संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

साउन १९ गते शुक्रबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।

हेर्नुहोस संकल्प खबरका १० मुख्य

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न माग गर्दै प्रदर्शन गरेका छन् । हाल संसदमा विचाराधीन रहेको उक्त विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग गर्दै उनीहरुले शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

द्वन्द्वपीडित प्रदर्शनकारीले संक्रमणकालीन न्याय प्रक्रियामा राजनीतिक हस्तक्षेप बन्द गर, दण्डहीनताको अन्त्य गर, सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर, सशस्त्र द्वन्द्वपीडित व्यक्ति तथा परिवारको पहिचानका लागि प्रभावकारी परिचयपत्र प्रदान गर जस्ता नाराहरू लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

संक्रमणकालीन न्यायसम्बन्धी ऐन अन्तर्राष्ट्रिय मापदण्डअनुरूप संशोधन हुनुपर्ने भन्दै उनीहरूले सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शनमा उत्रिएको जनाएका छन् ।

कांग्रेस सेवा दलमार्फत ७५३ वटै पालिकामा पुग्दै

नेपाली कांग्रेसले देशभरीका ७५३ वटै स्थानीय तहमा संगठन बिस्तारका लागि जाने भएको छ । यसका लागि सेवा दल गठन गर्ने भएको छ । नेपाली कांग्रेसले स्थानीय नागरिकहरुको सेवा गर्ने उदेश्यका साथ यो सेवा दल गठन गर्न लागेको हो । कांग्रेस केन्द्रीय सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम सबै स्थानीय तहमा सेवा दल गठन गर्न परिपत्र समेत गरिसकिएको छ ।

‘देशभरका सबै पालिकामा नेपाली कांग्रेस पार्टीको संगठन भएकाले संगठनको मातहतमा रहने गरी गाउँमा रहेका युवाहरूको संलग्नतामा ‘सेवा दल’ गठन हुने विश्वकर्माले बताए ।

गत हप्ता बसेको कांग्रेस केन्द्रीय समितिकोे निर्णयअनुसार नै सेवा दल गठन गर्न परिपत्र गरिएको हो । स्थानीय तहमा गठन हुने सेवा दलले मानवीय सेवाका विभिन्न क्षेत्रमा केन्द्रीत भएर काम गर्ने विश्वास कांग्रेसले लिएको छ ।

अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँ– अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा महतले विगतमा पुँजीगत खर्च कम हुँदा आर्थिक वृद्धिदर कम भएको बताए ।

विगतमा अर्थतन्त्रमा देखिएको समस्या बिस्तारै समाधान हुँदै गएको भन्दै उनले छिल्लो समय विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार आएको उल्लेख गरे ।उनले उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा देखिएको समस्या समाधानमा सरकार लागेको उनको भनाइ छ ।

उनले राजस्व सङ्कलन गर्ने निकायका कर्मचारीले गर्ने दुरुपयोग, त्रुटि, उदासिनता र निष्क्रियता मान्य नहुने भन्दै पारदर्शिता, राजस्व वृद्धिमा ध्यान निर्देशन दिइसकेको जानकारी दिए ।मन्त्री महतले वर्तमान सरकारको मुख्य लक्ष्यलाई सुशासन, सेवा प्रवाहमा प्रभाविकारिताको प्रत्याभूति र विकास निर्माणलाई गति दिनुरहेको बताए ।

जनमत पार्टीले सरकारलाई दिएको समर्थन कायम रहने

जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गरेको पार्टीका केन्द्रीय प्रवक्ता डा शरद सिंह यादवले बताए ।

बैठकले पार्टी सङ्गठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अगाडि बढाउने निर्णय गरेको छ ।

पार्टीले आज स्थानीय जनप्रतिनिधिसम्मिलत पार्टी समन्वय बैठक बोलाएको छ । बैठकमा वडाध्यक्ष, नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ ।

टिकटकमा आरजु देउवाको चरित्र हत्या गर्ने सामाग्री राख्नेलाई तीन दिनभित्र कारबाही गर्न तरुण दलको माग

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले पार्टी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवालक्षित गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुग्याउने उदेश्यका साथ सामाजिक सञ्जालमा प्रचार प्रसार गरिएका झुट्टो समाचार प्रति आपति जनाएको छ ।

कलाकारहरूले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहरा भन्ने नामको टिकटक आईडीबाट आरजुको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति जनाइएको शुक्रबार अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल तरुण दल केन्द्रीय समितिले ‘राजनीतिक पूर्वाग्रह राखी उक्त कार्यमा संलग्न व्यक्ति वा समूहहरूलाई ३ दिनभित्र कानूनको दायरामा ल्याउन गृहमन्त्रालय र सम्बन्धित प्रहरी प्रशासनसमक्ष माग गरेको छ ।

माओवादीको केन्द्रीय कमिटीमा २२ महिला सदस्य थप

सत्तारूढ माओवादी केन्द्रको केन्द्रीय कमिटीमा पछिल्लो समय २२ जना महिला थपिएपछि अहिले केन्द्रीय कमिटीको संख्या ४ सय ७ सदस्यीय भएको छ ।माओवादी केन्द्रले पछिल्लोपटक २२ जना थप गरेर केन्द्रीय कमिटीको आकार ४०७ र्पुयाएको हो।केन्दीय कमिटीमा थपिएका महिला सदस्यहरु शुक्रबारबाट केन्द्रीय कमिटीको बैठकमा सहभागि भएका हुन।

माओवादी केन्द्रले आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाईं, गिता शाही, छमकुमारी खनाल, दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार पनि केन्द्रीय कमिटीमा थपिएका छन्। सीता दाहाल, सुशिला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक, शरू चौधरी पनि थपिएका केन्द्रीय सदस्य हुन्।

२०७८ पुसमा सम्पन्न नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत र्पुयाउने निर्णय गरे पनि हालसम्म कार्यान्वयन आउन सकेको थिएन तर बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्ने सांगठनिक प्रतिवेदनमा ३५ प्रतिशत महिला र्पुयाउन २२ जना थप्ने प्रस्ताव गरेपछि अहिले सो प्रस्ताव पुरा भएको हो ।

प्रधानमन्त्री दाहालको चीन भ्रमण तयारी सुरु

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको विषयलाई लिएर मन्त्रालयले तयारी गरिरहेको जनाएका छन् ।मन्त्री साउदले आगामी भदौ महिनाको तेस्रो साताभित्र प्रधानमन्त्री दाहालले चीनको भ्रमण गर्ने गरी मन्त्रालयले तयारी सुरु गरेको जानकारी दिए ।

उनले भ्रमणमा चीनसँगको व्यापारलाई नेपालमा प्राथमिकताका साथ आयात(निर्यातका विषयलाई जोड दिने बताए । त्यसैगरी चीनले नेपाललाई दिँदै आएको आर्थिक अनुदानलाई आयोजनामा विनियोजन गर्नेलगायत कोरोनाकालमा बन्द रहेका नाकाहरुलाई खोल्ने विषयमा छलफल हुने मन्त्री साउदको भनाइ छ ।उनले दुईदेशबीच विवादका मुद्दाहरु नरहेको भन्दै चीनसँगको व्यापारमा रहेको घटालाई कसरी घटाउन सकिन्छ भन्नेमा जोड दिने उनको भनाइ छ ।

दोलखामा पहिरोले घाइते दुई जनालाई हेलिकोप्टरबाट ल्याइयो काठमाडौं

दोलखाको गौरीशंकर गाउँपालिकाअन्तर्गत टोपाटारमा गएको पहिरो परी घाइते भएका दुई जनालाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ ।चांखुमार्बु गाउँमा पहिरोमा परी गम्भीर घाइते भएका दुई जनालाई १२ बजे काठमाडौं ल्याइएको अल्टिच्युड एयरका क्याप्टेन आनन्द थापाले जानकारी दिए । यतिखेर घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।बिहीबार राति गएको पहिरोका कारण १५ महिने शिशुको निधन भएको छ ।

पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती रहेका छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रजिअ धमलाले बताए । गम्भीर घाइते भएका तीनमध्ये दुई जनालाई काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पतालमा ल्याइएको छ । एक जनालाई भने हेलिकोप्टरमा ठाउँ अपुग भएपछि सिंगटीस्थित अस्पतालमा छोडिएको छ ।

घाइते यात्रुलाई सुताएर काठमाडौं ल्याउन पर्ने भएका कारण सबैलाई समेट्न नसकिएको उनले जानकारी दिए । उद्धार उडानका लागि अल्टिच्युड एयरको हेलिकोप्टर बिहान ८ बजे घटनास्थल पुगेको थियो । उनका अनुसार पहिरोले तीनवटा घर पूर्ण रुपमा क्षति र्पुयाएको छ । घटनास्थलमा नेपाली सेनालगायतका सुरक्षा टोली परिचालित छन ।

सय किलो सुन तस्करीको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री प्रचण्डले क्विन्टल सुन प्रकरणबारे बिहीबार साँझ रक्षामन्त्री, गृहमन्त्री, आईजीपी, सीआईबी प्रमुख र राजस्व अनुसन्धान विभागका महानिर्देशकसँग संयुक्त छलफल गरेका थिए ।

त्यसक्रममा सुन तस्करी संगठित अपराध र अन्तरदेशीय अपराध मात्रै नभएर आतंकवादी गतिविधिमा संलग्न गिरोहको समेत संलग्नता भएको हुनसक्ने र यसको बृहत अनुसन्धान प्रहरीबाट हुँदा प्रभावकारी हुने सुझाव आएपछि सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्रीले विभागलाई निर्देशन दिएको स्रोतले जानकारी दियो ।

साउन ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको अवस्थामा करिब १ सय किलो सुन बरामद भएको थियो । यस प्रकरणमा हालसम्म चिनियाँसहित १७ जना पक्राउ परेका छन।

झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसक्यो : प्रजिअ पोखरेल

झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसकेको छ । आज दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।मनोज लावती नामका कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

उनका अनुसार अपराह्न ३ बजेतिर कैदी लावतीलाई कारागार प्रशासनले झुम्का लैजान कारागारबाट बाहिर निकाल्नासाथ कैदीबन्दीले नारा जुलुस र ढुङ्गामुढा सुरु गरेका थिए । कारागारभित्र उनीहरुले आगजनी गर्दा धुँवाको मुस्लो फैलिएको थियो ।प्रमुख जिल्ला अधिकारी पोखरेलले कारागारभित्रको स्थिति एक घण्टाभित्रै नियन्त्रण भएको बताए। “अहिले स्थिति नियन्त्रणमा आइसकेको छ”, उनले भने“कैदीलाई सरुवा गर्न लाग्दा भित्रबाट हुलदङ्गा गरेको पाइयो ।”

आगो निभाउन मेचीनगर, भद्रपुर र बिर्तामोडको दमकल कारागार पुगेका थिए । असन्तुष्ट कैदीबन्दीले भित्रबाट कारागार परिसरमा ढुङ्गामुढा गरेका कारण एक घण्टासम्म प्रहरीलाई समेत भित्र जान दिएका थिएनन् ।प्रजिअ पोखरेलले घटनामा कुनै मानवीय क्षति नभएको बताए । कैदीबन्दीले हुलदङ्गा मच्चाएपछि स्थानीय प्रशासनले कर्तव्य ज्यानका कैदी मनोज लावतीलाई कारागारभित्रै पठाएको छ । उनीभित्र गएपछि कैदीबन्दीले ढुङ्गामुढा बन्द गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *