संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

साउन २४ गते बुधबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।

हेर्नुहोस संकल्प खबरका १० मुख्य

नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर पार्टी कार्यालयमा नारावाजी

काठमाडौं । नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर दुई पक्षले पार्टी कार्यालय सानेपामा नारावाजी गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेको भन्दै असन्तुष्ट पक्ष र संस्थापन पक्षबीच नारावाजी भएको हो । असन्तुष्ट पक्षले बुधबार पार्टी कार्यालय सानेपामा वृहत विद्यार्थी भेला तथा विधानसम्मत भन्दै केन्द्रीय कार्यसमिति घोषणा कार्यक्रम राखेको थियो ।

तर नेविसंघका अर्को समूहले नारावाजी गर्दै उक्त भेला रोक्न खोजेको थियो । दुईपक्षबीच विवाद भएपछि प्रहरीले पार्टी कार्यालयमा दुवै समूहलाई प्रवेशमा रोक लगाएको थियो । सो क्रममा पार्टी कार्यालयको गेट बाहिर दुवै पक्षले एकअर्का विरुद्ध नारावाजी गरेका थिए ।नियमित महाधिवेशन नहुँदा केही समयदेखि तदर्थ समितिकै भरमा नेविसंघ चल्दै आएको छ । शेर्पा अध्यक्ष रहेकै समितिमा सभापति देउवाले ७१० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए । नेविसंघ केन्द्रीय समिति ७११ सदस्यीय बनाएपछि विधानविपरीत भन्दै अर्को पक्ष असन्तुष्ट छ ।

प्रतिपक्ष नेकपा एमालेको अवरोधपछि दुबै सदनको बैठक साउन २६ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक स्थगित भएको छ । एमाले सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेपछि संसद् बैठक साउन २६ सम्मका लागि स्थगित भएको हो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले बुधबारको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै बोल्ने समय मागेको थियो। सँगै सत्ता पक्षका सांसदहरुले पनि बोल्न समय मागे।

सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गर्न थाले त्यसपछि नाराबाजी नरोकिएपछि सभामुख घिमिरेले बैठक साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्। यस्तै नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक पनि सोही दिन सम्मका लागि स्थगित बन्न पुगेको छ ।

प्रधानमन्त्रीले सुन तस्करीको निष्पक्ष छानबिनका लागि सीआईबीलाई जिम्मा दिने निर्देशनपछि अवैध नेपाल भित्रिएको सुन काण्डको छानविनको जिम्मा सिआइबीले पाएकोे छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआइबीलाई दिएको अनुसन्धानको जिम्मेवारीको परिक्षण गरेर छानविन गर्न नसकेको अवस्थामा मात्र उच्चस्तरिय छानविन समिति गठन गर्ने भने पनि नेकपा एमालेले निजी मामला जस्तै संसदलाई बन्दी बनाउँदै निरन्तर अवरोध जनाउँदै आएको छ ।

प्रवक्ताको जिम्मेवारी सम्हाल्दै सापकोटा

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले बुधबार देखि नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी पाएका छन् । काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकसँगै पार्टी प्रवक्ताको जिम्मेवारीमा पुगेका सापकोटाले बुधबारबाट जिम्मेवारी सम्हालेका हुन्। माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले प्रवक्ताको जिम्मेवारी सम्हालेसँगै मुलुकको पछिल्लो राजनीतिक अवस्थासहितका विषयमा पार्टीको धारणा स्पष्ट पारेका थिए । सापकोटाले प्रवक्ता भएपछि पहिलो पाटी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर जनतामाझ जानका लागि समृद्धिका चार स्तम्भ घोषना गरेका हुन । उनले माओवादी केन्द्र समृद्धिका चार स्तम्भ लिएर अगाडी बढ्ने बताए । उनले घोषणा गरेका समृद्धिका स्तम्भले जनताले विश्वास गर्ने अपेक्षा राखेका छन् । समृद्धिका चार आधार स्तम्भमा कृषि क्षेत्रको आधुनिकीकरण, उद्योग धन्दा र औद्योगीकरण, राष्ट्रिय सुरक्षा र विज्ञान र प्रविधि रहेका छन ।

यस्तै प्रवक्ता अग्नि सापकोटाले भदौ १६ गतेदेखि सुरु हुने ३ महिने अभियान पार्टीको अन्तिम परीक्षा भएको बताएका छन ।यो पाटीको पहिलो र अन्तिम परिक्षा भएकाले आगामी भाद्र १५ गते सम्म तयारी गरेर १६ गतेदेखी अभियान संचालनका लागि अघि बढ्ने बताएका छन् । यो अभियानमाले नेकपा माओवादी पाटी सफल हुने विश्वास उनले लिएका छन् । सापकोटाले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरेर यसअघि प्रवक्ताको जिम्मेवारीमा अर्का उपाध्यक्ष कृष्णबहादुर महरा थिए ।

आदिवासी जनजातिको हकअधिकारमा सरकार संवेदनशील रहेको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिवासी जनजातिको हकअधिकारको विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन । विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले जातीय विविधता भएको गण्डकी प्रदेश रहेको उल्लेख गरे ।

“जनजाति भाषा, संस्कृति, परम्परागत ज्ञान, तथा प्राकृतिक स्रोतका धनी समुदाय मानिन्छन् । अधिकार तथा आर्थिक विकासका दृष्टिकोणले अझै उत्पीडित र विभिन्न वर्ग समुदायमा रहेका जनजातिको उत्थान गर्ने दायित्व हामी सबैको हो”, सन्देशमा भनिएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिले सन १९९५ देखि जनजाति अधिकारका लागि अन्तर्राष्ट्रिय पर्वको रुपमा यो दिवस मनाउँदै आइएको र ‘आत्मनिर्णयका लागि परिवर्तनका संबाहक आदिवासी युवा’ भन्ने नाराका साथ आज संसारभरिका आदिवासी समुदायले यो दिवस मनाइरहेको सन्देशमा उल्लेख छ ।

गौर हत्याकाण्डको छानबिन अघि बढ्ने भएपछि उपेन्द्र यादवले बढाए सक्रियता

२०६३ चैत ७ गते तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच गौरको राइसमिल क्षेत्रमा झडप भएको थियो । जसमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए । १७ वर्षपछि सरकारले गौर हत्याकाण्डको छानबिन अघि बढाउने भएको छ ।

सरकार र गौर हत्याकाण्डका पीडितबीच पाँचबुँदे सहमति भएपछि सत्तारुढ दल जसपा असन्तुष्ट देखिएको छ । सरकारले छानबिन अघि बढाउने सहमति गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले राजनीतिक भेटवार्ता बढाएका छन्
उनले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए । देउवासँगको भेटमा यादवले आफूलाई अप्ठ्यारोमा पार्न खोजिएको बताएका थिए ।

जनमत पार्टी र प्रभु साहको योजनामा गौर हत्याकाण्डको छानबिन अगाडि बढाउन लागिएको यादवको बुझाई छ । सिके राउत र प्रभु साह उपेन्द्रलाई राजनीतिक रूपमा अप्ठेरो पारेर तराई मधेसमा आफ्ना लागि मैदान खाली गर्न खोजिरहेको जसपाका नेता कार्यकर्ताको बुझाई छ ।

भगवती पाण्डे दोषी देखिए कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवक्ता भगवती पाण्डेले तामाङलगायतका संस्कारमाथि दिएको अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार आदिवासी जनजातिले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उनी दोषी देखिए कारबाही हुने बताएका हुन् ।

‘तामाङ समुदायको संस्कारलाई आँच पुग्ने गरी भगवती पाण्डेले दिएको भन्ने अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा आज बिहानमात्र मैले प्रहरीका उच्च अधिकारीसँग छलफल गरेको छु’, उनले भने, ‘दोषी देखिएमा कारबाही हुन्छ । आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरी केही व्यक्तिहरू गम्भीर घाइते भएको विवरण आएका छ । अत्यधिक बल प्रयोग गर्ने प्रहरीमाथि पनि कारबाही हुने कुरा तपाईंहरूलाई जानकारी गराउँछु ।’
आफू पहिलेदेखि नै पहिचानवादीहरूले गरेको आन्दोलनको पक्षमा रहेको विश्वास दिलाउँदै २०८४ को निर्वाचनमा अत्यधिक मतले जिताए सम्पूर्ण माग सम्बोधन गर्ने प्रचण्डले बताएका छन् ।

नेपालको आदिवासी जनजातिको भाषा, दर्शन, साहित्यलाई विकास गर्ने काममा सरकार प्रतिबद्ध रहेको भन्दै उनले यसको संरक्षणका लागि सरकारले पहिलेको भन्दा बढी बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान

संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायायधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आह्वान भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको हो ।श्रेष्ठविरुद्ध उजुरीका लागि दश दिनको समय दिंदै समितिले मर्यादित भाषामा स्पष्ट आधार तथा सबुत प्रमाणसहित उजुरी दिन सकिने बताएको छ ।प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन चाहने व्यक्तिहरूले संसद् सचिवालयको ठेगानामा पत्राचार वा सोझै सिंहदरबारस्थित सचिवालयको कार्यालय पुगेर सूचना वा उजुरी दिन सक्नेछन् ।

सूचनादाताले आफ्नो नाम, थर र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने पनि सूचनामा उल्लेख छ । संवैधानिक परिषद्ले साउन १८ गते श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइबाट श्रेष्ठको नाम अनुमोदन भए मात्र राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् । नाम अनुमोदन भए उनले ३१औं प्रधानन्यायाधीशका रुपमा १४ महिना जिम्मेवारी सम्हाल्ने छन् ।प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि अनिवार्य अवकाशमा गएपछि श्रेष्ठ कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।

सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत

मन्त्रिपरिषद्ले सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत निर्णय पनि गरेको छ । त्यस्तै बैठकले मन्त्रिपरिषद्, विधेयक समितिबाट पेस भएको बैङ्किङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक, २०८० संघीय संसदमा पेस गर्न स्वीकृत दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइन्।

ललिता निवास प्रकरणका आरोपितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई ७ दिनको म्याद थप गरी हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौँले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरी अनुसन्धान ब्युरोका अनुसार ६९ वर्षीय भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ र ६९ वर्षीय पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहसहित ४ जनालाई पक्राउ गरेको थियो । अहिलेसम्म ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या २० पुगेको छ । जग्गा प्रकरणमा संगठित किर्ते मुद्दामा अनुसन्धान जारी छ ।

महिला विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा, को को पुगे ?

जारी महिला फुटबल विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।
मंगलबार राउण्ड १६ को अन्तिम खेल सम्पन्न भएसँगै विश्वकपको क्वाटरफाइनलमा पुग्ने आठ देशको टुंगो लागेको हो ।
विश्वकपको अन्तिम आठमा स्पेन, नेदरल्याण्डस, जापान, स्विडेन, अस्ट्रेलिया, फ्रान्स, इङल्याण्ड र कोलम्बिया पुगेका छन् ।
साथै राउण्ड १६ मा पुगेका स्वीट्जरल्याण्ड, दक्षिण अफ्रीका, नर्वे, अमेरिका, डेनमार्क, मोरक्को, नाइजेरिया र जमैकाको विश्वकपको यात्रा सकिएको छ ।

साथै यस अघि विश्वकप सबैभन्दा बढी चार पटक जितेको अमेरिका, २ पटक जितेको जर्मनी र एक पटक जितेको नर्वे विश्वकपबाट बाहिरिइसकेका छन् । अब यसअघि विश्वकप जितेको जापान मात्र क्वाटरफाइनलमा पुगेको छ ।
अब क्वाटरफाइनलका खेलहरु अगस्त ११ र १२ मा हुदै छन् ।अगस्त ११ मा स्पेन र नेदरल्याण्डसबीच र जापान र स्विडेनबीच खेल हुने छ । त्यस्तै अगस्त १२ मा अस्ट्रेलिया र फ्रान्सबीच तथा इङल्याण्ड र कोलम्बियाबीच खेल हुने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *