काठमाडौं । युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र शाहसहित केही नेताविरुद्ध अपमानजनक शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन्। प्रहरीले उनलाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा आफन्तको जिम्मा लगाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार पोखरेललाई अनुसन्धान प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धतासहित परिवारको जिम्मा लगाएर छाडिएको हो। फाल्गुनन्द गाउँपालिका–७, पाँचथर निवासी पोखरेललाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा चैत २६ गते पक्राउ गरिएको थियो। त्यसपछि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको थियो।
युट्युबमा सार्वजनिक भएको सामग्रीमा प्रधानमन्त्री बालेन्द्र शाहलगायत नेताविरुद्ध गालीगलौज र अपमानजनक अभिव्यक्ति प्रयोग गरिएको आरोप प्रहरीले लगाएको थियो। सोही आधारमा साइबरसम्बन्धी अनुसन्धान सुरु गरिएको बताइएको छ। पोखरेल पक्राउ परेपछि सामाजिक सञ्जालमा यस विषयले व्यापक चर्चा पाएको थियो। विशेषगरी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति स्वतन्त्रता र विगतका सामाजिक सञ्जाल पोस्टसँग जोडेर विभिन्न कोणबाट टिप्पणीहरू आएका छन्।
प्रहरीले भने अनुसन्धान प्रक्रिया जारी रहेकाले आवश्यक परे पोखरेललाई पुनः बोलाइने जनाएको छ।




