संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

भदौ ४ गते सोमबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेष १० समाचाररमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । साेमबार तयार पारिएको मुख्य १० समाचारमा कोशी प्रदेशका मुख्यमन्त्रीद्धारा विश्वासको मत र लौरो टेकेर सिआईबी कार्यालय पुगेका पूर्वमन्त्री जोशीसम्मको समाचारलाई समेटिएको छ ।

हेर्नुहोस सोमबारका मुख्य १० समाचार

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । प्रदेश सभाको सोमबारको बैठकमा मत विभाजन गरेर विश्वासको मत टुंगो लगाइएको थियो । जसअनुसार थापाको पक्षमा ४५ मत परेको छ । विपक्षमा ३० मत परेको प्रदेश सभा बैठकको अध्यक्षता गरिरहेका कांग्रेस सांसद इस्राइल मन्सुरीले जानकारी दिए । आजको बैठकमा ७७ सांसद उपस्थित थिए । मत दिन भन्ने प्रस्तावमा शून्य मत परेको थियो ।

आजको बैठक राप्रपाले बहिष्कार गरेको थियो । विश्वासको मत पाएसँगै कोशी प्रदेशमा तत्काल सत्ता संकट टरेको छ । एमालेले उपसभामुख सिर्जना दनुवारलाई अनुपस्थित हुन निर्देशन दिएपछि उनी काठमाडौं आएकी थिइन् ।

सशस्त्र प्रहरीका २ डीआईजी, १० एसएसपी र नेपाल प्रहरीका ५ एसएसपीको सरुवा

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक(डिआईजी) कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको छ। प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआईजी अभिकुमार खत्रीलाई भने बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही पठाएको छ।

सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीं)बिनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलालीमा सरुवा गरिएको छ। त्यस्तै एसएसपीहरू प्रवीण कँडेललाई प्रधान कार्यालय मानव स्रोत विभागबाट जवान तालिम शिक्षालय बाँके, दिगविजय सुवेदीलाई प्रधान कार्यालय कार्य विभागबाट दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, विश्वकुमार भट्टराईलाई बराह बाहिनी मुख्यालय सुनसरीबाट सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासी र भुपेन्द्र केसीलाई जवान तालिम शिक्षालय बाँकेबाट प्रधान कार्यालय मानव स्रोत विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ सहित १८ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले साउन ३१ गते थप गरेको म्याद सकिएपछि पुनः म्याद थप मागेको थियो । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्ग्गा हिनामिना प्रकरणमा मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, घमानकुमारी कार्की, बाबुराजा महर्जन, देवनारायण महर्जन, ध्रुबप्रसाद अर्याल, योगराज पौडेल, नारायणदास मिश्र, रुद्र प्रसाद श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोद पौडेल, केशव तुलाधर, अरुणकुमार श्रेष्ठ, कलाधर देउजा, सञ्जय महर्जन र सकलानन्द महर्जन हिरासतमा छन् ।

‘ब्रेक शु’ मा बरामद भएको सुन २४ क्यारेटको

राजस्व अनुसन्धान विभागको टोलीले साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको अवस्थामा फेला पारेको सुन २४ क्यारेटको पुष्टि भएको छ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आज (सोमबार) गरेको परीक्षणमा बरामत सुन २४ क्यारेट शुद्ध रहेको पाइएको हो ।राजस्व विभागले ब्रेक सु मा लुकाएर ल्यएको अवस्थामा फेला पारेको सुन टक्सार महाशाखामा साउन २९ गते गालेर जोखेको थियो । सुनलाई गालेर बिस्कुट आकारको बनाइ जोख्दा ६० किलो ७६१ ग्राम तौल रहेको महाशाखाले जानकारी गराएको थियो । गालिसकेर गुणस्तर परीक्षण गर्दा उक्त सुन ९९९ शुद्ध सुन पुष्टि भएको हो।

सभामुखले सरकार बनाउन हस्ताक्षर गरेको इतिहास कसैले बिर्सिदैन ः एमाले

एमाले कोशी प्रदेशका सांसद रेवतीरमण भण्डारीले सत्ता पक्षले उपसभामुख सिर्जना दनुवारको स्वास्थ्यमाथि प्रश्न गरेको आरोप लगाएका छन् । सांसद भण्डारीले उपसभामुखको स्वास्थ्यमा समस्या आउँदा संवैधानिक तरिकाले उपचार गर्न गएको बताउँदै सत्ता पक्षले अनैतिक प्रश्न गरेको बताए ।

यस्तै, उनले सभामुख उद्धव थापा मुख्यमन्त्री बन्न योग्य नभएको बताए । ‘सभामुखको पद छँदाछँदै तपाई त प्रदेशको मुख्यमन्त्री हो भनेर हस्ताक्षर गरेको इतिहास कसैले बिर्सिदैन,’ उनले भने, ‘मैले भनेको होइन, यो सर्वोच्च अदालतका तीनजना न्यायाधीशले भन्नु भएको हो ।’उनले मुख्यमन्त्रीले विश्वासको मत पाउन नसक्ने दाबी गरे । उनले भने, ‘हामी ४७ जना छौँ भन्नु भएको छ, मुख्यमन्त्रीले विश्वासको मत पाउनुभयो भने हामी बधाई दिन्छौँ नि !’

उपराष्ट्रपति यादव स्वदेश फिर्ता

उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । गत २९ साउनमा सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गरेका थिए । चीनको कुनमिङबाट नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार अपरान्ह उपराष्ट्रपति स्वदेश फिर्ता भएका हुन् ।

उपराष्ट्रपति यादवको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रिपरिषद्का सदस्यलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

सङ्खुवासभा कैदी मृत्यु प्रकरण– प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको थियो । कैदी मृत्यु प्रकरणमा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

अनुसन्धान टोलीको प्रतिवेदन आएपछि थप कारवाहीको प्रक्रिया अघि बढ्ने प्रनाउ गोदारले बतए । घटना लगत्तै गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली बनाएको थियो । मन्त्रालयले छानबिन टोलीलाई १० दिनभित्र कारागार घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

कैदी मृत्यु प्रकरण प्रत्यक्ष सम्लग्न देखिएका पाँच प्रहरीलाई विभागीय कारवाहीका लागि सिफारिस गरिएको छ । कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीमाथि जिल्ला अदालतबाट भदौ १ गते शुक्रबार दोस्रो पटक पुनः म्याद थप गरेर अनुसन्धान भइरहेको छ । असई चौधरीसहित ११ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा दर्ता गरेर अनुसन्धान भइरेहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत सङ्खुवासभाले गत साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो ।

उपप्रधानमन्त्री खड्कासँग थाइल्याण्ड र म्यानमारका नेपालीभाषीको भेट

थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीभाषीहरुको प्रतिनिधिमण्डल थाइ नेपाल एसोशिएसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । रक्षा मन्त्रालयमा भएको भेटमा थाइ नेपाल एसोशिएसनका पदाधिकारीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष आफ्ना पुर्खा पनि नेपाली भएको र धेरै वर्षदेखि विदेशमा रही सोही देशको नागरिकका रुपमा काम गरिरहेको बताए ।

साथै उनिहरुले आफूहरु नेपालीकै सन्तान भएको भन्दै पहिचान खुल्ने व्यवस्था मिलाइदिन आग्रह गरे । भेटमा थाइ नेपाल एसोशिएसनका प्रतिनिधिहरुले आफूहरुलाई नेपाल आवतजावत गर्न पाउने तथा गैर आवासीय नेपालीको परिचयपत्र उपलब्ध गराउन आग्रह गरे। उपप्रधानमन्त्री खड्काले यस विषयमा आफ्नो गम्भीर ध्यानआकर्षण भएको भन्दै संविधानको परिधिभित्र रहेर यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने आश्वासन दिए ।

यसअघि उक्त टोलीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरी थाइल्याण्ड र म्यानमारमा बस्दै आएका नेपाली मूलका नेपालीभाषी थाई नागरिकलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन पहल गरिदिनु आग्रह गरेको थियो ।

भक्तपुरमा गोली चल्यो : तीन घाइते, एकको अवस्था गम्भीर

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बालसुधार गृहमा गोली चलेको छ । सोमबार सुधार गृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो । सो क्रममा तीन कैदी र केही प्रहरी घाइते भएका छन् । घाइते बन्दीमध्ये एकजना गम्भीर घाइते भएको जनाइएको छ । दुई जनाको स्थिति सामन्य भएको जनाइएको छ । घाइतेहरुको नागरिक अस्पतालमा उपचार भइरहेको छ ।

सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षिय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो । सोही विषयमा सुधार गृहको लापरबाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

सोही क्रममा सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए । यसैक्रममा भित्रका बन्दीहरु सुधार गृहको कम्पाउण्डको मुलढोका फोडर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । बन्दीहरुले सुधार गृह बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न सुुरु गरेका थिए । उनीहरुले प्रहरीलाई एसओएस स्कुलसम्म लखेटेका थिए । अहिले सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन् । सुधार गृहमा सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिइरहेका छन् । सुधार गृहमा रहेका महिला बन्दीहरु भने त्यही भित्र रहेका छन् ।

लौरो टेकेर सिआईबी कार्यालय पुगेका पूर्वमन्त्री जोशीलाई बयान नै नलिई फर्काइयो

पूर्वमन्त्री चन्द्रदेव जोशी सोमबार दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) कार्यालय पुगे । लौरोको सहारामा हिँड्डुल गर्ने जोशी बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा बयान दिन सिआईबी कार्यालय पुगेका थिए । तर उनलाई बयान नै नलिई फिर्ता पठाइएको छ ।

यो कुरा जोशी आफैंले ट्विटरमार्फत जानकारी गराएका हुन् । आइतबार मध्यराति पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको निवासमै पुगेर बयान कागज गराएको सिआईबीले जोशीलाई भने कार्यालयमा बोलाएको थियो । तर सिआईबी कार्यालय पुगेका उनलाई अहिले नआउनु भनेर फिर्ता पठाइएको जोशीले बताएका छन् ।

‘पहिलोपटक सिआइबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरि अहिले नआउनु भनी खबर आयो । आज फेरि बोलाएबमोजिम सवा १ बजे सिआइबी कार्यालय पुगेको थिएँ । तर बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुँइन,’ जोशीले लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *