साउन ३० गते मंगलबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।
नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
कक्षा १२ को नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् ।३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ।बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् । परीक्षा बोर्डले माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको बताएको छ। यस्तै १ लाख ८२ हजार ९२६ जना एनजी ल्याएका छन् ।
यो वर्ष गत वर्षको तुलनामा केही सुधार आएको बताए ।देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।
गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । राष्ट्रिय परिक्षा बोर्डको आज साढे ४ बजे बसेको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको थियो ।
सार्वजनिक महत्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सार्वजनिक महत्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशित दिएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौँ उपत्यकामा सुकुम्बासी व्यवस्थापन सम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले भने , “सार्वजनिक महत्वका विषयको दीर्घकालीन अर्थ हुन्छ, त्यस्ता विषयमा हाम्रो सबैभन्दा बढी ध्यान दिनुपर्छ। एउटा मन्त्रालय र निकायसँग जोडिएको विषय अन्त सार्ने र समस्याबाट उम्किने काम हामी कसैले पनि गर्नु हुँदैन। त्यसतर्फ तपाईहरूले ध्यान दिनुस्।”
छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरूङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साह, काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, नेपाल सरकारका विभागीय मन्त्रालयका सचिवहरू उपस्थित थिए ।
कैदीबन्दी मृत्यु प्रकरण– सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा मुछिएका प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको छ । कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी र कैदीसँग अनुसन्धान सुरु गरिएको हो ।
कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज चौधरीसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए । कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज (असई) चौधरीलाई आइतबार पक्राउ गरिएको हो । आइतबार पक्राउ परेका चौधरीलाई पाँच दिन म्याद थप र कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे विरुद्ध जिल्ला अदालत सङ्खुवासभाले पक्राउ अनुमति जारी थियो ।
कुटपिटबाट सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन ।
एमाले मुख्यालयमा ओली र भीम रावलबीच भेटवार्ता
एमाले अध्यक्ष केपी ओली र नेता भीम रावलबीच पार्टी कार्यालयमा भेटवार्ता भएको छ । मंगलबार अपराह्न एमाले कार्यालय पुगेका रावल र ओलीबीच ‘वन टु वन’ भेटवार्ता भएको हो ।
एमालेको दशौं महाधिवेशनमा आफूसँग अध्यक्षमा प्रतिस्पर्धा गरेपछि ओलीले रावललाई कुनै पनि भूमिका दिएका थिएनन् । तर पनि रावल चुप लागेर बसेका थिए । त्यति मात्र होइन, गत निर्वाचनमा ओलीले रावललाई टिकट नै दिएनन् । त्यसपछि रावल आक्रोशित भएका थिए । केही दिनअघिदेखि पार्टी कार्यक्रममा देखिएका रावल र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।
रावलले ४० वर्षदेखि राजनीति गरेको पार्टी नछाड्ने भनेर बसेका थिए । तर धेरै पेलेमा भने विकल्प सोच्ने उनको भनाइ थियो । रावललाई एमालेमै राख्न एमालेले विष्णु पौडेलको नेतृत्वमा वार्ता कमिटी पनि बनाएको थियो । वार्ता कमिटीले एकपटक मात्र रावलसँग कुराकानी गरेको थियो ।
आरती साहको लागि न्याय माग्दै रास्वपाका सांसद बसे धर्ना
आरती साहको हत्या भएको भन्दै मृतकका आफन्तले न्याय पाउनु पर्ने मागसहित मंगलबार माइतीघरमा प्रर्दशन भएको छ ।जनकपुरधाम उपमहानगर–९ स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी साहको हत्या भएको भन्दै मृतकका आफन्तले सुरु गरेको आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साथ दिएको छ ।
मंगलबार काठमाडौंको माइतीघरमा साहका लागि न्याय माग्दै रास्वपाका सांसद मनिष झाले प्रहरीको ज्यादतीबारे आफूले पहल गरेको बताए । ‘यो मुद्दा अदालतले हेर्छ, र प्रहरीले गरेको ज्यादतीको बारेमा म जानकार छु, मैले त्यसको बारेमा अनुसन्धानका लागि जिम्मा दिएको छु, चाँडै नै अनुसन्धान हुनेछ,’ उनले भने ।
जनकपुरधाम उपमहानगर–९ की आरतीको शव घरमै जेठ ७ गते आइतबार बेलुका फेला परेको थियो । उनको शरीरभरि डाम देखिएकाले हत्या भएको माइती पक्षको दाबी छ ।
‘ब्रेक शु’बाट निकालेको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै
तस्करी गरेर ल्याइएको सुन मोटरसाइकलको ‘ब्रेक सु’ मा छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम भएको छ ।नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालेर सुन जोखिएको थियो ।
टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्रेक सुबाट छुट्याएर जोख्दा ६० केजी ७१६ ग्राम परिमाण पाइएको बताए ।नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालिसकेपछि सुन जोखिएको हो । अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए ।
भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो । सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई सुम्पिएको छ ।
कृष्णबहादुर महराबारे छानबिन गर्न प्रहरीलाई भनिसकेको छु : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नौ किलो सुन तस्करीमा मुछिएका आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराबारे छानबिन गर्न प्रहरीलाई भनिसकेको बताएका छन् ।
मंगलबार बालुवाटारमा सम्पादकहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सुन तस्करीमा संलग्न जोसुकैलाई पनि कारबाही गर्ने कुरामा आफू स्पष्ट रहेको बताए । उनले भने, ‘मैले महराजीलाई पनि बोलाएर यो प्रकरणमा तपाईंको कुरा के हो क्लियर गर्नुस् भनेको छु । प्रहरीको नेतृत्वलाई निष्पक्ष छानबिन गर्नुस् । दोषी कोही नउम्किऊन्, निर्दोष नपरून् भनेको छु ।’
मुकेश घिमिरे र एलिजा ढकालले गरे नेविसंघको केन्द्रीय समितिमा नबस्ने घोषणा
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मुकेश घिमिरे र एलिजा ढकाल केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन्। उनीहरूले मंगलबार नेविसंघका सभापति दुजाङ शेर्पालाई पत्र लेख्दै केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका हुन्।
दुवैले निकालेको विज्ञप्तिमा ‘नेविसंघको सुन्दर भविष्यको कामना गर्दै यस समितिमा नरहेको घोषणा गर्न चाहन्छौँ’ भनेका छन्। उनीहरूले काम गर्न कुनै औपचारिक पदमा बसिराख्नु नपर्नेसमेत उल्लेख गरेका छन्।
गत २२ साउनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७१० सदस्यीय नेविसंघ गठन गर्दा ढकाल र घिमिरेलाई पनि केन्द्रीय सदस्य मनोनीत गरेका थिए। नेविसंघ समावेशी नभएकोमा पनि विरोध भइरहेको छ। असन्तुष्ट पक्षले विधानअनुसार १५१ सदस्यीय नेविसंघ गठन गर्न पनि माग गरिरहेका छन्। सोमबार मात्रै नेविसंघका अस्रन्तुष्ट विद्यार्थी नेताहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ज्ञापनपत्र बुझाएका थिए ।
‘केही वर्षयता मातृ पार्टीको अत्याधिक एवं अनुचित हस्तक्षेपका कारण ने.वि.संघभित्र लोकतन्त्रको अनुभूति गर्न कठिन भएको कुरा घामजस्तै छर्लंग छ। लामो समय रिक्त रहेको नेविसंघले पूर्णता पाउँदै गर्दा समावेशी समानुपातिक सिद्धान्तलाई नजरअन्दाज गरिनु र महिला सहभागिता एकदमै न्यून हुनुले ने।विसंघमा असमानताको अवस्था सिर्जना गरेको प्रति आदरणीय सभापतिको ध्यानाकर्षण गराउन चाहन्छौँ।
साथै उल्लेखित मनोनयनका क्रममा संगठनको संरचना वा बनोट निर्माण गर्दा चुस्तता कायम गर्न नसके यसका निर्दिष्ट लक्ष्य हासिल हुन नसक्ने तथा सांगठिक गतिशीलता एवं प्रभावकारिता समेत कायम हुन नसक्ने यथार्थ बोध गर्न सकेको स्थिति छैन,’ उनीहरूले निकालेको पत्रमा भनिएको छ ।
ललिता निवास जग्गा प्रकरणमा बयानका लागि सिआईबीले माधव नेपाललाई बोलायो
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई बयानका लागि बोलाएको छ ।
स्रोतका अनुसार सिआईबीले मंगलबार नेपाललाई बयानका लागि बोलाएको हो । सोमबार मात्रै युरोपको भ्रमण छोट्याएर स्वदेश फर्केका नेपाल बयान दिन सिआईबी कार्यालय जान्छन् कि जाँदैनन् भन्ने तय भइसकेको छैन । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले निवासमै सिआईबीको टोली आए बयान दिने मनस्थितिमा छन् ।
पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग सिआईबीले सोमबार मात्रै चार घन्टा बयान लिएको थियो । पौड्याल बयान दिन आफैं सिआईबी कार्यालय पुगेका थिए । सिआईबीले मंगलबार नै अर्का पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग पनि बयान लिने तयारी गरेको छ । बाबुरामले आफू जग्गा प्रकरणमा सघाउन तयार रहेको जानकारी दिइसकेका छन् ।
नेपाल र भट्टराई प्रधानमन्त्री भएकै बेला बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने नीतिगत निर्णय भएको अख्तियार र सिआईबीले जनाएका छन् । तर नेपाल भने बयानका लागि उपस्थित भएनन् ।
काठमाडौंको मेयरमा पराजित भएपछि गुमनाम केशव स्थापितले छाडे एमाले
काठमाडौं महानगरपालिका प्रमुखमा पराजित भएपछि गुमनाम रहँदै आएका केशव स्थापितले एमाले छाडेका छन् । उनीसँगै सिराहालाका प्रमोदनारायण यादवले पनि एमालेबाट राजीनामा दिएका छन् । स्थापितले नयाँ काम गर्न एमालेबाट बिदा लिएको भनिए पनि उनको नयाँ कामबारे अहिलेसम्म केही खुलेको छैन ।
स्थापितसँगै सिराहका यादवलाई बिदा दिने निर्णय एमालेको सचिवालय बैठकले गरेको हो । सोमबार बसेको पार्टीको बैठकले अर्थ तथा योजना विभागको सचिवमा युवा संघकी पूर्वउपाध्यक्ष क्रान्ति बुर्लाकोटी र एमाले संगठन विभागको सचिवमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेललाई नियुक्त गरिएको छ ।
एमाले अहिले एकीकृत समाजवादी, माओवादीबाट धमाधम नेता कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याइरहेको छ । तर आफ्नै पार्टीका नेता भने जोगाएर राख्न सकेको छैन । स्थापित एमालेमा ओलीको पनि विरोध गर्ने नेताका रुपमा चिनिएका थिए । उनी काठमाडौं महानगरको दुई दुईपटक मेयर भइसकेका छन् ।
बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रीसमेत भइसकेका स्थापित मुख्यमन्त्री बन्न चाहन्थे । तर ओलीकै कारण उनी मुख्यमन्त्री बन्न सकेनन् । एमालेलाई काठमाडौंमा धेरै मत आउनुमा स्थापितको भूमिका पनि धेरै छ । तर उनी आफैं पनि स्थिर नेता भने होइनन् । कहिले माले, कहिले राष्ट्रिय प्रजा परिषद् त कहिले राजावादी बनेका स्थापित अब कता जान्छन् भन्ने खुलेको छैन ।




