । मन्त्री बस्नेतसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटा पनि इजिप्ट प्रस्थान गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बस्नेतले इजिप्टको कायरोमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले स्वास्थ्य अवस्था सुधारका पक्षमा चालेका कदम र चुनौतिका विषयमा मन्त्रीस्तरीय बैठकमा आफुले कुरा राख्ने जानकारी दिए । यसका साथै आगामी महिना हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वि एशिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बनेका नेपालका जनस्वास्थ्य विज्ञ डा. शम्भु आचार्यका पक्षमा लबिङ गर्ने पनि मन्त्री बस्नेतले बताए । स्वास्थ्य मन्त्री बस्नेत यही भदौ २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।




