भदौ १७ गते आइतबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । आइतबार तयार पारिएको मुख्य १० समाचारमा नेपाली कांग्रेसले भाद्र १८ गते ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै देखी नेप्से परिसूचकमा उच्च अङ्कको गिरावटसम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
नेपाली कांग्रेसले भाद्र १८ गते ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै
काठमाडौं । नेपाली कांग्रेसले भोली तीन बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । बिपी महोत्सवका बारेमा विस्तृत कार्यतालिका सहित जानकारी दिन नेपाली कांग्रेसले सोमबार केन्द्रीय सूचना, संचार तथा प्रचार विभागले पत्रकार सम्मेलन गर्ने भएको पाटीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सोमबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा दिनको ३ः०० बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएकाले सम्पूर्ण संचारमाध्यमहरुलाई समाचार संकलन र सम्प्रेशनका लागि उपस्थित हुन कांग्रेसले एक सुचना जारी गर्दै आग्रह गरेको छ ।
प्रहरीले गरेको असभ्य व्यवहार अत्यन्त निन्दनीय तथा खेदजनक छ ः मेयर बालेन
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले आफ्नी पत्नी सविना काफ्लेले सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै शनिवार बेलुका सुत्केरी अवस्थामा रहेकी सबिना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको मेयर शाहले बताएका छन् ।
जारी गरेको विज्ञप्ती अनुसार सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र उनकी धर्म पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौँ महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सबिना काफ्ले अस्पताल गएको उल्लेख छ ।
साथै सविनाले आफ्नो स्वास्थ्य परीक्षण र एनआइसीयु मा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब (९ः००) बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरूले सवारी चेकजाँच गरेको र त्यसक्रममा प्रहरीले गरेको व्यवहारप्रति असभ्य व्यवहार गरेको पनि सचिवालयको दाबी छ ।
‘नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्यन्त निन्दनीय तथा खेदजनक रहेको जारी विज्ञप्तीमा उल्लेख छ ।
स्वास्थ्यमन्त्री बस्नेत र राजदूत सोङबीच भेटवार्ता
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै उनीहरुबीच आज मन्त्रालयमा भेटवार्ता भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए ।भेटवार्तामा मन्त्री बस्नेतले चीन सरकारबाट तातोपानी नाकालाई व्यवस्थित बनाउने, भक्तपुरमा वीर अस्पताल विस्तार गर्नेलगायत विषयमा कुराकानी गरेका थिए।
चीन सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै मन्त्री बस्नेतले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि सहयोगको माग गरे। उनले देशभर गुणस्तरीय स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माण, आधुनिक एवं अत्यावश्यक स्वास्थ्य उपकरणका लागि सहयोगको माग गरे।
चीन सरकारको आर्थिक र प्राविधिक सहयोग एवं सहकार्यप्रति कृतज्ञ छौँ”, मन्त्री बस्नेतले भने, “भक्तपुरको दुवाकोटमा विस्तारका क्रममा रहेको वीर अस्पतालका लागि भौतिक संरचना निर्माणमा सहयोगको अपेक्षा राखेका छौँ ।”राजदूत सोङले चीन सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने बताए ।
नेपाली क्रिकेट टिमलाई समर्थन गर्न रवि लामिछाने र बालेन श्रीलंका जाने
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र उनकी श्रीमती निकिता नेपाल र भारतको क्रिकेट हेर्न लगायत टीमलाई हौसला दिनका लागि श्रीलङका प्रस्थान गरेका छन् । नेपाली टिमलाई समर्थन गर्न सभापति लामिछाने श्रीलंका गएको रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले जानकारी दिए
श्रीलंकाको पाल्लेकेलमा एसिया कप क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपालले भोलि सोमबार भारतसँग खेल्दै छ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने शनिबार राति हुने भारत र पाकिस्तानबीचको खेल बर्षाका कारण अवरुद्ध बन्न पुगेको थियो । यस्तै काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि नेपाली टीमको हौसला बढाउनका लागि नै श्रीलङका जाने भएका छन् । मेयर बालेन हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका थिए । राष्ट्रिय स्वतन्त्र पाटीका सभापति र काठमाडौँ महानगरपालिकाका मेयर शाहको श्रीलङकामा भेट हुनेछ ।
हेलो सरकार प्रधानमन्त्रीद्धारा उद्घाटन,आजदेखि २४ सै घण्टा सञ्चालनमा
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् ।
आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन् । शुभारम्भ समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी रहेका थिए ।
यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा बिस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ। गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ। हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ। हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ। त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ।
हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन गर्ने व्यवस्था गरिएको छ। गुनासोहरू सम्बोधनका निम्ति ¥यापिड रेस्पोन्स टीमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको नेपाल सरकारका मुख्यसचिव डा। बैकुण्ठ अर्यालले बताउनुभयो। उक्त टीमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए, नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ।
संविधान दिवस भव्य रूपमा मनाउने निर्णय
आइतबार बिहान बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित असोज २, ३ र ४ गते भव्य रूपमा मनाउने निर्णय गरेको छ।
असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषांक प्रकाशन, अन्तरक्रिया, दीपावलीलगायतका कार्यक्रम हुनेछन् । असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्नेलगायतका कार्यक्रम तय गरिएको छ । असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यकाबाहिर पनि विविध कार्यक्रम हुनेछन् ।
छिमेकी मुलुकसँग बढेको सीमा विवादलाई कुटनीतिक माध्यमबाट साधान गर्छौँः परराष्ट्रमन्त्री मन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले विगतको सरकारले नेपालको नयाँ नक्सा जारी गरेर सम्बन्धित देशलाई सामाजिक सँजालमार्फत जानकारी नदिएको बताएका छन् । परराष्ट्रमन्त्री साउदले विगतमा सार्वजनिक भएको नेपालको नयाँ नक्साबारे छिमेकी देशलाई जानकारी गराएर नेपाल र छिमेकी देशबीचको सिमा विवाद कुटनैतिक ढङगबाट समाधान गर्ने दाबी गरे । आइतबार ओखलढुंगाका पत्रकारहरुले चीनले हालै जारी गरेको आफ्नो नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा सरकारको धारणाबारे राखेको जिज्ञासामा मन्त्री साउदले यस्तो बताएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको नेपालको चुच्चे नक्सा सम्बन्धित देशबाट सम्बन्धित देशहरुमा नेपालका प्रख्यात च्यानमार्फत नगएको जनाएका छन । उनले भने,‘ मन्त्रालयमा उक्त कुरा बुझ्दा औपचारिक रुपमा बाह्य देशलाई जानकारी भएको छैन् । केपी ओलीले नयाँ नक्सा जारी गरेर सम्बन्धित देशलाई जानकारी गराउन नसक्नु ठूलो गल्ति भएको उनको भनाइ छ ।
नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको बताउदै उनले ‘नेपालले आफ्नो नक्सा सार्वभौम संसदबाट सर्वसम्मतले पारित गरेर जारी गरिसकेकाले आफ्नो नक्साका बारेमा कमिटेड छौं र सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो नक्साको हाम्रो निर्णयको सम्मान गरोस् भन्ने साझा धारणा रहेको बताए । उनले छिमेकी मुलुकसँग बढेको सिमा विवादलाई कुटनीतिक माध्यमबाट साधान गर्न तयार रहेको समेत दाबी गरे ।
गैँडाको खागसहित चार व्यक्ति पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले संरक्षित वन्यजन्तु गैँडाको आखेटोपहार (खाग) सहित चार जनालाई पक्राउ गरेको छ । वन्यजन्तुको अङ्ग अवैधरुपमा ओसारपसार तथा खरिदबिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–७ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउपर्नेमा दोलखाको मेलुङ गाउँपालिकाका प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका बस्ने वर्ष ५० का पूर्णसिंह तामाङ, काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ का ३१ वर्षीय श्रीकृष्ण नगरकोटी र नुवाकोट दुप्तेश्वर गाउँपालिकाका ३५ वर्षीय कर्ना तामाङ रहेको ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
कोशी सरकारबिरुद्धको रिटको पेशी सोमबारका लागि पूर्ण इजलासमा पेश गर्न आदेश
कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापा वरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई पुर्ण इजलासमा सुनुवाई हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री थापाले संविधान विपरित विश्वासको मत लिएको भन्दै नेकपा एमाले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । आइतबार न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको यो मुद्दालाई पूर्ण इजलासमा पठाउने निर्णय भएको हो। पूर्ण इजलासमा पठाउने निर्णय गर्दै न्यायाधीशले निवेदनको विषय वस्तु गम्भीर प्रश्न उठेको बताएका छन् । सर्वोच्चले उस्तै प्रकृतिको मुद्दा यसअघि पनि निराकरण भइसकेको अवस्थामा फेरि जटिल कानुनी प्रश्न समावेश भएको देखिएको पनि न्यायधीसले बताएका छन्।
‘ सर्वोच्चले जारी गरेको विज्ञप्तीमा उल्लेख छ – प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा, यिनै निवेदक पक्ष र यिनै विपक्षी विपक्षीसमेत भएको ०७२–डब्लुओ–१४९४ को उत्प्रेषण मुद्दामा प्रस्तुत मुद्दासँग समान प्रकृतिको भई पूर्ण इजलासबाट निराकरण भइसकेको देखिएकोले प्रस्तुत मुद्दामा पनि जटिल कानूनी प्रश्न समावेश भएको देखियो’, ‘ त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त देखिएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ (२) (ग) बमोजिम आगामी १८ गते पूर्ण इजलासमा पेश हुने गरी पेशी तोकी नियमानुसार पेश गर्नू।’ यससँगै मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा अपनाएको विधि असंवैधानिक भएको दाबी गरी परेको रिट निवेदनको निरुपण पूर्ण इजलासमा हुने भएको हो।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २९ दशलमव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६० दशमलव ७८ मा सीमित भएको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव शून्य नौ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलव ६२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज गिरावट देखिएको छ ।
विभिन्न कम्पनीका कूल ४० लाख ५३ हजार तीन सय ६८ कित्ता शेयर रु एक अर्ब १८ करोड ६६ लाख १८ हजार चार सय १० मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको रु तीन करोड ८८ लाख ८८ हजार एक सय छ मूल्य बराबरको शेयर कारोबार भयो । यस्तै आइएमइ लाइफ इन्स्योरेन्स रु तीन करोड ७६ लाख ४१ हजार नौ सय ४६, सिटी होटल रु तीन करोड ७४ लाख दुई हजार सात सय ८०, माछापुच्छ्रे बैंक रु तनि करोड ४९ लाख ६६ हजार तीन सय दुई र एभरेष्ट बैंक रु तीन करोड २३ लाख ४३ हजार सात सय ५४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।




