देश

‘संवादबाटै निकास खोजौं’- नयाँ वर्षको अवसरमा ज्ञानेन्द्र शाहको राजनीतिक सन्देश

काठमाडौं । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाह ले देशको जटिल राजनीतिक अवस्थाबाट निकास खोज्न सबै पक्षलाई संवाद, सहमति र संवैधानिक मार्ग अवलम्बन गर्न आह्वान गरेका छन्। उनले द्वन्द्व, निषेध र प्रतिशोधको राजनीतिले राष्ट्र कमजोर बनाउने चेतावनी दिएका छन्। शुभकामना सन्देशमार्फत शाहले पछिल्ला वर्षहरूमा राजनीतिक प्रणालीमा भएका परिवर्तनलाई “कोरा परिवर्तन”को रूपमा चित्रित गर्दै त्यसले अपेक्षित उपलब्धि दिन नसकेको टिप्पणी गरेका छन्। देश निरन्तर प्रयोग र विकल्पको खोजीमा अल्झिँदा राष्ट्र निर्माणको लक्ष्य ओझेलमा परेको उनको धारणा छ।

उनले राजनीतिक दलहरूबीचको द्वन्द्व, फुट र बन्दजस्ता गतिविधिले मुलुकलाई थप अस्थिर बनाउने उल्लेख गर्दै अब यस्ता प्रवृत्तिबाट टाढा रहनुपर्ने बताएका छन्। सबै पक्षका मागलाई सम्बोधन गर्ने गरी संवैधानिक समाधान खोज्न ढिलाइ नगर्न उनले जोड दिएका छन्। शाहले मुलुकको आर्थिक अवस्था, आन्तरिक सुरक्षा र नागरिकको जीवनस्तरप्रति चिन्ता व्यक्त गर्दै नयाँ वर्षमा यिनै क्षेत्रमा ठोस सुधार आवश्यक रहेको बताएका छन्। साथै, आत्मनिर्भरता, स्रोत–साधनको सदुपयोग र मौलिक पहिचानको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ।

उनले युवाको राजनीतिमा बढ्दो सहभागितालाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै सक्षम, शिक्षित र प्रविधिमैत्री पुस्ताले देशलाई सही दिशामा लैजान सक्ने विश्वास व्यक्त गरेका छन्। समग्रमा, शाहको सन्देशले वर्तमान राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै सहकार्य र सहमतिमा आधारित नयाँ मार्गको खोजी गर्नुपर्ने संकेत दिएको देखिन्छ।

नववर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन यस्तो छ :

त्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू

हामी नयाँ वर्ष २०८३ मा आइपुगेका छौं । नव वर्ष आरम्भको यो परिवर्तनको पुनित अवसरमा देशभित्र र संसारका विभिन्न भूभागमा रहे बसेका सबै नेपालीहरूलाई सुख र शान्तिको मंगलमग शुभकामना ।

समयको प्रवाहसँगै हामीले हाम्रो देश र समाजलाई प्रगतिपथमा अघि बढाउँदै जानुपर्दछ । विगतका कमी कमजोरी र त्रुटिलाई सच्याउँदै र वाधा व्यवधानलाई पन्छाउँदै हामी हाम्रो उच्चतम गन्तव्यतर्फ लम्किनुपर्छ । तब नै नयाँ वर्षको नवगत समयको अर्थ रहन्छ ।

वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरूको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा हामीले निकै हेरफेर हेर्‍यौं । तर त्यो कोरा परिवर्तनमात्रै भयो । दलदलको खलबलमा त हामी धेरै दगुरियौं । तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछि पर्‍यौं । सधैं प्रयोग, सधैं अभ्यास र सधैं विकल्पको खोजीमा मात्रै लाग्यौं । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो ।

स्थिरता, निरन्तरता, दृढता कता कता हराएर गयो । विधि, पद्धति, व्यक्ति बदलेर मात्रै समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ । राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लागेको छ ।

आज हाम्रो देश चौतर्फी समस्याको चाङमा छ । यो बेलामा नेपाली जनताको आशा र अभिलाषा पनि उत्तिकै छन् । यो अवस्थामा हाम्रो आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकीहरू र बाह्य मित्र शक्तिहरूको सहयोग, सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ । आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्तै नाजुक अवस्थामा परेको छ । नयाँ वर्षमा जीउधनको सुरक्षा, अत्यावश्यक वस्तु र स्रोत साधनको संरक्षण एवं जीवन जिउने मानवीय सुुरक्षाको हक अधिकारको प्रत्याभूति दिनु सुरक्षाका अंग, हाम्रा सेवा सुविधाका क्षेत्र, प्रकृति र मौसमी कारणमा हुने प्रकोपका विषयमा आन्तरिक सुरक्षालाई चुस्त बनाउन आवश्यक देखिन्छ । आजको विषम र अशान्त विश्वमा हामीले आफूलाई जोगाउने, उत्पादित वस्तुको जुगाड गर्ने र कुनै प्रकारको व्यवधान पर्न नदिनेतर्फ राज्यको गहिरो ध्यान पर्नुपर्ने देखिन्छ ।

आम नागरिकले कुनै प्रकारको शारिरिक, मानसिक, भौतिक तथा जीवन यापनको मामलामा त्रास,पीडा अभावको अनुभव गर्न नपरोस् । हरेक क्षेत्रमा भरपर्दो आत्मनिर्भर भएर परनिर्भरताबाट र स्वाधिन भएर पराधिनताबाट देशलाई जोगाउनुछ । देशको स्रोत शक्ति हो । सही उपयोग भएमा नै समाजको कल्याण हुन्छ । अनि देशको स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको संवर्धन भयो भने नै देशको गौरव बढ्छ । त्यसैले यिनै मूलभूत काम कर्तव्यतर्फ अब हाम्रो पाइला अघि बढ्नुपर्छ । निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुन्छौं । परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन । जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं । संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान खोज्न दृढ संलल्पित बनौं । नेपाल शान्तिको भूमि बनोस् । उन्नतीको मुलुक बनोस् । अनि आफ्नै मौलिक सनातन र पहिचानबाट परिचालित एवं प्रतिष्ठित बनोस् । सबै नेपालीले न्याय शान्ति र सुख पाउन् । यही हाम्रो सदिक्षा हो । श्री पशुपतिनाथले सबैको कल्याण गरुन् । जय नेपाल

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *