काठमाडौं । वर्ष २०८२ नेपालका लागि केवल पात्रोको अर्को वर्ष रहेन, यो राज्य, दल र संस्थाहरूको वैधतामाथि गहिरो प्रश्न उठाउने ‘जेनजी आन्दोलन’को वर्ष बन्यो। भदौ २३ र २४ गते सडकमा विस्फोट भएको युवा असन्तुष्टि केवल सरकार परिवर्तनमा सीमित रहेन, यसले पुराना राजनीतिक शक्तिहरूको वैचारिक धरातल, सुरक्षा संयन्त्रको तयारी र राज्य संरचनाको सहनशीलतालाई एकैपटक झस्काइदियो। इतिहासमा यो वर्ष घाउको रूपमा दर्ता भयो—जसले राजनीतिक प्रणालीलाई रगताम्य बनायो, तर परिवर्तनको बहसलाई पनि तीव्र बनायो।
संसद भवन,सर्वोच्च अदालत,सिंहदरबार,व्यापारीक संरचना,पार्टीका कार्यलयहरु,शीर्ष नेताहरुका घर ,नीजि तथा सार्वजनिक सम्पतिमाथि तोडफोड र आगजनी भएको वर्षका रुपमा इतिहासमा दर्ज भएको छ । सो विषयले सयौँ वर्ष प्रश्न उठाइरहनेछन् ।
भदौ २३ र २४ को जेन९जी० आन्दोलनले छाडेको धुवाँको दाग अझै मेटिएको छैन। सिंहदरबारका कालो दाग, सर्वोच्च अदालत र संसद् भवनमा देखिएका क्षतिका निशान र ७६ जनाको मृत्यु—यी सबै केवल अतीतका घटना होइनन्, राज्यको जवाफदेहिता परीक्षण गर्ने कडा प्रश्न हुन्। जेनजी आन्दोलनमा सिंहदरबार,संसद भवन,सर्वोच्च अदालत नीजि तथा सरकारी संरचनामाथि आगो लगाइएको थियो । सरकारी प्रतिवेदनअनुसार आन्दोलनमा करिब ८४ अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति भयो। २,६७१ भवन क्षतिग्रस्त भए, हजारौँले रोजगारी गुमाए। ७६ जना युवायुवतीहरुले अकालमा ज्यान गुमाए। पुनर्निर्माणमा मात्रै ३६ अर्बभन्दा बढी लाग्ने अनुमान छ। यति ठूलो आर्थिक र मानवीय क्षतिपछि पनि राजनीतिक जिम्मेवारी कसले लिने? आन्दोलनका नाममा राज्य संरचनामाथि हमला गर्नेहरूमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्नु पहिलो दायित्व हो । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन एकपक्षीय प्रतिसोधमुखी भएको निष्कर्ष सार्वजनिक भएको छ। सो विषयमा बालेन नेतृत्वको सरकार गठनअघि नै विभिन्न निकायहरुले प्रश्न उठाएका छन् ।
जेनजी आन्दोलनको सबैभन्दा गहिरो प्रभाव पुराना वाम शक्तिहरूमा देखियो। प्रचण्ड नेतृत्वको साविक माओवादी केन्द्र यही वर्ष आफ्नो छुट्टै अस्तित्व गुमाएर विभिन्न घटकसँग मिसिँदै नयाँ नेपाली कम्युनिस्ट पार्टीमा रूपान्तरित भयो। यसलाई धेरैले केवल संगठनात्मक एकता होइन, माओवादी राजनीतिक पहिचानको औपचारिक अन्त्यका रूपमा व्याख्या गरे। जनयुद्धको विरासत बोकेको शक्ति ३० वर्ष नपुग्दै विलय हुनु स्वयंमा इतिहासको ठूलो मोड बन्यो।
त्यस्तै, एमालेका लागि पनि २०८२ पीडादायी वर्ष बन्यो। सत्ता ढल्नु, चुनावी पराजय, नेतृत्वमाथि कानुनी संकट र कार्यकर्ता–नेताबीचको सम्बन्धमा आएको दरारले पार्टीको दीर्घकालीन कमजोर यात्रालाई उजागर गर्यो। २०५१ देखि निर्माण भएको लोकप्रियता २०८२ मा आइपुग्दा लगभग ढलेको देखियो।
तर जेनजी आन्दोलनको सबैभन्दा स्थायी घाउ राज्य संरचना र सुरक्षा निकायमा रह्यो। दुई दिनमै प्रहरी कार्यालय ध्वस्त भए, हतियार लुटिए, सार्वजनिक सम्पत्तिमा प्रारम्भिक अनुमानअनुसार एक खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी क्षति भयो। प्रहरीका लागि यो दशकौंको द्वन्द्वभन्दा पनि ठूलो मनोवैज्ञानिक आघात बन्यो। यद्यपि, यही खरानीबाट उठेर पुनर्निर्माण र शान्ति सुरक्षामा फर्किएको प्रहरीको क्षमता अर्को महत्त्वपूर्ण कथा बन्यो। यस्तै नेपाली कांग्रेस विवादको विर्ष र पराजयको वर्ष बन्यो । पार्टी सभापतिमाथि हमला,विभिन्न आरोप प्रत्यारोप, गगन थापा नेतृत्वको कांग्रेस र विवादमा मछिएको पाटीै । निर्वाचनमा द्रोस्रो स्थानमा
राजनीतिक रूपमा हेर्दा, जेनजी आन्दोलनले एउटा स्पष्ट सन्देश दियो-पुराना दलको भाष्य र नयाँ पुस्ताको अपेक्षाबीच दूरी असह्य स्तरमा पुगेको छ। यही रिक्तताबाट नयाँ शक्तिहरू, विशेषतः युवा नेतृत्वका दलहरू, अभूतपूर्व रूपमा उदाए। जेनजी आन्दोलपछिको निर्वाचनमार्फत तत्कालीन काठमडौँ महानगरपालिकाका मेयर बोेलेन्द्र शाह(बालेन) प्रधानमन्त्री बनेका छन्, भने सुदन गुरुङ गृहमन्त्री छन् ।रास्वपाको उदय संघीय राजनीतिमा करिब दुई तिहाई बहुमत ल्याएर निर्वाचित भए युवा सांसदहरु ।
यस अर्थमा २०८२ केवल संकटको वर्ष होइन, नेपालको राजनीतिक पुस्तान्तरणको निर्णायक मोड पनि हो। यो वर्षले देखायो—दबिएको असन्तुष्टि जब विस्फोट हुन्छ, त्यसले दल, विचार र संस्थालाई एकैपटक पुनर्परिभाषित गर्न सक्छ। इतिहासले २०८२ लाई सम्भवतः घाउ, चेतावनी र नयाँ युगको आरम्भ-यी तीनै अर्थमा सम्झिनेछ।




