संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

भदौ १५ गते शुक्रबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । शुक्रबार तयार पारिएको मुख्य १० समाचारमाअमेरिकी सिनेटर होलेन नेपाल भ्रमणमादेखी पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचितसम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस सोमबारका मुख्य १० समाचार

अमेरिकी सिनेटर होलेन नेपाल भ्रमणमा

काठमाडौं । सयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन शुक्रबार नेपाल भ्रमणमा आएका छन् ।

आफ्नो भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न भेटवार्ता गर्ने स्थित अमेरिकी दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उहाँले नेपालका सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्नेछन् । नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेन र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ।

मन्त्री साउद र सिनेटर होलेनबीच दुई देशको हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले बताएको छ। सिनेटर होलेनले काठमाडौं रहँदा अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी राजदूतावासले बताएको छ। साथै, नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि पनि प्रकाश पार्ने राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सुशासन र समृद्धिको यात्रामा सरकार ः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सुशासन र समृद्धिको यात्रामा सरकार अघि बढेको बताएका छन् । समाजवादी मोर्चा, नेपालद्वारा शुक्रबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्र तहसनहस बनिरहेका अवस्थामा आफूले सरकारको नेतृत्व लिएको बताए ।

यसबीचमा निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य बढाउँदै अर्थतन्त्रलाई सही गतिमा अघि बढाउने काम भएको प्रधानमन्त्री दाहालको दाबी छ । उनले रेमिट्यान्स एवं राजस्व बृद्धि, विदेशी मुद्रा सञ्चितीलगायतमा उपलब्धि हासिल भएको बताए । अर्थतन्त्रमा अझै पनि दबाब कायम रहेको बताउँदै उहाँले बैंकको ब्याजदर, सहकारी क्षेत्रलगायतमा देखिएका समस्या क्रमशः समाधान गर्दै जाने बताए ।

भ्रष्टाचार विरोधी अभियानलाई सरकारले निडरताका साथ अघि बढाइरहेको बताउँदै प्रधानमन्त्री दाहालले यो अभियान सानो मनले सुरु नगरिएको र दोषी छ भने जोसुकै भए पनि पर्ने स्पष्ट पारे । भुटानी शरणार्थी, ललिता निवास प्रकरणलगायत विषयमा भइरहेका छानविन निष्कर्षतिर जाने उनले बताए ।

१२ दिने चीन भ्रमणमा नेकपा एमालेका २२ नेता जाँदै, को–को परे सुचीमा ?

नेकपा एमालेका नेताहरु चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा एमालेका २२ नेता १२ दिने चीन भ्रमणमा शनिबार राती चीन प्रस्थान गर्ने भएका हुन् । चीन भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेताहरु रहेको स्रोतले एमाले जनाएको छ ।

एमाले प्रचारविभागका अनुसार भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने कार्यालिका रहेको छ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता गर्ने लगाएत भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने समेत जनाइएको छ ।

कांग्रेसमाथि चौतर्फी आक्रमण भयो : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन ।आज दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए। डा कोइरालाले भने, “सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ ।” उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको चर्चा गर्दै उनले तनहुँ कांग्रेसको गढ हो चिन्ता लिनुपर्ने अवस्था छैन तर नेतृत्वले एक ढिक्का बनाउन प्रयत्नरत हुनुपर्नेमा जोड दिए ।

डा कोइरालाले भने, “देशको आर्थिक, धार्मिक, सांस्कृतिक र अब कूटनीतिक क्षेत्रमा समेत कतै ठीक देखिँदैन, यसको समाधानका लागि जबसम्म कांग्रेसको नेतृत्व हुँदैन तवसम्म कठिन हुन्छ ।” आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदान उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्नेमा उनले बताए ।

तनहुँमा कांग्रेस बलियो भए यससँग जोडिएका छिमेकी जिल्लालाई समेत प्रभाव पर्ने भएकाले यहाँको नेतृत्व निराश नभई सशक्त बन्नुपर्नेमा डा कोइरालाले सुझाव दिए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले लोकतान्त्रिक सरकार निर्माणमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उनले भने, “कांग्रेसलाई सशक्त बनाउनु नै अहिलेको आवश्यकता हो । जिल्ला बनाउनुका साथै देश बनाउने जिम्मेवारी अहिले तनहुँको नेतृत्वको काँधमा आएको उल्लेख गर्दै सदस्य भण्डारी कांग्रेस संवेदनशील भएर अगाडि बढ्नुको विकल्प नरहेको बनाए ।

उपप्रधानमन्त्री श्रेष्ठसँग संयुक्त अधिराज्यका राजदूत फेनको शिष्टाचार भेट

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भएको सय वर्ष पुगेकामा राजदूत फेनलाई बधाई दिँदै राजदूतको कार्यकालको सफलताको शुभकामना दिए । उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैँ साथ दिएकामा आभार व्यक्त गर्दै दुई देशबीच सरकार र जनस्तरमा समेत बहुआयामिक सम्बन्ध रहिआएको बताए ।

छ दशकको लामो राजनीतिक सङ्घर्षपछि स्थापित ऐतिहासिक परिवर्तनलाई नेपाली जनताले महसुस गर्नेगरी आर्थिक सामाजिक विकासका माध्यमबाट संस्थागत गर्नु नेपाल सरकारको मूल कार्यभार रहेको उनले बताए । यसका लागि नेपालका विकास साझेदारको सहयोग महत्वपूर्ण रहेको र सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने भएकाले यसलाई दिगो बनाउन मैत्रीराष्ट्रको सहयोग थप महत्वपूर्ण हुने उनले बताए ।

राजदूत फेनले नेपालको संविधानको विश्वले प्रशंसा गरेको जनाउँदै नेपाल सरकारको प्राथमिकता तथा नीति र बेलायती सहयोगबीच तादात्म्यता रहेको धारणा व्यक्त गरे । सामाजिक न्याय, महिला हिंसाविरुद्धको अभियान र नेपालको भौतिक विकासमा बेलायती सहयोग केन्द्रित रहेको र आफू नेपालमा रहुञ्जेल प्राचीनकालदेखि दुई देशबीच रहिआएको सम्बन्ध अझ बलियो बनाउन प्रयासरत रहने विश्वास उनले दिलाए ।

सो अवसरमा राजदूत फेनले मैत्री सन्धि भएको सय वर्ष पुगेकामा आफूलाई गर्व लागेको र दुई देशबीचको सम्बन्धलाई अझ आधुनिकीकरण गर्नु जरुरी रहेको बताए । बेलायतमा नेपालबारे बेग्लै पहिचान स्थापित भएको, नेपालीप्रति बेलायतीको गहिरो सद्भाव रहेको र उक्त सद्भावको उचित कदर गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने जिम्मेवारी आफूहरूको रहेको उनको भनाइ थियो ।

शनिबारदेखि देशभर रुपान्तरण अभियान संचालन गर्दै माओवादी केन्द्र

काठमाडौं । सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर शनिबारदेखि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अपराह्न १ बजे काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं २ स्थित भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको सुरु भएको घोषणा गर्ने कार्यक्रम छ ।

मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत जनताको ‘मन जितेर मत प्राप्त’ उद्देश्य राखेको छ । गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरमा पु¥याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अभियानअन्तर्गत पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धनलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । “अभियानका क्रममा माओवादी जनताको घरघरमा जानेछ, आसन्न २०८४ सालको निर्वाचनको नतिजालाई प्रभाव पार्ने उद्देश्यसहित अभियान सञ्चालन हुनेछ”, उनले भने ।

कोशी प्रदेश विरुद्ध सर्वोच्चमा परेको रिटको भएन पूर्ण सुनुवाई

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्चमा परेको रिटमाथिको पूर्ण सुनुवाई शुक्रबार नहुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको थियो तर न्यायाधीश खतिवडाले आफूले यो रिटमा पूर्ण सुनुवाइ नगर्ने बताएपछि पूर्ण सुनुवाई नहुने भएको हो । कोशी प्रदेशविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई यसअघि खतिवडाको एकल इजलासले नै प्रारम्भिक सुनुवाइ गरेपनि यस पटक गोलाप्रथाबाट पेशी तोक्दा उनकै नाममा परेपछि उनले यस्तो बताएका हुन् ।

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष समेतको मतले बहुमत पु¥याएको भन्दै विपक्षी दलका सांसद हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्। कोशीमा गठबन्धनका पक्षमा बहुमत पु¥याउन सभामुखले राजीनामा दिएका थिए। सभामुखले राजीनामा दिइसकेपछि उपसभामुखले सभा सञ्चालन गरे । सभामुखको अनुपस्थितमा पनि मतदान गरेर सरकार गठन भएपछि एमालेले असन्तुष्टि जनाउँदै आएको छ ।

गत भदौ ४ गते विश्वासको मत लिँदा मुख्यमन्त्री थापाले सभाध्यक्ष काँग्रेस सांसद ईस्राईल मन्सुरीलाई पनि विश्वासको मत दिन लगाएर बहुमत पुर्याएका थिए ।यसअघि भदौ ७ मा रिटमाथि अन्तरिम आदेश जारी गर्दै सरकारलाई दिर्घकालीन असर नपर्ने काम नगर्न सर्वोच्चले आदेश दिएको थियो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाद्धारा एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरण आन्दोलन भदौ १९–२३ सम्मका लागि घोषणा गरेको छ । स्थायी कमिटीको बैठकले एमसीसी कार्यान्वयनविरुद्ध आन्दोलन गर्ने भन्दै आन्दोलनको समयतालिका घोषणा गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार विप्लबले पहिलो चरणको आन्दोलनमा नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी रुपन्देही, जिल्लामा अन्तरक्रिया कार्यक्रम तय गरेको छ । असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान र लप्सेफेदीबाट सुरु हुने अभियान पाल्पामा गएर अन्त्य हुने जनाएको छ ।

चारदलीय समाजवादी मोर्चाको विषयमा सामान्य छलफल भएको स्रोतले जनाए । विप्लबले पहिलो चरणको अन्र्तक्रिया कार्यक्रम आन्दोलनकै रुपमा लिएर महशुस गर्ने थप निर्णय गर्ने पनि जनाएको छ । अमेरिकालाई सैन्य रणनीतिअन्र्तगत नेपाललाई लैजान दिन नहुने भन्दै आन्दोलनमा उत्रिने विप्लबले जनाएको छ ।

बहराइनमाथि नेपालको जित

आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य पूरा ग¥यो ।

नेपालका लागि कविता कुवँरले अविजित १७ रनको योगदान दिइन् । उनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १७ रन बनाएकी हुन् । त्यस्तै सिता रानामगरले अविजित २ रन जोडिन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटिएको थियो । बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिएन भने खुसी डङ्गोलले दुई विकेट झारिन् । कविता कुवर, पूजा महतो र रुविना क्षत्रीले समान एक एक विकेट लिए । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो । अब नेपालले आफ्नो तेस्रो खेल आइतबार भुटानसँग खेल्नेछ ।

पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन् ।

पारसले २३ मत प्राप्त भए भने पियाले १४ मत पाएका थिए । १३ सदस्यीय कार्यसमितिमा पारससहित टिमबाट १२ जना निर्वाचित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *