संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

भदौ ७ गते बिहिबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचाररमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बिहिबार तयार पारिएको मुख्य १० समाचारमा पूर्वाञ्चलमा प्रचण्ड र माधवले साम्प्रदायिकता निम्त्याएको ओलीको आरोपदेखी राष्ट्रपति र जापानका संसदीय टोलीबीच भेटवार्तासम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस सोमबारका मुख्य १० समाचार

ओलीको आरोप – पूर्वाञ्चलमा प्रचण्ड र माधवले साम्प्रदायिकता निम्त्याए

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले कोशी प्रदेशमा जातीय नारा उचालेर प्रचण्ड र माधव नेपालले उत्पात मच्चाएको दाबी गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कहिले प्रदेश नामकरण त कहिले जातीय विद्वेष फैलाउने काम गरिरहेको बताएका हुन् ।

‘कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन्’, ओलीले भने, ‘पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालका कार्यकर्ता छन् ।’ उनले जातियताका नाममा उफ्रनेहरू किरात, राई लिम्बु भएको भन्दै भने, ‘उफ्रने उनीहरू छन् उफार्ने पुष्पकमल दाहाल र माधवकुमार नेपाल हुन् ।’

उनले कोशीमा प्रचण्ड र माधव नेपालहरूले नुवाकोटमा साढे जुधाए झैँ जनतालाई जुधाइरहेको बताए । ‘साँढेको केही दुस्मनी हुँदैन । तर जुधाएर साँढेको सिङ भाँच्चिन्छ भनि ताली पड्काउँछन् । जनजातिका नाममा प्रचण्ड र माधव नेपाल बाहुनले साँढे जुधाइरहेका छन्’, ओलीको भनाइ छ ।

कोशी सरकारलाई दीर्घकालीन महत्त्वको निर्णय नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरी व्यक्त गरेको मतका आधारमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले भदौ १५ गते मुद्दाको पेशी तोक्न आदेश दिँदै उक्त समयभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।भदौ १३ गतेभित्र मुख्यमन्त्रीको नियुक्ति, विश्वासको मतलगायतका सबै विवरण झिकाउन पनि सर्वाेच्चले आदेश दिएको छ ।

सार्वजनिक सवारीको बढ्यो भाडा

बाग्मती प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा बढाइएको छ । इन्धनमा मूल्य वृद्धि भएसँगै बाग्मती प्रदेश सरकारले सवारी भाडा समायोजन गरेको हो ।(भदौ ४ गते) बसेको बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको हो ।मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीसाधनमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा कायम गरिएकामा एक रुपैयाँ बढाएर १९ पु¥याइएको छ । १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटरसम्म ३५ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ ।

अध्यागमन विभागका महानिर्देशकलाई जिम्मेवारीबाट हटाइयो

गृह मन्त्रालयले सुन तस्करी प्रकरणमा मुछिएपछि अध्यागम विभागका महानिर्देशक झलकराम सुवेदीलाई जिम्मेवारीबाट हटाएको छ । गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको तस्करीको सुन प्रकरणमा अधिकारीकोसमेत संलग्न रहेको दाबीसहितका समाचार सार्वजनिक भएपछि गृहले जिम्मेवारीबाट हटाउँदै मन्त्रालय तानेको हो । गृह स्रोतले भन्यो, ‘सुन तस्कर दावासँग कनेक्सन देखिएपछि अधिकारीलाई गृह मन्त्रालयमा तानेका हौं । योसँगै आवश्यक छानविन शुरु भइसकेको छ ।’

तस्करीको सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको छ । अहिले सम्मको अनुसन्धानले सुन तस्करीको नाइके दावा छिरिङ रहेको पाइएको छ । गृह मन्त्रालयको सबैभन्दा महत्वपूर्ण मानिने अध्यागमन विभागका महानिर्देशक अधिकारी र नाइके दावाबीच सुन तस्करीको पूर्व सूचना वीच्याट मार्फत् आदानप्रदान भएको देखिन्छ । त्यस्तै, उनीहरूबीच रकम लेनदेन समेत भएको सहजै अनुमान गर्न सकिन्छ । सार्वजनिक समाचारमा महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदान प्रदानको कुराकानी भएको दाबी गरिएको छ । दावा गत साउन १८ गते ठमेलको भियाना होटलबाट पक्राउ परेका थिए । उनी उक्त होटेलका सञ्चालकसमेत हुन् ।

६५८ अस्थायी दरबन्दी स्वीकृति गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले एकसाथ ६५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । सहरी विकास मन्त्रालयका ४६९, शिक्षा, विज्ञान तथा प्रविधिका ७४, कानुन न्याय तथा संसदीय मामिलाका ५८, कृषि पशुपन्क्षी विकास मन्त्रालयका १९, वन तथा वातावरणको ३८ गरेर सरकारले एकसाथ ६५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ गते हुने

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम भदौ १२ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराएका हुन् । उनले यस पटकको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरुले प्रश्न सोध्न पाउने बताउनु भयो । उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न भदौ ८ गते शुक्रवार दिउँसो ३ बजेभित्रमा प्रतिनिधि सभाका सचिव समक्ष लिखित रुपमा दिन पनि आग्रह गरे ।

उनले भने ‘ ‘प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम यही २०८० भदौ १२ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछु । साथै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह २ मा रहेका माननीय सदस्यहरुले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम मिति २०८० भदौ ८ गते शुक्रवार दिनको ३ बजेभित्र प्रतिनिधि सभाको सचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन सक्नुहुने व्यहोरा जानकारी गराउन चाहन्छु ।’

संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ मा हुने भएको छ ।बिहीबारको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने जनाइएको छ । सभापतिको अभावमा संसदका कामकारबाहीहरु लापरबाही भएका छन् । निर्वाचनको अभावमा अहिलेसम्म संसदका ११ समितिका बैठक जेष्ठ सदस्यको नेतृत्वमा संचालनमा हुँदै आएको छ । नेकपा (एमाले)३, नेकपा (माओवादी केन्द्र) २, नेपाली कांग्रेसले ४, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) ले १ /१ समितिको सभापति पाउने गरी दलहरुबीच सहमति भएको छ।

प्रधानमन्त्रीद्वारा भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको निरीक्षण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरीक्षण गरेका छन् । बिहिबार दिउँसो उनले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात् देखिने बाहिरी र भित्री कक्षहरूको थ्रिडी एनिमेसनको अवलोकन पनि गरेका हुन् । उक्त अवसरमा उनले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद समेत दिएका थिए ।

कांग्रेसको आकस्मिक बैठक, भोलि पार्टी कार्यालय बन्द गर्ने निर्णय

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले पूर्वकेन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको हो ।

कार्कीप्रति सम्मान प्रकट गर्दै भाद्र ७ र ८ गते दुई दिनसम्म केन्द्र, सबै प्रदेश र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने, ०८० भाद्र ८ गते शुक्रबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।

राष्ट्रपति र जापानका संसदीय टोलीबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणका रहेको जापानको संसदको माथिल्लो सदनका सदस्यहरूबीच भेटवार्ता भएको छ ।बिहीबार राष्ट्रपति शीतल निवासमा भएको भेटमा नेपाल–जापान संसदीय मैत्री समुहका सदस्यहरूसमेत रहेका माथिल्लो सदनका सांसदद्वय कोबायाशी काजुहिरो र नागानी मान्बुको उपस्थिति थियो ।भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवं मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गरेका थिए । उनले नेपालको प्रजातन्त्रको विकास र सदृढीकरणमा जापानको सहयोग निरन्तर रहेको भन्दै आभारसमेत व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *