संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

भदौ १२ गते मंगलबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचाररमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमा सुन प्रकरणः गिरोहबारे सूचना सङ्कलन गर्न सिआइबीका उच्च अधिकृत हङकङ जाँदैदेखी भीमदत्त नगरपालिकाका पूर्व मेयरसहित १० जना विरुद्ध एक करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायरसम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस सोमबारका मुख्य १० समाचार
सुन प्रकरणः गिरोहबारे सूचना सङ्कलन गर्न सिआइबीका उच्च अधिकृत हङकङ जाँदै

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का एक उच्च अधिकृतलाई हङकङ पठाइने भएको छ । उक्त सुन हङकङबाट आएकाले त्यहाँबाट सुन पठाउने गिरोहबारे सूचना लिन सीआईबीका एसएसपी दिनेश आचार्यलाई त्यसतर्फ पठाउन लागिएको प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए ।

सीआइबीले सुन प्रकरणको अनुसन्धानमा सहयोग गर्न इन्टरपोललाई यसअघि नै पत्राचार गरिसकेको छ । इन्टरपोल नेपालको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँमार्फत एनसीबी बेइजिङलाई पत्राचार गरिएको र बेइजिङमार्फत हङकङ सब–ब्यूरोसँग समन्वय गरेर सूचना माग गरिएको छ । आचार्यले त्यहाँ पुगेर इन्टरपोलसँग समेत सहयोग र समन्वय गर्नेछ ।

राजश्व अनुसन्धान विभागले गएको साउन ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । गालेर छुट्याउँदा सुन ६० किलो ७१६ ग्राम फेला परेको छ । उक्त सुन प्रकरणमा चिनिया र भारतीय नागरिकसहितका २३ जना पक्राउ परेका छन् ।

अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैनः विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेकै अवस्थामा एमसीसी परियोजना कार्यान्वयन हुन नदिने बताएका छन् । समाजवादी मोर्चाले बुटवलमा गरेको सभामा उनले नेपालको कानुन, सार्वभौमिकता मिचेर एमसीसीलाई अगाडि बढ्न नदिने बताए । निस्वार्थ सहयोगको हामीले विरोध गरेको होइन तर शर्तसहितको अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन । यसमा प्रधानमन्त्रीको ध्यान जाओस्’, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनले भने ।

विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेको भन्दै विप्लवले त्यसको विरोधमा एक्लै लड्न नसकिने भएकाले समाजवादी मोर्चा बनेको उनको दावी छ । उनले माओवादी अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै यो मोर्चा बनाउन धेरै त्याग गरेको बताएका छन् ।महासचिव विप्लवले देशलाई साम्राज्यवादको चंगुलबाट मुक्त गराउन मोर्चा बनेको जिकिर गर्दै आफूहरुमा सरकारमा जाने लोभ नभएको बताए । मोर्चाको लक्ष्य भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष र नेपाली विशेषताको समाजवादतिर लैजाने भएको विप्लवले दाबी गरे ।

१२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंश नभए सडकमा जाने प्रधानमन्त्री प्रचण्डको दावी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना (एमसीसी) नेपालको सदनबाट पास गर्दा गरिएको १२ बुँदे घोषणालाई सम्झौताको मूल अंश नबनाए सडकमा उत्रिने बताएका छन् । मंगलबार बुटवलमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल आउने अमेरिकी अधिकारीसँग आफूले १२ बुँदे घोषणा कार्यान्वयनबारे स्पष्टिकरण सोध्ने बताएका हुन् । एमसीसीको विषयमा प्रधानमन्त्री प्रचण्डले अहिले पनि एमसीसीका बारेमा धेरैलाई चासो भएको बताउँदै केही व्यक्तीहरुले विरोध जनाएकाले अझ पनि एमसीसीका बारेमा सडकमा उत्रिने अवस्था सिर्जना हुन सक्ने समेत बताए ।

१२ बुँदे व्याख्यात्मक घोषणाका कारण सडकमा उत्रन सक्ने उनले बताए । उनले भने,‘एमसीसी कार्यान्वयनका लागि नेपाल आउने अमेरिकी अधिकारीहरुलाई नेपालले गरेको सम्झौताको पाठ बनाउने वा नबनाउने भन्ने विषयमा स्पष्टिकरण सोध्न आँफू तयार छु ।’ प्रधानमन्त्री प्रचण्डले यदि १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंश नबनाइए समाजवादी मोर्चामा सल्लाह गरेर सडकमा उत्रिने बताए।

निष्ठाको राजनीतिबाट कहीँ कतै चुकेको छैनः कानूनमन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको दाबी गरेका छन् ।मंगलवार प्रतिनिधि सभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

उनले सांसदहरूले सो विधेयक ल्याउने क्रममा बिचौलियाहरू हाबी भएको टिप्पणी गरेकोमा आपत्ति जनाउँदै आफूमाथि त्यस्ता खालको आरोप नलगाउन पनि आग्रह गरे । मन्त्री गुरुङले मन्त्री सधैँ नहुने कुरामा आफू स्पष्ट रहेको उल्लेख गर्दै पदमा बहाल रहँदा आफूले निष्ठाको राजनीति नछोड्ने बताए । जुन दिन निष्ठामाथि आँच आउँछ, त्यो पनि आफूले राजनीति नगर्ने उनको भनाइ थियो ।

मन्त्री गुरुङले भने, ‘विचौलिया हाबी भएर विधेयकहरू आयो भन्ने माननीय सदस्यहरूको अभिव्यक्तिप्रति मेरो आपत्ति छ । धनराज गुरुङ आजको मितिसम्म कहीँ पनि, कतै पनि चुकेको छैन । भोलिका दिन पनि चुक्दैन । त्यसो भएको हुनाले निष्ठाको राजनीति गर्ने हो । निष्ठाको राजनीति गर्न नसकेको दिनमा बिदा लिएर बस्ने हो । सधैँ मन्त्री भइन्छ भन्ने होइन । सधैँ राजनीतिक गरिरहनु पर्छ भन्ने पनि छैन । बिचौलियाकै विरुद्ध लडेर यहाँसम्म आएको छु । सामन्तवादकै विरुद्धमा लडेर यहाँसम्म आएको छु ।
सर्वोच्चका न्यायाधीशहरूलाई ‘अपराधी’को संज्ञा, महाअभियोग लगाउन संसदमा माग

संसदमा न्यायाधीहरूलाई ‘अपराधी’को संज्ञा दिँदै महाअभियोग लगाउन माग गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले सांसद विकास कोषको विपक्षमा अन्तरिम आदेश दिने सर्वोच्च अदालतका न्यायाधीशहरूलाई ‘अपराधी’ को संज्ञा दिँदै महाअभियोग लगाउनुपर्ने माग गरेका हुन् ।

शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप नचलेको र व्यवस्थापिकाले पास गरेको अर्थ विधेयकलाई अदालतले चुनौती दिएको उनकाो भनाइ छ ।

बैठकमा उनले भने, ‘शक्ति पृथकीकरणको सिद्धान्तलाई लापरवाही गरेर आफू खुसी गर्ने अदालतका न्यायधीहरू कि यो बजेट पनि सर्वोच्चले बनाओस् हामी संसद्ले बनाउनु पर्दैन । यो बजेट र सबै शक्ति सबै अदालतले लिनसक्ने संविधान संशोधन गर्नुप¥यो । होइन भने शक्ति पृथकीकरण विधायिकामाथि हस्तक्षेप यस्ता प्रविधिका काम गर्नेहरूमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्छ । कडा कारबाही भनेकै महाअभियोग हो । महाअभियोग लागनुपर्छ अपराधीलाई । कसैलाई भ्रष्टचारको कारबाही गर्नुपर्छ भने कसैलाई महाअभियोगबाट त्यस्ता अपराधीहरूलाई कारबाही गर्नुपर्छ । मेरो सरकारसँग यही माग छ ।’

गणपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित, विधेयकमाथि अधिकांस सांसदहरुको आपति

गणपुरक संख्याको अभावमा संसद बैठक स्थगित भएको छ । मंगलबार कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० निर्णायार्थ पेश गर्ने समयमा नै गणक संख्या अपुगभएपछि संसद बैठक स्थगित भएको हो । उक्त विधेयकको निर्णय प्रस्तुत गर्ने समयमा नै रास्वपा सांसद सुमना श्रेष्ठ र एमाले सांसद ठाकुर गैरे नियमापत्ति जनाएपछि सभामुखले बैठक स्थगित गरेका हुन् । गणपुरक संख्या नपुगेपछि स्थगित भएको संसद बैठक सभामुखले भदौ १८ गतेसम्मको लागि स्थगित गरेका हुन् । उक्त विधेयकका विषयमा नेपाली कांग्रेसले मात्र विरोध जनाएन प्रतिपक्ष सांसदहरुले पनि आपति जनाएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० स्वीकार्य नहुने बताए । महामन्त्री थापाले यसको कांग्रेसले नागरिकको अहितमा रहेकाले खुलेर विरोध गर्ने बताए । थापाले प्रधानमन्त्री प्रचण्डालाई सत्तामा बहुमत रहेकाले यसरी उक्त विधेयक बलमिँचाईले पारित नगर्न समेत आग्रह गरेका थिए । यस विधेयकमाथि धेरै प्रश्न खडा भएकाले पारित गर्न नमिलने उनको भनाइ थियो । संसदीय व्यवस्थामा सरकारलाई आफूसँग बहुमत भएकाले जे ल्याएपनि पारित हुन्छ भनेर सांसदहरुलाई हेपेको महामन्त्री थापाले टिप्पणी गरेका थिए ।

एमसीसीमा अनुचित कुरा भए जनतालाई जानकारी गराउन प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीमा केही अनुचित कुराहरु बाँकी रहे नेपाली जनतालाई जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । मंगलबार समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीले अमेरिकाले आर्थिक सहयोगका नाममा नेपालले राखेका अनुचित स्वार्थ मान्न नसकिने बताए ।

अध्यक्ष नेपालले ‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्विकार्नु नसकिने बताए । एमसीसीलाई आइपीएससँग जोड्ने कुरा चीनलाई अरु देशले शत्रु घोषणा गर्ने योजना भएकाले स्वीकार्न नसकिने उल्लेख गरे । नेपाल स्वतन्त्र देश भएकाले कुनै देशसँग पनि सत्रु नभएको संसदले व्याख्यात्मक टिप्पणीमार्फत एमसीसी पास गरेका भन्दै उनले नेपाल कुनै पनि सैनिक गठबन्धनमा जान नसकिने बताए ।

पूर्वप्रधानमन्त्ती एवम अध्यक्ष नेपालले ‘एमसीसी यथावत् पास हुने अवस्थामा पुगेकाले संसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पास गरेको बताए । नेपालको भूमिमा नेपाली जनताको अधिकार भएको र अरु कसैको हस्तक्षेप स्विकार्न नसकिने टिप्पणी गरे ।

कोशीमा गठबन्धनलाई नसघाउने लिङदेनको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोडेको भन्दै आपत्ति जनाएका छन्। अध्यक्ष लिङदेन साउदी अरब भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुरामा उनले आपति जनाएका हुन् ।

संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व पाएपछि उक्त विषयलाई लिएर कोशी प्रदेशमा राप्रपाले सघाउने चर्चा बाहिर आएपछि राप्रपा अध्यक्ष लिङदेनले त्यो कसैलाई पनि सहयोग गर्ने निर्णयका रुपमा सहमति नभएको बताए । उनले कोशी प्रदेशमा राप्रपाले कुनै हालतमा पनि सहयोग नगर्ने दाबी गरे ।

सुरुको गठबन्धनताका नै राप्रपालाई कोशी प्रदेशको सभामुखको भाग परेकाले अब सभामुख र मन्त्री पाउनकै लागि हात जोड्नुपर्ने अवस्था नरहेको लिङदेनले बताए । अध्यक्ष लिङ्देनले देशको समसामयिक राजनीतिक परिस्थितिमा बहुसंख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको बताउँदै दिल्लीमा बनेको १२ बुँदे सहमति त्यसले देखाएको मार्गचित्र र अहिले पनि खासगरी बहुसंख्यक जनताको आस्थामा चोट पुग्नेगरी भइरहेको क्रियाकलापमा सरकारी उदासिनता र धर्मनिरपेक्षताका दुष्परिणाम रहेको उनको भनाइ छ ।

एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेपालमा

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड मंगलबार नेपाल आइपुगेका छन् । उनी अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि उनी यहाँ आएको बताइएको छ । करीब ७० करोड डलरको एमसीसी परियोजनाको बुधबार उद्घाट्न गर्ने कार्यक्रमरहेको छ । नेपाल बसाइँका क्रममा उनले प्रधानमन्त्रीसहित दलका नेताहरुलाई भेट्न कार्यक्रम समेत रहेको छ ।

भीमदत्त नगरपालिकाका पूर्व मेयरसहित १० जना विरुद्ध एक करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्व मेयर सुरेन्द्र बहादुर बिष्ट, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेत १० जना र भवानी कन्स्ट्रक्सन प्रालिविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा भीमदत्त नगरपालिकाले प्राकृतिक स्रोत (नदीजन्य) बाट प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौता अनुसार रकम असुल नगरी भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख बिष्ट र तत्कालीन नि. प्रमुख प्रशासकीय अधिकृत जोशी एक करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ ८७ पैसा राजस्व चुहावटमा संलग्न रहेको आयोगको दाबी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *