साउन ३१ गते बुधबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमकाबारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा प्रधानमन्त्रील गम्भीर विषयमा छलफल गरिरहेको बताउदैँ स्थितिको गम्भीर समीक्षा गरेर अगाडि कसरी बढ्ने, विगतका कमीकमजोरी कसरी सच्याउने भन्नेतिर ध्यान केन्द्रित भएको बताएका थिए ।
‘‘विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा प्रबन्धबारे गम्भीर समीक्षा र अध्ययन गर्ने बेला भएको छ’’ प्रधानमन्त्रीले भने, ‘‘छिट्टै विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरू रहेको सानो कार्यदल बनाइन्छ। त्यो कार्यदललाई अध्ययनका लागि छोटो समय दिइन्छ र कार्यदलले दिएको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर ल्याउनुपर्छ। हामी छिटै एउटा निर्णयमा पुग्छौँ।’’
गर्मीले तोड्यो १४३ वर्षको रेकर्ड, जुलाई इतिहासकै गर्मी महिना
नासाले जुलाई २०२३ लाई सन् १८८० पछिकै सर्वाधिक गर्मी महिना भएको बताएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्य जुलाई महिनाको भन्दा यो जुलाई महिना ०.२४ डिग्री सेल्सियम बढी गर्मी हो।
नासाका अनुसार १८८० पछि उच्च गर्मी हुने पछिल्ला पाँच वर्षका जुलाई महिना रहे। युरोपियन युनियन क्लाइमेट अब्जर्भेटरीले पनि यो वर्षको जुलाईलाई इतिहासकै गर्मी महिना भएको बताएको छ।
नासाद्वारा १४ अगस्टमा जारी एक विज्ञप्तिमा अमेरिकामा जलवायु परिवर्तनको प्रभाव स्पष्ट रुपमा देखिएको र त्यसलाई तत्काल रोक्न एक्सन लिन जरुरी रहेको बताएको छ।
नासाको भनाइअनुसार जुलाईमा दक्षिण अमेरिका, उत्तर अफ्रिका, उत्तर अमेरिका र अन्टार्कटिकको औसत तापक्रम ४ डिग्री सेल्सियसभन्दा बढी रह्यो। सन् १९५१–१९८० बीचका जुलाई महिनामा औसत तापक्रम १.१८ डिग्री सेल्सियस बढी थियो।
वैज्ञानिकले तापक्रम बढ्नुको कारण अलनिनो र एटमसफियरमा कार्बनडाइअक्साइड बढ्नु रहेको बताएका छन्। फोसिल फ्युल्स जल्दा वार्षिक ४० अर्ब टन कार्बनडाइअक्साइड उत्पन्न हुन्छ। यो वर्षको जुन महिना पनि अहिलेसम्मकै सर्वाधिक गर्मी रहेको वैज्ञानिकको भनाइ छ।
६० केजी सुन तस्करी प्रकरण :४ चिनियाँ नागरिक पक्राउ
तस्करीको ६० केजी सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतका अनुसार पक्राउ पर्नेमा ३ महिला र एक पुरुष छन् । मंगलबार राति काठमाडौंका विभिन्न स्थानबाट तियानमी,वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् ।
सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई राजश्व छलि तथा संगठित अपराधको कसूरमा अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगिएको कठायतले बताए । राजश्व अनुसन्धान विभागले साउन ३ मा सुनसहितको १५५ केजी ‘ब्रेक शु’ बरामद गरेको थियो । तर, मङ्गलबार गालेर जोख्दा ६० केजी मात्रै सुन भएको खुलेको थियो ।
विभागले गरेको पत्राचारका आधारमा कालोसूचीमा परेका तीन चिनियाँ नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेर सोमबार ब्युरोलाई बुझाएको थियो । तीमध्ये कसैको पनि सुन तस्करी प्रकरणमा संलग्नता नदेखिएको भन्दै सीआईबीले छाडेको छ । यो प्रकरणमा १९ दिनसम्म अनुसन्धान गरेर राजश्व अनुसन्धान विभागले थप अनुसन्धानका लागि भन्दै सीआईबीलाई अनुसन्धानको सम्पूर्ण विवरण जिम्मा लगाएको थियो ।
राज्यका अंगहरूले जनताको पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनु : प्रधानमन्त्री
महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ब्रिफिङ गरेका थिए ।
कार्यालयले तीन चरणको कार्यतालिका बनाएर देशभरिका सरकारी कार्यालयहरूको लेखापरीक्षण गर्ने जानकारी गराएको छ। लेखापरीक्षणका लागि उपसचिवस्तरको अडिटर र अधिकृतस्तरका लेखापरीक्षकहरू खटिने कार्यालयले जनाएको छ। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकार सुशासन, वित्तीय अनुशासन र पारदर्शितामा गम्भीर रूपमा लागेको बताउँदै राज्यका सबै अंगले जनताको विश्वास आर्जन गर्नेगरि काम गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीले यो वर्ष सुशासन र पारदर्शिताका दृष्टिले महत्वपूर्ण वर्ष बनाउन आग्रह गर्दै सोका लागि सरकारले खेल्नुपर्ने भूमिकाप्रति आफू संवेदनशील रहेकोसमेत बताए ।प्रधानमन्त्रीले भने , “हामी सामाजिक न्याय, सुशासन र समृद्धिको महान् अभियानमा छौँ। सुशासन, वित्तीय अनुशासन र पारदर्शिता त्यसका लागि महत्वपूर्ण शर्त हो। तर, आम जनतामा राज्य र राज्यका विभिन्न अंगप्रतिको विश्वास कमजोर भएको बेला छ। इमान्दारिता र पारदर्शिताको तह घटेर तल गएको छ। यो स्थितिलाई बदल्नैपर्छ। विश्वासनीयता कसरी कायम गर्ने, पारदर्शिता कसरी गराउने, सुशासन कसरी कायम गर्ने भन्नेबारे हामीले गम्भीर रूपमा सोच्नुपर्दछ।”
देशमा अथाहा अवसर छ युवाले त्यसको उपयोग गर्नुपर्छ : अर्थमन्त्री डा .महत
। अर्थमन्त्री डा . प्रकाशशरण महतले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेको बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको उद्दमशील युवा सृजनशील युवा बिषयक अन्तर्क्रिरयामा बोल्दै मन्त्री डा. महतले भने ‘यहाँ धेरै अवसर छन्, यो अवसर हेर्ने सुष्म आँखा चाहिँयो ।’
विदेश जानेवित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्छ । यहाँ अवसर अथाहा छ, त्यसको उपयोग गर्नुपर्छ, त्यसको खोजीमा आजका हाम्रा युवा लाग्न अर्थमन्त्री डा.महतले जोड दिए । ‘युवाले यहाँ नै अवसर खोज्न थाले भने विदेशभन्दा यहाँ नै राम्रो भविष्य हुन्छ । विदेशमा जति नै सुविधा भए पनि त्यहाँ खुशी छैन’ मन्त्री डा. महतले भने ‘त्यसैले नेपालमा प्राप्त अवसरलाई ग्रहण गर्न म अनुरोध गर्दछु ।’
‘हामीकहाँ अवसर खोज्दा हट मेन्टालिटी छ । एउटाले अवसर देख्यो, फाइदा उठायो, म पनि त्यही गर्नुपर्ने, अर्कोले पनि त्यही गर्ने अर्थात् सबै त्यसैमा लाग्छन्’ मन्त्री डा, महतले भन्नुभयो, ‘त्यसो गर्नु हुँदैन, अर्को अवसर खोज्नुपर्छ ।’ हरेक व्यक्ति केही न केही क्षमता लिएर जन्मेका छन् । सबैको सम्पूर्ण कुरामा क्षमता हुँदैन । पहिला आफ्नो क्षमता पहिचान गर्नुपर्छ, त्यो क्षमताको परिधिभित्र के गर्न सकिन्छ ? त्यो अवसर लिन म अनुरोध गर्छु, मन्त्री डा. महतले भने ।
सूचना प्रविधिको स्पेसमा हामी छौं, जसले गर्दा हाम्रो देशमा अवसर पनि छ । हिजो त्यो अवसर थिएन, भूपरिवेष्टिक देशमा छौं, हरेक उत्पादन कसरी विदेशमा लैजाने, समुन्द्र पार कसरी पुर्याउनेलगायतका समस्या छन्’ मन्त्री डा. महतले भने , प्रविधिले गर्दा मार्केटिङ सजिलो भएको छ । डिजिटल प्लेटफर्म उपयोग गरेर एउटा कुरामा बसेर आफ्नो उत्पादन संसारको जुनसुकै ठाउँमा बेच्न सकिन्छ । शुन्य लागतमा बेच्ने ठाउँमा पनि तपाईं जोडिन सक्नुहुन्छ । यो हाम्रा लागि अवसर हो ।’
नेपालमा केही छैन, सबै बिग्रेको छ, सबै अर्थतन्त्र ध्वस्त छ, रोगजारी पाइँदैन, अब विदेश जानुको विकल्प छैन भनेर सबैले नकरात्मक कुरा गर्छन् । सामाजिक सञ्चालमा नकरात्मक कुरा धेरै चल्छ । सकारात्मक कुराहरु यसरी सर्कुलेट हुँदैन, मन्त्री डा.महतले आग्रह गर्नुभयो, अब नयाँ पोजेटिभ नेशनल डिस्कोर्स सुरु गरौं । जस्तो पर्यटन उद्योग चलायमान बन्दै गएको छ । यसले धेरै अवसरहरु सिर्जना गर्छ । पर्यटन, आइटी, हाइड्रो र कृषिको नेपालमा धेरै स्कोप छ ।
संसद् अवरोध भएपछि राष्ट्रपति पौडेलले ओलीसँग राखे चासो
राष्ट्रपति रामचन्द्र पौडेल र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न ओली बुधबार दिउँसो शीतल निवास पुगेका थिए । भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसदमा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए । तर, ओलीले संसद्मा गरेको अवरोधबारे केही कुरा बताएनन् । केही दिनअघि राष्ट्रपति पौडेलले सत्तारुढ दलका नेता र सभामुख देवराज घिमिरेसँग पनि संसद् अवरुद्ध हुनुको कारण जान्न खोजेका थिए । उनले सबैले मिलेर संसद् सञ्चालन गर्न सुझाव पनि दिएका थिए । एमालेकै कारण संसद् अवरोध भएपछि पौडेलले ओलीलाई बुधबार भेट्न बोलाएका हुन् । ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेको पोखरेलले बताए ।
‘संघीय निजामती सेवा ऐन’ एक हप्ताभित्र संसदमा पेस हुन्छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले संघीय निजामती सेवा ऐनको मस्यौदा एक हप्ता भित्र संसदमा पेस गर्ने बताएका छन् । उपप्रधानमन्त्री खड्काले संघीयतासँग जोडिएका संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायतका ऐनहरुको निर्माण कार्यलाई पनि सरकारले प्राथमिकता साथ अघि बढाएको दाबी गरे ।
नेपाल निजामती कर्मचारी युनियन, केन्द्रिय कार्य समितिले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रको सीमाभित्र रहेर कर्मचारीको माग सम्बोधन हुनेगरी सो ऐन ल्याउने आश्वासन समेत दिए ।
उनले भने, ‘मुलुकको अर्थतन्त्रले धान्नेगरी जेजे गर्न सकिन्छ ? त्यो गर्ने कुरामा सहमति भयो । त्यसैले राम्रो कुराले, सकारात्मक तरिकाले ऐन अगाडि बढेको छ । यो ऐन यही संसदमा दर्ता हुन्छ । हामीले त्यसलाई चाँडै नै सम्भवतः एक हप्ता भित्र संसदमा त्यो ऐन पुग्छ । अहिले मुलतः सरकारले संघीय ऐनहरु, जो प्रदेशको ऐनसँग जोडिएको छ । स्थानीय तहसँग जोडिएको छ । स्थानीय निकायसँग जोडिएको छ । सँगसँगै जनताको संविधानले व्यवस्था गरेका सेवा र हक, अधिकारको प्राप्तीसँग जोडिएको छ त्यो ऐन । त्यसलाई तीव्र गतिमा हामीले अगाडि बढाउनुछ । ऐनहरु निर्माण गर्नुछ । त्यसमा वर्तमान सरकार, हामी प्राथमिकतामा राखेरै यो काम गरिरहेका छौं । त्यही अन्तरगत अन्य ऐनहरु अगाडि बढ्दैछ । संघीय शिक्षा ऐन अगाडि बढ्दैछ । संघीय प्रहरी ऐन तयारीको क्रममा छ ।’
त्रिवि सेवा आयोगका अध्यक्षको पद बहाली
त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा डा घनश्याम भट्टराईले आज पदबहाली गरेका छन ।
एक वर्षदेखि रिक्त सो पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा भट्टराई मङ्गलबार नियुक्त गरेका थिए । आयोगका अध्यक्ष लालुप्रसाद यादवको कार्यकाल २०७९ साउन १८ गते सकिएपछि उक्त पद रिक्त हुँदा त्रिविमा सेवा आयोगका काम आलपत्र हुँदै आएका थिए ।
सरकारले चाँडै विश्वासको मत लिन्छ– मुख्यमन्त्री थापा
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताएका छन् ।
उनले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगइको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पारे । मुख्य मन्त्री थापाले विश्वासको मतपछि गठबन्धन दलहरुबाट थप मन्त्री नियुक्त गरिने जानकारी दिनाका साथै विगतको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सदनमा रोकिएमा प्रतिपक्षसँग सहमति कायम गरी पास गराउने बताए ।
उनले यसैगरी प्रदेश निजामती ऐनलाई यसै सदनबाट पास गर्ने पनि उल्लेख गरे । पहिचानवादीसँग वार्ताका लागि सरकारले चाँडै वार्ता टोली गठन गरी संवाद प्रारम्भ गरिने जानकारी दिँदै मुख्यमन्त्री थापाले वार्ताकै माध्यमबाट निस्केको निष्कर्षको परिणामलाई सार्थक बनाइने प्रष्ट पारे ।
सभापति लामिछानेसँग चिनियाँ राजदूत छनको भेटवार्ता
नेपालका लागि चिनियाँ राजदूत छन सोङले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलगायतका नेतालाई भेटेका छन् ।
बुधबार राजदूत छनले रास्वपा कार्यालय वनस्थली पुगेर सभापति लामिछानेलगायतका नेतालाई भेटेका हुन् । भेटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ । भेटमा प्रतिनिधिसभा सदस्य तथा रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यद्वय लिमा अधिकारी र प्रतिभा रावललगायतका नेतासमेत सहभागी थिए ।




