साउन २१ गते आइतबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य
सर्वोच्चको नेतृत्व वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई
न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन् । प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेदेखि सेवा निवृत्त भएपछि उले नेतृत्व सम्हाल्नुभएको हो ।पदबहालीका क्रममा कामुु प्रधानन्यायाधीश श्रेष्ठले संविधान र कानुनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्तदुरुस्त तरिकाले काम गर्न निर्देशन दिए ।
उनले सेवाग्राहीले महसुस हुने गरी छिटो मुद्दा फछ्र्यौट गर्न आगामी दिनमा चाल्ने कदमका बारेमा न्यायाधीशहरुसँग छलफल गरेर तत्कालीन र दीर्घकालीन गर्न कामहरु तय गर्ने । कामु प्रधानन्यायाधीश श्रेष्ठले न्यायापालिकाको सुधारका लागि सिङ्गो समूह नै लाग्नुपर्ने र त्यसका लागि सबै न्यायाधीशहरु र प्रशासनले सहयोग गर्न आग्रह गरे ।
संवैधानिक परिषद्को बैठकले नेपालको ३१औँ प्रधानन्यायाधीशमा नियुक्तिका लागि श्रेष्ठलाई नै सिफारिस भइसकेको छ ।संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरे पनि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सुनुवाइदेखि नियुक्तिसम्मको प्रक्रियामा केही समय लाग्ने देखिएको छ ।श्रेष्ठको कार्यकाल आगामी वर्ष २०८१ असोजसम्म हुनेछ ।
सकियो माओवादी केन्द्रीय समिति बैठक, चैतमा विशेष महाधिवेशन हुने
काठमाडौं । सत्तारुढ माओवादीको केन्द्रीय कार्यसमितिको चौथो पूर्ण बैठक सकिएको छ । आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य र पदाधिकारीले राखेका प्रश्नको जवाफ दिएसँगै केन्द्रीय समिति बैठक सकिएको हो ।
बैठकले ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी पदाधिकारीहरूको अन्तरप्रदेश, स्थायी समिति सदस्यहरूको अन्तरजिल्ला र केन्द्रीय सदस्यहरूको अन्तरपालिका सरूवा गरिएको छ। अभियानपश्चात् मंसीरमा विधान सम्मेलन र तत्पश्चात दोस्रो अभियान सञ्चालन गरी चैतसम्म विशेष राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको छ ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर र मनोनयनसमेत गरेका थिए । जसअनुसार प्रचण्डले अग्निप्रसाद सापकोटालाई प्रचार विभागको जिम्मेवारी दिएका छन् ।
पूर्वसभामुख सापकोटा लामो समयदेखि भूमिकाविहीन थिए । पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मेवारी दिइएको छ । आगामी चैतसम्म नेत्रविक्रम चन्द विप्लवलाई माओवादीमा प्रवेश गराउने नीतिअनुसार नै महरालाई सो जिम्मेवारी दिइएको हो ।
रास्वपाको मोबाइल क्लिनिक यथावत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘मोबाइल क्लिनिक’ का लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज०ले उपलब्ध गराएको एम्बुलेन्स फिर्ता गरिए पनि क्लिनिक यथावत रहेको छ ।
पार्टीका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार अर्को एम्बुलेन्समा औषधि र चिकित्सकसहित टोलीले सेवा प्रदान गर्न थालेको छ । रास्वपा सभापति लामिछाने चितवन क्षेत्र नं २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रङगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याएको थियो । लगत्तै भारत सरकारले कलेजलाई निःशुल्क उपलब्ध गराएको एम्बुलेन्स दललाई दिएको भनी आलोचना भएपछि गत शुक्रबार रास्वपाले एम्बुलेन्स फिर्ता गरेको थियो ।
जिल्लाको जुगेडी क्षेत्रमा मोबाइल क्लिनिकमार्फत सेवा प्रदान गरिरहेको सिग्देलले बताए। उनले ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि छिट्टै दुई मोबाइल क्लिनिक सञ्चालन गरिने जानकारी दिए ।
एमाले महासचिव र चिनियाँ प्रतिनिधिबीच भेट
नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) परियोजनाको टोलीले आज भेट गरेको छ ।ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयका भएको उक्त भेटमा रेलमार्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो ।महासचिव पोखरेलसँग चिनियाँ टोलीले केरूङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणबाट हुने आर्थिक, सामाजिक विकास तथा रेलमार्ग निर्माणले जनजीवनमा ल्याउने परिवर्तनलगायत विषयमा चासो व्यक्त गरेको बताइएको छ ।
प्रचण्डले गरे प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेका छन् । उनले आइतबार पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन्।
प्रचण्डले महत्वपूर्ण मानिएको बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकेका छन्। महासचिवका दाबेदार शर्मा केही समयदेखि प्रचण्डसँग असन्तुष्ट रहँदै आएका थिए । शनिबार केन्द्रीय समिति बैठकमा पनि उनले प्रचण्डलाई आफूले के केमा असहयोग गरेको हो भनेर कडा प्रश्न सोधेका थिए । तर, उनलाई नै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ ।
पुन लामो समयदेखि विरामी छन् । झन्डै एक वर्ष लामो उपचारपछि उनी राजनीतिमा सक्रिय हुन थालेका छन् ।
अर्का उपमहासचिव वर्षमान पुन भने उपेक्षामा परेका छन् । केन्द्रीय समिति बैठकमा प्रचण्डविरुद्ध नरम बोलेका वर्षमान पुन सुन तस्करसँग जोडिएपछि उनलाई विशेष प्रदेशको जिम्मेवारी दिएको छ।
सचिव देवेन्द्र पौडेल मधेस प्रदेशका इन्चार्ज भएका छन्। सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लीलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाल तोकिएका छन्। केन्द्रीय बैठक जारी रहेको समयमै प्रचण्डले प्रदेश इन्चार्जको जिम्मेवारी फेरबदल गरेका हुन् ।
पर्यटनमन्त्रीको ‘इ–हुलाक सेवा’ पुनः सञ्चालनमा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना सुभेच्छुकहरुको सल्लाह सुझाव र जनगुनासो सम्बोधन गर्न ‘इ–हुलाक सेवा’ पुनः सञ्चालनमा ल्याएका छन् । जनतासँगको सम्बन्ध र मन्त्रालयसँग जोडिएका सबै सरोकारका विषय सम्बोधनका लागि रायसुझावसमेत पेस गर्न उक्त सेवा सञ्चालन गरिएको उनले बताए । पर्यटनमन्त्रीको सुभेच्छुकबाट सल्लाह, सुझाव र प्रश्नहरु लिन तथा त्यसको जवाफ दिन इ–हुलाकका फेसबुक पेज सञ्चालनमा रहेको छ । उक्त सेवाबाट मन्त्री किरातीले आज सन्देश पठाएको उनको निजी सचिवालयले जनाएको छ ।
‘नयाँ जिम्मेवारी र चुनौतीमाथि उभिएर फेरि तपाईंहरुलाई पत्र लेख्ने साहस गर्दैछु । तपाईं र मबीच सम्बन्ध जोड्न स्थायी पुलका रुपमा ‘इ–हुलाक सेवा’ सुरु गरिए पनि व्यस्तताका कारण केही समयदेखि सेवा बन्द थियो । त्यसका निम्ति क्षमाप्रार्थी छु साथै आजका मितिदेखि हामीबीचको सम्बन्धलाई ताजा राख्न पुनः यो सेवा सञ्चालनमा ल्याइएको छ, आशा छ, तपाईंहरुको सन्देश सधैँ आइरहनेछ’, पत्रमा भनिएको छ ।
मन्त्री किरातीले हालसम्मका प्राप्त सन्देशले ध्यानाकर्षण गराएको र यस्तै सिर्जनात्मक सल्लाह, सुझाव र खबरदारी नै आफ्नो सबैभन्दा बलियो ऊर्जा र हौसलाको स्रोत बनिरहेको उल्लेख गरेका छन।
आगामी सेप्टेम्बरमा प्रधानमन्त्रीको चीन भ्रमण हुन्छ : परराष्ट्रमन्त्री
। परराष्ट्रमन्त्री एनपी साउँदले अन्तर्राष्ट्रिय सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र एकतालाई आधार बनाएर सरकारले काम गरिरहेको बताएका छन् । प्रहरी चारित्रिक प्रमाणपत्रलाई अनलाइन माध्यमबाट प्रमाणीकरण गर्नेकार्यको आज काठमाडौँमा शुभारम्भ गर्दै मन्त्री साउँदले कुनै पार्टीको अमूख विचारलाई आधार बनाएर नभई मुलुकको सार्वेपरीहितलाई केन्द्रमा राखी परराष्ट्र सेवा र अन्तर्राष्ट्रिय सम्बन्ध अगाडी बढाउनुपर्ने धारणा ब्यक्त गरे ।
उनले प्रहरी चारित्रिक प्रमाणपत्रलाई अनलाइन माध्यमबाट दिने बनाउँदा दूर दराजमा रहेका नागरिकले सरल र सहजरुपमा सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।मन्त्री साउँदले नेपाल शान्तिपूर्ण मुलुक हो भन्ने छिमेकी राष्ट्र र विश्व समुदायलाई जानकारी रहेको भन्नुहुँदै विदेश नीति र रक्षा नीतिको सन्दर्भमा सबै पार्टीको धारणा एक हुनुपर्ने बताए ।मन्त्री साउँदले आगामी सेप्टेम्बरमा प्रधानमन्त्रीको चीन भ्रमण हुने पनि जानकारी दिए ।
मानव अधिकार उल्लंघनमा संलग्नलाई आममाफी दिन सकिँदैन : रमेश लेखक
सत्तारुढ दल नेपाली कांग्रेस प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकले संसदमा पेश गरिएको विधेयक परिमार्जन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।उनले गम्भिर प्रकृतिको मानव अधिकार हनन्को घटनामा संलग्नलाई आम माफी दिने गरी सरकारले ल्याएको विधेयक परिमार्जन गर्न आफ्नो पार्टी तयार भएको बताएका हुन् ।
आइतबार काठमाडौंमा संसदमा प्रस्तुत ‘केही नेपाल ऐन संशोधन विधेयक’हरूका सम्बन्धमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै उनले सो विधेयक परिमार्जन गरेर अघि बढ्ने बताए ।प्रमुख सचेतक लेखकले मुलुकमा न्याय, शान्ति हुने, हिंसा नहुने, मानव अधिकार रहने, कानूनको शासन पनि जिवित रहने र दण्डहिनता पनि समाप्त हुने ढंगले उक्त विधेयक संसदबाट पारित गराउने बताए ।
‘यो संक्रमण कालीन न्यायसँग सम्बन्धित विधेयक र अहिले जुन केही नेपाल ऐन संशोधन गर्नका लागि प्रस्तुत गरिएको विधेयकमा माफी दिने व्यवस्था गरी ल्याएको बीचमा फेरि यी दुई विधेयकबीचको तालमेल होइन, वास्तवमा द्वन्द्व कालीन समयमा घटेका घटनामा पनि यो संशोधनले माफी दिने हो कि भनेर चिन्ता व्यक्त गरिएको छ,’ उनले भने, ‘त्यो चिन्ता जायज छ, यसबारे हामी गम्भिरतापूर्वक सोच्छौँ ।’प्रमुख सचेतक लेखकले मुलुकमा मानव अधिकार, कानूनको शासन र दण्डहिनताको अन्त्य गर्ने कुरामा आफूहरू सदैव सचेत रहेको दाबी गरे ।
संघीयता विरोधी प्रावधान पास हुन दिँदैनौँ : सांसद देवकोटा
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले जिल्ला शिक्षा कार्यालय रहने व्यवस्थालाई संसदबाट कुनै हालतमा पास हुन नदिने बताएका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत देवकोटाले शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान राखेको भन्दै यसलाई संघीयता विरोधी भन्दै टिप्पणी गरेका छन् ।
‘शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राखेर ठूलो उपलब्धि ठानेको होला,’ उनले भने, ‘संघीयता विरोधी यो प्रावधानलाई कुनै पनि हालतमा संसदबाट पास गर्न दिइने छैन ।’देवकोटाले स्थानीय तह र प्रदेशको अधिकारसँग बाझिने खालका जिल्ला शिक्षा कार्यालय जस्ता अन्य कुनै पनि संरचनाहरू जिल्लामा राख्न नपाइने भन्दै शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराए । ‘भुईंको टिप्न खोज्दा खल्तीको नपोखिएला भन्न सकिन्न मन्त्रालयको बेलैमा ध्यान जाओँ ः,’ देवकोटाले लेखेका छन् ।
क्विन्टल सुन तस्करीको अनुसन्धान सीआईबीलाई हस्तान्तरण
सरकारले क्विन्टल सुन तस्करीको अनुसन्धानको जिम्मा राजश्व अनुसन्धान विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० लाई हस्तान्तरण गरेको छ । आइतबार विभागले हालसम्म पक्राउ परेका आरोपी र संकलन गरिएका प्रमाण सीआईबीलाई बुझाएको हो । अब क्विन्टल सुन तस्करीको अनुसन्धान सिआईबिले अगाडी बढाउने भएको छ ।यसअघि गत विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको अनुसन्धान सीआईबीबाट गर्न निर्देशन दिएका थिए ।
विहीबार साँझ प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूणर्बहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानासँग संयुक्त छलफल गरेका थिए । त्यसअवसरमा प्रधानमन्त्री प्रचण्डले सुन तस्करीको थप अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका थिए ।
सुन तस्करी प्रकरण संगठित अपराध र अन्तदेशीय अपराध तथा आतंकवादी गतिविधिमा संलग्न गिरोहकोसमेत संलग्नता हुनसक्ने देखिएकाले सरकारले सीआईबीमार्फत अनुसन्धान गर्ने निर्णय गरेको बताएको छ ।




