संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

साउन २९ गते सोमबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।

हेर्नुहोस संकल्प खबरका १० मुख्य


सुन तस्करी नियन्त्रण गर्न कर लगाएर आयात खोलौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करी नियन्त्रणका लागि कर लगाएर आयात खोल्नुपर्ने बताएका छन्। कांग्रेस संसदीय दलको सोमबारको बैठकमा देउवाले कर तिरेर सुनको आयात खुलाउनुपर्ने धारणा राखेका हुन्।

कांग्रेसका सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा देउवाले सुनमा कर लगाएर आयात खोल्नुपर्ने बताएका हुन् । ‘वर्षौंदेखि सुन तस्करी हुने गरेको छ। रोक्न सकिएको छैन,’ देउवाले भने, ‘न्यूनतम कर लगाएर सुन आयात खोल्नुपर्छ, नत्र यो समस्या जहिले पनि रहिरहने भयो।’

सुन तस्करी प्रकरणले अहिले संसद् अवरुद्ध बनेको छ । माओवादी नेतृत्वको सरकार नै सुन तस्करी प्रकरणले अप्ठेरोमा परेको छ । कांग्रेसका सांसदहरू पनि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने पक्षमा रहेका छन् । देउवाले कर लगाएर सुन आयात गरेमा तस्करी नियन्त्रण हुने धारणा राखेका थिए ।

यस्तै सत्तारुढ राजनीतिक दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष निकालेका छन ।सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग्नु अनुसन्धानलाई अझै लम्ब्याउनु रहेको निष्कर्ष निकालेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

भ्रष्टाचारका जुनसुकै प्रकरणमा दोषी देखिए मलाई नै हत्कडी लगाए हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका जुनसुकै प्रकरणमा दोषी देखिए आफू जेल जान तयार रहेको बताएका छन् ।सोमबार पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै प्रधामन्त्री प्रचण्डले सुनकाण्ड लगायत प्रकरणमा आफू दोषी देखिए जेल जाने बताएको केन्द्रीय सदस्य युवराज चौलागाईले जानकारी दिए । ‘सुन प्रकरणमा महराजीको नाम विभिन्न मिडियाले लेखेका छन् । यसबारे छानबिन गर्न प्रहरी स्वतन्त्र छ । दोषी देखिए महरा मात्रै होइन मलाई समेत हत्कडी लगाए हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै चौलागाईंले सुनाए, ‘प्रधानमन्त्रीले त्यसो भन्दै गर्दा हलले गडगडाहड ताली लगाएको थियो ।’

विद्युतीय चुरोट ९भेप० मा ल्याइएको नौं किलो सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा मुछिएका छन् । उनीहरूले पक्राउ परेका चिनियाँ व्यापारीसँग पटक–पटक टेलिफोन सम्पर्क गरेको तथ्य नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको छ ।

काम रोकिएका आयोजनाको ठेक्का तोडिन्छ : अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले काम रोकिएका आयोजनाको ठेक्का सम्झौता तोडिने बताएका छन् ।
आज अर्थ मन्त्रालयमा आन्दोलनरत निर्माण व्यवसायीसँग भएको छलफलमा अर्थमन्त्री डा महतले हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने तर काम अघि बढ्न नसक्ने देखिएमा त्यस्ता आयोजनाको ठेक्का तोड्ने स्पष्ट पारे । उनले निर्माण व्यवसायीका जायज समस्या समाधान हुने समेत बताए ।

“कतिपय आयोजनामा ठेक्का तोड्न नसकिने अवस्था छ भने त्यस्ता आयोजनामा बजेट व्यवस्थापन गरी जतिसक्दो छिटो काम सम्पन्न गरौँ”, उनले भने, “काम हुन सकेको छैन र बजेट पनि छैन भने ती आयोजनाको ठेक्का तोडिन्छ । जतिबेला बजेट हुन्छ, त्यतिबेला ठेक्का लाग्छ ।”हाल कुन आयोजना कस्तो अवस्थामा छ र त्यस्ता आयोजनाको सिर्जित दायित्व कति हो भन्ने स्पष्ट तथ्याङ्क ल्याउन पनि अर्थमन्त्री महतले निर्माण व्यवसायीसँग माग गरे ।

आयोजनामा काम भइसकेको अवस्थामा त्यसको दायित्व सरकारले बेहोर्ने अर्थमन्त्री डा महतले प्रतिवद्धता जनाए ।“सम्बन्धित आयोजनामा बिल पेश गरेको एक महिनाभित्र अर्थमन्त्रालयमा आइसक्छ र त्यसको १५ दिनभित्रमा हामी भुक्तानी दिइसक्छौँ”, अर्थमन्त्री डा महतले भने , “बिल नै नबनेका आयोजनाको कसरी भुक्तानी हुन्छ ? बिल नबनेर रोकिएको भुक्तानी सम्बन्धित आयोजना नै जिम्मेवार हुन्छन् ।”

अनावश्यक दायित्व सिर्जना हुने गरी अब सरकारले आयोजनाको समय थप नगर्ने बरु हालसम्म भएको कामको भुक्तानी गरेर ठेक्का तोडने उनले बताए ।“अब यो च्याप्टर बन्द गरी नयाँ शिराबाट काम शुरु गरौँ । अब नयाँ मूल्यका आधारमै ठेक्का लाग्छ”, उनले भने, “यसअघि कतिपय आवश्यकता नै नभएका ठाउँमा पनि ठेक्का लागेको छ भने त्यस्ता ठेक्का तोडिन्छन ।”

ओलीलाई चन्द्र भण्डारीको प्रश्न –देश अप्ठ्यारोमा परेको बेला किन संसद अवरुद्ध गरेको ?

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जब जब नेपाललाई अप्ठयारो परेको छ तब तब संसद बन्द हुने गरेको इतिहास रहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीसंग कुराकानी गर्दै सांसद भण्डारीले भ्रष्टाचारका ठूला काण्ड हुँदा सदन अवरुद्ध हुने गरेको चर्चा गरे ।

उनले भने( ‘अहिले नेपालमा ठूला ठूला भ्रष्टाचारको काण्ड सार्वजनिक हुँदा नेपालको सदन बन्द भएको छ । त्यसैले नेपालका पार्टी भित्र जहाँ सहि कुरा तिर नेपाल अगाडि बढ्छ त्यस्लाई काम गर्न दिँइदैन् । प्रतिपक्षी दलका केपी ओलीलाई पनि म यो भन्न चाहन्छु ।’सांसद भण्डारीले राम्रो काम होस भ्रष्टाचार नहोस भन्ने कुरामा समय धेरै गएको र यसप्रति युवाहरुको असन्तुष्टि देखिनु स्वभाविक भएको बताए ।

रवि लामिछानेको टिप्पणी :संसद हाइज्याक भयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद हाइज्याक भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठक पनि नेकपा एमालेको अवरोधका कारण सुचारु हुन नसकेपछि सभापति लामिछाने संसद हाइज्याक गरिएको टिप्पणी गरेका हुन। उनले सामाजिक सञ्जालमा लेखेका छन्( ‘संसद हाइज्याक भयो ।’

आजको बैठकमा पनि नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै अवरोध गरेको थियो । सभामुखले बैठक सुचारु गर्न खोजेपछि एमाले सांसदहरुले नाराबाजी गरेका थिए ।
प्रतिनिधि सभाको बैठक अब एक सातापछि बस्ने भएको छ । अर्को बैठक भदौ ३ गते आइतबारका लागि बोलाइएको छ ।

आज पनि चलेन संसद् , अर्को बैठक भदौ ३ गतेलाई बोलाइयो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधको कारण आज पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै एमालेले नाराबाजी गरेर अवरोध गरेपछि बैठक स्थगित भएको हो।

बैठकको सुरुवातमा सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा बोलेका थिए। शर्माले संसदीय मर्यादाविपरीत आतकंकारी शब्द प्रयोग गरेको भन्दैनेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्दै प्रधानमन्त्रीलाई आतंककारी भन्ने शब्द संसदको रेकर्डबाट हटाउन माग गरे।
त्यसपछि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले रोष्ट्रमबाट उठेर नाराबाजी गर्न थाले। सभामुख घिमिरेले बस्न आग्रह गरे पनि उनीहरूले निरन्तर नाराबाजी गरेपछि सभामुख घिमिरेले बैठक भदौ ३ गते आइतबार दिउँसो १ बजेसम्मको लागि स्थगितको घोषणा गरे। एमालेले गत साउन १० गतेदेखि उच्चस्तरीय छानविन समितिको माग गर्दै सदन अवरुद्व पारिरहेको छ।

उपराष्ट्रपति यादव चीन प्रस्थान

उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री, परराष्ट्रमन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालका लागि चिनियाँ राजदूत, उच्च सरकारी अधिकारीलगायतले बिदाइ गरे ।

चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मेला यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछ ।

एक क्विन्टल भनिएको सुन ‘ब्रेक शु’बाट निकाल्दा करिब ६१ केजी मात्र

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन जोखेको छ ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको छ । यसअघि राजश्व अनुसन्धान विभागले बरामद गरेको एक सय किलो हुने अनुमान गरेको थियो ।
उनले भने, ‘ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो, ६० केजी ६८९ ग्राम रहेको छ गालेर जोख्न बाँकी छ। भोलि साढे १० बजेदेखि जोख्न सुरू हुन्छ ।’केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रेक शुबाट सुन निकालिएको थियो ।

राजश्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।
राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो । उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जनाले दिए उजुरी

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरुद्ध १८ जनाले उजुरी दिएका छन् ।

काठमाडौंमा सानु भण्डारी, केशव दुलालसमेतको संयुक्त मिलेमतोमा विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनी विभिन्न किसिमका प्रलोभन र विश्वासमा परेर लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौं लगायतका जिल्लाका १८ जना पीडितबाट करोडौं रकम ठगी गरेको उजुरी परेको स्रोतले जनाएको छ ।

करिब एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी गरेको भनी तीनवटा निवेदनमा जाहेरीसहित सबै कागजात कार्यालयले परिसर टेकु पठाएको जनाएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा बैंकका ६ कर्मचारी पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा ६ जना सिटिजन्स बैंकका कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार नक्कली प्रमाणपत्रको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिटिजन बैंकको बुटलवस्थित ड्राइभर चोक ब्रान्चमा कार्यरत मनिशा मास्के, मनिग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, सोही ब्रान्चमा कार्यरत प्रतिक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक बिष्ट रहेको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसअघि सीआईबीले ‘अपरेसन फोस्कट्रोट’ नाम दिएर नक्कली डाक्टहरूलाई पक्राउ गरेको थियो । उक्त आरोपमा ८ जना पक्राउ परेकोमा सांसद समेत रहेका सुनिल शर्मालाई अदालतले हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि ७ जना हिरासतमा थि ।

उनीहरूमध्ये १ जना भने सक्कली रहेको खुलेपछि सक्कलीलाई रिहा गरिएको छ । अहिले ६ जना नक्कली डाक्टरहरु सीआईबीको हिरासतमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *