संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

भदौ १ गते शुक्रबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।

हेर्नुहोस शुक्रबारका मुख्य १० समाचार

प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठविरुद्ध ३ वटा उजुरी

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध ३ वटा उजुरी परेका छन् ।

साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । प्रधानन्यायाधीश सिफारिस श्रेष्ठविरुद्ध १० दिनको समय दिएर संसदीय सुनुवाइ समितिले गत साउन २३ गते उजुरी आह्वान गरेको थियो । संसद् सचिवालयका अनुसार उनीविरुद्ध तीनवटा उजुरी परेको छ । अब बस्ने समिति बैठकले श्रेष्ठविरुद्ध परेका उजुरी खोल्ने र छलफल गर्ने संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले साउन २० गतेबाट अनिवार्य अवकाशमा गएपछि सर्वोच्चमा बहाल १४ मध्ये वरिष्ठतम् न्यायाधीश श्रेष्ठले कायममुकायम प्रधानन्यायाधीशका रुपमा साउन २१ गतेबाटै न्यायपालिकाको नेतृत्व गरेका हुन् ।श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

कोशी प्रदेशका मुख्यमन्त्रीले भदौ ४ गते विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने भएका छन् । उनले भदौ ३ गते आइतबार विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई जानकारी गराएका थिए । मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने तयारी गरे पनि उपसभामुख सृजना दनुवारले सोमबारका लागि मिति तोकिदिएकी हुन् । पहिलो पटक मुख्यमन्त्री बनेको एक महिनामा थापाको पद सर्वोच्च अदालतले खारेज गरिएको थियो । त्यसपछि उनी पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ : शङ्कर पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने बताएका छन् ।

प्रेस चौतारी पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुन तस्करी प्रकरणलगायतका विषयमा छानबिनका लागि आयोग गठन गर्न सत्तापक्ष तयार नहुँदा सदनको अवरुद्ध जारी रहेको उनको भनाइ छ ।

“हामीले कुनै जटिल वा अप्ठ्यारो माग राखेका छैनौँ”,उनले भने, “उच्चस्तरीय छानबिन आयोग बनाउन भनेका हौँ, प्रतिपक्षको समान्य कुरासमेत सुन्न नचाहेकाले यस्तो परिस्थिति सृजना भएको छ ।” आफूहरुले उठाएका माग सम्बोधन गर्न तयार भए संसद् सञ्चालन हुने उनको भनाइ थियो । राज्यका सुरक्षा निकायप्रति आफूहरुको कुनै आशङ्का नरहेको उल्लेख गर्दै महासचिव पोखरेल सुन तस्करी प्रकरणमा सत्तापक्षकै कतिपय ठूला नेताहरु मुछिएकाले घटनाको स्वच्छ र निष्पक्ष छानबिन हुनेमा आशङ्का उब्जिएकाले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको स्पष्ट पारे ।

दोषी नछुटोस् र निर्दाेष नफसोस् भन्ने आफ्नो पार्टीको मान्यता रहेको बताउदै ठूलो मात्रामा भित्रिएको सुनबारे सरकारले स्वच्छ, निष्पक्ष छानबिन गर्न दिनुपर्नेमा उनले जोड दिए । संसद्मा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउने जस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नुपरेको स्पष्ट पार्दै महासचिव पोखरेलले सत्तापक्षले प्रतिपक्षलाई अदृश्य रुपमा घेराबन्दीमा पार्दै आएको आरोप लगाए ।

कांग्रेस नेता न्यौपानेको निधन, तीन दिन पार्टीको झण्डा झुकाइने

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार शोक विज्ञप्ति जारी गरी पार्टीका नेता न्यौपानेको ७२ वर्षको उमेरमा निधन भएको जानकारी दिए ।स्वर्गीय न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको र उनको निधनबाट कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले बताएको छ ।

उनको निधनमा कांग्रेसलाई अपूरणीय क्षति पुगेको मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । न्यौपानेको श्रीमती र दुई छोरा छन् । कांग्रेसले नेता न्यौपानेप्रति सम्मान प्रकट गर्दै भदौ १, २ र ३ गते तीन दिन केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा पार्टीको झण्डा झुकाउने, भदौ ३ गते केन्द्र र जिल्ला कार्यालय बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्लामा शोक पुस्तिका राख्ने, र १३ औं दिनमा सम्बन्धित दिनमा शोकसभा गर्ने जनाएको छ ।


नेपाल रास्ट्र बैङ्कको वित्तीय प्रतिवेदन सार्वजनिक

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष मुद्रास्फीति, चालु खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीलयातका सूचकाङ्क खराब देखिएका छन् भने विप्रेषण, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकाङ्क सकारात्मक छन् ।

सरकारले गत आवका लागि वार्षिक औसत उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा सात दशमलव ७४ प्रतिशत पुगेको छ । त्यस्तै गत आवमा समग्र वैदेशिक व्यापार घटेको छ । गत आवमा आयात १६ दशमलव एक र निर्यात २१ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा आयात २४ दशमलव ७ र निर्यात ४१ दशमलव ७ प्रतिशतले बढेको थियो । गत आवमा आयात १६ दशमलव एक र निर्यात २१ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा आयात २४ दशमलव ७ र निर्यात ४१ दशमलव ७ प्रतिशतले बढेको थियो ।

गत आवको अन्त्यसम्ममा चालु खाता रु ७२ अर्ब १६ करोडले घाटामा छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४ दशमलव ६ प्रतिशतले कमी आई रु सात अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु पाँच अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो आवमा प्रत्यक्ष वैदेशिक लगानी रु १८ अर्ब ५६ करोड थियो । गत आवमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१ दशमलव दुई र अमेरिकी डलरमा १२ दशमलव एक प्रतिशतले बढेको छ । त्यस्तै, शोधनान्तर स्थिति रु दुई खर्ब ९० अर्ब ५२ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा थियो ।

कूल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको र यस्तो सञ्चितिले १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । यही अवधिमा विस्तृत मुद्राप्रदाय ११ दशमलव चार प्रतिशतले बढेको छ । कूल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको र यस्तो सञ्चितिले १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । यही अवधिमा विस्तृत मुद्राप्रदाय ११ दशमलव चार प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १२ दशमलव तीन प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव आठ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेप रु ५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु ४७ खर्ब ९७ अर्ब छ । विसं २०७९ असार मसान्तमा २००९ दशमलव ५ को विन्दुमा रहेको नेप्से सूचकाङ्क २०८० असार मसान्तमा २०९७ दशमलव १ को विन्दुमा कायम भएको छ । गत आवको असार मसान्तसम्ममा कूल धितोपत्र बजार पुँजीकरण रु ३० खर्ब ८२ अर्ब ५२ करोड कायम भएको छ ।

अर्थमन्त्रीले सोधे तीनवटा सरकारी बैंकका अध्यक्ष र सीईओसँग स्पष्टीकरण

अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन वटा सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अध्यक्षलाई स्पष्टीकरण सोधेका छन् । मन्त्री महतले अर्थ मन्त्रालयमै बोलाएर ब्याजदर बढाउनुको कारण सोधेका हुन् ।

कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङ, अध्यक्ष रामशरण पुडासैनी, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र अध्यक्ष बलराम पाठक, नेपाल बैंकका कृष्णबहादुर अधिकारी र अध्यक्ष ज्ञानप्रसाद ज्ञवालीलाई अर्थमन्त्रीले शुक्रबार मन्त्रालयमै बोलाएका थिए । अर्थमन्त्री महतले उनीहरूसँग सरकारी बैंकले नै किन सरकारको ब्याजदर घटाउने नीतिलाई असफल बनाउन खोजेको भन्दै स्पष्टीकरण सोधेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

तर, उनीहरूले निक्षेप जोगाउन ब्याजदर बढाउनुपरेको जवाफ अर्थमन्त्रीलाई दिएका छन् । स्रोतका अनुसार कर्जामा भने ब्याजदर नबढाउने प्रतिबद्धता तीनवटै बैंकले गरेका छन् ।

सुन तस्करी प्रकरणमा संलग्न ६ चिनियाँ नागरिकको साथबाट नेपाली नागरिकता र राहदानी बरामद

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट गत साउन ३ गते बरामद भएको साढे ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसहित सातजना चिनियाँसँग नेपाली नागरिकता र राहदानी फेला परेको छ । उनीहरु तिब्बती मूलका बेल्जियन नागरिक हुन् ।

उनीहरुलाई अवैधानिक रुपमा हङकङ हुँदै नेपालमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेकाहरुको साथबाट केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बिहिबार नागरिकता र राहदानी बरामद गरेको हो । उनीहरुले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता र राहदानी बनाएको सीआईबीले जनाएको छ ।

सीआईबीले बिहिबार सिंहदरबारबाट सुन प्रकरणका मुख्य नाइकेका नामले चिनिएका पुचेङलाई नियन्त्रण लिएर अनुसन्धान थालेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार ली वेङ सुङलाई पनि लैनचौरबाट पक्राउ गरिसकेको छ। सुन ल्याउने चिनियाँ गिरोहका मुख्य नाइके उनीहरु ६ जना रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ। काठमाडौंबाटै सुन तस्करी प्रकरणमा चारजना चिनियाँ नागरिकलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । अहिले टियान पिङ, वेन टोङ, डियाङ से फा र ली नेङ्गकाई प्रहरीको नियन्त्रणमा रहेका छन् । पक्राउमध्ये पिङ महिला र अन्य तीन पुरुष रहेका छन् ।

उनीहरुले सन् २०२१ /२२ मा काभ्रे प्रशासनबाट नेपाली नागरिकता र राहदानी लिएको खुलेपछि चिनियाँले नेपाली राहदानी र नागरिकता लिएको विषयमा सीआईबीले थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउने तयारी गरेको जनाएको छ ।

भोलि दिउँसो पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौँका विभिन्न क्षेत्रमा भोलि विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाले टेकु सब स्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौँका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो ।

स्युचाटार सब स्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । साथै सम्बन्धित टेकु, बालाजु, केटू र केथ्री सब स्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूको विद्युत् सेवा आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ

नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिएको हो । त्यसै सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको बताइएको छ । प्राधिकरणको ३८ औँ वार्षिक उत्सवमा बोल्दै प्रवन्ध निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७२/०७३ सम्म आइपुग्दा वार्षिक घाटा ८ अर्ब ९० करोड रुपैयाँ र सञ्चित नोक्शानी बढेर ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको उल्लेख गर्दै आर्थिक वर्ष ०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरी प्राधिकरणले नाफा कमाउन शुरु गरेको बताए ।

उनले प्रशासन तथा वितरण चुहावट १३.४६ प्रतिशतमा सिमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएको बताए । प्रशासन तथा वितरण चुहावट १३.४६ प्रतिशतमा सिमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएको उनले बताए । प्राधिकरणको केन्द्रिय प्रणालीबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत एवं सौर्य विद्युतबाट करिव ३ प्रतिशत गरी करिब ९८ प्रतिशत जनतामा विद्युत सेवा पुगेको छ । आगामी दुई वर्ष भित्र पूर्ण रुपमा विद्युतिकरण गर्ने सरकारको कार्यक्रमलाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पुरा गरी आवश्यक कार्य अगाडी बढाइएको समेत उनले बताए । निर्देशक घिसिङका अनुसार ९८ प्रतिशत जनतामा विद्युतको सेवा पुगेको छ । आगामी दुई वर्षभित्र देशभित्र पूर्ण रुपमा विद्युतिकरण गर्ने गरी आवश्यक कार्य अगाडी बढाइएको उनले बताए ।

कांग्रेस सांसद चन्द्र भण्डारी आज डिस्चार्ज

नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन् ।उपचारमा संलग्न चिकित्सक डा किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई डिस्चार्ज गरिएको जानकारी दिए । “शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्छन्,” उनले भने, “विस्तारै विस्तारै उनको स्वास्थ्यमा सुधार हुन्छ ।”

डा नकर्मीले बाहिर सङ्क्रमणबाट जोगाउनका लागि उहाँलाई दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा पनि नआउनसमेत भनिएको बताए । उनका अनुसार नेता भण्डारीको पुनः मङ्गलबार घाउको ड्रेसिङ गरिनेछ । करिब छ महिना अगाडि घरमा ग्यास लिक हुँदा आगलागीमा परी घाइते भएका उनको यही साउन ३१ गते छालाको प्रत्यारोपण गरिएको थियो । “जलनको कारणले घाउ भएपछि दाग परेर नेता भण्डारीको हातको मुठ्ठी पार्न गाह्रो भएको थियो”, उनले भने, “दागहरु निकालेर छाला प्रत्यारोपण गरिएको हो ।”

उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा तिमोथी स्प्रौलसहित प्राडा बिडी झा, प्राडा शङ्करमान राई, डा किरण नकर्मी, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा विशाल कार्की डा प्रविन गिरी, डा सुष्मा डङ्गोल, मोहनकृष्ण डङ्गोल र डा प्रज्वल श्रेष्ठ गरी ११ जनको चिकित्सको टोली उपचारमा संलग्न रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *