काठमाडौं । सरकारका उच्च पदस्थ पदाधिकारीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री, मन्त्री तथा प्रतिनिधिसभा सदस्यहरूको चल–अचल सम्पत्ति, लगानी र आयस्रोतमा उल्लेखनीय भिन्नता देखिएको छ।
भ्रष्टाचार निवारण ऐनअनुसार पेश गरिएको विवरणमा कतिपय नेताहरूको आय डिजिटल प्लेटफर्मदेखि परम्परागत व्यवसायसम्म फैलिएको देखिन्छ भने केहीको सम्पत्ति मुख्यतः पैतृक सम्पत्तिमा आधारित रहेको उल्लेख छ।
प्रधानमन्त्री बालेन्द्र शाह
प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरणअनुसार काठमाडौंको गैरीगाउँ र बालुवाटारमा आवासीय घर रहेको छ। साथै पैतृक रूपमा प्राप्त १९० तोला सुन रहेको उल्लेख गरिएको छ।
उनको मुख्य आम्दानी स्रोतका रूपमा युट्युब र टिकटक जस्ता सामाजिक सञ्जाल प्लेटफर्म देखाइएको छ। टिकटकबाट करिब ९ करोड रुपैयाँ र युट्युबबाट करोडौँ आम्दानी हुने विवरणमा उल्लेख छ। सामाजिक सञ्जालमा ठूलो संख्यामा फलोअर्स रहेको तथ्यलाई पनि सम्पत्तिको रूपमा समेटिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा अर्थमन्त्री वाग्लेको सम्पत्ति विवरणमा काठमाडौं भैँसेपाटीमा करिब २ करोडको अपार्टमेन्ट, काभ्रेमा ५ करोड, धुलिखेलमा ३ करोड ७५ लाख र बन्दीपुरमा २ करोड मूल्य बराबरको घर तथा जग्गा रहेको उल्लेख छ।
साथै काठमाडौं, गोरखा, चितवन र तनहुँमा विभिन्न कित्ता जग्गा, ४५ तोला सुन, करिब १ करोड ९० लाख रुपैयाँ बैंक मौज्दात रहेको विवरणमा देखिन्छ। उनले सानिमा मिडल तमोर हाइड्रो, सांग्रिला विकास बैंकलगायत कम्पनीमा करोडौँको सेयर लगानी गरेका छन्।
परराष्ट्र मन्त्री शिशिर खनाल
परराष्ट्र मन्त्री शिशिर खनालको विवरणअनुसार काठमाडौं टोखामा घर तथा जग्गा रहेको छ। साथै तनहुँमा १५ रोपनी, नवलपुरमा १३ रोपनी र नेपालगन्जमा २ कठ्ठा जग्गा रहेको देखिन्छ।
उनको नाममा २२ तोला सुन, २५ तोला चाँदी र करिब १० लाख रुपैयाँ नगद रहेको उल्लेख छ। विभिन्न बैंकमा बचत तथा पिक एण्ड ड्रप (३३ प्रतिशत), रिग्पा इन्टरनेसनल (१०० प्रतिशत) लगायत हाइड्रोपावर कम्पनीहरूमा सेयर लगानी रहेको छ। साथै ४० लाख रुपैयाँ मूल्यको डङफेङ विगो सवारी साधन रहेको विवरण छ।
मन्त्री बिराज भक्त श्रेष्ठ
मन्त्री श्रेष्ठको सम्पत्ति विवरणअनुसार काठमाडौं इन्द्रचोक र न्ह्याखल क्षेत्रमा घर रहेको छ। १५ तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरिएको छ। लुम्बिनी विकास बैंक, एभरेष्ट बैंक तथा विभिन्न सहकारीमा करिब ५० लाख रुपैयाँभन्दा बढी बचत रहेको छ। साथै ६५ लाखको टोयोटा ल्याण्ड क्रुजर, २ लाख ४६ हजारको स्कुटर र १९ लाख ७५ हजारको इलेक्ट्रिक सवारी रहेको विवरणमा देखिन्छ।
गृह मन्त्री सुधन गुरुङ
गृह मन्त्री गुरुङको सम्पत्ति विवरणमा ठूलो परिमाणमा जग्गा रहेको उल्लेख छ। धनकुटामा करिब १९ रोपनी, चितवन भरतपुरमा ३० कठ्ठा र गोरखाको चुमनुब्री क्षेत्रमा २२१ रोपनी पैतृक जग्गा रहेको विवरणमा देखिन्छ। सरकारी पदाधिकारीहरूले पेश गरेको विवरणअनुसार कतिपय नेताहरू डिजिटल आम्दानी स्रोतमा निर्भर देखिन्छन् भने कतिपयको सम्पत्ति पैतृक जग्गा–जमिन र परम्परागत लगानीमा आधारित छ। सार्वजनिक पदमा रहेका व्यक्तिहरूले सम्पत्ति विवरण पारदर्शी रूपमा बुझाउनु भ्रष्टाचार निवारण ऐनअनुसार अनिवार्य व्यवस्था हो।





