देश

संसदीय दलको नेता चयनको तयारीमा कांग्रेस, वैशाख २ मा कार्यसम्पादन बैठक

काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको नेता चयनको तयारीस्वरूप वैशाख २ गते कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा आगामी नेतृत्व चयन प्रक्रिया मुख्य एजेन्डा रहने जनाइएको छ।

वैशाख ४ गतेका लागि तय गरिएको संसदीय दलको नेता चयनबारे रणनीति बनाउन बैठक केन्द्रित रहनेछ। नेतृत्वका लागि अर्जुननरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य र जनकराज गिरीलगायत नेताहरू आकांक्षीका रूपमा देखिएका छन्। यसैबीच, केही नेताहरूले नयाँ पुस्ताबाट नेतृत्व आउनुपर्ने धारणा राख्दै निस्कल राईको नाम पनि अघि सारेका छन्।

शीर्ष तहमा सहमतिमै नेता चयन गर्ने प्रयास भइरहेको बताइए पनि प्रतिस्पर्धाको सम्भावना भने कायम रहेको छ। बैठकले यसबारे अन्तिम धारणा बनाउन सक्ने अपेक्षा गरिएको छ। यसका साथै बैठकमा क्रियाशील सदस्यता अद्यावधिक तथा ‘जरामा जाऔं अभियान’ सञ्चालनबारे पनि छलफल हुने जनाइएको छ। नयाँ वर्षको सुरुवातसँगै देशव्यापी रूपमा सदस्यता अद्यावधिक अभियान सुरु गर्ने र नेताहरूलाई जिल्ला–जिल्लामा खटाउने तयारी कांग्रेसले गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *