संकल्प बिशेष

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

साउन १७ गते बुधबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।

हेर्नुहोस संकल्प खबरका १० मुख्य

समाचारःकोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा सपथ गराएका हुन् ।

गठबन्धनबाट मुख्यमन्त्री भएका थापाले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मन्त्रिपरिषद्समा समेटेका छन्। मुख्यमन्त्री थापाले माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका हुन्।
गौतमले आर्थिक मामिला तथा योजना, जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री थापाले सपथग्रहण गरेलगत्तै तीनै जना मन्त्रीले पनि सपथ खाएका थिए।

सरकार निर्माणको लागि सभामुख पदबाट राजीनामा दिएका गौतम मुख्यमन्त्रीपछिको वरियतामा आर्थिक मामिला मन्त्री नियुक्त भएका हुन्। जबेगु र सुनुवासर असार २१ गते मुख्यमन्त्री बन्दा पनि थापाले मन्त्रीमा नियुक्त गरेका थिए। तर, उनीहरूले मन्त्रालयको जिम्मा नपाई सर्वोच्चको आदेशमा पदमुक्त हुनुपरेको थियो।

मुख्यमन्त्री शाहद्वारा सरकारलाई पूर्णता

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारलाई पूर्णता दिएका छन।

शाहले काँग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाल महिला संघले र्गयो ४ जिल्लामा अध्यक्ष चयन

नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले रिक्त रहेका जिल्लाहरुमा जिल्ला अध्यक्ष मनोनित गरेको छ । बुधबार केन्द्रीय कार्यसमितिले सोलुखुम्बुमा सरला नाछिरिङ राई, सिराहामा धनगढीमाइ नगरपालिकाको उपमेयर संगिता कुमारी चौधरी, बारामा कलावतिदेवि पासवान र पर्सामा किरण कुमारी शर्मालाई मनोनित गरेको हो ।

नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष समेत रहेकी उषा रावत मिश्रले मनोनित सबै जिल्ला अध्यक्षहरुलाई सफल कार्यकालको शुभकामना प्रदान गरेकी छिन् ।

माओवादी केन्द्रीय कमिटी बैठकमा प्रचण्डले प्रस्तुत गरे प्रतिवेदन

माओवादी केन्द्रीय कमिटी बैठकमा बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी संगठन सुदृढीकरणका तीन महिने अभियान सञ्चालनको प्रस्ताव गरेका छन्।
भदौ, असोज र कात्तिकमा संगठन सुदृढीकरण अभियान चलाउन उनले प्रस्ताव गरेका हुन्। यो अभियान वडा तहसम्म पुग्नेछ। ६ हजार ७४३ वडा कमिटी तयार पारेर अभियान सञ्चालन गरिने पनि उनले बताएका छन्। उनले अनुशासन आयोगले अनुशासनसम्बन्धी उजुरीहरू पनि तत्काल छानबिन गर्ने बताएका छन्।

‘प्रचण्डले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा सात लाख ५२ हजार ९५६ जना माओवादी कार्यकर्ता रहेको उल्लेख गरिएको छ। जसअनुसार सबैभन्दा धेरै माओवादी कार्यकर्ता बागमती प्रदेशमा छन्।

बागमतीमा १ लाख ४७ हजार ५५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, कर्णालीमा ८५ हजार ७७४, सुदूरपश्चिममा ८० हजार ४८२, सम्पर्क समितिहरूमा १९ हजार ३१२, उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना कार्यकर्ता छन् ।
पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ चलाउने जानकारी गराए ।

रवि लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन।

उनले आज एक कार्यक्रमकाबीच निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गर्दै कार्यक्रममा महिला मात्रै सवारी गर्न पाउने गरि महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन गर्ने उल्लेख गरे । पार्टीको झण्डामा प्रयोग भएको रङ्ग निलो बस भएकाले बसलाई ‘ब्लु बस’ भनिएको छ ।

बस चढ्नका लागि कार्ड वितरण गरिने र चितवन क्षेत्र नं २ का सहरी क्षेत्रमा सञ्चालनमा आउने जनाइएको छ ।
लामिछानेले निर्वाचनको समयमा घोषणा गरेका विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारीको घोषणा गरेका छन् । उनीहरुलाई मासिक रु ४० हजारदेखि रु एक लाख ५० हजारसम्मको तलबको व्यवस्था हुने छ ।

लामिछानेले हरेक चार–चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने भन्दै पहिलो कार्यक्रम आगामी भदौ १० गतेका लागि घोषणा गरेका छन् । दोस्रो पटक निर्वाचित भएको आज एक सय दिन पुगेको हो ।

सुनकाण्डमा सरकार नै मुछिएको छ, उहाँहरूबाट निष्पक्ष अनुसन्धान हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद आफूहरूले नभइ सरकारले रोकेको आरोप लगाएका छन् । आफूहरूले सुनकाण्डबारे बोल्न पाउनुपर्ने माग गर्दा सरकारले बोल्न नदिनका लागि संसद रोकेको ओलीको भनाइ छ । तुल्सीलाल अमात्य स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्रीको मात्रै कुरा सुनेर आफूहरू नबस्ने बताए ।

हामीले गृहमन्त्रीले बोलिदिनुस् सदन खोलिदिन्छौ भनेको होइन । सांसदहरुले बोल्न पाउनुपर्छ भनेका हौं । तर सरकारले सांसदले बोल्छन् भनेर सभामुखलाई दबाब दिएर सूचना टाँसेर संसद रोकेको हो । ओलीले भने सरकारले बालुवाटारको सहमति संसदमा पुग्दा केपी ओलीले छाड्यो भनेर कुप्रचार र्गयो । सुन तस्करी प्रकरणमा सरकार आफैं संलग्न रहेकाले आफूहरूले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको ओलीले बताए । तपाईंहरुले गरिरहेको छानबिन गर्नुस ।

बिरामीको मृत्युको कारणसहितको ‘डेथ अडिट’ प्रतिवेदन पठाउन अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संस्थामा उपचार लिइरहेको अवस्थामा बिरामीको मृत्यु भएमा मृत्युको कारण पहिचानसहितको ‘डेथ अडिट’ प्रतिवेदन बुझाउन अस्पतालहरूलाई आग्रह गरेको छ। मंगलबार बसेको मन्त्रालयको सचिवस्तरीय बैठकले सो निर्णय गरेको हो।

बुधबार एक सूचना जारी गर्दै मन्त्रालयको नीति,योजना तथा अनुगमन महाशाखाले संघीय अस्पतालहरू,प्रादेशिक अस्पतालहरू,स्थानीय अस्पतालहरू र सबै निजी तथा सामुदायिक अस्पतालहरूलाई ‘डेथ अडिट’गरी सेवा महाशाखामा प्रतिवेदन पठाउन भनेको हो।

‘बिरामीको मृत्युको कारण पहिचान गर्न तोकिए बमोजिम परीक्षण गरिनेछ भन्ने व्यवस्था भएअनुसार सबै अस्पतालहरूले अस्पताल प्रमुखको नेतृत्वमा समिति बनाइ ‘डेथ अडिट’ गरी उपचारात्मक सेवा महाशाखामा यथाशीघ्र प्रतिवेदन पठाउन अनुरोध छ,’सूचनामा भनिएको छ।

रिहा भए लालबहादुर विश्वकर्मा

बैंकिङ कसुर र ठगी मुद्दामा जेल परेका इटहरी उपमहानगरपालिका– १९ ब्रह्मपुरका लालबहादुर विश्वकर्मा बुधबार रिहा भएका छन् । जिल्ला अदालत सुनसरीको फैसलापछि करिब नौ महिना झुम्का कारागारमा रहेका श्रमिक विक बुधबार दिउँसो कारागारबाट मुक्त भएका हुन् ।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको मंगलबारको संयुक्त इजलासको आदेशसँगै उनी थुनामुक्त भएका हुन् । जिल्ला अदालत सुनसरीको गत १९ पुस ०७८ को आदेश उल्ट्याएर मंगलबार नै उच्चले थुनामुक्त गर्न आदेश दिएको थियो । छोरालाई लिन लालबहादुरका ७० वर्षीय बुवा हर्कबहादुर र ६८ वर्षीया आमा सीता पनि झुम्का कारागार पुगेका थिए ।

नौ महिनाअघि जिल्ला अदालतले लालबहादुरलाई बैंकिङ कारोबार मुद्दामा तीन करोड १४ लाख बिगो, ठगी मुद्दामा ७० हजार जरिवानासहित एक वर्ष ६ महिना जेलसजाय सुनाएको थियो ।

सबै नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध छ : पराराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले संविधानको मर्म र भावनाअनुरुप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आजको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उनले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गर्ने बतए ।

मन्त्री साउदले समावेशी सिद्धान्तलाई राजदूत नियुक्त गर्दा पनि व्यवस्थितरूपमा सम्बोधन गर्दै लैजान सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । संविधानले राज्यका सबै क्षेत्रलाई समावेशी बनाउने सिद्धान्त अङ्गीकार गरेपछि नेपाल परराष्ट्र सेवा समावेशिताको नमूनाका रूपमा रहेको उनको भनाइ छ ।

उनले हाल २६ देशमा कार्यरत राजदूतमध्ये महिला तीन, जनजाति चार, मधेसी एक र अपाङ्गता भएका व्यक्ति एक रहेको समितिलाई जानकारी बताए ।

बढ्यो सेयर बजार

सेयर बजारमा बुधबार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२५ अंकले बढेर २०८६.८४ विन्दुमा आएको छ । १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

मौद्रिक नीति आउनुअघि राम्रैसँग बढेको बजार त्यसयता भने निरन्तरजसो घटिरहेको थियो । यसअघि सोमबार बजार केही सम्हालिए पनि मंगलबार पुनः घटेको थियो । तर बुधबार फेरि सकारात्मक देखिएको छ । बजार निरन्तर घट्दा सेयर भाउ सस्तो भइसकेको छ ।

यस दिन २६९ कम्पनीको ९३ लाख ६१ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा बैंकको संस्थापक सेयर र प्रोग्रेसिभ फाइनान्स परेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *