देश

कांग्रेसभित्र शक्ति संघर्ष तीव्र, खड्काले सदस्यता विवादमा मुख खोले

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी महाधिवेशनले वैधानिक रूपमा व्यवस्था गरेको अवस्थाबाहेक आम सदस्यहरूको क्रियाशील सदस्यता कसैले पनि खारेज गर्न नसक्ने स्पष्ट पारेका छन्।

सोमबार कार्यवाहक सभापतिको हैसियतमा जारी विज्ञप्तिमा उनले नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आबद्धताको प्रमाणपत्र मात्र नभई पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान, निरन्तरता र राजनीतिक निष्ठाको आधिकारिक निस्सा भएको उल्लेख गरेका छन्।

खड्काले पार्टीको आन्तरिक विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै एक पक्षले एकतर्फी रूपमा महाधिवेशन घोषणा गर्नु वदनियतपूर्ण र संगठनात्मक मर्यादाविपरीत कदम भएको बताएका छन्।

उनले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा सम्पन्न हुने गरी तय गरिएको १५औँ महाधिवेशनको कार्यतालिका अनुसार समयसीमाभित्र नवीकरण तथा वितरण भइसकेका क्रियाशील सदस्यता अब खारेज भएको र पुनः अद्यावधिक गर्नेले मात्र महाधिवेशनमा भाग लिन पाउने भन्ने तर्क सरासर अवैधानिक, पूर्वाग्रही र आपत्तिजनक रहेको उल्लेख गरेका छन्।

खड्काको भनाइले कांग्रेसभित्र क्रियाशील सदस्यता र महाधिवेशन प्रक्रियालाई लिएर देखिएको विवाद अझ चर्किने संकेत गरेको छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *