संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

साउन २८ गते आइतबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।

हेर्नुहोस संकल्प खबरका १० मुख्य

अमनलाललाई सरकारबाट हटाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको बैठकले मोदीलाई सरकारबाट हटाउने निर्णय गरेको हो ।

मन्त्री मोदीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा भित्र्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्तागठबन्धनमा सहमति भएको थियो । जनमत पार्टीले अनितादेवी साहको नाम २६ असारमै सिफारिस भइसकेको छ । उनले सोमबार नयाँ मन्त्रीको सपथ लिने भएकी छिन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले तीन महिनाअघि प्रधानमन्त्री प्रचण्डलाई आफूले राजीनामा बुझाइसकेको बताएका छन् ।

सुन तस्करीमा आफ्नो बदनाम गर्न खोजिएको भन्दै अर्थमन्त्री महत कांग्रेस बैठकमै कड्किए

अर्थमन्त्री डा।प्रकाशशरण महतले एक क्विन्टल सुन तस्करी प्रकरणमा आफ्नो बदनाम गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसदीय दलको बैठकमा आफ्नो राजनीति सिध्याउने ढंगले पार्टीकै साथीहरूबाट लाञ्छना लगाउने काम भइरहेको भन्दै रोष प्रकट गरे ।

पार्टी, संसद् र सडकबाट आफूमाथि व्यक्तिगत प्रहार गर्ने गरी अनावश्यक प्रश्न उठाएर लाञ्छना लगाउने काम भएको भन्दै उनले असन्तुष्टि जनाए । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी पार्टीको दलको बैठकमा पार्टी प्रवक्तासमेत रहेका महतले सुन तस्करीमा आफ्नो संलग्नता रहेको अलिकति मात्रै पुष्टि भए तत्कालै पदबाट राजीनामा दिने घोषणा नै गरे ।

‘ममाथि व्यर्थको लाञ्छना लगाउने काम भयो । यो ममाथि भएको व्यक्तिगत प्रहार हो । ममाथि अनावश्यक शंका गर्ने र त्यही विषयलाई लिएर प्रचार गर्ने काम भयो तपाईँहरू नै भन्नुस्, अलिकति पनि तपाईहरूलाई लाग्छ कि यो पदमा बसेर मैले गलत गरेँ भन्ने हो र प्रमाण दिनुहुन्छ भने म अहिलेदखि नै यो ठाउँमा बस्दिनँ,’ उनले भने ।

प्रचण्डको अभिव्यक्तिलाई लिएर कांग्रेस बैठकमा शेखरको आपत्ति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेस संसदीय दलको बैठकमा नेताहरूले आपत्ति जनाएका छन् । आइतबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी कांग्रेस दलको बैठकमा नेता शेखर कोइरालाले आदिवासी दिवसको सन्दर्भमा भएको कार्यक्रममा प्रचण्डले आफ्नो पार्टीलाई भोट दिए जातीय राज्य दिने भनेर उत्तेजित अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए ।

प्रधानमन्त्रीको हैसियतमा दिनै नमिल्ने अभिव्यक्ति दिएर हिँडिरहेको भन्दै कोइरालाले आलोचना गरे । उनले गठबन्धन सरकार भएकाले प्रधानमन्त्री र मन्त्रीहरूलाई कांग्रेसले सजग गराउनुपर्ने बताए । ‘आदिवासी दिवसको सन्दर्भमा प्रचण्डजीले माओवादीलाई भोट दिनुस्, जिताउनुस्, जातीय राज्य हामी दिन्छौं भन्नुभयो । उहाँले पार्टीको अध्यक्षका विषयमा त्यो भनेर हिँड्न सक्नुहोला, त्यो उहाँको पार्टीको कुरा हुन सक्ला,’ नेता कोइरालाले भने, ‘तर उहाँले अहिले आफू गठबन्धन सरकारको प्रधानमन्त्री भएको कुरा पनि भुल्नुहुँदैन । देशको प्रधानमन्त्रीको हैसियतले त्यसरी बोल्न मिल्दैन । यो विषय आपत्तिजनक छ, यो विषयमा कांग्रेसले खेद प्रकट गर्नुपर्छ ।’

पत्रकार सम्मेलनपछि एमाले अध्यक्ष ओलीले गरे ६ बुँदे विज्ञप्ति सार्वजनिक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन गरेर ६ बुँद्धे विज्ञप्ती सार्वजनिक गरेका छन् । आइतबार अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरेको पत्रकार सम्मेलनमा सुन तस्करी, संसद् अवरोध र समसामयिक विषयमाथि पाटीले आफ्नो धारणा प्रस्तुत गरेको थियो ।

पत्रकार सम्मेलनमा ओलीले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पाटीको धारणा प्रस्तुत गर्दै सरकारको कम्जोरी भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री र गृहमन्त्रीले समेत राजीनामा दिनुपर्ने धारणा प्रस्तुत गरेका थिए । यस्तै अध्यक्ष ओलीले अहिले सत्तापक्षले पाटीको संरचनाका वारेमा मात्र ध्यान दिएको बताउँदै अब देशको चिन्ता गर्न तिर नेकपा एमाले लाग्ने बताए ।

उनले भने, नेकपा एमालेलाई सँधै देशको चिन्ता छ तर सत्तापक्षलाई पाटीको चिन्ता भएको समेत बताए । यस्तै पत्रकार सम्मेलनमा नेकपा एमालेले नेपालमा भइरहेको सुन तस्करी लगायत अन्य अपराधको निष्पक्ष छानबिनका लागि उच्चस्तरिय छानबिन समिति गठन गर्नुको विकल्प नरहेको समेत बताए । संसद अवरोधका विषयमा सरकारको कम्जोरीका कारण त्यो अवस्था सिर्जना भएको समेत ओलीले बताए ।

नेविसंघ काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी पाए अंशुल केसीले

नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी अंशुल केसीले पाएका छन् ।नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले रिक्त रहेको जिल्ला अध्यक्ष पदमा केसीलाई जिम्मेवारी दिएका हुन ।

नेविसंघको विधान २०२७ को छैटौँ संशोधन २०७५ अनुसार उनलाई अध्यक्षको जिम्मेवारी दिइएको नेविसंघले जनाएको छ ।

माधव नेपाल किन भ्रमण छोट्याएर नेपाल फर्किंदैछन ?

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल युरोपको १५ दिने भ्रमण छोट्याएर स्वदेश फर्किने भएका छन् । स्विट्जरल्यान्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रममा सहभागी भएर नेपाल भदौ १ मा स्वदेश फर्किने कार्यक्रम थियो । तर ललिता निवास जग्गा प्रकरणमा तारन्तार सीआईबीले बोलावट गरेपछि पूर्वप्रधानमन्त्री नेपाल भ्रमण छोट्याएर फर्किन लागेका हुन् । स्विट्जरल्यान्डपछि नेपाल हाल स्पेनमा छन् ।

उनले क्रोसिया र बेलायत भ्रमण भने स्थगित गरेका छन् । नेपाल भ्रमण छोट्याएर फर्किन लागेको उनीनिकट एक नेताले जानकारी दिएका छन् । नेपाल आइतबार नै स्वदेश फर्किने तयारी रहे पनि टिकट मिलिनसकेको उनले बताए । अब उनी सोमबार फर्किन लागेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले स्विट्जरल्यान्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने कार्यक्रममा सहभागी नेपाल साउन २२ मा टर्कीको इस्तानबुल हुँदै जेनेभा प्रस्थान गरेका थिए ।

सर्वोच्च अदालतले बालुवाटारस्थित जग्गा प्रकरणमा नीतिगत निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा राख्न आदेश दिएकै भोलिपल्टै नेपाल विदेश भ्रमणमा हिँडेका थिए । जेनेभा पुगेर नेपालले ललिता निवास जग्गा प्रकरणमा आफूले कुनै गल्ती नगरेको प्रस्टीकरण दिएका थिए ।

अविरल वर्षाले हवाई उडान प्रभावित

गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए । उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरु पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए ।

विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौँबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौँ–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ । विमानस्थलका अनुसार बुद्ध एयरका काठमाडौँ–पोखरा रुटका तीन वटा र बुद्ध एयरकै काठमाडौँ–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबारसम्म देशभर वर्षा जारी रहने अनुमान गरेको छ ।

मासिक प्रगति प्रतिवेदन बुझाउन सञ्चारमन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्ष २०८०/८१ मा प्रत्येक महिना प्रगति विवरण पेस गर्न मन्त्रालय मातहातका निकायलाई निर्देशन दिएकी छन ।

आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक एवम् वार्षिक प्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उनले योजनाअनुरुप काम सम्पन्न गर्नका लागि प्रत्येक निकायले हरेक महिना प्रगति विवरण पेस गर्न निर्देशन दिएकी हुन। “राम्रोसँग काम गर्न खोजेका छौँ, अधिकतम प्रयत्न पनि गरेका छौँ, योजना पनि बनाएका छौँ”, मन्त्री शर्माले भनिन, “तै पनि सोचेअनुरुप प्रगति हुनसकेन, अति गम्भीर भएर काम गर्नुपर्ने भयो, अब चाँही हेरक महिना प्रगति प्रतिवेदन बुझाउनुस ।”

कानुन बनाउनुपर्ने, प्रधानमन्त्री कार्यालयसँग समन्वय गरेर गर्नुपर्ने काममा मन्त्रालयले सहयोग गर्ने तर मन्त्रालय अन्तर्गतका ६ क्षेत्र र १८ निकायले ठोस् र मूर्तरुपमा काम गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिईन । चालु आवमा नयाँ ढङ्गले काम गर्दै अघि बढनुपर्ने र १६औँ योजनामा सूचना प्रविधिको क्षेत्रमा कसरी प्रवेश गर्ने र ‘डिजिटल नेपाल फ्रेमवक’लाई कसरी अघि बढाउने भन्ने विषयमा स्पष्ट नीति बनाएर अघि बढनुपर्ने उनको भनाइ थियो ।

मन्त्री शर्माले सरकारको प्राथमिकताको कार्यसूची सुशासन र पारदर्शीता नै भएको तथा आफूले गर्न सक्ने कामको मात्र योजना बनाउन र पूर्णरुपमा बजेटको कार्यान्वयन गरेर काम गर्न मातहतका निकायलाई निर्देशन दिईन ।

खानी इन्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

खानी तथा भूगर्भ विभाग लैनचौर र काठमाडौँ विश्वविद्यालयबीच खानी इन्जिनियरिङ (माइनिङ इन्जिनियरिङ) अध्ययन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा खानी इन्जिनीयर विषयमा अध्ययनरत विद्यार्थीको क्षमता अभिवृद्धि, खनीज सम्बन्धी तालिम प्रदान गर्नका लागि विभागबाट भइरहेको कार्यमा सहकार्य गर्नेसम्बन्धी आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाको उपस्थितिमा विभागको तर्फबाट महानिर्देशक रामप्रसाद घिमिरे र विश्वविद्यालयको तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्रा डा मनिष पोखरेलबीच हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा विभागको तर्फबाट विश्वविद्यालयलाई आवश्यक पर्ने जनशक्ति र प्राविधिक सहयोग उपलब्ध गराउने, विभागमा रहेका पूर्वाधारलाई विद्यार्थीले प्रयोग गर्न सक्ने, भविश्यमा खानी तथा भूगर्भसम्बन्धी अध्ययनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने, विद्यार्थीलाई तालिम तथा गोष्ठि उपलब्ध गराउनेलगायत उल्लेख छ ।

कार्यक्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेले नेपालमै खानी इन्जिनियरिङको पढाइ हुनुपर्छ भन्ने मान्यता रहेको उल्लेख गर्दै सम्झौतापत्रले नेपालको खानी इन्जिनियरिङको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। काठमाडौँ विश्वविद्यालय खानी इन्जिनियरिङमा उत्पादित विद्यार्थीलाई सहयोग गर्न विभाग तयार रहेको उनले बताए ।

सरकारले काठमाडौँ विश्वविद्यालयमा खानी इन्जिनियरिङ अध्ययन विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्नेबारे आवश्यक छलफल गरिरहको महानिर्देशक घिमिरेले बताए ।काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा थापाले विश्वविद्यालयले खानी इन्जिनीयरिङको पढाईमा परिणाम आउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले खानी इन्जिनीयरिङको पढाईलाई अगाडि बढाउन सरकारको साथ र सहयोग पाएको बताए ।

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्र्तगत दमौली–डुम्रे सडक खण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरा खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरा खसिरहेकाले पटकपटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । आज करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिरा हटाएर आवागमन सञ्चालन गरिएको उनले बताए । जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट खटिएको विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको सहकार्यमा पहिरा पन्छाइएको खाँणले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *