राजनीति

चुनावी कमजोर प्रदर्शनपछि राप्रपामा असन्तुष्टि विस्फोट, लिङ्देन नेतृत्वमाथि ३ बुँदे दबाब

काठमाडौं । संघीय निर्वाचनमा अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० भित्रको आन्तरिक विवाद थप तीव्र बनेको छ। नेतृत्वको कार्यशैली एकलौटी भएको आरोप लगाउँदै असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध खुला मोर्चाबन्दी सुरु गरेको छ।

आइतबार बसेको असन्तुष्ट नेताहरूको भेलामा महामन्त्री धवलशमशेर राणासहित दुई दर्जनभन्दा बढी नेताहरू सहभागी भएका थिए। भेलामा पार्टीको पछिल्लो दिशा, चुनावी असफलता र नेतृत्वको निर्णय प्रक्रियामाथि कडा असन्तुष्टि व्यक्त गरिएको बताइएको छ।

नेता दिलनाथ गिरीले चुनावअघि पार्टीलाई देशकै पहिलो शक्ति बनाउने दाबी गरिएको भए पनि परिणाम अत्यन्त निराशाजनक आएको उल्लेख गर्दै नेतृत्वले अहिलेसम्म नैतिक जिम्मेवारी नलिएको आरोप लगाए। उनका अनुसार चुनावी नतिजापछि कार्यकर्ता पंक्तिमा अन्योल र निराशा झन् बढेको छ।

उपसभामुख निर्वाचनमा उम्मेदवारी दिने निर्णय पार्टीका औपचारिक निकायमा छलफल नै नगरी गरिएको भन्दै असन्तुष्ट समूहले यसलाई सैद्धान्तिक विचलनको संकेतका रूपमा व्याख्या गरेको छ।

विवाद उत्कर्षमा पुगेपछि असन्तुष्ट पक्षले नेतृत्वसमक्ष ३ बुँदे माग अघि सारेको छ। उनीहरूले निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन, एक साताभित्र केन्द्रीय महाधिवेशनको मिति घोषणा, तथा एकता महाधिवेशनपछि विधानविपरीत भएका निर्णयहरूको छानबिन गर्न समिति गठन गर्न माग गरेका छन्।

राप्रपाले २०८३ जेठभित्र महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्था रहेको स्मरण गराउँदै असन्तुष्ट समूहले माग बेवास्ता भए थप कडा कदम चाल्ने चेतावनी दिएको छ। यससँगै पार्टीभित्र नेतृत्व परिवर्तनको बहस थप पेचिलो बन्दै गएको देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *