साउन ३२ गते बिहिबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस बिहिबारका मुख्य १० समाचार
संसद् निरन्तर अवरुद्ध भएपछि आइतबार सर्वदलीय बैठक बोलाउने राष्ट्रपति पौडेलको तयारी
काठमाडौं । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने निर्णय गरेकाले झन्डै एक महिनासम्म संसद् अवरुद्ध हुँदै आएको छ । कार्यसूचीमै प्रवेश नगरी साउन महिना सकिएको छ ।
संसद् नबस्दा कानुन निर्माण प्रक्रियाका साथै मुलुकका जल्दाबल्दा समस्याबारे सांसदले सरकारको ध्यानाकर्षण गराउन सकेका छैनन् ।संसदको गतिरोध हटाउने विषयमा सत्तारुढ दलले निर्णयसमेत गरिसकेका छन् । तर एमालेको हठका कारण बैठक बस्न सकेको छैन । संसद्को गतिरोध हटाउने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार भदौको पहिलो साता बैठक बोलाउने तयारी छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार सत्ता पक्षका शीर्ष नेताहरुसँगको भेटपछि बैठक बोलाइनेछ । ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि बैठक तय हुन्छ । सम्भवतः आइतबार बैठक बस्छ,’ उनले भने ।
एमालेले उच्चस्तरीय समिति बनाउन माग गर्दै झन्डै एक महिनादेखि संसद अवरुद्ध गर्दै आएको छ । यस्ता गतिविधिले मुलुकमा नकारात्मकता फैलने भन्दै संसद् अवरोध हटाउन राष्ट्रपतिले चासो देखाएका छन् ।
एमालेद्वारा संसदीय समिति बैठक बहिस्कार
नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ ।
सिंहदरबारमा बसेको बैठकमा आफूहरुको माग अनुसार समिति सभापति चयन नभएको भन्दै एमालले बैठक बहिस्कार गरेको हो । संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै यसअघि बैठक बहिस्कारको चेतावनी दिएको एमालेका सांसद आजको समिति बैठकमै अनुपस्थित भएका हुन् ।
लामो समयदेखि संसद अवरुद्ध गराउँदै आएको एमालले मिनि संसद समेत मानिने संसदीय समितिको बैठक समेत बहिस्कार गर्न थालेको छ । एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो । समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहेका छन् । बैठक सुरु हुनका लागि २६ सदस्यमध्ये १४ जना उपस्थित हुनैपर्छ ।
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको कार्यक्रम तीन चरणमा
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले तीन चरणमा ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । पहिलोचरण आगामी भदौ १–१५, दोस्रो चरण भदौ १६–२५ र तेस्रो चरण भदौ २६ देखि मङ्सिर १५ मा विभिन्न कार्यक्रम आयोजना हुने लुम्बिनी प्रदेश कमिटिको बैठकले निर्णय गरेको छ ।
अभियानलाई प्रभावकारी बनाउन १२ लक्ष्य र १२ उद्देश्य तय गरी कार्यविधि निश्चित गरेको पार्टीका केन्द्रीय सदस्य जगप्रसाद शर्माले बताए । प्रदेश अध्यक्ष सुदर्शन बरालको अध्यक्षता र केन्द्रीय सचिव प्रदेश इन्चार्ज हितमान शाक्यको आतिथ्यतामा बसेकोे बैठकले १२ जिल्लाका १०९ पालिकामा पार्टी सङ्गठन सुदृढ गर्ने, ९८३ वडामा पार्टी सङ्गठन सुदृढ एवं विस्तार गर्ने, पार्टी सदस्यलाई परिचालन गर्ने र जनतामा पुग्ने अभियानमा प्रदेशमा रहेका केन्द्रीय सदस्य आफ्नो जिल्लाबाट अर्को जिल्लामा गएर पालिकाको नेतृत्व गर्ने निर्णय भएको छ ।
त्यस्तै प्रदेश सदस्यहरुले वडाको नेतृत्व गरी अभियान टिम निर्माण गर्ने, अभियानमा पार्टीका सबै संरचनालाई परिचालन गरी ‘घरघरमा माओवादी जन,जनमा माओवादी’को नारालाई सार्थक बनाइने छ । अभियानका लागि दाङको संयोजकमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्यूठानको संयोजकमा निर्मल आचार्य, रुकुमपूर्वको संयोजकत्वमा कमला रोका, रोल्पामा पूर्ण घर्ती, गुल्मीमा जोखबहादुर महरा, अर्घाखाँचीमा वामदेब क्षेत्री, पाल्पामा कृष्णध्वज खड्कालाई जिम्मा दिइएको छ ।
रास्वपाले माग्यो ७ वटै प्रदेशमा कर्मचारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७ वटै प्रदेशमा कर्मचारी माग गरेको छ । रास्वपाले अनुशासन आयोगका लागि कर्मचारी माग गरेको हो । पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मुल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीहरूलाई अनुशासित, मर्यादित बनाउन भन्दै प्रदेश र जिल्ला समितिमासमेत अनुशासन आयोग बनाउन लागिएको रास्वपाले जनाएको छ ।
पार्टी सदस्यता लिएकामध्येबाट खुला आवेदन माग गरी पदपूर्ति गर्ने रास्वपाले बताएको छ ।
‘पार्टीका सदस्य एवम् पदाधिकारीहरूलाई असल,आचरणयोग्य बनाउन साथै अनुशासन र आचरण उल्लंघन गरेको अवस्थामा अनुसन्धान गर्ने, प्रमाण संकलन गर्ने र सजाय गर्न पार्टी विधान २०७९ को धारा ५५ (५) च को अधिनमा रही केन्द्रीय अनुशासन आयोग नियमावली,२०८० जारी भएको हुँदा उक्त नियमावलीको अधिनमा रही यस पार्टीको सदस्य लिएकाबाट पदपूर्ति गरिने छ,’ रास्वपाको सूचनामा भनिएको छ ।
रेशम चौधरीविरुद्ध फेरि मुद्दा परे सरकारी निर्णय उल्टिने खतरा
सर्वोच्च अदालतले रेशम चौधरीलाई माफी मिनाहा दिने कार्य संविधान र न्यायको मान्य सिद्धान्तको हाकाहाकी उल्लंघन भएको ठहर गरेको छ । यसलाई सर्वोच्चले गम्भीर न्यायिक विचलन भएको व्याख्यासमेत गरेको छ। सर्वोच्चको व्याख्यासँगै फेरि उनको सजाय मिनाहाको सरकारी निर्णय न्यायालयमा परीक्षण हुने बाटो खुलेको छ।
सर्वोच्च अदालतले जेठ २ गते टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई जिल्ला अदालत र उच्च अदालतले जन्मकैद गरेको फैसला सदर गरेको थियो। सोही मुद्दाको पूर्णपाठमा चौधरीलाई सरकारले गर्ने निर्णयप्रति सर्वोच्चले प््रश्न उठाएको हो ।
टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा सर्वोच्चले जिल्ला र उच्च अदालतकै फैसला सदर गरिदिए पनि सरकारले पूर्ण पाठ नआउँदै माफी मिनाहा दिने निर्णय गरेको थियो। सरकारले माफी मिनाहा दिनुअघि नै सर्वोच्चले रेशमलाई दोषी करार गरेको थियो। फैसला गरिसकेपछि विकसित भएका घटनाक्रमलाई समेत सर्वोच्चले ‘नोटिस’मा लिएको देखिन्छ। सरकारले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा रेशमलाई कैदमुक्त गरेको थियो।
अघिल्ला अदालतले यो घटनालाई क्रूर र अमानवीय भनी व्याख्या गरेको थियो। फौजदारी कार्यविधि संहिताअनुसार, क्रूर र अमानवीय अपराध कैद मिनाहा नहुने सूचीका कसूर हुन्। त्यसैले सरकारले सर्वोच्चको पूर्ण पाठपछि मात्रै रेशमलाई सजायक मिनाहा गर्ने नगर्ने निचोडमा पुग्नुपर्ने कानूनका जानकारहरुले बताएका थिए। तर, सरकारले सत्ता जोगाउन हतारहतार माफी मिनाहा दिएको थियो।
वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर मेयर जापान भ्रमणमा, उपप्रमुखको आपत्ति
शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ थोप्राले आफू जापान जाने भएपछि वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन्। कानुनअनुसार मेयरको अनुपस्थितिमा उपप्रमुख कार्यबाहक हुनुपर्ने हो ।
तर नगर प्रमुख मेगाहाङ थोप्राले वडा नम्वर ४ का अध्यक्ष विष्णु प्रसाईंलाई कार्यवाहकको जिम्वेवारी दिएका छन् । उनले वडाध्यक्ष प्रसाईंलाई लिखित रुपमा कार्यवाहक भई काम गर्न भन्दै सात दिनसम्मका लागि नगर प्रमुखको जिम्मेवारी दिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई लत्याउँदै नगरप्रमुख थोप्राले वडाध्यक्ष प्रसाईंलाई कार्यवाहकको जिम्मेवारी दिएसँगै नगर उपप्रमुख नरमाया कार्की आश्चर्यचकित भएकी छन् ।
‘ऐनको परिच्छेद ३ को १२ मा नगर प्रमुख वा अध्यक्ष सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिन सक्ने उल्लेछ छ,’ उपप्रमुख कार्कीले भनिन्, ‘म हुँदाहुँदै अध्यक्षज्यूले कार्यवाहक किन वडाध्यक्षज्यूलाई दिनुभयो म आफैं अचम्ममा परेकी छु।’
शिवसताक्षी नगरपालिकामा जापान सरकारद्वारा सञ्चालित ‘जाइका’ नामक कृषि परियोजना सञ्चालनमा छ। सोही क्रममा जापानको कृषि प्रणाली अवलोकनका लागि नगर प्रमुख थोप्रा जापान जाने भएपछि नगरको कार्यवाहक जिम्वेवारी वडाध्यक्ष प्रसाईंलाई दिइएको हो। साउन ३१ गतेदेखि लागू हुने गरी भदौ ५ गतेसम्मका लागि कार्यवाहकको जिम्मेवारी दिएसँगै नगर प्रमुख थोप्रा कार्यलयमा अनुपस्थित हुनुहुन्छ। तर, नगर प्रमुखको कुर्सीमा वडाध्यक्ष बसेसँगै शिवसताक्षी नगरपालिकामा खैलाबैला मच्चिएको छ।
चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गरेका छन् । चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना ९युनान० नेपाल इन्डस्ट्रियल को–अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज बैठकलाई सम्बोधन गर्दै उनले प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यका रूपमा विकसित भइरहेको बताएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।
अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था तथा जलस्रोतलगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताहरूका लागि नेपालमा लगानी सहज रहेको उल्लेख गरे ।
उनले ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आइसिटी र कृषिजस्ता विविध क्षेत्रमा नेपालमा थप लगानीका आकर्षक अवसरहरू रहेको जानकारी चिनियाँहरूलाई गराए ।
कैदीबन्दीको हत्यामा असई लक्ष्मी चौधरीसहित टोलीको संलग्न देखियो ः छानबिन समिति
सङ्खुवासभा।जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ । छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले यसबारे जानकारी दिएका हुन् ।
साउन २४ गते बिहान भएको घटनापछि गृह मन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय अनुसन्धान टोली बनेको थियो । उक्त टोली गत शुक्रबार सङ्खुवासभा आएको थियो ।
कारागारमा रहेका ‘सीसीटीभी फुटेज’को अध्ययन गर्दा घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको उनले जानकारी दिए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र सात कैदी प्रत्यक्ष संलग्नता देखिएको संयोजक पाण्डेले बताए ।
अनुसन्धानपछि केन्द्रीय छानबिन समितिले शुक्रबार उक्त घटनाको प्रतिवेदन गृह मन्त्रलायमा बुझाउने तयारी गरेको संयोजक पाण्डेले जानकारी दिए ।उनका अनुसार घटनामा कारागार सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीसहित केही प्रहरी र सात कैदीको संलग्नता देखिएको छ । मृत्यु प्रकरणमा मुछिएका इञ्चार्ज चौधरीसहित सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौधरीलाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक हुने
उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक गर्ने आदेश दिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक गर्ने आदेश दिएको हो । बिहीबार उच्च अदालतमा नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको पुनरावेदनमा सुनुवाइ भएको थियो । बिहीबार सचिव पाण्डेसहित, सानु भण्डारी, डा. ईन्द्रजित राई, हरिभक्त महर्जन, आङटावा शेर्पा, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया, नरेन्द्र केसी र गोबिन्द चौधरीको पुनरावेदन निवेदनमाथि सुनुवाइ भएको हो ।
पूर्वगृहमन्त्री वालकृष्ण खाँण, टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायतको पुनरावेदनमाथि भने बिहीबार सुनुवाइ भएन ।
सन्दीपको मुद्दामा किशोरीकी आमाको जन्ममितिसम्बन्धी कागजात मगाउन आदेश
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्ममितिसम्बन्धी कागजात मगाउने आदेश दिएको छ । बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ ।
कागजातमा किशोरी उनकी आमा ९ वर्षकी हुँदै जन्मिएको देखिन्छ। उक्त विवरण नमिलेको देखिँदा आमाको उमेर एकिन गर्न कागजात मगाइएको हो । सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोमा असोज २० मा सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा थुनामा पठाएकोमा पुस २९ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।




